कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
2083

नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम संकलकका रूपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताका रूपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताका रूपमा स्थान बनाउन सफल भएका हुन् । भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बिमा अभिकर्ताका रूपमा सम्मानित भइसकेका छन् । भण्डारीले यो वर्ष पनि एलआईसीको विश्वभर भएको २१ वटा शाखामध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्तासमेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् । उनलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारीसमेत दिएको छ ।
यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताको रूपमा परिचित भण्डारी केबल २८ वर्षका छन् भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सोबापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् । बिमा क्षेत्रको ज्ञान र सीप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाखभन्दा बढी बीमा एजेन्टहरूलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् ।

कडा मेहनत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मेहनत गर्न हौसला दिएको उनले बताए । “कम्पनीको कयौं शाखाहरू छन र सयौं बिमा एजेन्टहरू छन्, उनीहरूलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,” उनले भने ।
एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरूको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्यसमेत छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्नुपर्ने हुन्छ ।
नेपालमा थोरै मानिसहरूले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको संभावना अझै रहेको बताउँछन् । “हाल केबल १० प्रतिशत नेपालीले मात्र बीमा गरेको अनुमान छ यसलाई जनचेतनामूलक गतिविधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,” भण्डारीले भने । आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यावसायिक गतिविधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको आनन्द उच्च माविका ६ जना विद्यार्थीलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।