भुवन पौडेल
सोमवार, चैत्र २५, २०७५
565

पछिल्लो १८ महिनादेखि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका चन्द्रसिंह साउद यसअघि नेपाल इन्स्योरेन्सको पनि प्रमुख कार्यकारी भइसकेका छन् । बिमा क्षेत्रमा करिब दुई दशकभन्दा धेरै समय बिताएका साउद अहिले सेयर बजारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनमा व्यस्त छन् । अध्यापन पेसामा समेत उत्तिकै अब्बल साउदले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पछिल्लो समयमा नेप्सेले लगानीकर्ताको सहजताका लागि सेयर बजारमा प्रविधि मैत्री सुविधा भित्र्याएको हुनाले त्यसको उपभोग गर्न उनले लगानीकर्तालाई आग्रहसमेत गरे । नेप्सेले धेरै जोखिम लिएर आँट गरेर अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको उनको भनाइ छ । अनलाइन कारोबार प्रणालीको जस तथा दोष जे भए पनि नेप्से लिन तयार रहेको समेत उनी बताउँछन् । तर, अनलाइन प्रणालीको युजर नेम र पासवर्ड लिएर लगानीकर्ता आफैंले चलाएपछि मात्र टीकाटिप्पणी गर्न उनले आग्रह गरे । प्रणालीमा समस्या छ भने यस्तो समस्या छ भनेर भन्न आग्रह गरेका साउद अरूले भनेको सुनेर दोष लगाउने अधिकार लगानीकर्तालाई पनि नभएको बताउँछन् । पछिल्लो समयमा नेप्सेको कारोबार प्रणालीमा समस्या आएको भनिए पनि त्यो नेप्से अनलाइन कारोबार प्रणाली (एनओटिएस) मा नभई कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र एनओटिएसबीचको कनेक्सनमा समस्या आएको बताउने साउदसँग नेप्सेको कारोबार प्रणाली तथा समग्र दोस्रो बजारका विषयमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :

नेप्सेले अनलाइन कारोबार प्रणाली सञ्चालन गरेको एक वर्ष पनि नपुग्दै समस्याहरू देखिन थालेका छन् । कारोबार प्रणालीमा देखिएको खास समस्या के हो ? यसको दीर्घकालीन समाधानका लागि नेप्सेले कस्तो तयारी गरेको छ ?
नेप्सेको नयाँ कारोबार प्रणालीमा दुईवटा पोर्सन हुन्छ । त्यो भनेको एनओटिएस र टिएमएस हो । त्यो टिएमएसको कनेक्सन एनओटिएससँग हुन्छ । गत कात्तिकमा अनलाइन कारोबार प्रणाली सुरु गर्दा एनओटिएसमा समस्या आएको हुँदै होइन । तर, बजारले त्यसलाई फरक ढंगले बुझ्यो । समस्या भएको एनओटिएस र टिएमएसबीचको कनेक्सनमा हो । ब्रोकरले चलाउने टिएमएस हो । त्यसमा नेटवर्किङ र डेटासेन्टरको महŒवपूर्ण भूमिका हुन्छ । अहिले ब्रोकरहरूले कुनै एक कम्पनीसँग सम्झौता गरेर डेटा सेन्टर राखेका छन् । अनलाइनको सुरुमा पुरानो सिस्टमबाट नयाँ सिस्टममा डेटा सार्दा समस्या आएको थियो । केही सना समस्याहरू आउनु सामान्य हो । अहिले पनि नेप्सेको वेबसाइटमा समस्या आउने भएकाले नयाँ सिस्टम अनुसारको साइट बनाउन दिँदैछौं । बजारले नेप्सेको नयाँ कारोबार प्रणालीलाई जसरी बुझेको देखिन्छ त्यस्तो समस्या छैन । नयाँ कुरा ल्याउँदा सामान्य समस्या हुनु स्वाभाविक हो ।
यो प्रणालीसँग मल्टिपल सिस्टम छ । यसमा इन्ट्रा डेको कारोबार, मार्केट डिलर, हजारै सब ब्रोकर तथा एजेन्टलाई परिचालन गर्न सक्ने क्षमता छ । त्यसका लागि ब्रोकहरूले शाखा तथा अधिकारी विक्रेताहरू जति थप्दै जान्छन् त्यो अनुसारको हार्डवेयर पनि थप्दै जानुपर्छ । अहिले अनलाइन स्लो भयो, चलेन भन्ने जस्ता समस्या सुनाउँछन् । स्लो हुनुमा इन्टरेटनको क्षमतामा पनि निर्भर हुन्छ । त्यसका साथै ब्रोकरसँग भएका साधनस्रोतले पनि असर गर्छ ।
अहिले हामीले लगानीकर्ताले जुनसुकै स्थान तथा ब्रोकरबाट कारोबार गरे पनि एकै ठाउँमा जम्मा हुने सिस्टम युनिक कोड लागू गरेका छौं । त्यो भनेको नागरिकता नम्बर र जारी गरेको मिति तथा जिल्लाका आधारमा तयार गरिएको हुन्छ । पहिले हरेक ब्रोकरकहाँ गरेको कारोबार छुट्टा–छुट्टै हुन्थ्यो । त्यसले गर्दा लगानीकर्ताले १० लाखभन्दा धेरैको कारोबार थाहा हुँदैनथ्यो । तर, अव लगानीकर्ताले जतिवटा ब्रोकरबाट कारोबार गरे पनि एकमुस्ट आउँछ । त्यसले गर्दा बजारका कतिपय खेलाडीले नयाँ कारोबार प्रणालीलाई पचाउन नसकेकाले पनि हल्ला धेरै भएको हो । नयाँ प्रणाली भएकाले पनि केही अन्योल भएको देखिन्छ । त्यसका साथै यो अनलाइनलाई असफल बनाउनका लागि खेल पनि नभएका होइनन् । यो कारोबार प्रणाली कहिले लाइभ हुन्छ भन्ने कसैलाई थाहा थिएन । नेप्से र भेण्डर कम्पनी बाइकोको कोर टिमले समय सीमा राखेर गोप्य रूपमा काम गरेको हुनाले आज सम्भव भएको हो । अहिले युजर नेम लिएर कारोबार गरेकाले यो सिस्टमको विषयमा केही बोलेको सुनिँदैन । तर, जसले युजर नेम लिएर कारोबार गरेको छैन उसैले धेरै टीका–टिप्पणी गरेको र समस्या देखाउँछन् । नेप्सेले पछिल्लो समयमा अनलाइन प्रणालीको समस्या समाधानका लागि २ व्यक्ति तोकर काम गर्दै आएको छ । लगानीकर्ताले प्रणालीको प्राविधिक पक्ष नबुझेकाले पनि नेप्सेको अनलाइनले गर्दा धोका खाएको आरोप लगाउने पनि छन् । प्रयोग नै नगरी समस्या छ भन्नुभन्दा प्रयोग गरेर मात्र बोल्दा उपयुक्त होला । यो प्रणाली सेयर लगानीकर्ता, ब्रोकर तथा समग्र देशको अर्थतन्त्रका