गजेन्द्र बुढाथोकी
शुक्रवार, चैत्र १५, २०७५
879

विश्वभरि नै नवसिर्जना (इनोभेसन) प्रवद्र्धनका लागि स्वीजरल्यान्डमा स्थापना भएको वल्र्ड इनोभेसन फोरमका संस्थापक एवम् अध्यक्ष एक्सेल सुल्ज यतिखेर नेपाल भ्रमणमा छन् । फोरमको संयोजनमा नेपालमा उद्यमशीलता एकेडेमी (इन्टरप्रेनरसिप एकेडेमी) स्थापनाको पहल गरिने सुल्ज बताउँछन्, जसले युवाहरूलाई नवर्सिजनामा आधारित उद्यमशीलता (स्टार्टअप) हरू सिर्जना गर्ने लक्ष्य राखेको छ । सरकारले आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलन र नेपालमा आयोजना गर्न लागिएको वल्र्ड इनोभेसन फोरमबारे सुल्जसँग कारोबारका लागि समाचार सम्पादक गजेन्द्र बुढाथोकीले गरेको कुराकानीको सार :

तपाईं नेपाल लगानी सम्मेलनपूर्व नेपाल आउनुभएको छ ? लगानी सम्मेलनलाई कसरी हेर्नुभएको छ ?
यो नेपालका लागि राम्रो अवसर हो । यहाँ पूर्वाधारको निकै कमी रहेको मैले पाएँ, पूर्वाधारको विकास नभई कुनै पनि नवसिर्जना (इनोभेसन) सम्भव हुँदैन । उदाहरणका लागि म यहाँ आउनेबित्तिकै यहाँका अर्थमन्त्रीसँग समयका लागि इमेल गर्न खोजेँ, त्यही बेलामा नै इन्टरनेटले काम गरेन । यो पूर्वाधार अभावको सानो उदाहरण हो । लगानी सम्मेलनमा नेपालले ऊर्जा विकाससम्बन्धी परियोजनाहरूलाई मुख्य प्राथमिकता दिन लागेको रहेको छ । साँच्चै भन्ने हो भने ऊर्जाको विकास नै सबै पूर्वाधार विकासको आधार पनि हो । विद्युत्को उपलब्धता भएन भने हामी अन्य इनोभेसनका कुरा पनि अगाडि बढाउन सक्दैनौं । स्टार्टअप र युवामाथिको लगानी नै अहिलेका लागि मुख्य आधार बन्न सक्छ ।

तपाईंले स्वीजरल्यान्डमै र यहाँ नेपालमा आएर पनि प्रधानमन्त्रीका साथसाथै अर्थमन्त्रीसँग पनि भेट गर्नुभयो, उहाँहरूको नवसिर्जनाका सन्दर्भमा कस्तो धारण पाउनुभयो ?
नेपालका प्रधानमन्त्रीको समृद्धि र सुखी जनताका लागि राम्रोे दृष्टिकोण भएको पाइयो । यसका लागि उहाँले उद्यमशीलता र नवर्सिजनालाई जोड दिने बताउनुभएको छ, जुन सकारात्मक छ । अर्थमन्त्री पनि निकै सकारात्मक हुनुहुन्छ । मुख्य कुरा नीतिगत तहमा नवसिर्जनालाई कसरी जोड दिइन्छ भन्ने कुरा हो । नेपालमा नवर्सिजनशील सोचको कुनै खाँचो छैन, यहाँका केही सिर्जनशील युवाहरूले फोक्सोको संक्रमण घटाउने नानो चिप्सलगायतका थुप्रै ‘स्टार्टअप’को अवधारणा बनाउनुभएको छ । ती ‘स्टार्टअप’ लाई उद्यममा परिणत गर्न लगानी चाहिन्छ । त्यो लगानी जुटाउनका लागि यस्ता सम्मेलनहरूले आधार प्रदान गर्छन् । त्यसका लागि कानुनी र नीतिगत सुधार गर्नुपर्छ । अहिले भर्खरै केही कानुनी सुधार भएका भन्ने मैले थाह पाएँ, तर ती कस्तो किसिमका छन् भन्ने सार्वजनिक भएका छैनन् ।
यद्यपि नेपालले पर्याप्त लगानी प्रवाहका लागि उपयुक्त समयसम्म पर्खनुपर्ने हुन्छ, त्यसका लागि पाँच वर्ष पनि लाग्न सक्छ । तर, नेपालमा आउनका लागि विश्वकै राम्रा स्टार्टअपहरू पनि तत्पर छन्, उनीहरू उपयुक्त अवसरको पर्खाइमा छन् ।

