कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
340


‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक

कारोबार संवाददाता
काठमाडौं, २६ जेठ ः
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबारदेखि लागू हुने गरी ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ । योजना सार्वजनिक गर्दै कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहनेकोलागी ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ ल्याएको बताए । उनका यस योजनामा प्रत्येक वर्ष बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने तथा आजीवन जोखिम बहन गर्नु र बिमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न सकिने यस योजनाको विशेषता रहेको बताए ।
यो योजनाका लागि न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको भन्दै उनले सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमांक रकम राखेर सहभागी बन्न सकिने पनि बताए । “यो बिमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ,” उनले भने, “यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ ।”
साथै यस योजनामा दुर्घटना मृत्यु लाभ, बिमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको उनले बताए । बिमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बिमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष छ । त्यस्तै, बिमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।
बिमालेख चालू भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमा लेखअन्तर्गत पूरा बिमांक रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बिमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आंशिक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ ।
एकल बिमाशुल्क योजनामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बिमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ, उनले भने । “साथै सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बिमितको मृत्यु भएमा पुनः बिमांक बराबरको रकम प्रदान गरिनेछ ।”
बिमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बिमाशुल्क भुक्तानी गरेपश्चात् बिमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुने तथा एकल बिमाशुल्क योजनामा बिमा प्रारम्भ भएको मितिले १३ औं महिनादेखि बिमालेखको समर्पण मूल्य प्राप्त हुने भन्दै उनले समर्पण मूल्य प्राप्त भएको बिमा लेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने पनि बताए ।