कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
352

फ्रान्सले अमेरिकी प्रविधि कम्पनी गुगल र फेसबुकलाई कर लगाउन नयाँ कानुन बनाउने भएको छ । फ्रान्सको संसदले नयाँ करसम्बन्धी विधेयक पारित गर्ने भएको छ ।
यो कानुन बनेपछि फ्रान्सले यही वर्ष करिब ४० करोड युरो पाउन सक्ने छ । ७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्रै मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीलाई नयाँ कर तिर्नुपर्ने हुन्छ ।

अमेरिकाले भने फ्रान्सले बनाउन लागेको कानुनप्रति आपत्ति प्रकट गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस विषयमा अनुसन्धान गर्न आफ्नो प्रशासनलाई आदेश दिएका छन् । ट्रम्पका व्यापार प्रतिनिधिले भने, “अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करबारे अमेरिकाको चासो धेरै रहेको छ ।” यो नयाँ कर विधेयक पारित भएपछि गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर तिर्नुपर्ने भएकाले ट्रम्पले यसको अनुसन्धान गर्न भनेका हुन् ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले आपत्ति प्रकट गरेका छन् । “राष्ट्रपति ट्रम्पले हामीलाई यो विधेयकको विषयमा अनुसन्धान गर्न निर्देशन दिनु भएको छ । यो विभेदकारी अथवा अन्यायपूर्ण र अमेरिकी व्यापारमाथि बोझ अथवा प्रतिबन्धात्मक किसिमको कानुन त बनाइएको हो वा होइन त्यसको निर्धारण गर्न भन्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
अनुसन्धानपछि फ्रान्सले लगाउने कर जस्तै अमेरिकाले पनि उसका कम्पनीहरूमाथि कर लगाउने अथवा नलगाउनेबारे तत्काल टुंगिसकेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले यस्ता करहरू कति पटक लगाइसकेका छन् । ट्रम्पले युरोपियन युनियन र चीनमा उत्पादित वस्तुको अमेरिकी प्रवेशमा कर लगाइसकेका छन् । फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन नपाउने फ्रान्सेली सरकारले विश्वास जनाएको छ ।
प्रत्यक्ष नदेखिने र आफ्नो भूमिभन्दा बाहिर पनि प्रभाव रहेका डिजिटल अर्थतन्त्रबाट मुलुकहरूले अर्बौ कर गुमाइरहेको बढ्दो जनचासोले गर्दा फ्रान्स सरकारले यो कदम चालेको हो । नयाँ कानुन कार्यान्वयनमा आउँदा करिब ३० मध्ये विशेषगरी अमेरिकी कम्पनीले कर तिर्नुपर्ने हुन्छ । चिनियाँ, जर्मन, स्पेनी र बेलायती कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुनेछन् । बेलायतले पनि त्यस्तै डिजिटल सेवा कर विषयमा अध्ययन गरिरहेको देखिएको छ ।