कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
481

पोखरा-बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले नेपालमा हालसम्म २४ प्रतिशत जनतामा बिमाको पँहुच पुगेको बताएका छन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, (निप्स) पोखरा च्याप्टरको शनिबार पोखरामा स्मारिका विमोचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाइँले नेपालमा करिब ७१ लाख अर्थात २४ प्रतिशत जनताले बिमा गराएको दाबी गरेका हुन् ।
देशका ७ सय ५३ स्थानीय तहमा अझै ७ वटा स्थानमा राष्ट्रियस्तर अर्थात ‘क’ वर्गको बैंकको पँहुच नपुगेको अवस्थामा विभिन्न बिमा कम्पनीका एजेन्टमार्फत देशका ७७ वटै जिल्लामा पुग्ने गरेको अध्यक्ष चापागाइँले बताए । जीवन बिमा कम्पनीबाट ४ सय अर्ब संकलन भएको उनले बताए । उक्त रकम विभिन्न बैंक तथा निर्जिवन बिमा कम्पनीसम्म पुगेको अध्यक्ष चापागाइँले बताए । कर्जाको सीमाभित्र बिमा गर्नुपर्ने बताएका अध्यक्ष चापागाइँले लकडाउनकै अवस्थामा जीवन बिमा पोलिसीमा कम्तिमा दुई वर्ष पूरा नभई ऋण प्रवाह गर्न नपाउने नियम ल्याएको जनाए ।

अन्तर्राष्ट्रिय नियम अनुसार बिमा कम्पनीलाई आर्थिक भार हुने भएकाले हाल उक्त निर्णय गर्नु परेको उनको भनाई थियो । एकाद घटनामा अझै पनि बिमामा समस्या देखा पर्न थालेको बताएका अध्यक्ष चापागाइँले बिमा सम्बन्धि सचेतना अझै आवश्यक भएको दावी गरे । सामाजिक संस्कार परिवर्तन गर्नुपर्ने बताएका उनले बिमा समितिले हाल देशको परिस्थितिमा कोरोना बिमा पोलिसी जारी गरेको जनाए । एक अर्बसम्मको पोलिसी बिमा समितिले थेग्न सक्ने र त्यो भन्दा माथि पोलिसी खपत हुने अवस्थामा नेपाल सरकार व्यवस्थापन गर्नु पर्ने उनले जनाए । उनका अनुसार हालसम्म ५ लाख ६१ हजार जनाको कोरोना बिमा भएको छ ।
३२ करोड भन्दा बढी कोरोना बिमाबाट संकलन भएको अध्यक्ष चापागाइँले जनाए । अहिलको अवस्थामा कुनै पनि बिमा कम्पनीलाई लक्ष्य नदिन, तलब नघटाउन अध्यक्ष चापागाइँले निर्देशन दिए । “यदि कुनै कम्पनीले कर्मचारीको तलब घटाउने परिस्थिति आए पहिला आफ्नो तलब घटाएर मात्र अन्य कर्मचारीको बारेमा सोच्नुहोला ।” उनले भने । आफूहरुले सोचेअनुसारको विदेशबाट स्वदेश फर्किने नेपालीहरुको संख्या कम भएकाले हाल रेमिट्यान्स समेत कम मात्र घट्न गएको अध्यक्ष चापागाइँले बताए । यो अवस्थामा बिमा पोलिसीमा धेरै ठूलो असर नपर्ने उनको भनाई थियो ।
डेभलपमेन्ट बैंकर्र्स एशोसियसनका अध्यक्ष गोविन्दराज ढकालले अझै पनि नेपालमा ७५ प्रतिशत बिमा भन्दा बाहिर रहेको दावी गरे । बिमितलाई बिमाको महत्व र आवश्यकता बुझाउन नसकिएको उनको भनाई थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिमाको बारेमा राम्रोसँग बुझाउन नसक्दा समाजमा केही नराम्रा घटना समेत घटेको जनाए । सर्भेयर इ.सुरेन्द्र गोदारले बाध्यकारी भएको अवस्थामा मात्र बिमा गर्ने प्रचलन नेपालमा रहेको उल्लेख गरे ।