सरस्वती ढकाल
बिहिवार, चैत्र २१, २०७५
1185

नेपालमा रेमिट्यान्स भित्र्याउन पायोनियर कम्पनी मानिने इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई नेपाल व्यवस्थापन संघले गत महिना बेस्ट म्यानेजर अफ द इयरको उपाधिबाट सम्मानित ग-यो । नेपालका हरेकजसो निजी लगानीका कम्पनी प्रवद्र्धककै प्रत्यक्ष नियन्त्रण र निगरानीमा हुने भएकाले उच्च तहको व्यवस्थापनले स्वतन्त्र ढंगले काम गर्न नपाउने गरेको बताइन्छ । जसले निजी कम्पनीका व्यवस्थापकले आफ्नो क्षमता देखाउन नपाउने गरेको चर्चा चलिरहेको हुन्छ । तर, पोखरेल भने आफूले स्वतन्त्रतापूर्वक काम गर्न पाएकै कारण परिणाम निकाल्न सफल भएको र व्यवस्थापन संघको नजरमा पनि पुरस्कारयोग्य हुन सकेको बताउँछन् । हुन पनि उनी एक दशकभन्दा बढी समयदेखि आईएमई समूहसँग जोडिएका छन् । विगत नौ वर्षदेखि आईएमईमा नेतृत्व तहमा रहेर काम गरिरहेका पोखरेलसँग एभरेस्ट बैंक र ग्लोबल आईएमई बैंकमा समेत काम गरेको अनुभव छ । पोखरेल आईएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक हुन् भने ग्लोबल आईएमई बैंक, डिसहोम, स्मार्ट च्वाइस कम्पनी तथा आईएमई मोटर्समा बोर्ड सदस्य छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर पोखरेल रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरूको संगठन नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष पनि हुन् । व्यवस्थापन संघद्वारा बेस्ट म्यानेजर अफ द इयर अवार्डबाट सम्मानित भएपछि पोखरेलसँग नेपालको कर्पोरेट सेक्टरमा व्यवस्थापनको अवस्था तथा चुनौतीलगायत रेमिट्यान्स तथा आईएमई समूहका अन्य भेन्चरहरूको अवस्थाका विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

नेपाल व्यवस्थापन संघबाट हालै बेस्ट म्यानेजर अफ द इयरको अवार्ड पाउनुभयो । व्यवस्थापनका क्षेत्रमा मुलुककै एउटा सम्मानित अवार्ड पाउँदा कस्तो महसुस गरिरहनुभएको छ ?
व्यवस्थापन क्षेत्रमा नेपाल व्यवस्थापन संघ आफैंमा परिचित र राम्रो संस्था हो । त्यहाँ धेरै प्रोफेसनलहरू हुनुहुन्छ, जसले नेपालको व्यवस्थापन क्षेत्रलाई व्यावसायिक ढंगबाट माथि लैजान टेवा पु-याउँदै आउनुभएको छ । संघले बर्सेनि बेस्ट म्यानेजमेन्ट अफ दि इयर अवार्ड दिने गरेको छ, जसमा गएको वर्षको कामको मूल्यांकनस्वरूप मैले पाएको हुँ । अवार्डले मलाई निकै खुसी दिनुका साथै थप जिम्मेवारी बढाएको महसुस गरेको छु । मेहनतका साथ काम गरिएको थियो, नतिजा पनि उचित रूपमा पाउँदा खुसी लाग्नु स्वभाविक हो । ठूलो फोरममा प्रधानमन्त्रीबाट सम्मानित अवार्ड पाउँदा भोलिका दिनमा आफ्नो कर्मक्षेत्रलाई अझ जिम्मेवारीपूर्ण रूपमा अगाडि बढ्न प्रेरणा मिलेको छ ।

