स्मार्ट टेलिकमको फोरजी सेवा सुरु
कारोबार संवाददाता
मंगलबार, कार्तिक १४, २०७४
8

दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवामा तेस्रो प्रतिस्पर्धी कम्पनी थपिएको छ । यसअघि नेपाल टेलिकम र एनसेलले फोरजी सेवा सञ्चालन गरिसकेकोमा शनिबारबाट निजी लगानीमा स्मार्ट टेलिकमले ‘स्मार्ट सेल’ को ब्राण्डबाट सेवा विस्तार गरेको हो । स्मार्टको फोरजी आइतबारबाट राजधानी र पोखराका ग्राहकले प्रयोग गर्न सक्नेछन् । 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट फोरजीको सञ्चालन अनुमति पाएको ५ महिनापछि कम्पनीले सेवाको औपचारिक शुभारम्भ गरेको हो । करिब १ महिना परीक्षणपछि मात्र व्यावसायिक सेवा सुरुवात गर्ने कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले बताए ।

“फोरजीको सबै तयारी पूरा भए पनि प्राविधिक पक्ष भएकोले केही समय परीक्षणको रूपमा राखेर देखिएका कमी–कमजोरीलाई सुधार गर्दै अर्को महिनादेखि व्यावसायिक सुरुवात गर्नेछौं,” उनले भने, “सस्तो, सुलभ र तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने योजनासहित हामी आएका छौं । प्रतिस्पर्धी कम्पनीको तुलनामा हाम्रो सेवा सस्तो र गुणस्तरी हुनेछ ।” 

पहिलो चरणमा राजधानी र पोखरामा सेवा विस्तार गरेपछि क्रमशः देशका अन्य भागमा पनि फोरजी विस्तार हुनेछ । दूरसञ्चारमा ९ वर्ष अनुभवसहित सेवामा परिष्कृत गर्दै समय अनुकूलको सेवा ल्याएको कम्पनीले जनाएको छ । “सेवालाई उपभोक्तामैत्री, वैज्ञानिक र त्रुटिरहित बनाउने प्रयासमा छौं,” प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले भने ।

३ करोड चुक्ता पुँजी रहेको कम्पनीमा हालसम्म ७ अर्ब रुपैयाँ लगानी भइसकेको कम्पनी सचिव सुमन राजभण्डारीले बताए । उनका अनुसार कम्पनीमा नेपाली लगानीकर्ताका तर्फबाट स्क्वायर नेटवर्कको २० प्रतिशत सेयर छ । स्मार्टका अध्यक्षसमेत रहेका सर्वेश जोशी यो सेयरका हकदार हुन् । कम्पनीमा लालसाहु होल्डिङ्स (सिंगापुर)को ५० प्रतिशत र कोस्वो इन्भेष्टेमेन्ट जर्जियाको ३० प्रतिशत सेयर छ । 

स्मार्टले सन् २००८ मा पूर्वाञ्चल बाहेकका साविकका ३ सय ९८ गाउँ विकास समितिमा सेवा पु¥याउनुपर्ने सर्तमा लाइसेन्स पाएको थियो । सन् २०१३ मा यसले युनिफाइड लाइसेन्स पाएपछि ग्राहक बढेका हुन् । अहिले स्मार्ट सेल देशमा विभिन्न सुगम तथा दुर्गम गरी ३५ जिल्लामा पुगेको छ ।

स्मार्टले फोरजी सेवाका लागि १० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ । यो फ्रिक्वेन्सीको अधिकतम उपयोग गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिने कम्पनीले जनाएको छ । दूरसञ्चार प्राधिकरणको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) अनुसार स्मार्ट सेलका ग्राहक १६ लाख २३ हजार छन् । यो कुल दूरसञ्चार प्रयोगकर्ताको ४ प्रतिशत हो ।