मुना कुँवर
आइतवार, पुष २, २०७४
1801

घटना केही वर्ष अगाडिको हो । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने क्रममा एउटा ट्यान्कर दुर्घटना भयो । दुर्घटनापछि बिमा कम्पनीले घटनाको मूल्यांकनका लागि सर्भेयर खटायो । सर्भेयरको अध्ययनले ट्यान्करले देखाएको इनभ्वाइसमा लेखेजति तेल नभएको र जति परिमाणमा तेल थियो सोही बराबरको क्षति मूल्यांकन गरी भुक्तानी रकम निकाल्यो । तर, ट्यान्कर व्यवसायीले भने सर्भेयरले कम मूल्यांकन गरेको भन्दै धम्क्याउन थाले । व्यवसायीले विभिन्न तरिकाले ज्यानै लिने धम्की दिन थालेपछिले उनी प्रहरी प्रशासनको सहयोग लिन पुगे ।
घटना काठमाडौंभन्दा बाहिरको हो । एउटा गोदाममा आगलागी भयो । बिमा कम्पनीले काठमाडौंबाट नै सर्भेयर पठायो । सर्भेयरले बिमितले दाबी गरेभन्दा धेरै कम क्षतिको मूल्यांकन गरे । यसरी दाबी गरेभन्दा कम मूल्यांकन भएपछि व्यवसायीले उनलाई धम्क्याउन थाले । त्यतिमात्रै हैन, व्यवसायीले उनलाई फोन गरेर परिवारको अपहरण गर्ने धम्कीसमेत दिए ।

पोखराबाट वीरगञ्ज जाँदै गरेको बस टिकौली जंगलमा दुर्घटना भयो । बसले अगाडिको बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा दुर्घटना भयो । दुर्घटनामा २ को मृत्यु भयो भने केही घाइते भए । घटनापछि कम्पनीले सर्भेयर खटायो । सर्भेयरले बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको विवरणसहित प्रतिवेदन बुझायो । कम्पनीले भुक्तानी पनि गर्यो । तर, तत्पश्चात कम्पनीले उक्त सर्भेयरलाई कुनै पनि सर्भेको काम दिएन ।
माथिका घटना उदाहरण मात्रै हुन् । यस्ता घटना बिमा क्षेत्रका सर्भेयरका लागि सामान्य हो । सर्भे गर्दा कहिले बिमितबाट र कहिले कम्पनीबाट सर्भेयरले विभिन्न खालका गालीगलौज खाने र धम्की पाउने समेत गरेको सर्भेयरहरू बताउँछन् ।
सर्भेयर पेसा प्रहरीको जस्तै हो । जसरी प्रहरी २४ घण्टा तयारी अवस्थामा रहन्छन् त्यसैगरी सर्भेयर पनि हरपल तयारी अवस्थामा रहनु पर्छ । कुन बेला घटना घट्छ कतिबेला कुन ठाउँमा पुग्नु पर्छ थाहा नै हुँदैन । कम्पनीले फोन गर्नेबित्तिकै सर्भेयर घटना स्थलमा पुग्नु पर्छ । न घाम न पानी, न चाड न पर्व; घटना त कुनै पनि बेला हुन सक्छ । घटना हुनेबित्तिकै सर्भेयरको काम सुरु हुन्छ । यस्तो अवस्थामा काम गर्दा पनि कहिलेकाहीँ बिमितबाट खप्की खानुपर्ने त कहिले कम्पनीबाट बहिष्कृत हुनु परेको सर्भेयरहरू बताउँछन् ।
सर्भेयर भनेको को हो ?