नेपालमा कस्तो खालका नवसिर्जनाले व्यावसायिक आधार पाउन सक्ला ?
विश्वभरि नै हरेक दिनजसो नयाँ नयाँ नवसिर्जनाका सोचहरू सार्वजनिक भइरहेका छन् । तपार्इंले हेर्नुभयो भने मुख्यतयाः आफ्नो नवीन सोचसँगैै बजारमा अवसरहरूलाई उद्यमशीलतामा परिणत गर्न सकिने स्टार्टअपहरूले नै सफलता पाउने गरेका छन् । नेपालमा बनाइने स्टार्टअपहरू यस्ता हुनुपर्छ, जसले आफ्नै ब्रान्ड सिर्जना गर्न सकून् । अहिलेको प्रतिस्पर्धी विश्वमा ब्रान्डले मुख्य भूमिका खेल्छ । आफ्नै नवीन सोच र ब्रान्ड भएपछि लगानी त संयुक्त लगानी (जेभी) बाट पनि भित्र्याउन सकिन्छ । नेपालमा यस्ता किसिमका स्टार्टअपहरूलाई आधार बनाइनुपर्छ, जसले आन्तरिक बजारलाई मुख्य प्राथमिकता देओस् र अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो सबल उपस्थिति जनाउन सकोस् । उदाहरणका लागि अहिले विश्व बजारमा ‘ब्युटी प्रडक्ट’को राम्रो माग छ, नेपाली उत्पादनले पनि बजार पाइरहेको छ, तर आफ्नो ब्रान्ड सिर्जना हुन सकेको छैन । नेपालमा अहिले ५० देखि १ सय स्टार्टअप तयार भइसकेका छन्, तिनीहरू थोरै वित्तीय सहयोग र उत्प्रेरणा आधार पाए भने अगाडि बढ्न सक्ने अवस्था छ । मुख्य प्रश्न भनेको उनीहरूका लागि लगानी कसरी जुटाउने भन्ने नै हो । यसमा विभिन्न विकल्प हुन सक्छन् । चीनको मोडल हेर्ने हो भने उसले मुद्रा छापेर आन्तरिक लगानी गर्ने विधि अपनाएको छ, तर यो नेपालका लागि उपयुक्त नहुन सक्छ । भियतनामलगायतका अन्य मुलुकहरूमा अपनाइएका अन्य वैकल्पिक विधिलाई यहाँ अनुसरण गर्न सकिन्छ । यसका लागि सरकारसँग सहकार्य गर्न सकिन्छ । नेपालका स्टार्टअप कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जमा जान सक्छन्, साधारण सेयर जारी गरेर (एफपीओ) बाट आफूलाई चाहिने लगानी जुटाउन सक्छन्, तर यसका लागि ७ देखि १० वर्षसम्म पनि लाग्न सक्छ ।

