कारोबार संवाददाता
सोमवार, बैशाख २२, २०७७
593

भद्रपुर-झापाको ओमसाई पाथिभरा अस्पतालले अस्पतालमा कार्यरत सबै जनाको जीवन बिमा गरिदिएको छ ।
अस्पतालका निर्देशक बालकुमार पोखरेलले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १४६ जनाको एक वर्षे जीवन बिमा गरिएको जानकारी दिए । कोरोना संक्रमणविरुद्ध पहिलो पंक्तिमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग यही वैशाख २० गतेदेखि लागू हुने गरी सो बिमा गरिएको जानकारी दिए ।

बिमावापत एक वर्षको तीन लाख ८३ हजार बिमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोबल बढ्ने उनको धारणा छ । बिमामा भएको व्यवस्थाअनुसार बिमा अवधिमा कालगतिले मृत्यु भएमा पाँच लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा १० लाख रुपैयाँ रकम परिवारका सदस्यले पाउनेछन् ।
जिल्लाका निजी क्षेत्रका अस्पतालले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमविरुद्ध बिमा गराएको पहिलो भएको जनाइएको छ ।