सर्भेयरहरूलाई कम्पनीको मानिस हुन् भन्ने जनमानसमा भ्रम छ । तर, सर्भेयरहरू स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति हुन् जसलाई घटना भएको समयमा बिमा कम्पनीले पारिश्रमिक भुक्तान गरी मूल्यांकन गर्न लगाउँछन् । बिमा समितिले सर्भेयरको आचारसंहिता निर्माण गरेको छ । सर्भेयर सोही नियमभित्र रहेर काम गर्छन् ।
बिमा ऐनले बिमा सर्भेयर सम्बन्धी व्यवस्था गरेको छ । ऐनले क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्यांकन गर्ने इजाजत प्राप्त व्यक्तिलाई बिमा सर्भेयरका रूपमा परिभाषित गरेको छ । सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ ।
समितिको तथ्यांकअनुसार गत साउन १५ सम्ममा संस्थागत रूपमा सर्भेयरको लाइसेन्स लिनेको संख्या ५६ पुगेको छ । त्यस्तै, ८३१ जनाले व्यक्तिगत अभिकर्ताको रूपमा लाइसेन्स लिए पनि गत चैत्र महिनासम्म २८६ जना आद्यावधिक रहेका छन् । यस वर्ष मात्रै ३१ जनाले सर्भेयरको लाइसेन्स लिएको समितिले बताएको छ ।
नेपालमा व्यक्तिगत र संस्थागत रूपमा काम गर्ने सर्भेयरहरू छन् । यसरी सर्भे गरे बापत केही कम्पनीहरूले मासिक रूपमा पारिश्रमिक लिन्छन् भने कोही सर्भेयरले भने घटना अनुसार पनि दाबी लिने गरेका छन् । सर्भेयर संघ र बिमक संघको सहमतिमा सर्भेयरको पारिश्रमिक तोकिएको छ । मूल्यांकन गर्दा आउने दाबी रकमको आधारमा पारिश्रमिक तोकिएको छ । दाबी नपरेको अवस्थामा कम्तीमा पनि कम्पनीले सर्भेयरलाई पाँच हजार रूपैयाँ पारिश्रमिक भुक्तानी गर्नु पर्ने प्रावधान रहेको बिमा सर्भेयर संघ उपाध्यक्ष मोहन पुरुष ढकालले बताए । घटनाको आधारमा एउटा सर्भेयरले कम्तीमा पनि मासिक २५ हजारदेखि लाखौ रूपैयाँसम्म आम्दानी गर्न सक्ने उनले बताए ।
नेपालमा सर्भेयरको इतिहास
नेपालमा बिमा व्यवसायको सुरुवात २००४ सालदेखि नै भएको हो । तत्कालीन समयमा नेपाल बैंकको मातहातमा रहने गरी राष्ट्रिय बिमा संस्थान स्थापना गरिएको थियो । त्यतिबेला यसले निर्जीवन बिमा व्यवसाय मात्रै सञ्चालन गथ्र्यो । तत्कालीन समयमा नेपालका लागि बिमा व्यवसाय नयाँ थियो । त्यसैले दाबी भुक्तानी गर्दा सर्भेयरको प्रयोग गरिंदैनथ्यो । नेपाल सरकारका अधिकृतले नै सर्भेयरको काम गर्थे । त्यस्तै, ठूला दाबीहरू परेको समयमा मात्रै भारतबाट सर्भेयरहरू बोलाइन्थे ।
सामान्य दाबीमा सरकारी प्राविधिक कर्मचारीले नै सर्भेयरको काम गर्ने र ठूलो दाबी परेमा भारतीय सर्भेयर बोलाउने क्रम लामो समयसम्म चल्यो । तर, भारतबाट सर्भेयर बोलाउँदा कम्पनीहरूको कामकारबाहीमा ढिला हुन्थ्यो । भारतीय सर्भेयरहरू समयमा आउँदैनथे । भारतमा बिमाको ठूलो बजार थियो । त्यसैले उनीहरूलाई भारतमा नै काम पर्याप्त हुन्थ्यो । तसर्थ नेपाल आउन उनीहरू त्यति रुचि राख्दैनथे ।
पछि विस्तारै कम्पनीको अन्डरराइटिङ विभागले नै सर्भेयरको काम गर्न थाल्यो । कतिपय घटनामा त कुनै पनि व्यक्तिले फोटो खिचेर ल्याएको अवस्थामा विश्वासको आधारमा मूल्यांकन समेत गरिने गरेको ग्लोबल एसिस्टेन्स नेपालका प्रबन्ध निर्देशक पुष्पदास श्रेष्ठले बताए ।

