सरस्वती ढकाल
बिहिवार, माघ ३, २०७५
478

नेपाल हस्तकला महासंघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रभाइ शाक्य यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए । नेपाली हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन तथा स्वदेशमै पनि गुणस्तरीय हस्तकला उत्पादनका लागि अहोरात्र खटिइरहने शाक्य निर्वाचनबाट नेतृत्वमा आए पनि सबैलाई समेटेर अघि बढ्ने बताउँछन् । नेपाली उत्पादन संसारमै पृथक् नमुनाका रूपमा स्वीकार गरिने भए पनि यसको अपेक्षित रूपमा विकास र विस्तार हुन नसकेको बताउने शाक्य आफ्नो कार्यकालमा नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी रूपमा पुर्याउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछन् । खासगरी फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय छन् । नेपाली उत्पादन अमेरिका, युरोप, जापान तथा क्यानडालगायतका मुलुकमा लोकप्रिय मानिन्छन् । ती मुलुकबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि हस्तकला सामग्री पर्ने गरेका छन् । तर, नेपाली हस्तकला अझै पनि आमउत्पादन (मास प्रडक्सन) को तहसम्म पुग्न सकेको भने छैन । यसका लागि न नीतिगत व्यवस्था हुन सकेको छ, न त लगानीका लागि प्रयास नै । नवनिर्वाचित अध्यक्ष शाक्यको ‘अर्जुनदृष्टि’ पनि यसैमा छ । साँघुरो घेरामा सीमित रहेको मौलिक हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षितिजसम्म पुर्याउने अभियानमा सक्रिय रहेका शाक्य शतप्रतिशतभन्दा बढी नै भ्यालु एड गर्न सकिने र अरूले सहजै नक्कलसमेत गर्न नसक्ने भएकाले हस्तकलाको पेटेन्ट राइटसमेत लिन सकिने सम्भावना देख्छन् । सरकारसँग मिलेर हस्तकलामैत्री नीति बनाउने तथा व्यवसायीका कर्जा, जनशक्तिलगायतका समस्यामा पनि उत्तिकै जोड दिने उनको योजना छ । नवनिर्वाचित अध्यक्ष शाक्यसँग कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

नेपालको निर्यात व्यापार बढ्न नसकेको तर आयात व्यापार भने निकै बढेर व्यापारघाटा निकै फराकिलो बनेका यो बेला तपाईं निर्यातजन्य क्षेत्र हस्तकला महासंघको नेतृत्वमा पुग्नुभएको छ । अहिलेको अवस्था र आफू नेतृत्वमा आएको समयलाई कसरी हेरिरहनुभएको छ ?
नेपाली उत्पादनहरूमध्ये हस्तकला निर्यातका लागि निकै सम्भावना भएको क्षेत्र हो । तर, हामीले हस्तकलामा जति सम्भावना छ त्योअनुसार निर्यात गरेर लाभ लिन सकेको अवस्था छैन । हामीले हस्तकलाका सामग्री निर्यात गर्ने मात्र भनेर पनि हुँदैन । त्यसका लागि आवश्यक जनशक्ति निर्माण, नीतिगत सहजता, उचित बजार र प्रतिस्पर्धी लागत हुनुपर्छ । यसका साथै हामीमा काम गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । सानै उमेरदेखि काम गर्नुपर्छ र सीप सिक्नुपर्छ भन्ने भावना सबैमा आयो भने पनि नेपाल समृद्ध हुन धेरै समय लाग्दैन ।

स्कुल तहबाट कम्तीमा एउटा विधामा सीप दिन सकियो भने हजारौं बालबालिकामध्ये केही पछि गएर त्यो सीपलाई नै मुख्य पेसा बनाउन सक्छन् ।