गएको वर्षमा गरेको कामका आधारमा तपाईंलाई बेस्ट म्यानेजरका रूपमा अवार्ड दिइयो, त्यसरी उत्कृष्ट नै हुने गरी के–के काम गर्नुभएको थियो ?
नेपाल व्यवस्थापन संघबाट अवार्ड घोषणाको कुनै ‘सब्जेक्टिभ जजमेन्ट’ नभएर निश्चित मापदण्ड निर्धारण गरिएको थियो । त्यही मापदण्डका आधारमा संघबाट निवेदन माग भयो । आवेदन माग भएअनुसार मैले पनि सहभागी हुने निर्णय गरेँ । तोकिएको मापदण्डभित्र रहेर आफूले गरेका कामहरू राखेर आवेदन दिनुपर्ने थियो । सामूहिक छलफल, अन्तर्वार्तालगायतका विभिन्न चरण पार गर्दै आफ्नो पर्फमेन्स त्यहाँ भन्नुपर्ने थियो । उचित कामको मूल्यांकन गर्दै त्यो अवार्ड दिइएको हो । मैले काम गरेको आइएमई समूहको सफलतामा मेरो पनि हात छ । यो मेरो मात्रै सफलता नभएर सम्पूर्ण बोर्ड सदस्य, सल्लाहकार, कर्मचारी, शुभचिन्तक सबैको योगदान हो । त्यो सफलतामा मेरो पनि योगदान रहेछ भन्ने प्रमाणित भएर नै मलाई अवार्ड दिइयो भन्ने लाग्छ ।

नेपालको कर्पोरेट सेक्टरमा छोटो समयमै पुराना घरानासरह स्थापित भइसकेको आईएमई समूह, जहाँ तपाईं काम गर्नुहुन्छ । पुस्तौंदेखि जरा गाडेर बसेकाहरूसँग नयाँ समूहले प्रतिस्पर्धा गर्नु गाह्रो अथवा चुनौतीपूर्ण भएन ?
चुनौतीपूर्ण अवश्य पनि छ । नेपालको ‘सोसियो पोलिटिकल’ वातावरण, पूर्वाधार विकास, उपलब्ध स्रोतसाधन सबैका हिसाबले हेर्दा काम गर्न सजिलो छैन । हाम्रो समूहको विश्वास सधैं हामीले नेपालमा काम गर्नुपर्छ, नेपालमा विकास गर्नुपर्छ, त्यसमा हाम्रो सक्रियता हुनुपर्छ भन्नेमै केन्द्रित छ । व्यवसायलाई विविधीकरण पनि गरेका छौँ । चुनौती नै नभएको क्षेत्र विश्वका कुनै पनि मुलुकमा छैन, कतिपयमा कम होला तर कतिमा बढी, त्यति मात्रै फरक हो । चुनौती भए पनि नेपालमा अवसर छ भनेर हामी अगाडि बढिरहेका छौँ । व्यवसायमा एक तहको सफलता हात पारे पनि धेरै काम गर्न भने बाँकी छ । नेपालको कर्पाेरेट क्षेत्रमा आईएमई समूहले राम्रो गरिरहेको छ भन्ने लाग्छ । नीतिगत रूपमा सुधारको वातावरण बन्दै छ । हिजोका दिनमा राजनीतिक अस्थिरताले गर्दा पनि देशमा काम गर्न नखोज्ने प्रचलन थियो अब हामीले स्थायी सरकार पाएका छाँै । पूर्वाधारको विकास पनि हुँदै छ । नेपालको जुन क्षेत्रमा पनि काम गर्ने हो भने सम्भावना र अवसर दुवै छ । यद्यपि नीतिगत स्थिरता, अन्तर्राष्ट्रिय एक्स्पोजर, प्रतिस्पर्धी क्षमता बढाउनु आवश्यक छ ।

