कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७
467

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला करिब ६७ हजार सर्वसाधारणले कोरोना भाइरसको बिमा गरेका छन् । गत सातासम्म ५ हजार ५० बिमा लेखबाट ६६ हजार ८ सय ६० जनाको कोरोना बिमा गरिएको नेपाल जीवन बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए । यसबाट बिमा कम्पनीहरुले ३ करोड ६३ लाख बिमा शुल्क संकलन गरेका छ ।
पछिल्लो समयमा विभिन्न कर्पोरेट हाउसहरुमा कर्मचारीको कोरोना बिमा गर्ने क्रम बढिरहेको छ । यसैगरी सर्वसाधारणले पनि कोरोना बिमालेख खरिद गर्न थालेको पाण्डेले बताए ।
वैशाख पहिलो साताबाट निर्जीवन बिमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको सहकार्यमा कोरोना भाइरस बिमालेख सुरु गरेका थिए । लघुबिमा पुलको माध्यमबाट जारी गरिएको बिमालेख नाफा भन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वका आधारमा गरिएको पाण्डेको भनाइ छ ।
कम्पनीहरुले ५० हजार र एक लाख रुपैयाँ बराबर बिमांक बराबरको बिमा लेख जारी गर्न सक्नेछन् । ५० हजार रुपैयाँ बिमांक बराबरको बिमा लेख जारी गर्दा एक जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारका सबै सदस्यको समेत बिमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बिमा शुल्क तोकिएको छ । यसैगरी एक लाख रुपैयाँ बिमांक बराबरको पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
कोरोना बिमालेख खरिद गरेको व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बिमितले दावी भुक्तानी प्राप्त गर्नेछन् ।

कोरोन बिमा नगर्न जिवन बिमा कम्पनीलाई निर्देशन

बिमा समितिले जीवन बिमा कम्पनी तथा अन्य संस्थाहरुलाई कोरोना बिमा नगर्न निर्देशन दिएको छ । जीवन बिमा कम्पनीका साथै अन्य संस्थाहरुले समेत निःशुल्क कोरोना बिमा गर्न लागेको भन्दै प्रचारप्रसार गर्न थालेपछि समितिले रोक लगाएको छ ।
सोमबार निर्देशन जारी गर्दै समितिले कोरोना बिमा निर्जीवन बिमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने स्पष्ट पारेको छ । समितिबाट सबै निर्जीवन बिमा कम्पनीहरुले कोरोना बिमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बिमालेखसँग जोडी केही जीवन बिमा व्यवसाय गर्ने बिमक तथा अन्य संस्थाहरुले समेत कोरोना बिमा गर्ने र निःशुल्क कोरोना बिमा गरिदिन व्यहोराको सूचना आएको भन्दै ध्यानाकर्षण भएको समितिले जनाएको छ ।
निर्देशनमा निर्जीबन बिमा व्यवसाय गर्ने बिमक बाहेक अन्य संस्थाहरुले कोरोना बिमासँग जोडेर आफ्ना सेवा व्यवसाय तथा विज्ञापन नगर्न समेत आग्रह गरिएको छ ।
पछिल्लो समय जीवन बिमा कम्पनीका साथै सहकारी संस्थाहरुले समेत कोरोना बिमाका लागि सूचना जारी गरेका थिए ।