धर्मेन्द्र कर्ण
शुक्रवार, भदौ २०, २०७६
405

 विश्वको एसियाली महादेश अहिले सर्वाधिक चर्चामा रहेको छ । शक्तिशाली देशहरूले फेरि एसियाली देशहरूको दोहन गर्ने नयाँ नयाँ औजारको तयारी गरिरहेका छन् । जंगली र नाङ्गो बर्बरताको युगमा यस क्षेत्रलाई लुटि लगेकाहरू नै मूलरूपमा ठूला शक्तिशाली देशहरूको रूपमा रहिरहेका छन् । कतिपयले इतिहासमा भएका बर्बरताका लागि क्षमा माग्ने काम पनि भइरहेकै छ । हालैमात्र जर्मनीको तर्फबाट पोल्याण्डसँग माफी मागिएको समाचार सार्वजनिक भएको छ ।
विश्वको अर्थतन्त्र र शक्तिशाली देशहरूको वर्चश्व एक ठाउँबाट अर्को ठाउँमा सर्ने सम्भावना मुखर भएर आइरहेको छ । विश्वको शक्तिशाली देशको वर्चश्व कुनै बेला उपनिवेशवादीहरूको लुटबाट शोषित एसियाली देश चीन उदाइरहेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको पहिलो ठूलो अर्थतन्त्र भएको देश अमेरिकासँग व्यापार युद्ध घनीभूत ढंगले अगाडि बढिरहेको छ । अर्थतन्त्रको विकाससँगै चीनले सूचना प्रविधिको विकासलाई पनि त्यसैगरी अगाडि बढाएको देखिन्छ । चिनियाँ कम्पनी ह्यावेको उदय अमेरिकाले पचाउन नसकेर विभिन्न किसिमको आरोप र अभियोग लगाएर ह्वावेको व्यवसाय ध्वस्त पार्न खोजेको आरोप चलिरहेकै छ । यहि क्रममा अमेरिका र चीन दुबैले एक अर्काको उत्पादित वस्तुहरूमाथि अतिरिक्त भन्सार महशुल थपिदिएर व्यापार युद्धलाई चर्काएका छन् ।

विश्वका अर्थशास्त्रीहरूले यसले अर्थतन्त्रलाई धराशायी बनाउने भनेर चिन्ता व्यक्त गरिरहेका छन् । यससँगै अर्को एसियाली देश भारतले पनि अर्थतन्त्रको विकास गरिरहेको र भारत पनि उदीयमान अर्थतन्त्रको रूपमा रहेको देखिन्छ । यी दुई ठूला बजारमा ठूला विकसित अर्थतन्त्रहरूको प्रतिस्पर्धाका लागि त्यस अनुरूपको सुरक्षा चुनौती र चसो बढ्नु स्वाभाविक हुन्छ । त्यसैले अमेरिकाले आफू अनुकूलको सुरक्षा रणनीति बनाइरहेको छ भने चीनले आफू अनुकूलको सुरक्षा रणनीति बनाइरहेको छ । यी सबैको बीचबाट डिजिटल क्षेत्रको विकास द्रुतगतिको रूपमा अगाडि बढिरहेको छ । डिजिटल इकोनमीको विकासले एसियामा डिजिटल सम्पर्क (कनेक्टीभिटी)को मागलाई बढाइदिएको छ । भ्यागुते उफ्राइको विकासबाट गुज्रिएर ठूलो अर्थतन्त्रको रूपमा विकास गरेको चीनमा भुक्तानी प्रणाली पनि डिजिटल बन्न पुगेको छ । जसलाई मोबाइल पेमेन्टको रूपमा पनि बुझिन्छ । यसले वित्तीय समावेशीकरणलाई महत्वपूर्ण योगदान दिइरहेको छ ।
चीनको परम्परागत वित्तीय प्रणालीलाई बुझ्ने प्रयास गर्दा या राज्यको स्वामित्वमा रहेका बैंकहरूको वर्चस्वमा रहेको छ । चीनको परम्परागत वित्तीय प्रणाली कर्जा र अन्य वित्तीय सेवा दिनेतर्फ बढी उन्मुख रहेको छ । यो प्रणालीले ठूला उद्यम र राज्यस्वामित्वका उद्यमहरू तर्फ डोरिएको देखिन्छ । यसले गर्दा भुक्तानी, सम्पत्ति व्यवस्थापन, बीमा, वित्तीय र घर परिवार तथा साना मझ्यौला उद्यमलाई कर्जा दिन मूल्यांकन गर्ने क्षेत्रको विकासमा धेरै ठाउँ उपलब्ध गराउँछ ।
