कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५
1270

प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले बिहीबार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री भट्टले नेपालमा जीवन बिमाको सम्भाव्य बजार धेरै भएकाले र बीमा कम्पनीहरूले थप उत्तरदायी भएर सहज रूपमा जीवन बिमा सेवा उपलब्ध गराउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
प्रदेशहरूमा यसरी नयाँ बीमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारीका अवसरहरू सिर्जना हुने तथा बिमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने विचार व्यक्त गर्दै उनले प्रदेश सरकारले व्यवसायीहरूलाई लगानीमैत्री कानुन बनाइ व्यावसायिक वातावरण बनाउन कटिबद्घ रहेको बताए । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बिमालाई गाउँसम्म पु¥याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउँदै बिमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न १९ शाखा कार्यालयबाट जीवन बिमा सेवाहरू उपलब्ध रहेको र छिटोभन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरूमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको जानकारी गराए । दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गरिनेछ ।