अहिलेको विश्वमा व्यवस्थापन आफैंमा चुनौतीपूर्ण काम मानिन्छ । तर, नेपालमा भने कर्पोरेट सेक्टरमा पनि व्यवस्थापनलाई त्यति महŒव दिएको जस्तो लाग्दैन । म्यानेजर जतिसुकै सक्षम भए पनि प्रवद्र्धक नि हावी हुन्छन्, किन ?
कर्पाेरेट संरचनामा गएर नेपालमा काम गर्न थालेको धेरै समय भएको छैन । हामी सिक्ने चरणमै छौँ । नेपालमा पनि ठूला–ठूला व्यावसायिक घरानाहरू कर्पाेरेट संरचनामा गइसकेको अवस्था छ । स्वतन्त्र मानव संसाधन विभाग, विशेषज्ञ राख्ने र कर्मचारीलाई सम्पत्तिका रूपमा हेरिएको छ । आईएमई समूहले पनि कर्पाेरेट संरचनामै काम गरेको छ । अझ पनि नेपालको धेरै ठाउँमा सुधार हुन बाँकी छ । मालिकको डोमिनेन्ट पूर्ण रूपमा हट्यो भन्न सक्ने अवस्था छैन । अहिले जुनजुन व्यावसायिक घरानाहरू ग्रो गरिरहेका छन् तिनीहरू कर्पाेरेट संरचनामा गएर काम गरेका छन् । हिजोका दिनमा मालिकबाट फस्ट जेनेरेसन व्यवसाय सुरु भयो । त्यहाँबाटै सिक्ने काम भयो । समयसँगै सबै प्रक्रिया, निर्णयका तरिका, प्रविधिको प्रयोग फेरिएको छ । पहिलेको अवस्थामा मालिक हावी हुने प्रचलन नयाँ होइन, तर अहिले कर्पाेरेट हाउसमा सेकेन्ड जेनेरेसन तयार भएका छन् । विदेशमा प्रख्यात विश्वविद्यालयबाट पढेर सिकेर आएका व्यक्तिहरू छन् । पहिलेको तुलनामा व्यवसाय गर्ने तरिकामा सुधार हुँदै आएको छ । कर्पाेरेट हाउसहरूले पुरानो तरिकाबाट जाँदा बजारीकरण गर्न सक्दैनौँ भन्ने बुझिसकेका छन् । कम्पनीको साख बचाइराख्न र प्रतिस्पर्धी वातावरणमा अगाडि बढ्न हिजोको निर्णय गर्ने तरिका, व्यापारिक योजनाले पुग्दैन । अब नयाँ सोचका साथ काम गर्नुपर्छ जसले प्रतिस्पर्धालाई अझ खरो रूपमा उतार्न सक्नुपर्छ । प्रविधिको विकाससँगै अगाडि बढ्न नसक्ने कर्पाेरेट हाउसलाई कठिन छ ।

मुलुकको कर्पोरेट सेक्टरदेखि सार्वजनिक निकायसम्म कुशल व्यवस्थापकको खाँचो देखिन्छ । एउटै म्यानेजरले कुनै पनि संस्थालाई कायापलट गरिदिएका उदाहरणहरू पनि छन् । नेपालका अधिकांश सार्वजनिक र धेरै निजी कम्पनीहरू धराशायी हुनुमा सक्षम म्यानेजरको अभाव पनि प्रमुख कारण हो भनिन्छ । तपाईंलाई कस्तो लाग्छ ?
कम्पनीको सफलता वा दुर्भलतामा व्यवस्थापकको ठूलो हात हुन्छ । नीतिगत रूपमा निर्णय गर्ने, नीति निर्माण गर्ने, निर्णयहरू स्वतन्त्र भए–भएनन् त्यसमा विचार गरिएन भने कम्पनी निश्चित पछाडितिर जान्छ । बोर्डमा जुन तरिकाले नीतिहरू निर्माण हुन्छ त्यसलाई नबुझेर कार्यान्वयनमा समस्या भएर संस्था बिग्रिएको पनि छ । कुनै पनि प्रमोटरले आफ्नो संस्था बिग्रियोस् भनेर सोच्दैन । आफूले बनाएको संस्था राम्रो होस् भन्ने सबैको इच्छा हुन्छ । राम्रो व्यवस्थापन भएमा कम्पनी निकै माथि उठ्न सक्छ । कम्पनीलाई परिवर्तन गराउन सक्ने भनेको व्यवस्थापन नै हो । कम्पनीलाई माथि उठाउन व्यवस्थापन र बोर्डको समझदारी राम्रो हुनुपर्छ । बोर्ड र व्यवस्थापकको लयमा संस्था चलाउनुपर्छ । दुवैले आ–आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गरेमा कम्पनी फेलुअर हुने सम्भावना निकै कम हुन्छ । बोर्ड र व्यवस्थापनको लय फरक भयो भने कम्पनीले लक्ष्य भेट्न सक्दैन ।

