गोविन्द खत्री
बिहिवार, फाल्गुन ८, २०७६
608

सुर्खेत-नेपाल सरकारका राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बिमामार्फत उपचार गर्न आउने सेवाग्राहीलाई भेदभाव नगर्न निर्देशन दिएका छन् ।
प्रदेश अस्पताल सुर्खेतको १४ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री रावतले बिमामार्फत उपचार गराउन आउने सेवाग्राहीलाई अस्पतालहरूले राम्रो व्यवहार नगरेको गुनासो सुनेको भन्दै विभेद नगर्न निर्देशन दिएका हुन् ।

“स्वास्थ्यबिमा गरेका सेवाग्राही सेवा लिन आउँदा अस्पतालले राम्रो व्यववहार नगरेको भन्ने गुनासाहरू सुनिन आएका छन्,” राज्यमन्त्री रावतले भने, “मैले यस अस्पतालको मात्र कुरा गरेको छैन देशका विभिन्न ठाउँबाट यस्ता गुनासा आएका छन् आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस् ।” मन्त्रीबीच कार्य विभाजनमा स्वास्थ्य बिमा कार्यक्रम हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री रावतले आगामी दिनमा यसलाई थप विस्तार र व्यवस्थित गरिने बताए । स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भइरहेकाले स्वास्थ्य बिमामार्फत यसलाई घटाउने योजनामा सरकार लागि परेको रावतको भनाइ छ ।
यसै क्रममा राज्यमन्त्री रावतले प्रदेश अस्पताल सुर्खेतलाई चालु आर्थिक वर्षभित्रै तीन सय शय्याको बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पछिल्लो समय प्रदेश अस्पताल सुर्खेत प्रतिजनविश्वास बढ्दै गएकोले यसर्ला थप गुणस्तरीय र सेवाविस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए । स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार सधैं सकरात्मक रहेको पनिउनको भनाइ छ ।
स्थापना दिवसकै अवसरमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश अस्पताल सुर्खेतबाट विगत दुई वर्षयता सेवा प्रवाहमा धेरै सुधार आएको बताए । उनले प्रदेश अस्पतालाई आउँदो जेठभित्रमा तीन सय शय्याको अस्पतालका रूपमा विस्तार गरिने बताए । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा लिएकाले प्रदेश अस्पतालको विकासमा विशेष चासो दिएको मन्त्री रावलको भनाइ छ । सरकारले नीति निर्देशन दिए पनि अस्पतालको सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन व्यवस्थापन समिति र कर्मचारीहरूकै महत्वपूर्ण भूमिका हुने भएकाले पेसामा प्रतिबद्ध भएर काम गर्न सुझाव दिए । उनले कर्णालीको स्वास्थ्यस्थिति सुधार गर्नका लागि स्वास्थ्यतर्फका जनशक्ति व्यवस्था गर्न प्रदेश सरकारले विशेष सुविधा दिने निर्णय गरेको बताउँदै सरकारको अभियानमा साथदिन अनुरोध गरे ।
अस्पतालका निर्देशक डा.डम्बर खड्काले अस्पतालले जनविश्वास आर्जन गर्दै गएको बताए । उनले विगतमा भन्दै हरेक वर्ष सेवाग्राहीको संख्या वृद्धिभएको तथ्यांक प्रस्तुत गर्दै यसले अस्पतालप्रति जनविश्वास बढेको प्रमाणित हुने जिकिर गरे । यस्तै अस्पताललाई शिक्षण अस्पताल र तालिम केन्द्रका रूपमा विकास गर्न लागेको निर्देशक खड्काले बताए । उनकाअनुसार आर्थिक वर्ष ०७३-०७४ मा आकस्मिकतर्फ ४ हजार ५ सय ७४ जनाले सेवा लिएकोमा आव०७४-०७५ ६ हजार ९ सय २ जनाले सेवा लिएको थिए भने ०७५-०७६ मा ९ हजार ९ सय १३ जनाले सेवा लिएका थिए ।
चालू आर्थिक वर्षको ६ महिनामा ६ हजार ९९३ जनाले सेवालिइसकेका छन् । यस्तै बहिरंग सेवातर्फ आव ०७३-०७४ मा ४९ हजार ३ सय ३७, ०७४-०७५ मा ६० हजार २ सय ३३, आव ०७५-०७६ मा ७६ हजार ७ सय २२ जनाले सेवा लिएकामा चालू आबको छ महिनामा ४३ हजार ३ सय ७९ जनाले प्रदेश अस्पतालबाट सेवा लिइसकेका छन् । यस्तै पछिल्ला चार वर्षमा प्रयोगशालाको सेवा लिनेको संख्यामा समेत हरेक वर्ष वृद्धि भएको छ ।