यसैगरी २०२५ सालमा सरकारी बिमा कम्पनी स्थापना भयो र बिमा ऐन पनि जारी भयो । बिस्तारै नेपालमा बिमाको बजार बढ्न थाल्यो । नेपालमा नै सर्भेयर उत्पादन गर्नुपर्छ भन्ने महसुस गरिन थाल्यो । फलतः २०३९ सालमा आएर बिमा समितिले सर्भेयरहरूको माग गर्न थाल्यो । तर, त्यतिबेला सर्भेयरप्रति मानिसहरूको आकर्षण कम थियो । यद्यपि स्व. माधब बहादुर थापा, पुष्पदास श्रेष्ठ र रघुवीर बस्नेतले पहिलोपटक समितिबाट सर्भेयरको लाइसेन्स लिए । समितिबाट पहिलो नम्बरको सर्भेयरको लाइसेन्स स्व. माधव बहादुर थापाले लिएका थिए । २ र ४ नम्बर लाइसेन्स पुष्पदास श्रेष्ठले लिए भने ३ नम्बर लाइसेन्स रघुवीर बस्नेतले लिएका थिए ।
ग्लोबल एसिस्टेन्स नेपालका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार माधव बहादुर थापा अटोमोबाइल टेक्निसियन थिए । उनी टाटाको नेपालस्थित कम्पनीमा काम गर्थे । समितिबाट सर्भेयरको लाइसेन्स लिएपछि उनले नेपाल क्लेम ब्युरो नामक कम्पनी सञ्चालन गरे । श्रेष्ठ भने राष्ट्रिय बिमा संस्थानको बजार विभागमा कार्यरत थिए । पछि उनले भारतबाट अटोमोबाइल इन्जिनियरिङ गरे र समितिबाट सर्भेयरको लाइसेन्स लिए । लाइसेन्स लिएपछि उनले युनाइटेड सर्भेयर र लस एडजस्टर नामक कम्पनी खोले । रघुवीर बस्नेत भने तत्कालीन रोयल नेपाल आर्मीमा मेजर थिए । उनी मेकानिल इन्जिनियर थिए । सर्भेयरको लाइसेन्स लिएपछि उनले सुनिता क्लेम नामक कम्पनीले खोले । यसरी नेपाली सर्भेयरहरूले लाइसेन्स प्राप्त गरेपछि कुनै घटनाको सर्भे गर्दा भारतीय सर्भेयरका साथमा नेपाली सर्भेयरलाई पनि समावेश गर्न थालियो ।
बिस्तारै सर्भेयरप्रति मानिसहरूको आकर्षण बढ्न थाल्यो । सर्भेयरमा राम्रो काम हुने देखेर त्यतिबेला काम नपाएका इन्जिनियरहरूले समितिबाट लाइसेन्स लिए । कतिपयले भनसुनको आधारमा पनि लाइसेन्स लिए जसले गर्दा सर्भेयरमा विकृति भित्रन थाल्यो । पुराना सर्भेयरहरूले सर्भेयरहरूको वर्गीकरण गर्न माग गरे । सोही बमोजिम समितिले २०५० सालमा आएर सर्भेयरहरूलाई क, ख, ग र घ वर्गमा विभाजन ग¥यो । समितिबाट लाइसेन्स लिएको १५ वर्ष पुगेका सर्भेयरलाई क, १० वर्ष पुगेकालाई ख, ५ वर्ष पुगेकालाई ग र भर्खरै लाइसेन्स लिएकालाई घ वर्गमा विभाजन ग¥यो ।
यसले काम गर्ने सर्भेयरलाई राहत पुग्यो । नेपालमा सर्भेयरको संख्या बढेसँगै सर्भेयरहरू एकीकृत हुनुपर्छ भन्ने उद्देश्यले २०५५ सालमा एसोसिएसन अफ सर्भेयर एन्ड लस एडजस्टर नामक संस्थाको स्थापना गरियो । यसको नेतृत्व पुष्पदास श्रेष्ठले गरेका थिए । तर, सर्भेयरहरू आफनै व्यवसायमा व्यस्त हुने भएकाले संस्थाले खासै सक्रिय रूपमा काम गर्न सकेन । उक्त संस्था आफैं विलय भयो । तर, २०६० सालमा आएर नेपाल सर्भेयर एसोसियनको स्थापना भयो । हाल यस एसोसियसनमा १६० सर्भेयर आबद्ध छन् ।