लागि ल्याएको हो । प्रयोग नै नगरी भएन भन्ने अधिकार कसैलाई पनि हुनु हुँदैन । नजानेको खण्डमा नेप्से सिकाउन तयार छ । तर, आवश्यकभन्दा बढी टीका–टिप्पणी गर्नु उपयुक्त होइन । पछिल्लो दुई दिन आएको समस्या भनेको डेटा सेन्टर र नेटवर्कमा हो । त्यसलाई पनि हामीले समाधान ग-यौं । लगानीकर्ताले सेयर कारोबार गर्नका लागि भएको असहजतामा समय थप गरेर त्यसको पूर्ति ग-यौं । पछिल्लो समयमा अप्पर तामाकोसीको पहिलो कारोबारको विषयमा पनि अनलाइन प्रणालीलाई नै दोष दिइएको थियो । तर, त्यो होइन । हाम्रोमा सुरुमा कारोबार हुँदा पहिलो दिन ५० प्रतिशतसम्म सेयर मूल्य तल–माथि हुन्छ । तर, दोस्रो दिन २ प्रतिशतको ग्यापमा बस्नुपर्ने मानवीय त्रुटिका कारण अघिल्लो दिनकै बसेको हुनाले त्यस्तो भएको हो । त्यो पनि ५ मिनेट मात्र हो । हामीले थाहा पाउनेबित्तिकै ब्लक गरेका हौं । पछिल्लो समयमा ब्रोकरको टिएमएसमा लग इन र लग आउट हुने गरेको छ भन्ने समस्या आएको छ । त्यसका लागि भेन्डर कम्पनीलाई जानकारी गराई मल्टि टास्कको व्यवस्था गर्ने भएका छौं ।

युनिक आइडेन्टीटी कोड दिँदैमा लगानीकर्ता नकारात्मक नै हुनुपर्ने कारण के हो ?
अहिले सेयर बजारमा १० लाखभन्दा धेरैको सेयर कारोबार गर्दा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा जानकारी दिनुपर्छ । सेयर बजारमा पनि त्यस्तो सूचना माग भएको अवस्थामा हामीले पनि एकीकृत गरेर दिन्छौं । यसले सेयर बजारमा तुलनात्मक रूपमा पारदर्शिता वढ्यो । बजारका केही मान्छेलाई यो पारदर्शिता नपचेको पनि हुन सक्छ । नियामक निकायमा बसेपछि हामीले पारदर्शिताको काम त गर्नुपर्छ । त्यसका साथै हामीले एउटा डिम्याट खाताबाट एउटा ब्रोकरको मात्र कारोबार गर्न सकिने व्यवस्था गर्न धितोपत्र बोर्डलाई पनि आग्रह गरेका छौं । त्यो गर्दा लगानीकर्तालाई सहज हुन्छ ।

युनिक आइडेन्टिटीले सेयर बजारमा कालो धन आउने बाटो त बन्द ग-यो नि ?
नेपालको सेयर बजारमा कर तिरेको रकम आओस् र पारदर्शी होस् भन्ने चाहना हो । सरकार नियामक निकाय तथा नेप्सेको पनि त्यही चाहना भएकाले सोहीअनुसार काम हुनुपर्छ भन्ने हो । सेयर बजारमा बजारमा कालो धन आउँदा पनि धितोपत्र बोर्ड तथा नेप्सेले हेर्न सकेन भन्ने आरोप पनि आउने गरेको छ । हामीले राज्यको नियम कानुनभित्र सबै रहनुपर्छ र आफू पनि रहने धारणाअनुरूप युनिक आइडेन्टिटीको सुरुवात गरेका हौं ।

अनलाइन कारोबारका लागि लगानीकर्ता त्यति उत्साहित भएको देखिएन नि ?