आईएमई भन्नेबित्तिकै रेमिट्यान्सको अर्को नाम भन्ने बुझिन्छ । तपाईंहरू पनि विदेशबाट रेमिट्यान्स ल्याउन त सफल हुनुभयो तर त्यसको व्यवस्थापन गर्न त सक्षम हुनुभएन नि ? रेमिट्यान्स पाउनेहरूलाई उपभोगमुखी बनाउनुभयो, उत्पादनमुखी त बनाउन सक्नुभएन भन्न सकिँदैन र ?
नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर काम गरिरहेको संस्थाको स्कोप के हो भन्नेमा हेरिनुपर्छ । उसले गर्ने काम के हो ? हाम्रो काम भनेको विदेशमा नेपालीहरूले कमाएको पैसा सुरक्षित रूपमा नेपालमा ल्याएर उसको परिवारको हातमा पु-याइदिने हो । हाम्रो त्यो मुख्य काम हो । यसका साथसाथै सुरक्षित रूपमा रेमिट्यान्स पठाउनुपर्छ, यदि सुरक्षित रूपमा नपठाए तपाईंलाई यो घाटा देशलाई यो घाटा हुन्छ, रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्छ भनेर वित्तीय साक्षरताका क्षेत्रमा हामीले काम गरेका छौँ । बैंकिङ पहुँच विस्तार गर्न र बैंकिङ च्यानल प्रयोग गराउन पनि भन्छाँै । राष्ट्र बंैकले निकाल्ने विभिन्न बोन्डहरूलाई पनि प्रमोट गर्ने काम सहयोग गरेका छौँ । नेपालको अर्थतन्त्रमा ५६ प्रतिशत घरले कुनै न कुनै रूपमा रेमिट्यान्स पठाउँछन् । त्यो उपभोगमा खर्च हुन्छ । एउटा पूर्वाधार, सेयर बोन्ड, उद्योगमा लगानी गरेमा उत्पादनशील भन्न सकिन्छ । अर्काे पाटो जुन व्यक्तिले राम्रोसँग खान–लगाउन पाएको हुँदैन त्यसले खान लगाउन पाउँछ । औषधि–उपचार, बालबच्चाको शिक्षा दिन पाएको हुन्छ, बासको व्यवस्था गर्न सक्छ । घरमा आवश्यक चिजको प्रयोग त गर्नुपर्छ । अर्थतन्त्रमा उपभोग बढ्नुलाई नराम्रो मान्न सकिन्न । त्यो उपभोग अयातमुखी हुनु भएन । अहिले हामीले आयातमुखी भएर उपभोग ग-यौं, यो नराम्रो हो । यदि देशमै उत्पादन हुन्छ र उपभोग बढ्छ भने त्यसले उपभोक्ता, उत्पादक, देशको अर्थतन्त्र सबैलाई राम्रो गर्छ । नेपालमा विदेशी मुद्रा रेमिट्यान्समार्फत आयो तर आयात गर्नुपर्ने सामग्रीमा विदेश नै गयो, उत्पादनमा त्यसले टेवा पु-याउन सकेन । मानिसको आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्छ । उपभोगबाट बचेको पैसा बैंकिङ च्यानलमा राखेर उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सकियो भने त्यसको प्रभाव सकारात्मक हुन्छ । अहिले उपभोग बढायो तर त्यो उपभोग गर्ने सामान नेपालमा बनेन, आयातमुखी भयो भन्ने चासोको विषय हो । त्यसले व्यापारघाटामा असर गरेको हो ।