दक्ष कामदार बनाउने गतिलो उपाय पनि हो । स्कुल तहमै हस्तकलासम्बन्धी जानकारी दिन सकियो भने त्यसको दीर्घकालीन असर निर्यातमा देख्न सकिन्छ । व्यापारघाटा दिनप्रतिदिन बढेको अवस्था छ, तर खै त दीर्घकालीन योजना ? नेपालको सम्भावना जुन वस्तु तथा सेवामा छ त्यसमा सरकारले नीतिगत रूपमा प्राथिमिकता दिनुपर्छ । विदेशमा हुने मेलामा स्टल छुटदेखि विभिन्न किसिमका सुविधा हुन्छन्, सरकारी तवरबाट त्यस्ता सुविधाका सम्बन्धमा चासो दिनु जरुरी छ । विदेशमा सहभागी गराउन पठाउँदा सम्बन्धित क्षेत्र र काम गरेको क्षमतावान् व्यक्तिलाई पठाउनुपर्छ । मेलामा सामान बेच्ने भन्दा पनि ब्रान्डिङ गर्नेमा जोड दिनुपर्छ । जथाभावी सामान बेचर आउँदा आउने जो–कोही व्यवसायीलाई एकपटकलाई त फाइदा होला, तर त्यसले समग्र हस्तकला क्षेत्र र नेपालको छविलाई राम्रो गर्दैन । कतिपय मेलाहरूमा सस्तोमा सामान बेचर नेपाली वस्तुको गरिमा नै बिगारेको पनि पाइएको छ । नेपाली सामान र ब्रान्डमा व्यवसायी, सरकार र सम्बन्धित निकाय चनाखो हुनुपर्छ । व्यापारघाटा कम गर्न उत्पादन बढाउनुका साथै देशमा भएका कलालाई बचाउनुपर्छ ।

महासंघ नेतृत्वमा तपाईं सर्वसम्मत हुन सक्नुभएन । हरेक वस्तुगत संघ–संगठनमा सहमति भन्ने स्वर नै मसिनो हुन थालिसकेको छ भने यसले निजी क्षेत्रभित्रै ठूलो फुट छ भन्ने देखाउँदैन र ?
म हस्तकला महासंघमा आबद्ध भएको ३० वर्ष भइसक्यो । महासंघमा दुई कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको छु । स्वदेश तथा विदेशमा हस्तकलाको प्रवद्र्धनका लागि मेरो योगदान धेरै छ भन्ने लाग्छ । अबका दिनमा पनि देशभित्रको मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली हस्तकलालाई थप प्रवद्र्धन गर्नुपर्ने छ । जति पनि साथीहरूले मलाई विश्वास गरेर मत दिएर जिताउनुभएको छ, त्यो मत र विश्वासलाई खेर जान दिनेछैन, यो मेरो प्रतिबद्धता हो । जति साथीभाइले मलाई हस्तकलाको नेतृत्वमा पुर्याउनुभएको छ, सबैमा विशेष धन्यवाद पनि दिन चाहन्छु । मेरो कार्यकालमा हस्तकला क्षेत्रलाई एउटा उचाइ दिन प्रयत्नरत रहनेछु भने यो क्षेत्रको विकास अगाडि बढाउन निजी क्षेत्र, सरकार तथा अन्तर्राष्ट्रिय स्तरमै लबिङमा जोड रहनेछ । चुनाव हुनु र नयाँ नेतृत्व आउनु स्वाभाविक प्रक्रिया हो । यसलाई फुटका रूपमा हेरिनु हुँदैन । पालो कुरेर मात्रै भएन, काम गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ । हस्तकलाका सम्पूर्ण साथीहरूलाई मेरो कार्यकालमा समान अवसरको अनुभूति गराउन मेरो प्रयत्न रहनेछ । महासंघको अध्यक्षले एक्लै गरेर केही हुन्न, यो क्षेत्रको विकासका लागि सबै साथीभाइको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । हिजोका दिनमा भएका कमी–कमजोरीलाई सच्चाउँदै आगामी बाटो तय हुन्छ ।

हस्तकला महासंघको नेतृत्वमा आइसकेपछि तपाईंको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू के छन् ? जसले तपाईं हस्तकला महासंघको नेतृत्वमा हुनुहुन्थ्यो भनेर पछिल्लो पुस्ताले पनि सम्झन सकोस् ।
कालिगढको क्षमता वृद्धि, कच्चापदार्थको सहजता, व्यापारीहरूलाई व्यापारमा सहजता स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनका काम गर्नमै मेरा योजनाहरू लक्षित हुनेछन् । कुनै पनि विदेशी नागरिक नेपाल आएर जाँदा २० किलो सामग्री लैजान पाउँछ । २० किलो लिएर जाँदा एयरपोर्टमा विभिन्न किसिमका झन्झटिलो प्रक्रिया छ । प्रक्रिया झन्झटिलो मात्रै नभएर लामो पनि छ, यसलाई एकै ठाउँमा काम गर्न सक्ने व्यवस्था गरियो भने निकै राम्रो हुन्छ । बौद्ध, ठमेल घुमेर जाने पर्यटकले सामान किनेर जान्छन्, उनीहरूलाई थाहा हुन्न । जब एयरपोर्ट पुग्छन्, विभिन्न किसिमका झन्झट आउँछन् । एउटा पर्यटकले नेपाल आउने अरू पर्यटकलाई पनि नेपालको झन्झटका बारेमा बताउँछन् । समग्रमा नेपाली सामान र छवि नै नराम्रो हुन्छ । हामी विदेशबाट आउँदा २० किलो सामान ल्याउँदा जे सामान पनि ल्याउन सकिन्छ । भ्या

