मीनकुमार नवोदित
शुक्रवार, पुष २०, २०७५
768

सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाञी बैंकिङ क्षेत्रका लामो अनुभवी व्यक्ति हुन् । ३३ वर्षभन्दा बढी बैंकिङ अनुभव सँगालेका उनले कृषि विकास बैंकमा विभिन्न व्यवस्थापकीय भूमिका निर्वाह गरी ६ वर्षअगाडि सिर्जना फाइनान्स लिमिटेडमा आएका हुन् । सहरोन्मुख क्षेत्रलाई प्राथमिकतामा राखेर शाखा विस्तारलाई तीव्रता दिएको छ । सिर्जना फाइनान्सको वित्तीय कारोबार, हाल गरिरहेका गतिविधि, भावी योजनालगायतका विषयमा केन्द्रित रहेर चापागाञीसँग कारोबारका प्रदेश–१ का संयोजक मीनकुमार नवोदितले गरेको कुराकानीको सार :

सिर्जना फाइनान्सको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था मापन गर्ने केही सूचकांक हुन्छन् । त्यसमा पुँजीको पर्याप्तता, सम्पत्तिको गुणस्तर, व्यवस्थापन, आय, तरलता र संवेदनशीलता मुख्य हुन् । त्यसमा हाम्रो पुँजीको पर्याप्तता १५.१९ प्रतिशत, निष्क्रिय कर्जा १.२५ प्रतिशत मात्र छ । प्रतिफल दर २६.१३ प्रतिशत रहेको छ । आजको दिनमा हामीसित पर्याप्त तरलता छ भने व्यवस्थापनलाई अंक गणितीय हिसाबमा मापन गर्न सकिँदैन तर पनि बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्वको व्यवस्थापनमा बाहुल्यता छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम दरभन्दा सबै सूचकांक सकारात्मक भएका कारण वित्तीय रूपले हामी सुदृढ र सबल अवस्थामा छौं ।

अन्य वित्तीय संस्थाभन्दा सिर्जना कुन हिसाबले फरक छ ?
हामी वित्तीय रूपले स्वस्थ छौं, त्यसैले सर्वसाधारणको निक्षेप सुरक्षित छ । अन्य बैंक तथा वित्तीय संस्थाभन्दा बढी ब्याज दिन्छौं । हाम्रा सेवामा अनावश्यक शुल्क लाग्दैन । सरल, छिटो र भरपर्दो सेवाका कारण हामी अरू भन्दा भिन्न छौं ।

ग्राहकले सिर्जना फाइनान्स नै किन रोज्ने ?
हामी ग्राहकमैत्री छौं । प्रत्येक प्रोडक्ट डिजाइन गर्नुपूर्व ग्राहकको चाहना बुझ्छौं र उहाँहरूको लागत निक्षेपमा अन्य बैंक तथा वित्तीय संस्थाभन्दा आकर्षक ब्याज दिएका छौं भने वित्तीय रुपले स्वस्थ रहेर निक्षेपको सुरक्षाको प्रत्याभूति प्रदान गरेका छौं । कागजात पूरा भएको तीन दिनमा कर्जा प्रवाह गर्छौं भने एबीबीएस, इसीसी, सी–एएसबीएलगायतका सेवा निःशुल्क दिएका छौं । त्यस्तै सरल प्रक्रियाबाट छिटो छरितो निःशुल्क सेवा दिन्छौं । हामी पारदर्शी भएकाले ग्राहकले हामीलाई विश्वास गरेका छन् ।

मुलुक संघीयतामा गएपछि वित्तीय क्षेत्रमा कुनै परिवर्तनको महसुस गर्नुभयो ?
मुलुक संघीयतालाई व्यवस्थित गर्ने कार्यमा दौडिएको छ, यो दौडमा सफलता प्राप्त गर्न वित्तीय क्षेत्रमा ठूलो फड्को मार्नु आवश्यक छ । परिवर्तनका संकेत बिस्तारै देखा पर्दैछन् । अपेक्षित परिवर्तन महसुस गर्न अझ केही वर्ष पर्खनुपर्छ कि ?

बजारमा तरलताको अभाव छ भनिन्छ, त्यसको प्रभाव सिर्जना फाइनान्सलाई कतिको परेको छ ?
हाम्रा ग्राहकहरूको मायाले गर्दा होला, आजका दिनमा हामी ५५ प्रतिशतको तरलता लिएर बसेका छौं । गत वर्ष यस्तै अवस्था हुँदा पनि हामीले कर्जा लगानी रोकेनौं । यस वर्ष पनि रोकेका छैनौं ।

सिर्जनाको वित्तीय पहुँच कस्तो छ ?
‘क’ र ‘ख’ वर्गका बैंक नपुगेका ठाउँमा हामी पुगेका छौं । हिजोका दिनमा बैंकहरू विस्थापित भएका ठाउँहरूमा हामीले गाउँ–गाउँमा पुगेर शाखा सञ्चालन गरेका छौं । हलो जोत्ने किसानदेखि तरकारी बेच्ने साना व्यवसायीहरूमा समेत हाम्रो सेवा पु-याएका छौं । क्षेत्रीय स्तरको सानो संस्था भए पनि वित्तीय पहुँचमा सक्रिय भूमिका खेलेका छौं । करिब २१ वटा शाखाबाट करिब १ लाख २७ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गरेका छौं । यस वर्ष थप दुई जिल्ला कार्य क्षेत्र विस्तारका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएका छांै । स्वीकृत हुनासाथ थप ग्रामीण भेगमा वित्तीय पहुँच लग्ने हाम्रो चाहना छ ।

