कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६
734

 डोटी-सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भएको छ । जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायसँगैको अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य बिमा बोर्ड काठमाडौंले देशकै ४८ औं जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भएको जानकारी दिएको हो ।
२०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागू भएपछि ‘स्वास्थ्य बिमा कार्यक्रम’ लागू गर्ने सुदूरपश्चिम प्रदेश देशकै पहिलो प्रदेश बन्ने स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य निरीक्षक भरत बोहराले बताए । स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति राखिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न बाँकी जिल्लामा क्रमशः कार्यक्रम बिस्तार गर्दै लैजाने स्वास्थ्य बिमा बोर्डले नीति लिएको बताइएको छ ।नेपालमा सबैभन्दा पहिले सन् १९७६ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालले सिएचडिपी कार्यक्रममार्फत स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

त्यसपछि काठमाडौं, धादिङ, नवलपरासी र सुनसरीमा विभिन्न संघ संस्थाबाट उक्त कार्यक्रम लागू गरिएको जनस्वास्थ्य निरीक्षक बोहराले जानकारी दिए । स्वास्थ्य बिमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७०० रुपैयाँ तिरेर बिमा रकम तिर्नुपर्ने व्यवस्था छ ।
स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् । त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य २० हजार थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ ।