कारोबार संवाददाता
मंगलबार, जेठ १३, २०७७
528

बारा- नेपाल टेलीकमको टावर क्षतिग्रस्त हुँदा बाराको अमलेखगञ्ज तीन सातादेखि सञ्चार सम्पर्क बिच्छेद बनेको छ ।
५० वर्षअघि नेपाल भारत सहयोगमा निर्माण टेलिकमको टावर एउटै मात्र जगको फाउण्डेसनमा रहेकाले क्षतिग्रस्त भएको हो । लामा समयदेखि पुननिर्माण गर्न टेलिकम कार्यालयले चासो नदेखाउँदा टावर आफैं भाँचिएर ढलेसँगै सञ्चार सम्पर्क टुटेको हो ।

टेलिकमको टावर ढलेसँगै करिव ७ हजार स्थानीय मोबाइल, इन्टरनेट, ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ता रहेको र उनीहरु लकडाउनको यो समयमा सञ्चार सम्पर्कबाट बञ्चित भएका हुन् । वैशाख २३ गते टावर आफैं खस्दा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताइएको छ ।
मोबाइल, इन्टरनेट, ल्याण्डलाइन लगायतका सबै सञ्चार सुविधा बन्द भएपछि अमलेखगञ्जमा रहेको बैंक तथा वित्तीय संस्था, नेपाल आयल निगमको डिपोलगायत प्रत्यक्ष मारमा परेका छन् । त्यसैगरी सेवा सुचारु गर्न नसक्दा टेलिकलाई पनि दैनिक लाखौं रुपैयाँ नोक्सानी भइरहेको छ ।