अनलाइन प्रणालीको आन्तरिक कार्य भइरहेको समयमा आजै चाहियो भनेर आन्दोलन गर्ने लगानीकर्ता पनि यिनै हुन् । लगानीकर्ताको मागअनुसार मिति तोकेर अनलाइन प्रणाली सञ्चालन ग-यौं । लगानीकर्तालाई समय–समयमा अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिन आग्रह पनि गरेका हौं । ब्रोकर र लगानीकर्ताबीच सम्झौता गर्ने पेपर पनि तयार गरेर दियौं । तर, लगानीकर्ताले त्यसप्रति कम चासो दिएका हुन् कि भन्ने देखिन्छ । पहिला चाँडो ल्याउन भनेर दबाब दिने अनि हतारमा आयो भने समस्या धेरै हुन्छन् । त्यसपछि हल्ला गर्न पाइन्छ भनेर लगानीकर्ता लागेका हुन् कि भन्ने शंका देखिन्छ । अहिले हामीले अनलाइन युजर नेम र पासवर्ड निःशुल्क गरेका छौं । त्यसका साथै कुन ब्रोकरले कति जनालाई युजर नेम र पासवर्ड दिए त्यसको जानकारीका लागि नेप्सेले छुट्टै टिम बनाइ हेर्दैछ । एउटा ब्रोकरले कम्तीमा पनि १ सय जनालाई युजर नेम र पासवर्ड दिनुपर्छ भनेका छौं । त्यसमा ब्रोकरले माग्न आउने सबैलाई दिएका छौं । तर, माग्न नै आउँदैनन् भन्छन् । अहिले झन्डै ४ हजारको हाराहारीमा अनलाइन युजर नेम र पासवर्ड लगेका लगानीकर्ता छन् । नेपालको बजारमा १३–१४ लाख लगानीकर्ता भने पनि सक्रिय लगानीकर्ता भनेको ८ देखि १० हजार मात्र हुन् । दैनिक कारोबार गर्ने लगानीकर्ता भनेको ४ देखि ५ हजार नै हो । त्योअनुसार अनलाइन युजर देखिएका छन् । त्यसका साथै विस्तारै यो संख्या बढ्दै गएको छ । नजिक ब्रोकर कम्पनी भएका लगानीकर्ताले अफलाइन नै कारोबार गर्ने इच्छा राखेको देखियो । नेपालबाट मात्र होइन, अमेरिकाबाट पनि युजर नेम र पासवर्ड लिएर अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ता पनि छन् । सुरुमा टीका–टिप्पणी हुनु सामान्य हो । बिस्तारै बानी पर्दै जान्छ ।

अहिलेको कारोबार प्रणालीकै कुरा गर्दा पेमेन्टको पनि समस्या छ भनिन्छ नि ?
नेप्सेले एनओटिएस मात्र बनाएर टिएमएस ब्रोकरलाई दिएको भए यति झमेला हुने थिएन । अहिले पेमेन्टको समस्या छ । पेमेन्टको गेट वे दिने भनेको नेप्सेले होइन । नेपाल राष्ट्र बैंकले एक एकाउन्टबाट अर्को एकाउन्टमा पैसा ट्रान्सफर गर्दा १ लाखको सीमा तोकेको छ । यो नीतिभित्र रहेर सबै जिम्मा नेप्सेले दिनुपर्छ भन्ने बुझाइ कतिपयको छ । बैंकिङ च्यानलबाट भुक्तानी गर्ने÷गराउने काम भनेको ब्रोकर र लगानीकर्ताको हो, तर पनि पुँजीबजार विकासोन्मुख अवस्थामा भएकाले नेप्सेले सपोर्ट गर्नुपर्छ भनेर बैंकिङ च्यानलसम्म जाने बाटो बनाएका छौं । केही दिनअघि मात्र नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेर यो समस्या पनि समाधान गरेका छौं । अब क्लियरिङ हाउस र ब्रोकर टाइअप हुनेबित्तिकै भुक्तानीको काम पनि सहज हुन्छ ।

तत्काल देशभर बजार विस्तार गर्नका लागि नेप्सेको कारोबार प्रणालीले पनि सपोर्ट गर्दैन भन्ने सुनिन्छ । वास्तविकता के हो ?