आईएमई समूह फाइनान्सियल सेक्टरमा जति सबल रूपमा छ, सेवा र व्यापार क्षेत्रमा पनि उदीयमान समूहकै रूपमा आइरहेको छ । तर, मुलुकको आवश्यकता रहेको उत्पादनशील क्षेत्रमा त तपाईंहरूको उपस्थिति अलि कमजोर हुनुको कारण के हो ?
हामीले फाइनान्सियल क्षेत्रबाटै काम सुरु गरेका हौं र हाम्रो अनुभव पनि यही क्षेत्रमै भयो । हाम्रो लगानी विस्तार पनि फाइनान्सियल क्षेत्रमै ग-यौँ । बैंकिङ पहुँच बढाउन देशभित्र मात्रै नभएर तीनवटा देशमा प्रतिनिधि कार्यालय विस्तार गरिसकेका छौँ । नेपालको बैंकिङ क्षेत्रलाई माथि उठाउन हाम्रो पहल राम्रो छ । त्यसैगरी बिमा क्षेत्रमा पनि लगानी विस्तार गरेका छौँ । अहिले पनि बिमा क्षेत्रमा ९० प्रतिशत जनतामा पहुँच बाहिर छन् । सरकारको नीति पनि डिजिटल नेपाल बनाउने छ, त्यसमा हामीले पनि आईएमई पे भनेर डिजिटल वालेट सुरु गरेका छौँ । वित्तीय साक्षरता, वित्तीय समावेशिता बढाउने र नेपाली समाजलाई ‘लेस क्यास’ बनाउने दिशामा हाम्रो योगदान हुनेछ । सूचनाको पहुँच पु-याउन डिसहोमले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । गाउँ–गाउँमा सूचना पु-याउने काममा डिसहोमको महŒवपूर्ण योगदान छ । पूर्वाधारमा चन्द्रागिरीलगायत हाइड्रोपावर क्षेत्रमा लगानी गरेका छाँै । कोर उत्पादनमूलक क्षेत्रमा हामी जान सकेका छैनाँँै । भोलिका दिनमा यस क्षेत्रमा लगानी गर्ने सम्बन्धमा बोर्डले केही सोच बनाएको पनि हुन सक्छ ।

सिमेन्ट उद्योगमा लगानी गर्ने विषय कहाँ पुग्यो ?
सिमेन्टमा लगानी गर्ने विषयमा छलफल भएको हो । लगानी सम्मेलनमा पनि निजी क्षेत्रको परियोजनाबाट शोकेसमा हाम्रो परियोजना थियो । मैले वित्तीय क्षेत्र रेमिट्यान्स र डिजिटल वालेटमा केन्द्रित भएकाले तत्कालका लागि यसमै जोड दिएको छु ।

तपाईं त नेपाल रेमिट्यान्स एसोसिएसनको अध्यक्ष पनि हुनुहुन्छ । मुलुकमा अहिले भित्रिरहेको रेमिट्यान्स आप्रवाह अथवा यसको वृद्धिदर कत्तिको स्वाभाविक छ ?
चालू वर्षको सात महिनाको अवस्था हेर्दा नेपाली रुपैयाँ २७-२८ प्रतिशत र डलरमा १६-१७ प्रतिशतको वृद्धि छ । रेमिट्यान्स जुन रूपमा भित्रिएको छ यसलाई राम्रो मान्नुपर्छ । गएको वर्षको सात महिनाको तुलनामा चालू वर्षको सात महिनामा रोजगारीका लागि विदेश जानेहरूको संख्या घटेको छ । रोजगारीमा जानेको संख्या झन्डै ४० प्रतिशतले घट्दा पनि रेमिट्यान्स बढ्नु सकारात्मक हो । मलेसिया बन्द छ । मलेसियामा रोजगारी पुनः सुचारु गर्ने विषय पनि आएको छ । भोलिका दिनमा मलेसियाबाट पनि रेमिट्यान्स आउने र विभिन्न देशबाट आउने रेमिट्यान्ट पठाउने क्रम बढ्छ ।