तपार्इंले स्टार्टअप कम्पनीहरूले स्टक एक्सचेन्जबाट पनि लगानी जुटाउन सक्ने बताउनुभयो, तर हाम्रो सेयर बजार सानो छ भने यहाँको सेयर बजारमा उत्पादनमूलक कम्पनीहरूको कम सहभागिता छ नि ?
अवश्य पनि यो एउटा समस्या हो, तर हामीले यसलाई अवसरका रूपमा पनि लिनुपर्ने हुन्छ । किनकि नवसिर्जनामा आधारित स्टार्टअप कम्पनीहरूका लागि जहाँ समस्या हुन्छ, त्यहाँबाटै काम आरम्भ गर्ने अवसर पनि प्राप्त हुन्छ । त्यसैले मैले यसका लागि ७ देखि १० वर्ष लाग्नसक्छ भन्ने कुरा गरेको हुँ । स्टार्टअप कम्पनीहरूले पनि उत्पादन आधार बनाएर त्यसका वितरक र खुद्राबिक्रीका विक्रेता खोज्ने हो, पहिला नै खुद्रा बिक्रीकर्ता खोज्न थालियो भने स्टार्टअप कम्पनीहरू कहिल्यै सफल हुँदैनन् । स्थानीय बजारका साथसाथै उत्पादनलाई विश्व बजारका कसरी पु-याउने भन्ने अहिलेको मुख्य सबाल हो, त्यसका लागि सरकारले सहजीकरण गर्नसक्छ ।

नेपालमा नवर्सिजनामा आधारित उद्यमशीलताका लागि के कस्ता अवसर छन् त ?
नेपालबारे प्रायःजसो मानिसहरूमा गलत धारणा जमेको हामी पाउँछौं । यो गरिब देश हो, यो सानो देश हो, यहाँ लगानीको अभाव छ । यहाँ अशिक्षित जनसंख्या ठूलो छ भन्ने गरिन्छ । यो गलत धारणा हो । हो, अन्य केही देशभन्दा नेपाल गरिब होला तर पहिलो कुरा यो सानो देश होइन । नेपालको आफ्नै संस्कृति छ, आफ्नै मानवीय शक्ति छ । नेपालमा विलक्षण प्रतिभाहरू छन्, ती प्रतिभाहरू पुँजीको अभावका आफ्नै उद्यमशीलता सिर्जना गर्नबाट केही खुम्चिएका हुन सक्छन् तर तिनीहरू जैविक (अग्र्यानिक) रूपमा बढ्न सक्छन्, आफ्ना उद्यम सिर्जना गर्न सक्छन् र आफ्ना उत्पादन विदेशमा निर्यातसमेत गर्न सक्छन् । यसलाई हामी विश्वका उदाहरणबाट हेर्न सक्छौं । दक्षिण कोरिया ३० वर्षअगाडि नेपालजस्तै गरिब र अवसरबाट साँघुरिएको मुलुक थियो । त्यो समयमा केही थोरै व्यक्तिहरूले उद्यमशीलता सिर्जना गरे । हुन्डाईजस्ता कम्पनीहरू जुत्ता र कपडा बनाउँथे, तर पछि उक्त कम्पनीले कार बनाउन सुरु ग-यो । सामसङ कम्पनी एउटा गोदामबाट आज विश्वकै सफल मोबाइल र अन्य घरायसी उपकरण बनाउने कम्पनी बनेको छ, सामसङ वास्तवमै एक इनोभेटिभ कम्पनी हो । त्यसपछि एलजीले कोरियाको औद्योगिक आधार बनाउनमा योगदान दियो । यी तीन कम्पनीले नै नेतृत्व गरेर आज दक्षिण कोरिया कहाँबाट कहाँ पुग्यो । अठारौं शताब्दीमा जर्मनी पनि गरिब मुलुक थियो, सरकारले केही कम्पनी सिर्जना गर्न सहयोग ग-यो । अर्को उदाहरण भियतनाम बनेको छ, जसले बाह्य पुँजीभन्दा आन्तरिक पुँजीमा बढावा दियो । भारतलाई हेरौं, त्यहाँ टाटा भन्ने कम्पनी आन्तरिक उत्पादनमा ध्यान दिएको थियो । अहिले भारतले उत्पादन र नवसिर्जनामा ध्यान दिँदैछ । हामी (नेपाल)ले यी मार्गहरूलाई पछ्याउन सक्छ । प्रत्येक डलरको निर्यातले नेपालले महत्वपूर्ण राजस्व सिर्जना गर्न सक्छ । मैले यहाँका अर्थमन्त्रीसँग केही समयअघि जुरिकमा यसबारे कुरा गरेको थिएँ । यसले केही समय लिन्छ, तर कुनै समय यस्तो आउँछ, जब यहाँ पर्याप्त विदेशी पुँजी प्रवाह हुन्छ ।
अहिले नेपालका केही क्षेत्र संरक्षित अवस्थामा छ, यस्तो अवस्थालाई विदेशी लगानीकर्ताले चुनौतीपूर्ण अवस्थाका रूपमा लिन्छन् । वास्तविकता के हो भने तपाईं केही पनि संरक्षित गर्न सक्नुहुन्न ।