यत्रो विकास गरेको चीनमा पनि डेबिट कार्ड छिराएर पैसा निकाल्नेहरूको अवस्था २० प्रतिशत भन्दा माथि पुगेको छैन । दक्षिणपूर्व एसियामा त झन् ६० प्रतिशत जनसंख्यासँग अझ बैंक खाता र डेबिट कार्ड बिना रहेका छन् । इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र अन्य देशहरूमा कार्ड छिराएर पैसा निकाल्नेहरूको संख्या दुई प्रतिशत पनि नाघेको छैन । भारतमा पनि व्यापारिक खरिद आदेशको भुक्तानीहरूको ६० प्रतिशत नगदबाटै हुन्छ । अझ बंगलादेशमा औपचारिक वित्तीय सेवाको अवस्था यस्तै रहेको छ । दक्षिण पूर्व एसियाको ७० प्रतिशत जनसंख्या ४० वर्ष भन्दा कम उमेरका रहेका छन् । नयाँ प्रविधिहरूको स्वीकार र अंगीकार गर्ने बलियो चाहना यो समूहमा हुन्छ ।
एसियाली क्षेत्रका मानिसहरूले घर पैसा पठाउने काम रेमिट्याान्सबाट नपठाइ मित्र र बस ड्राइभरको मध्यमबाट गर्ने गरेका छन् । उनीहरूले मोबाइल पेमेन्ट गर्न रूचाउँदैनन् । परम्परागत माध्यमबाट पैसा पठाउँदै विभिन्न किसिमको जोखिमसँग ढिला पुग्ने जोखिम पनि हुन्छ । यस्तोमा डिजिटल माध्यमबाट हुने वित्तीय व्यवस्थापन (फिनटेक) महत्वपूर्ण हुन्छ । फेरि फिनटेक औपचारिक वित्तीय प्रणालीसँग जोडिएको हुन्छ ।
एसियाली अर्थतन्त्रहरू सामान्यरूपमा विकास र फिनटेकको नियमनको विषयमा खुला अवधारणा राखेको पाइन्छन् । तर यस क्षेत्रका विभिन्न सरकारहरूको उद्देश्य भने फरक खालको रहेको पेकिङ युनिभर्सिटीमा नेशनल स्कूल अफ डिभलपमेन्ट एन्ड इन्स्टिच्युट अफ डिजिटल फिनान्सका अनुसन्धानकर्ता सुन वाङको बुझाइ रहेको छ ।
उनका अनुसार थाइल्यान्ड र भारतले वित्तीय सक्षमता र वित्तीय समावेशीता प्रवद्र्धनमा सुधार ल्याउन खोजेका छन् । तर ठीक यही बेला हङकङ र सिंगापुरको अवस्था फरक खालको छ । उनीहरू अन्तर्राष्ट्रिय वित्त केन्द्रको रूपमा रहेका छन् । अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर सीमा वारपार भुक्तानीका बारेमा हङकङ र सिंगापुरले फिनटेक विकासको योजना र डिजाइनका लागि विशेष विभाग र व्यक्तिहरूलाई समन्वय र कार्यान्वयनका लागि तैनाथ गरेका छन् । दुबै देशले फिनटेक नवप्रर्वतनका लागि नियमनका लागि सहयोग गर्ने धारणा ग्रहण गरेका छन् ।
सापेक्षिक रूपमा प्रविधि भुक्तानी (टेक पे)को अवस्था चीनमा परिपक्व अवस्थामा रहेको र यसको निरन्तर दु्रुतगतिमा विकास भइरहेको देखिन्छ । चीनमा भुक्तानी गर्ने डिजिटल पेमेन्ट कम्पनी अलिपेबाट हुने पेमेन्टमा वृद्धि भएको छ । २ सय प्रतिसेकेन्डबाट बढेर २ लाख ५० हजार कारोबारमा वृद्धि भएको छ । चिनियाँ कम्पनीहरूले स्थानीय साझेदारसँग भुक्तानी प्रणाली बनाउन खोजेको देखिनछ । यसबाट स्थानीय तहमा टेक्नोलोजि संस्कृतिको विकास हुन्छ । यसले नीति, नवपर्वतन र स्थानीय यथार्थ जीवनसँग टेक्नोलोजि संस्कृतिलाई जो्डन सक्छ ।