ट बिल तिरेर सामान किनेको छ भने पर्यटकलाई सहज रूपमा सामग्री लैजान दिनुपर्यो । अर्काे कुरा, बैंकको ब्याजदर निकै धेरै छ, सरल ब्याजको व्यवस्था हुनुपर्छ ।

यी लगायतका काममा मेरा योजना लक्षित हुनेछन् ।
अर्कातर्फ नेपालमा हस्तकला हाउस बनाउन आवश्यक छ । नेपालभरिका हस्तकला सामग्रीहरू सोही हाउसमै राख्नुपर्छ । पाटन, काठमाडौँ, ललितपुर मात्रै होइन, यो हाउसमा देशभरिका विविधतापूर्ण सामग्रीहरू राख्नुपर्छ । हस्तकलामा ४२ विधा छन् भनिएको छ, तर ती ४२ विधा के हुन् ? आजसम्म धेरै जानकारी हुन सकेको छैन । कार्पेट, थाङ्काजस्ता सामानहरू मात्रै मानिसहरूलाई याद छ । सबै विधा राखेर ‘नेपाल हाउस’ सञ्चालन गर्न सकियो भने स्वदेशी तथा विदेशी सबैले एउटै ठाउँमा नेपालको विविधता हेर्न पाउँछन् । यसले हस्तकला क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्छ । हस्तकला म्युजियम बनाउन ढिला भइसकेको छ ।

हस्तकला क्षेत्रका अहिलेका समस्याहरू के हुन् ? समस्या राज्यको नीतिमा छ कि व्यवसायीको इनोभेसनमा कमजोरी छ ?
तत्कालीन समस्या जनशक्ति कम हुनु नै हो । धेरै मानिस अहिले विदेश पलायन भएको अवस्था छ । पहिलेदेखि काम गरेकाहरू गरिरहेका छन्, तर नयाँ जेनेरेसन हस्तकलामा आउन सकेको अवस्था छैन । स्कुलमा जाँदा डाक्टर बन्छु, पाइलट बन्छु भन्ने लक्ष्य लिन्छौँ तर असल कलाकार बन्छु भन्ने लक्ष्य लिएको पाइँदैन । त्यसका लागि सरकारले नीतिगत रूपमै व्यवस्था गर्नुपर्छ । हामी यसका लागि विभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भएको छ । हस्तकलामा काम गर्नेहरूलाई ‘पोजिसन’ दिनु जरुरी छ । बैंकले उचित धितो राखेमा ८ देखि १० प्रतिशत राखेमा पाएको अवस्था छ । निर्यात व्यापार बढाउन बैंकको ब्याजमा पनि सहजता दिनुपर्छ । लगानी नभएका कारण पनि अहिले धेरै प्रतिभाहरू विदेश पलायन भएको अवस्था छ । स्वदेशी काम गर्ने वातावरण बनाउन सकियो भने एउटा व्यक्ति, परिवार हुँदै समग्र राष्ट्रका लागि राम्रो हुन्छ । छिटो–छिटो सरकार परिवर्तन हुने, मन्त्रालयमा सचिवहरूको सरुवा पनि छिटो हुने गरेको छ । एउटा सचिवले सिक्न नपाउँदै अर्काे सचिव आउँछन्, उनीहरूलाई सिकाउँदैमा समय ठिक्क भएको छ । सर्वप्रथम यो क्षेत्रमा केही काम गर्नका लागि जानकार व्यक्ति आवश्यक पर्छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली सामान पुर्याउन सहज हुने खालको नीति लिनुपर्छ । विदेशमा हुने हाम्रा दूतावासदेखि कूटनीतिक नियोगमा पनि नेपाली उत्पादन राख्न सकियो भने त्यसले सकारात्मक भूमिका खेल्छ । त्यस्तै गरी विदेशीलाई उपहार दिनुपर्ने भएमा बाध्यकारी रूपमा स्वदेशी उत्पादन नै दिनुपर्ने व्यवस्था गरिए पनि त्यसले निकै ठूलो भूमिका खेल्छ । अहिले धेरै देशमा नेपालीहरू पुगेका छन् । विदेशी मात्रै अब हाम्रा ग्राहक होइनन् । नेपालीले नै नेपाली समान खोजीखोजी किन्छन् । अस्ट्रेलियामा नेपालीहरू यति धेरै भएका छन्, अब त्यहाँ हाम्रा सामान बेच्न विदेशी खोज्नु नै पर्दैन । नेपालका हस्तकलाका सामान यो ठाउँमा पाइन्छ भन्ने जानकारी दिन सकिए पनि धेरै प्रवद्र्धन गर्न सकिन्छ । नेपाल प्याभिलियन खोलेर जर्मनमा सामान राखिएको छ । त्यस्तो हरेक देशमा हुनु जरुरी छ ।

कतिपयले हस्तकला पुख्र्यौली व्यवसायमा मात्र सीमित भयो, यसलाई व्यवसायीकरण गर्न सकिएन पनि भन्ने गर्छन् नि ?
हस्तकलामा इच्छुक व्यक्तिलाई गाउँ–गाउँबाट ल्याएर हामीले सिकाएका छौँ । सुरुमा हस्तकलामा लागेका शाक्य तथा बज्राचार्य नै हुन् । तर बिस्तारै महर्जनदेखि अरू नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि सिकेका छन् । व्यावसायिक रूपमा हस्तकला व्यवसाय अगाडि बढेको छ । पहिलेभन्दा सीप पनि बढेको छ । सरकारले प्राथमिकता दिन नसक्दा पनि यो क्षेत्रले जति व्यावसायिकताको मोड लिन सक्थ्यो त्यो अनुसार हुन नसकेको हो ।

हस्तकलाको अन्तर्राष्ट्रिय ब्रान्डिङ र कलेक्टिभ ट्रेड मार्कको आवश्यकता, सम्भावना र चुनौती कत्तिको छ ?

‘मेड इन नेपाल’ भनेर हामीले नेपालमा उत्पादन भएका सामानहरू अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिएको छैन । नेपालमा धेरै राम्रा सामान बन्छन् तर त्यसको पहिचानका लागि हामीले ट्रेर्डमार्कमा ध्यान दिन सकेनौँ ।

अहिले रुपैयाँ–पैसासमेत ‘कपी’ गरेका सामाचारहरू आइरहन्छन् भने सामान ‘कपी’ गर्नु सामान्य कुरा भएको छ । धेरैजसो नेपाली सामान चीनमा कपी भएका छन् । हाम्रो एउटा सामान किनेर लाखाँै पिस चीनले उत्पादन गरेको छ । हामीले ट्रेडमार्क लिन नसक्नुको घाटा हो । हाम्रो व्यापार कम हुनुको कारण पनि त्यही हो । यो कमजोरी अरूलाई दिनुभन्दा आफ्नो तर्फबाट उचित व्यवस्थामा जानुपर्छ । मुख्य कुरा, लेभल लगाएर प्रमाणित गर्नुपर्छ । कागज लगाएर मात्रै भएन ।

हस्तकलामा जनशक्ति व्यवस्थापन पनि निकै चुनौतीपूर्ण छ भन्ने गरिन्छ, जनशक्ति विकासमा किन ध्यान दिनुभएन ?
कलाकारहरूलाई दर्जा नदिएकै कारण यो क्षेत्रमा जनशक्ति अभाव भएको हो । हस्तकला काममा धेरै मेहनत आवश्यक पर्छ । जसरी कलेजमा स्नातक, स्नातकोत्तर गरेकालार्ई एउटा लेभल हुन्छ त्यसरी नै हस्तकला क्षेत्रमा दर्जा दिनु आवश्यक छ । पहिले पहिले परिवारमा ४/५ जना छोराछोरी हुन्थे, अहिले सबैको एउटा हुन्छ, त्यो पनि विदेश जान्छ ।

नेपाली जनशक्ति अब नेपालमै राख्ने नीति सरकारले लिनुपर्छ ।

हामीले वर्षमा वरिष्ठ कलाकार भनेर ७० वर्ष नाघेका व्यक्तिलाई सम्मान दिने गरेका छौँ । अब तालिम लिन्छ, एउटा तहसम्म सीप सिक्छ उसलाई सर्टिफिकेट दिएर प्रोत्साहित गर्नुपर्छ ।