नेपालको स्टार्टअप बजार कस्तो छ ?
स्टार्टअप बजार साँच्चिकै आश्चर्यजनक छ, चाहे नेपालमा होस् वा बंगलादेशमा । नेपालजस्ता देशका लागि ठूलो अवसर छ, किनकि भाषाको समस्या छैन । विश्वभरि डेढ अर्ब जनसंख्या अंग्रेजी बोल्ने छन्, तिनीहरू ठूलो बजार हुन् । कोरियालीहरूले भाषाको समस्याकै कारण जापानी, चिनियाँलगायतका भाषा सिक्नुपरिरहेको छ । यो समस्या नेपालीहरूका लागि छैन । अहिले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को समय छ, एआई सिक्नुजतिको आवश्यक छ, उत्तिकै अंग्रेजी भाषा सिक्नु आवश्यक छ । नेपालका लागि त्यो समस्या छैन । मैले नेपालमा देखेको अर्को अवसर भनेको नेपालीहरूमा सिक्ने चाहना अति नै धेरै छ, नेपालीहरू जिज्ञासु छन्, प्रयोग गर्न रुचाउँछन्, यो निकै राम्रो पक्ष हो । नक्कल सिर्जना गर्ने होइन, आफ्नो पहिचान सिर्जना गर्ने हो, त्यसले अवसरका ढोकाहरू खोल्छन् । धेरै नेपाली कम्पनीहरूले हाम्रो बजार सानो भएकाले हामी बाहिर जान चाहन्छौं, त्यसका लागि पुँजी चाहियो भन्छन् । यसका लागि अनुदान, सहयोग चाहियो भन्छन् । तर, अनुदान सहयोगले उद्यमशीलता फस्टाउँदैन, चाहिने पुँजीगत लगानी हो ।

नेपालले आफ्नो पुँजीको अभाव पूरा गर्न के गर्न सक्छ ?
नेपालमा केही पहल भइरहेकै छन् । सरकारले लगानी सम्मेलन आयोजना गरिरहेको छ । यसबारे मैले प्रधानमन्त्री र अर्थमन्त्री दुवै जनासँग कुरा गरेँ । सरकार समृद्धिको पक्षमा लागेको देखिन्छ । पुँजीगत अभाव पूर्तिका लागि सरकार, उद्यमी, समाज सबैले एकीकृत ढंगले काम गर्नुपर्छ । मेरो लक्ष्य भनेको नेपालका स्टार्टअप कम्पनीहरूले नेपालकै स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर जारी गरेर पुँजी जुटाउन सकुन् भन्ने हो, न कि सिंगापुरसहितका अन्य मुलुकमा । तर, यसका लागि समय लाग्न सक्छ । यस विषयमा आफ्नै मुलुकमा केही गर्न सकिन्छ भन्ने निकायहरूसँग बसेर छलफल गर्नुपर्छ ।