त्यसै पनि वित्तीय क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी नियमनमा रहेको हुन्छ । यो अझ पनि सबै देशमा संवेदनशील विषय बनेर आएको छ । चीनको फिनटेक कम्पनी बढी दीगो र सफल रहेको पाइन्छ । अलिपेले समुद्रपारीको देश र बजारमा सानो हिस्सा ओगटेको छ । उसले विकास गर्न चाहिरहेको छ । चीनको टेक पेमेन्टले अन्य मोबाइल पेमेन्ट व्यवसायलाई एसियाभर विस्तार गर्न सहयोग गरेको छ । अलिपेले क्षेत्रीय साझेदारसँगको सहयोगमा ९ स्थानीय प्रविधि थैली ‘इ वालेट’हरूको स्थापना गरेको छ । थाइल्यान्डमा ट्रु मनि, फिलिपिन्समा जीक्यास, इन्डोनेसियामा डाना, इन्डियामा पेटिएम, मलेसियामा टीनजीडी, पाकिस्तानमा इजिपैसा, बंगलादेशमा बीकास, दक्षिण कोरियामा काकाओ, हङकङमा अलिपे एचके सञ्चालनमा रहेका छन् । सीमावारपार भुक्तानी हङकङ र चीनको मुख्य भूमिबीच र हङकङ र जापानमा उपलब्ध छ । सीमापार रेमिट्यान्स हङकङदेखि फिलिपिन्स र मलेसियादेखि पाकिस्तानमा समस्या भइआएको देखिन्छ ।
यस विषयमा केही महत्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् । अनुसन्धानकर्ता सुनका अनुसार डेटामाथि व्यक्ति र ठूला टेक कम्पनीबीचको स्वामित्वको विषय पहिलो हो । टेक कम्पनीहरूले धेरै महत्वपूर्ण निर्णयहरू डेटाको आधारमा गर्ने भएकाले यो महत्वपूर्ण बन्दै गएको छ । तर यससन्दर्भमा उपभोक्ताको गोपनीयताको संरक्षण गर्नुपर्ने विषयको छलफल अग्रपंक्तिमा रहेको छ ।
दोस्रो महत्वपूर्ण विषय भनेको असमानताको समस्या हो । अझ कतिपय विदेशी पर्यटक समूहरूसँग मोबाइल पेमेन्ट सेवाको पहुँच हुँदैन । डिजिटल फिनान्सको विस्तारित क्षेत्र, समावेशी वित्तको शिक्षा र मोबाइल पेमेन्टसम्मको पहुँचका लागि वित्तीय खुलापनलाई यस क्षेत्रका सरकारहरूले अंगीकार गर्नुपर्ने हुन्छ । तेस्रो विषय समावेश भएको वित्तीय जोखिमको विषय हो । साइबर अट्याकजस्ता नयाँ प्रणालीगत वित्तीय जोखिमसँगको व्यवहार गर्नुपर्ने रणनीतिहरू र वित्तीय सेवाहरूमा मध्यस्थहीनताजस्ता विषयमा रणनीति बनाउनुपर्ने आवश्यकता रहेको छ । डिजिटल फिनान्सले प्रभावकारी वित्तीय नियमनको अभावमा वित्तीय जोखिमलाई बढाउन सक्नेछ । त्यसैले निःसन्देह नियमन डिजिटल फिनान्सको क्षेत्रमा एक महत्वपूर्ण विषय बन्न पुगेको छ ।
मोबाइल पेमेन्टको सेवाको निर्माणका लागि ठूला टेक कम्पनीहरूले प्रायः गरी अन्य वित्तीय सेवामा विस्तार गर्न चाहन्छन् । यस्तो नयाँ वित्तीय होल्डिङ कम्पनीहरूको नियमन कसरी हुने सवाल खडा हुन पुग्छ । एसियाली क्षेत्रमा सक्षमता र स्थायित्वबीचको सही सन्तुलन कायम गर्न वित्तप्रविधिको भविष्य प्रभावकारी नियमनमा अडेको देखिन्छ । झन् हालै चिनियाँ ह्याकरहरूको समूहले बैंकिङ प्रणालीबाट करौडौं रकम चोरेको धेरै भएको छैन । यसको गम्भीर अनुसन्धान भइरहेको छ । त्यसैले प्रकारी नियमनमा ह्याकर अट्याकका यो र यस्ता आयामलाई समावेश गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।