कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५
1176

झापाको हल्दिवारी गाउँपालिका–२ अन्तर्गतको वडा कार्यालयले नेपालमै पहिलो पटक चिया बगानमा कार्यरत चिया मजदुरको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
आर्थिक अवस्था कमजोर भएका चिया मजदुरले समयमा उपचार गराउन नपाउँदा अकालमै ज्यान गुमाउनु परेको भन्दै झापाको हल्दिवारी गाउँपालिका–२ अन्तर्गतको वडा कार्यालयले नेपालमै पहिलो पटक चिया बगानमा कार्यरत चिया मजदुरको स्वास्थ्यलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
हल्दिवारी–२ स्थित रेडक्रस सोसाइटीको भवनमा आयोजित चिया मदजुर र महिला स्वयमसेविकाहरूलाई स्वास्थ्य बिमा परिचयपत्र वितरण कार्यक्रममा वडा कार्यालयले चिया बगानमा कार्यरत ८० घरपरिवारका ३ सय ४१ जना र ११ जना महिला स्वास्थ्य स्वयमसेविकाका ४९ जना गरी ३ सय ९० जनालाई स्वास्थ्य बिमा परिचयपत्र वितरण गरेको हो ।
उनीहरूलाई प्रदेश सांसद पूर्णसिंह राजवंशी र हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बीमा परिचयपत्र प्रदान गरेका थिए । चालू आर्थिक वर्षमा वडा कार्यालयलाई छुट्याइएको ८० लाख रुपैयाँ बजेटबाट ६ लाख रुपैयाँ बिमा कार्यक्रमका लागि निकासा गरी अभियानको सुरुवात गरिएको २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए ।
स्वास्थ्यमा पहुँच नहुँदा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका यहाँका चिया मजदुरहरूको अकालमै ज्यान जाने, चिया फडानी तथा मजदुरको बसाइसराई रोकिने, आर्थिक सामाजिक विकासमा टेवा पुराउने उद्देश्यले स्वास्थ्य बिमा अभियानलाई जोड दिएको २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए ।
यस वडामा ४ सय घरपरिवार चिया मजदुरमा पेशामा आबद्ध रहेको र यस पेसाबाट अप्रत्यक्ष रूपमा २ हजार बढीले रोजगारी पाएको २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए ।
त्यसमध्ये पहिलो चरणमा प्रयास र रेम्बो चिया कम्पनीमा कार्यरत चिया मजदुरलाई स्वास्थ्य बिमा गरी दिएको २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए । दोस्रो चरणमा सम्पूर्ण चिया मजदुरको स्वास्थ्य बिमा बनाइदिने र नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाबाट मजदुरका परिवारले ५० हजारसम्म निःशुल्क औषधि उपचार गराउने पाउने २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए ।
आगामी वर्षहरूमा वडा कार्यालयले चिया मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री वितरणसँगै गर्दै प्राविधिक शिक्षामा दिलाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै लैजाने २ नम्बर वडाध्यक्ष राजेन्द्र योङ्हाङले बताए ।
प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, स्वास्थ्य बिमा वोर्ड प्रदेश १ का संयोजक तुलसी पोखरेल, स्वास्थ्य बिमा वोर्डका झापा संयोजक दिलीप पोखरेल, एमालेका प्रतिनिधि हरिकृष्ण अधिकारी, लोकदर्शन सहकारी संस्थाका अध्यक्ष पशुराम बजगार्इं, खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद ओली लगायतले मन्तव्य राखेका थिए ।

 -तुलसीप्रसाद निरौला