सर्भेयर बन्नका लागि आवश्यक योग्यता
बिमा विनियमावली अनुसार कुनै बिमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तीमा दश वर्षसम्म बिमा व्यवसाय सम्बन्धित कार्यको अनुभव हासिल गरेको, इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यताप्राप्त संस्थाबाट बिमा सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको व्यक्तिले सर्भेयर लाइसेन्सका लागि समितिमा निवेदन दिन सक्छ । योग्यता पुगेको निवेदकले सर्भेयरको इजाजतपत्र प्राप्त गर्नु अघि समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धी तालिममा सहभागी भई तालिम पूरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । सर्भेयरले प्रत्येक वर्ष आफनो लाइसेन्स नवीकरण गर्नुपर्छ ।
सर्भेयरका समस्या
नेपालमा सर्भेयर पेसा आर्थिक दृष्टिकोणबाट आकर्षक मानिए पनि यसमा समस्या र चुनौती पनि उत्तिकै छ । पेसागत हकहितको संरक्षण नहुनु सर्भेयरको मुख्य समस्या भएको संघका उपाध्यक्ष ढकालले बताए । त्यस्तै, ऐनमा सर्भेयरको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा व्याख्या नगरिनु, कतिपय दाबीमा कम्पनीले आप्mनै कर्मचारीलाई सर्भेयरको रूपमा प्रयोग गर्नु, बिमितमा चेतना नहुनु, बिमा गर्दा कम्पनीले बिमितलाई स्पष्ट जानकारी नदिनु, रिपोर्ट बुझाउने अवधि जम्मा १५ दिनको मात्रै हुनु, समयमा पारिश्रमिक नपाउनु, दाबी नहुँदा पारिश्रमिक पनि नपाउनु, काम नगरेका सर्भेयर पनि ‘क’ वर्गमा पर्नु, एउटै सर्भेयरले सबै खालको बिमाको सर्भे गर्नु सर्भेयरको समस्या र चुनौती रहेको उनले बताए ।
सर्भेयरको आवश्यकता
बिमा मानिसको लागि आर्थिक सुरक्षाको एउटा उपकरण हो । तसर्थ बिमा मानिसको लागि अपरिहार्य छ । बिमा व्यवसाय मात्रै पनि होइन, सामाजिक सेवा पनि हो । त्यसैले बिमासँग सम्बन्धित निकायले इमान्दारीका साथ काम गर्नु आवश्यक छ । बिमाको पहुँच बढाउने हो भने सम्बन्धित सबै निकायले इमान्दारीका साथ काम गर्नुपर्छ । यसरी इमान्दारीका साथ काम गर्ने निकायमध्येमा बिमा सर्भेयर पनि एक हो ।
बिमा गर्दा र दाबी पर्दाको अवस्थामा सर्भेयरले नै जोखिम र क्षतिको मूल्यांकन गर्छ । मूल्यांकन गर्ने क्रममा सर्भेयरले आफनो नैतिकता गुमायो भने धेरै व्यक्ति प्रभावित बन्न पुग्छन् । यदि सर्भेयरले सम्पत्तिको जोखिम मूल्यांकन अधिक गरिदियो भने बिमितले धेरै बिमाशुल्क भुक्तानी गर्नुपर्छ । यसले कम्पनीलाई फाइदा भए पनि बिमितलाई अतिरिक्त भार बढ्छ । यदि मूल्यांकन कम गर्ने हो भने बिमितलाई लाभ भए पनि कम्पनीले भने गुमाउनु पुग्छ ।
त्यसैगरी, दाबी परेको समयमा सर्भेयरले कम मूल्यांकन ग¥यो भने बिमितले कम भुक्तानी पाउँछ । यसले बिमितमा नैराश्य ल्याउँछ । यदि मूल्यांकन बढी गरिदियो भने कम्पनीले घाटा बेहोर्नुपर्छ । सर्भेयर भनेको स्वतन्त्र व्यक्ति हो । त्यसैले कुनै पनि प्रभावमा नपरी निष्पक्ष रूपमा सर्भेयरले मूल्यांकन गर्नुपर्छ ।


सातामा धेरै पढिएको