सिर्जनाले सहरोन्मुख क्षेत्रलाई नै रोज्नुको कारण ?
यो आरोपबाट हामी मुक्त छौं । किनकि हाम्रा २१ शाखामध्ये अधिकांश शाखा ग्रामीण क्षेत्रमा छन् । कञ्चनपुर, भारदह, कर्सिया, डाँगीहाट, हरिनगरा, पातो, बोधेवसाइन, चकरघट्टी, लौकही, कटहरी, वनिगामा, कल्याणपुर, फत्तेपुर जस्ता गाउँमा हामी सेवारत छौं । गरिबी र पूर्वाधारको अभाव भएका ठाउँमा हामीले सेवा दिएका छौं । आफ्नो क्षमताअनुसार इमान्दार भएर ग्रामीण जनतालाई सेवा दिएका छौं ।

वित्तीय संस्थाहरूबीच पनि निकै प्रतिस्पर्धा छ भनिन्छ नि ?
स्थानिय प्रभुत्व व्यक्तित्वको लगानी भएको नाताले सिर्जना फाइनान्सप्रति जनविश्वास धेरै छ । त्यो जनविश्वासको कारणले उत्साहप्रद ढंगले कारोबार बढाउन सफल भएका छौं । ग्राहकको माया, कर्मचारीहरूको मेहनत र लगानीकर्ताहरूको सहयोगले यो सम्भव हुन गएको छ । वित्तीय सेवा नपुगेका स्थानमा हामीले सेवा दिएकाले हो वा सरल र सुलभ सेवा दिएकाले हो, हामीले खासै प्रतिस्पर्धाको महसुस गरेका छैनौं । फेरि यसो भनिरहँदा वित्तीय संस्थाहरूबीच पनि प्रतिस्पर्धा नभएको चाहिं होइन । तर, प्रतिस्पर्धा गर्न नपर्ने स्थान पनि प्रशस्तै छन् । ती स्थानमा जाने प्रतिबद्ध र इमान्दार संयन्त्रको मात्र खाँचो छ ।

सिर्जनाले ग्राहकलाई के–कस्ता सेवा प्रदान गरेको छ ?
सधै हामी कसरी ग्राहकमुखी योजना ल्याउने भन्ने विषयमा चिन्तित हुन्छौं । अन्य बैंक तथा वित्तीय संस्थाले निक्षेपमा नदिएको ब्याज दिने खालका निक्षेप योजना हामीसँग छन् भने कर्जामा पनि सरल ढंंगले छिटोछरितो सेवा प्रदान गरेका छौं । वर्तमान अवस्थामा हामी ग्रामीण जनतालाई सेवा दिन ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दैछौं । मोबाइल बैंकिङ सुरु गरिसकेका छौं भने आधुनिक बैंकिङ सेवा दिन नौ स्थानमा एटिएम सेवा र सबै शाखामा निःशुल्क सी–एएसबीए सेवा प्रदान गरेका छौं र निकट भविष्यमै ई–बैंकिङ सेवासमेत सुरु गर्दैछौं । ग्राहकमुखी भएका कारणले ग्राहकले माग गरेअनुसारको सेवा दिन हामी सधैं चिन्तित रहन्छौं ।

सिर्जनाको भावी योजना के–के छन् ?
गरिबी, आर्थिक असमानता कम गर्न, पूर्वाधारको अभाव भएका स्थानका ग्राहकलाई सेवा दिन हामी ग्रामीण क्षेत्रमा थप शाखा विस्तारको क्रममा छौं । ग्रामीण क्षेत्र त्यसमा पनि लघुवित्तको क्षेत्र बढी जोखिमपूर्ण हुन्छ भनेर बैंकहरू उक्त क्षेत्रमा जान नचाहने अवस्थामा पनि हामीले आजका दिनमा सा–साना कर्जासमेत लगानी गरी विपन्न वर्गलाई सेवा पु-याएका छौं । वित्त कम्पनी पनि ग्रामीणमुखी हुन्छन् र सहज र सरल सेवा दिन तत्पर हुन्छन् भन्ने सवालमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने भावी योजना छ र चालू वर्षमै झापा र इलाम जिल्लावासीलाई सेवा दिने तर्खरमा छौं भने चालू वर्षको अन्त्यसम्ममा नेपाल राष्ट्रबैंकले तोकेको पूँजी पु-याएर राष्ट्रिय स्तरको वित्त कम्पनी बन्ने तरखरमा छौं । समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाको बोदेबर्साइन, कल्याणपुर, पातो, कञ्चनपुर, फत्तेपुर र भारदहजस्तो ग्रामीण सहरहरूमा नोबेल मेडिकल कलेजको १३ जना विशेषज्ञ डाक्टरहरूको सहभागितामा सम्बन्धित नगरपालिकाहरूको सहयोग तथा संयोजनमा पुस र माघमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछौं । यस कार्यक्रमबाट करिब १० हजार ग्रामीण भेगका जनता लाभान्वित हुनेछन् । यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विगतमा पनि गरेका थियौं, भविष्यमा पनि सञ्चालन गर्नेछौं ।