हस्तकलाको कच्चापदार्थ उपलब्धताको अवस्था कस्तो छ ?
हस्तकलाका लागि आवश्यक कच्चा पदार्थ सबै विदेशबाट ल्याउनुपर्छ । एयरपोर्टमा भ्याट फिर्ताको व्यवस्था गरिनुपर्छ । कच्चा पदार्थमा खासै समस्या छैन ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ र सो वर्ष २० लाख पर्यटक ल्याउने भनेको छ । तपाईंहरूले अलिकति मेहनत गर्ने हो भने त बजार खोज्न अन्त जानै पर्दैन नि, हैन र ?
सन् २०२० लाई पर्यटन वर्ष मनाउन लागिएको छ यसमा हामी उत्साहित छौँ । जति धेरै पर्यटक नेपाल आउँछन् त्यसको लाभ नेपाल र नेपालीले अवश्य पाउँछन् । नेपाल आउने पर्यटकले यहाँ आएपछि केही सामान किनेर लैजान चाहन्छ । नेपालमा किनेको सामग्री भ्याट बिललगायतका अन्य प्रमाणका आधारमा विदेशीलाई एयरपोर्टबाट सामान लैजान सहज गर्नुपर्छ । प्यान, भ्याट तिरेका सामान एयरपोर्टमा किन दुःख दिने ? मेलामा जानुपर्ने बेला कहिले हाकिम छैन भनेर, कहिले अन्य बहानामा सामान रोक्ने काम हुन्छ । यदि सरकारलाई आवश्यक छ भने हस्तकला क्षेत्रको विज्ञ एयरपोर्टमा राखिदिनुस् । हामी त्यस्तो व्यक्ति पठाउन पनि तयार छौँ । तर, नेपाली हस्तकला विदेश लैजान खोज्ने स्वदेशी तथा विदेशीलाई एयरपोर्टमा दुःख दिने काम गर्नु भएन ।

नेपालमा किनेका सामग्री विदेशीले लैजान पाएनन्, एयरपोर्टमा झन्झट गरियो भने जति भ्रमण वर्ष मनाए पनि त्यसले राम्रो नतिजा दिन सक्दैन ।

विदेशीले नेपालमा बनेका हस्तकला एकदमै रुचाएर लैजान खोज्छन्, तर हाम्रो प्रक्रिया झन्झटिलो भयो, सुधार गर्नु जरुरी छ ।

सरकारले हालै मात्र निकासीजन्य वस्तुमा केही सुविधा थप गरेको छ, निकासी अनुदान बढाएको छ । यसबाट हस्तकलाको क्षेत्रमा कत्तिको सकारात्मक प्रभाव पार्ने महसुस गर्नुभएको छ ?
हामीले सरकारसँग १० प्रतिशत अनुदान माग गरेका थियौँ । अहिले ५ प्रतिशत दिने भनिएको छ । यो मेटल, तथा क्राफ्टले लिएको पाइएको छैन । पस्मिना र तयारी पोसाकमा मात्रै केही इन्सेन्टिभ लिए पनि यो क्षेत्रमा खासै सुविधा लिएको अवस्था छैन । इन्सेन्टिभ दिने व्यवस्था स्पष्ट हुनुपर्छ । एकातर्फ इन्सेन्टिभ दिने पनि भन्ने तर प्रक्रियागत झन्झटले निर्यातकर्ताहरू आकर्षित भएका छैनन् । छिमेकी मुलुक तथा अन्य देशको अभ्यासलाई हेरेर सरकारले निर्यात बढाउने नीति अवलम्वन गर्नुपर्छ ।

नेपालभित्रै चाहिँ हस्तकलाको व्यापार प्रवद्र्धन कत्तिको भइरहेको छ ?
नेपाली सामानको प्रवद्र्धन गर्न पहिलो प्राथमिकता नेपाली नै दिनुपर्छ । स्वदेशी वस्तुलाई हामी नै माया गर्दैनौँ भने विदेशीले कहाँ गर्छ ? नेपाल सरकारले १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली सामान खरिद गर्नु भनेको छ, तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपाली वस्तुले सम्भावना भएर पनि बजारमा प्रभाव जमाउन सकेको छैन । नेपाली कागज, लुगा, उपहार नेपाली नै दिने भनिएको छ । सरकारले आँखा चिम्लेर आयात गर्न अनुमति दिएको छ । निर्यातमा विभिन्न झन्झन्ट छन् । आयात कटौती गर्दै निर्यात बढाउने नीति सरकारको मुख्य नीति हुनुपर्छ ।

कम्तीमा सम्भावना भएका पाँच क्षेत्र मात्रै किटान गरेर प्रवद्र्धन गरियो भने पनि देशको व्यापारघाटा धेरै हदसम्म कम गर्न सकिन्छ ।