कारोबार संवाददाता
बुधवार, माघ २९, २०७६
797

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ ।
उक्त भव्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त भव्य कार्यक्रममा १ हजार ५ सयभन्दा बढी सक्रिय अभिकर्ताहरूको उपस्थिति थियो । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुना–कुनामा पुगेर जीवन बिमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए ।

त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए । बिमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो । सो अवसरमा सीईओ झाले बिमा गराउनुभन्दा पहिले बिमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बिमाको आवश्यकता महसुस गराएर मात्र बिमा गराउन सुझाव दिए ।
उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । सीईओ झाले भने, “बिमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बिमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बिमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बिमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बिमामा आबद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउनेछन् ।”
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु-याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरूले आम नागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बिमा गराउन उनको सुझाव थियो ।
पेसागत बिमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे ।