कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
203

टेक कम्पनी नोकियाले स्मार्ट टेलिभिजन बजारमा ल्याउने भएको छ । कुनै समय मोबाइल फोन बजारमा एक छत्र राज गरेको नोकियाले आधुनिक प्रविधिमा आधारित सामग्री उत्पादनमा आफ्नो कदम पुनः अगाडि बढाउन थालेको हो ।
नोकियाले टेलिजिभन उत्पादन थालेको यो पहिलो पटक भने होइन । तीन दशकअघि नोकियाले ठूला स्क्रीन भएका टेलिभिजन समेत उत्पादन गर्दथ्यो । पछि मोबाइलमा केन्द्रीत भएपछि टेलिभिजनबाट हात झिकेको थियो । पुनः टेलिभिजन उत्पादनमा फर्केको नोकियाले पहिलो स्मार्ट टेलिभिजन भारतमा सार्वजनिक गर्दैछ ।

नोकियाको स्मार्ट टिभी अहिले एचएमडीले नोकिया ब्राण्डमा स्मार्टफोन सार्वजनिक गरेको जस्तै हुने प्रविधिसाइटहरूले जनाएका छन् । भारतीय रिटेल ईकमर्श कम्पनी फ्लिपकार्टले नोकिया नाममा विभिन्न श्रेणीका नोकिया नाम भएका स्मार्ट टिभीहरू लन्च गर्ने योजना लिएको छ । ब्राण्ड नाम नोकिया भएपनि फ्लिपकार्टले त्यसलाई ल्याउने छ ।
सो स्मार्ट टिभीमा जेबीएलको साउण्ड सिस्टम प्रयोग हुने बताईएको छ । भारतमा जेबीएल ब्राण्डकोे औपचारिकरुपमा पहिलो यस्तो सुरुवात हुने देखिएको छ ।“हामी धेरै हर्षित छौं कि भारतको नेतृत्वदायी ईकमर्श फ्लिपकार्टले पहिलो पटक नोकिया ब्राण्डमा स्मार्ट टिभीहरू भारतमा ल्याउनेछ, भारतमा हाम्रो ब्राण्डलाई गुणस्तर, डिजाइन र दिगोपनाको रुपमा विश्वास गर्ने गरिन्छ,” नोकिया ब्राण्ड पार्टनरसिपका भाइस प्रेसिडेन्ट विपुल मेहरोट्राले भनेका छन् ।
पछिल्लो समयमा ठूला प्रविधि कम्पनीहरू स्मार्टफोनसँगै टेलिभिजन उत्पादनमा पनि प्राथमिकताकासाथ लाग्ने गरेका छन् । स्मार्ट टेलिभिजन ल्याउने पछिल्लो स्मार्टफोन कम्पनी वनप्सल पनि हो । नोकिया स्मार्ट टिभीहरू यसअघि आएको वनप्लस स्मार्ट टिभीको जस्तै किसिमले बजारमा आउने अनुमान गरिएको छ । किनकी भारतमा अधिकांश मानिसहरूले इन्टरनेटमा जोडिनका लागि आफ्नो फोनको अधिक प्रयोग गर्ने गर्दछन्, त्यसैले पनि कम्पनीले सोहि नाममा टिभी ल्याएर ग्राहकहरूको घरमा पुग्ने अपेक्षा गरेको छ । फ्लिपकार्टले नोकिया ब्राण्डमा स्मार्टफोन स्थानीयस्तरमा नै उत्पादन गर्नेछ भने बिक्रीको जिम्मा पनि आफैंले लिने विज्ञप्तीमार्फत जानकारी दिएको छ ।