नेप्सेको कारोबार प्रणालीको विषयमा मैले बुझेअनुसार एसआरएसमा भएको सम्झौतामा एउटा ब्रोकरले हजारौं हजार सव ब्रोकर दिन सक्छ । ब्रोकर कम्पनीको टिएमएस अनुसार हार्डवेयर क्षमता बढाउनुप-यो । एउटा ब्रोकरले कति सब–ब्रोकर राख्ने र कति आधिकारिक प्रतिनिधि राख्ने भन्ने ब्रोकरको कुरा हो । त्यसका लागि नेप्सेको एनओटिएसमा कुनै सुधार वा थप गर्ने गर्नु पर्दैन । बजारका सबै पक्षले नेप्सेको अनलाइन प्रणालीको भाषा बुझेर मात्र बोल्दिनुप-यो । अहिलेको नेप्सेको प्रणालीलाई अर्थ मन्त्रालयले विज्ञान प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा उपयुक्त हो÷होइन भनेर चेक गरिएको छ । उहाँहरूले पनि यो कारोबार प्रणाली ठीक छ भनेपछि प्रक्रिया अघि बढेर अहिले सञ्चालनमा आएको हो । अप्राविधिक मान्छेले प्रविधिक टिप्पणी कसरी गर्नुभएको हो, मलाई थाहा भएन । यो सिस्टमका आधारमा हजारौं ब्रोकर, सब–ब्रोकर, एजेन्ट, डिलर, मार्केट मेकर थप्न सक्छौं । अहिलेको सिस्टममा जति पनि अप्सन थप्न तथा समय अनुसार हटाउन सकिने व्यवस्था छ ।

यो सिस्टमअनुसार हाल भएका दलाल कम्पनीमार्फत पनि बजारको विस्तार सम्भव रहेछ । किन बैंकलाई ब्रोकर लाइसेन्स भनिएको हो ?
यो अनलाइन प्रणाली आइसकेपछि ब्रोकरको संख्या थप्नुभन्दा पनि धितोपत्रको दोस्रो बजारको प्लेटफर्म सबै स्थानमा उपलब्ध हुने माध्यम तयार भएको छ । अहिलेका ब्रोकरहरू पनि पुरानै क्षमतामा बस्ने हो भने विस्तार हुँदैन । ब्रोकरहरूलाई चाहेको स्थानमा शाखा खोल्न खुला छ तर नयाँ ब्रोकर आए बजार प्रतिस्पर्धी हुन्छ । बजारमा प्रतिस्पर्धी थपिएको त राम्रो हो । ब्रोकरले बैंकलाई लाइसेन्स दिन हुँदैन भन्नुभन्दा अहिले शाखा विस्तार गरेर आफ्ना ग्राहक बनाएर प्रतिस्पर्धाका लागि तयार हुँदा राम्रो हुन्छ ।
ब्रोकरहरूले नयाँ ब्रोकर अनुमति दिनु हुँदैन भन्नु हुँदैन । ब्रोकरले आफ्नो साधन स्रोत बढाएर नेपालका ७७ वटै जिल्लामा दोस्रो बजारको पहुँच पु-याउनुप-यो । त्यसपछि पनि कुनै व्यक्ति ब्रोकरको काम गर्छु भनेर आउँछ भने उसले पनि पाउनुपर्छ । खुला अर्थतन्त्रमा म मात्रै गर्छु भनेर हुँदैन र पाइँदैन । त्यसका साथै अनुमति दिँदै गर्दा बोर्ड तथा नेप्सेको पनि साधनस्रोत हेर्नुपर्छ । ब्रोकर कम्पनीको अनुमति दिनु भनेको पैसाको कारोबार हुने स्थान बढ्नु हो । कुनै पनि ब्रोकर तलमाथि हुनेबित्तिकै समग्र पुँजी बजारमा नकारात्मक असर पर्छ । अहिले नयाँ कम्पनी थप्दै जाने समस्या पनि बढ्दै जाने हुनु भएन । आगामी दिनमा आउन सक्ने समस्याका बारेमा हामी अहिले नै चनाखो हुनुपर्छ । त्यसैले ब्रोकर कम्पनी पनि थप्नुपर्छ । बैंकको सहायक कम्पनीलाई पनि अनुमति दिनुपर्छ र भएका ब्रोकरलाई पनि बचाउनुपर्छ ।
बैंकलाई लाइसेन्स भन्ने कुरा धेरै नै हल्ला भएको छ । ब्रोकरको लाइसेन्स बैंकको सहायक कम्पनीमार्फत दिने हो । त्यसका लागि बैंक पनि आउनुप-यो नि । अहिले वाणिज्य बैंकहरूले सेयर ब्रोकरको काम गर्नका लागि सहायक कम्पनी स्थापना गर्ने भनेर बल्ल साधारणसभामा एजेन्डा बनाएका छन् । त्यसको पनि प्रक्रिया छ । नेप्सेलाई ब्रोकरको संख्या जति धेरै भयो, राम्रो हो । त्यो भएको खण्डमा कारोबार वढ्छ । त्यसका साथै हरेक लगानीकर्ताले सबै स्थानबाट कारोबार गर्न पाउँछ । यो बजारका लागि सकारात्मक नै हो । यसका लागि ब्रोकरको संख्या मात्र बढाएर हुँदैन । त्यसमा भोलि नियमनका कुरा पनि आउँछन् । त्यो समयमा पर्याप्त पूवार्धार अभावका कारण बजारमा नै समस्या आउने अवस्था आउन सक्छ । यसबारेमा पनि हामीले सोच्नुपर्छ । पुँजी बजार भनेको धेरै संवेदनशील क्षेत्र पनि हो । त्यसका साथै रियल समयमा कारोबार हुन्छ । लगानीकर्ताले लगानीको निर्णय गर्ने हो । हामीले बजार घटाउने बढाउने होइन । हामीले सेयर बजारको प्लेटफर्म मात्र तयार गरिदिने हो । लगानी र लगानीको जोखिमको निर्णय लगानीकर्ता आफैंले गर्ने हो ।

तपाईं नेप्सेको प्रमुख कार्यकारी अधिकृत भएर आएको डेढ वर्ष पुगिसकेको छ । यो अवधिमा लगानीकर्ताले महसुस गर्ने काम के गर्नुभयो ?
आजभन्दा डेढ वर्षअघि मैले नेप्सेको जिम्मेवारी सम्हाल्दै गर्दा कारोबार र सूचीकरण विनियमावलीसमेत ओपन आउट क्राई सिस्टमको थियो । करिब ६ महिनाको अवधिमा कारोबार र सूचीकरण विनियमावली परिवर्तन गरियो । त्यति मात्र नभई पुँजीबजारका सूचकहरू वैज्ञानिक र व्यावहारिक बनाउनका लागि विकास बैंक र माइक्रो फाइनान्सलाई छुट्ट्याएर छुट्टाछुट्टै सूचक बनायौं । त्यसैगरी बिमामा जीवन र निर्जीवन, नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट अलग गरेर अन्य समूहमा राख्यौं । धितोपत्र बजारमा कम्पनी विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताका लागि यो अचुक औषधि हो ।
सेयरको डिलरसिप दिनका लागि नेप्सेको कारोबार प्रणाली अनलाइन नहुँदासम्म भनेर पर्खेका थियौं । अहिले अनलाइन सुरु भएको पाँच महिनाको अवधिमा डिलरसिप तथा प्रोप्राइटरसिपका लागि आवश्यक नियम बनाएर नेपाल धितोपत्र बोर्डमा पठाइसकेका छौं । मार्जिन ल्यान्डिङको सन्दर्भमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड तथा नेप्सेको बीचमा कानुनी स्पष्टता नभएको हुनाले केही दुविधा थियो । त्यो पनि अहिले समाप्त भएको छ । मार्जिन ल्यान्डिङको काम नै सुरु हुने चरणमा पुगेको छ । डिलरसिपको सन्दर्भमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष आउनेबित्तिकै हामी दिन तयार छौं । कारोबार राफसाफको सन्दर्भमा लगानीकर्ताले टी प्लस जेरो वा वान भन्छन् । तर, अमेरिकाजस्तो देशमा पनि सेयर कारोबार राफसाफ टी प्लस टु रहेको छ । सेयर खरिदको अर्डर गरेर पैसा खोज्ने लगानीकर्ता पनि हामीसँग भएकाले टी प्लस जेरो वा वान गर्नका लागि बजार तथा लगानीकर्ता त्यो लेभलमा पुगेका छैनन् । कारोबार राफसाफलाई टी प्लस थ्रीबाट घटाएर टी प्लस टुमा ल्याउन सकिन्छ कि भनेर अध्ययनका लागि समिति गठन गरेका छौं । व्यावहारिक रूपमा बजार चलाउनका लागि के आवश्यक छ त्यसलाई हामीले महŒव दिने हो । त्यसैगरी हामीले अहिले नेप्से, सिडिएस र ब्रोकरहरूवाट ५–५ लाख गरी १५ लाख रुपैयाँ सिड मनी राखेर सेटलमेन्ट ग्यारेन्टी फन्ड सुरु भएको छ । आगामी दिन हामीले तत्काल बजारका सूचकहरूको केही प्रडक्ट बनाउन सकिन्छ कि भनेर अध्ययन सम्पन्न गरेको छ । त्यसका लागि नेप्सेको सञ्चालक समितिले निर्णय गर्ने बित्तिकै काम सुरु हुन्छ । अक्सन मार्केटका लागि हामी तयार भएका छौं । त्यसका साथै राइट रिनाउन्सका लागि आवश्यक कार्यविधि बनाएर हामीले धितोपत्र बोर्डमा पठाएका छौं । अनलाइन कारोबार प्रणाली सुरु गरेर बजारको विकास र आधुनिकीकरणका लागि काम भएका छन् । हाम्रो बजारका लगानीकर्ताअनुसारको माग छ । समग्र बजारका लगानीकर्ताको हितमा काम हुनुपर्नेमा त्यो अनुसार भएको छ ।

सेयर बजारको विकास नभएको नेप्से सरकारी कम्पनी भएको भन्छन् । वास्तवकिता के हो ?
पुँजीबजारको विकासका लागि नियामकले गर्न भनेका सम्पूर्ण काम नेप्सेले गरेको छ । त्यसका साथै बजारको आवश्यकतालाई महसुस भएका धेरै काम हामीले गरेका छौं । आगामी दिनमा पनि गर्नेछौं । प्राथमिक बजार अनुसार दोस्रो बजार भएन भनेको हुन सक्छ । अब धितोपत्रको दोस्रो बजार पनि काठमाडौंमा मात्र सीमित छैन । त्यसका साथै प्राथमिक बजार जस्तो दोस्रो बजार हुँदा पनि होइन । प्राथमिक बजारमा जोखिम कम छ । सेयर खुलेको छ भने जुनसुकै समयमा आवेदन दिन सक्नुहुन्छ । तर, दोस्रो बजार भनेको रियल टाइममा कारोबार हुन्छ । त्यसका साथै दोस्रो बजारमा सेयर मूल्य पार भ्यालुमा नभई बजारले निर्धारण गरेको मूल्यमा कारोबार हुन्छ । त्यसैले दोस्रो बजारमा लगानीकर्ताले पर्याप्त अध्ययन तथा विश्लेषण गरेर लगानी गर्नुपर्ने हुन्छ । हाम्रो नियामकले दोस्रो बजार पनि प्राथमिकजस्तो विस्तार होस् भन्ने हो । त्यसका लागि नेप्सेको कारोबार प्रणाली अनलाइन भएपछि त्यो पनि सम्भव भएको छ । त्यसका लागि ८० प्रतिशत काम भइसकेको छ । अहिलेको समयमा ताप्लेजुङ तथा जुम्लाबाट पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता छन् । त्यो सम्भव भएको अनलाइन प्रणालीले नै हो । जोखिम तथा रियल टाइम कारोबार हुने भएकाले प्राथमिक बजार जस्तो दोस्रो बजार लगानीकर्ताले पनि खोज्नु हुँदैन । लगानीकर्ताले सेयर किनेपछि बढ्छ–बढ्छ भन्ने सोचाइ हटाउनुपर्छ । हरेक जिल्लामा दोस्रो बजारको सुविधा साधन तयार भएको छ । अहिले सञ्जाल नफैलिएको मात्र हो । अहिले हामीले धितोपत्र दलाल कम्पनीलाई सब–ब्रोकर तथा धितोपत्र अधिकारी प्रतिनिधिको नियुक्त गर्ने व्यवस्था गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छौं । त्यसका लागि निश्चित आचारसंहिता धितोपत्र ऐनमै भएका व्यवस्थाहरूले पनि काम गर्छ । त्यसमा आवश्यक संशोधन पनि गरी एजेन्टमार्फत काम गर्ने व्यवस्था गरौं । त्यसको जोखिमको जिम्मेवारी त धितोपत्र दलाल कम्पनीले नै लिने भएकाले धेरै सोच्नु पर्ने विषय हो जस्तो लाग्दैन । पुँजी बजारलाई सबैको पहुँचमा पु-याउनका लागि काम गर्ने हो । त्यो अनुसारको काम भएको छ ।

पछिल्लो समयमा सेयर कारोबार कमिसन महँगो भयो त्यसलाई घटाउनुपर्छ भन्ने छ । यसका लागि नेप्से पनि तयार हो ?
कारोबार कमिसनको सन्दर्भमा लगानीकर्ताले महँगो भयो भन्छन् भने धितोपत्र ब्रोकरले थोरै भयो संस्था चलाउन गाह«ो भयो भनेको अवस्था छ । त्यसका साथै लगानीकर्तालाई सेवा–सुविधा दिएबापत सरकारलाई पनि आम्दानी त हुनै पर्छ । सबै पक्षलाई हेर्दा सम्बन्धित निकायहरू बसेर यस विषयमा छलफल गर्नुपर्ने हुन्छ । सेयर बजारको कारोबार कति छ । ब्रोकर कम्पनीको लगानी कति हो ? लगानीअनुसारको आम्दानी भएको छ कि छैन ? कति कमाएका छन् वा गुमाएका छन् ? त्यसका साथै लगानीकर्तालाई कति भार परेको छ ? यी विषयमा सबै पक्षलाई सहभागी बनाएर छलफल गरेर स्वतन्त्र विज्ञबाट यसको निर्णय गराउनुपर्छ । यसभन्दा अघि पनि कारोबार कमिसन घटेको हो नि । घटाउँदा पनि लगानीकर्तालाई चित्त नै नबुझ्ने । ब्रोकरले पनि संस्था चलाउन सक्ने अवस्था नभएको बताउने । लगानीकर्ताले सुविधा लिनका लागि ब्रोकर हुनुप-यो । सेयर बजारका सबै पक्ष टिकेको भनेको लगानीकर्ताका कारणले हो । अहिले हामीले बजारका लागि जति पनि काममा खर्च गरेका छौं । त्यो सबै लगानीकर्ताकै पैसा हो । लगानीकर्ताकै लागि ल्याएको हो । लगानीकर्ताको पैसाबाट उहाँहरूकै लागि साधनस्रोत ल्याउँदा पनि विविध आलोचना र टिप्पणी आवश्यक होइन कि ?
त्यसका साथै अब धितोपत्र दलाल कम्पनी सेयर कारोबारको भरमा मात्र बाँच्नु पर्दैन । कारोबारका अतिरिक्त मार्जिन ल्यान्डिङ, प्रोप्राइटरसिप तथा डिलरको काम पनि गर्ने भएकाले आम्दानीका स्रोत विविधीकरण हुन्छ । यसलाई पनि मध्यनजर गरेर सबैलाई उपयुक्त हुने निर्णय गर्नुपर्छ ।