विगतदेखि नै हुन्डी ठूलो समस्याका रूपमा रहेको छ भनिन्छ । यतिबेला वैधानिक च्यानलको प्रयोग गर्ने प्रवृत्ति बढेको छ कि छैन ?
पहिलेको तुलनामा औपचारिक बाटाबाट पैसा पठाउने क्रम बढेको छ । कोरियाबाट आउने ठूलो रकम औपचारिक बाटोबाट आउन थालेको छ । सरकारले इन्भोसमा केही टाइट गरेको छ । सरकारले हुन्डीमा लाग्नेलाई कारबाही पनि गरेको छ । नयाँ क्षेत्रमा बैंकिङ पहुँच बढेको छ, रेमिट्यान्स कम्पनीहरू पुगेका कारणले हुन्डी घट्दै आएको छ । अनौपचारिक बाटोलाई कडाइ गर्दै जान सकेमा रेमिट्यान्स वृद्धि हुन्छ । देशमा विकास अवसर बढ्दै गएपछि रेमिट्यान्स बन्द हुन्छ कि भन्ने चासो पनि छ । भोलिका दिनमा रेमिट्यान्ट अझ बढ्छ भन्ने मलाई लाग्छ । अहिले ९० प्रतिशतभन्दा धेरै युवा ‘ब्लु कलर’मा रोजगारीमा गएका छन् । अहिले १ हजार-१५ सय रियालमा काम गर्न जानेहरू छन् भने भोलि देशमा विकास भयो, सिप सिकाउन थालियो भने ५-७ हजार रियालमा काम गर्न जान्छन् । रोजगारीमा जानेको संख्या घटे पनि रकम भने भोलिका दिनमा अझ बढ्छ ।

आईएमई समूहको अबको नयाँ लगानी कुन परियोजनामा ?
एक–दुईवटा परियोजनाका सम्बन्धमा छलफल भएको छ । परियोजना पूर्वाधार क्षेत्रसँग सम्बन्धित छन् । लगानी सम्मेलनमा शोकेस गरिएका परियोजना नै हुन् । पूर्वाधार क्षेत्रमा मेरो संलग्नता कम छ । आईएमई पे विस्तारलाई अहिले आक्रामक रूपमा अगाडि बढाएका छौँ । दोहोरो अंकको वृद्धि छ । आईएमई ब्रान्डले पनि डिजिटल वालेटलाई अगाडि बढाउन सहयोग पु-याएको छ ।

इन्टरनेट पहुँच त कमै छ, यस्तो अवस्थामा बजारीकरण कत्तिको सहज छ ?
सरकारकै डेटाले ६५ प्रतिशत जनसंख्या इन्टरनेट पहुँचमा रहेको देखाएको छ । स्मार्ट फोन पहुँच राम्रो छ । मोबाइल सेवाको पहुँच १ सय ३५ प्रतिशत छ । इन्टरनेट सेवामा पहुँच बढ्दै गए पनि सेवा विस्तार गर्न निकै चुनौती पनि छन् । एप वेस्डमा रहेर भुक्तानीको कारोबार गर्न वर्तमान अवस्थामा सहज छैन । साक्षरता बढाउन, विश्वास दिलाउन धेरै काम गर्न बाँकी छ । मोबाइल प्रयोगकर्ता भए पनि भुक्तानी कारोबार मोबाइल र एप बेस्ड भएर गर्ने नेपालीको संख्या कम छ । त्यसलाई बढाएर लैजानु हाम्रो मुख्य काम हो ।