कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५
890

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय चन्द्रपुरको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । कम्पनीका ब्रान्ड एम्बेस्डर तथा धुर्मुस–सुन्तली फाउन्डेसनका उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) ले पानसमा बत्ती बालेर उपशाखाको उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा कम्पनीका ब्रान्ड एम्बेस्डर सुन्तलीले जीवन बिमाको क्षेत्रमा आएको सन नेपाल नयाँ कम्पनी भए पनि यसले गर्ने काम, सेवा देशकै उत्कृष्ट रहेको बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले देशमा छरिएर रहेको आर्थिक स्रोत साधनहरूलाई जीवन बिमा शुल्कको रूपमा संकलन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिई सामाजिक स्तर बढाउने लक्ष्य रहेको बताए । सबैका लागि सुरक्षा, शिक्षा र समृद्धिको नारा लिई बिमा सेवालाई देशभर पुराउने उद्देश्य रहेको उनले बताए । सनलाइफ सार्वधिक जीवन बिमा, नवीन आजीवन जीवन बिमा, १५ वर्षे सार्थक आजीवन जीवन बिमा र बाल समृद्ध जीवन बिमाको योजना रहेको उनले जानकारी दिए । यस कम्पनीले ११ वर्षदेखि ६५ वर्षको उमेर समूहका व्यक्तिहरूलाई बिमा गराउन सक्ने उनले बताए । कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतमले सन नेपाल लाइफ इन्स्योरेन्स दिने सेवा सुविधा तथा विशेषताका बारेमा प्रष्ट पारे ।