कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
780

प्रिमियम स्मार्टफोनको मार्केट सन् २०१९ को पहिलो क्वार्टरमा ८ प्रतिशतले घटेको देखिएको छ । एप्पलको सिपमेन्टमा पनि गिरावट देखिएको काउन्टरपोइन्टको अनुसन्धान निकाय मार्केट मनिटर सर्भिसले यस्तो आँकडा सार्वजनिक गरेको छ ।
एप्पलको सिपमेन्टमा २० प्रतिशतको गिरावट देखिएको हो । एप्पलले आफ्नो बजारको हिस्सा गुमाइरहेको छ भने सामसङले हिस्सा बढाइरहेको छ । एप्पलको आइफोनको सिपमेनटमा कमी आएको छ । अर्कोतर्फ सामसङको ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोनले यो ग्याप भरेको छ ।

एप्पलको सिपमेन्ट घट्नुमा चिनियाँ बजार एक प्रमुख कारण रहेको छ । फाइभ जीको व्यापारिक सुरूवातसँग प्रिमियम स्मार्टफोनको बजारमा विस्तार हुने अपेक्षा गरिएको छ । ह्वावेले पनि प्रिमियम स्मार्टफोन बजारमा आफ्नो हिस्सालाई दुई अंकले विस्तार गरेको छ । स्मार्टफोनको बजारमा एप्पलको हिस्सा भन्दा ह्वावेको हिस्सा नाघेको छ । विश्वबजारमा प्रिमियम मोबाइलको बजार घट्नुमा अमेरिकाले लगाएको बन्देज पनि कारण रहेको छ ।
विश्वको सर्वाधिक पाँच स्मार्टफोनमा वनप्लस पनि स्थान ओगटेको छ । वन प्लसका मोबाइलको माग पश्चिम युरोपमा बढिरहेको छ भने भारतमा दोस्रो स्थानमा रहेको छ । वन प्लस उत्तर अमेरिकामा पनि शीर्ष पाँचमा परेको छ । प्रिमियम स्मार्टफोनको आधार भनेको ४०० अमेरिकी डलर भन्दा माथिको मूल्यलाई मानिएको छ ।
उत्तर अमेरिका अझ पनि प्रिमियम स्मार्टफोनको सबै भन्दा ठूलो बजार हो । यसले विश्वको कुल प्रिमियम स्मार्टफोनको ३० प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि प्रिमियम स्मार्ट डिभाइसको हिस्सा चीनको बजारले लिएको छ । चीनले २६ प्रतिशत प्रिमियम मोबाइलको बजार ओगटेको हो । पश्चिम युरोप १७ प्रतिशत बजार लिएको छ ।