धर्मेन्द्र कर्ण
शुक्रवार, असार २७, २०७६
229

काठमाडौं । टेक्नोलोजी त्यसमा पनि एड्भान्स टेक्नोलोजी वा हाइटेकबाट पन्छिएर कुनै समाज अगाडि बढ्न नसक्ने अवस्थामा विश्व मानव समाज पुगेको छ । टेक्नोेलोजीको विकासको आवश्यकता योगदेखि भोगसम्म पुगेको छ । बच्चादेखि बूढासम्म, गरिबदेखि धनीसम्म, फरक फरक भू–भाग, सबै वर्ग एकै थलोमा जोडिएका छन् । विश्व समाजलाई जोडिराख्न भने अब साझा अन्तर्राष्ट्रिय नीतिको खाँचो देखिन थालेको छ ।
गएको २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । संंयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय योग दिवसका लागि सफल पहल गर्ने अन्तर्राष्ट्रिय नेताहरूमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीको नाम अगाडि आउँछ । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि राष्ट्रसंघमा यसको पहल गरी २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न लगाएका थिए ।

यो वर्ष योग दिवसमा टेक्नोलोजी प्रयोग गरी डिजिटल मोदी बनाई त्यो मोदीले योग गरेको कार्यक्रम अवलोकन गरी योग सिक्न र गर्न पाउन एक एपको विकास गरिएको छ । यतिमात्रै होइन, ‘भौतिक वस्तु सबै भ्रम हुन्’ भनी उपदेश दिने बाबा वा योगीहरूले पनि भक्तहरूमा उपदेश बाँड्न यस्ता एपको प्रयोग गरिरहेको पाइन्छ । टेलिभिजनको प्रयोग गरी उपदेश दिने बाबा र योगीहरूको कमी कहाँ छ र ? टेक्नोलोजीको भोगसम्मको पहुँच त खोज्नुपर्ने विषय नै छैन । हामीले हाम्रो दैनिक जीवनमा गर्ने काम, श्रम बजारमा गर्ने काम उच्च प्रविधि वा हाइटेकको प्रयोग गरी लुटिँदै गएको छ । त्यसैले टेकको उपयोग बिना आजको समयमा न योगी टाढिन सक्छ न भोगी ।
संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको पहिलो सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको छ । भाषा जे सुकै प्रयोग गरे पनि आउने जुनसुकै सरकाले ल्याउने नाराको अन्तर्य यो भन्दा पृथक हुन सक्दैन । भलै त्यो सरकारले गर्ने कामको परिणाम यो नाराको अन्तर्य पुग्ने बाटोमा नगएर अन्तै पुग्न भने सक्छ । तर नारा भने यही हुनेछ । विश्वको सबैभन्दा बढी टेक्नोलोजीको विकास भएको र सबैभन्दा शक्तिशाली देशको रूपमा स्थापित अमेरिकाले पनि चीनको टेक्नोलोजीको विकासबाट चकित छ ।
सन् २००० को मध्यतिर चीनका सांस्कृतिक तथा राजनीतिक घरानियाँहरूले ‘सफ्ट पावर’को अवधारणालाई अगाडि बढाउने प्रयास गरे । सफ्ट पावरको बुझाइ भनेको आफूप्रति अरूको आकर्षण तान्ने वा आफ्नो प्रभाव अरूमाथि पार्ने क्षमताको विकास गर्नु हो । सन् २०१० मा चीनको सांस्कृतिक सफ्ट पावरको चरित्रका लागि वैकल्पिक शक्तिको रूपमा चीनको मुद्रा बलियो भयो । अनि चिनियाँ ती घरानियाँहरूमा ‘बलिया सांस्कृतिक शक्ति’को अवधारणा ग्रहण गर्न थाल्यो । परमाणु हतियार, पनडुब्बी, कुल गार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिको मापन गर्ने विधिको विकास गरियो । यसपछि विश्व चीन तर्फ आकर्षित हुन थाल्यो । चीनको ‘सफ्ट पावर’ त्यसै भएको होइन । यसका नीतिहरूमा कन्फुसियस प्रतिष्ठानहरू, सिन्ह्वा र द चाइना ग्लोबल टेलिभिजनजस्ता भूमण्डलीकृत ध्वजवाहक सञ्चारमाध्यम, खेलकुद, फिल्म, शिक्षा तथा सांस्कृतिक क्षेत्रका उद्योगहरूको ठूलो योगदान रहेको छ । यी उद्योगहरूमा अधिकांश सरकारको स्वामित्व रहेको छ ।
त्यसैगरी चीनको निजी क्षेत्रमा पनि द्रुत गतिमा अगाडि बढिररहेको देखिएको छ । चीनको निजी क्षेत्रको सहभागिता विशेषगरी डिजिटल र हाइ टेक कम्पनीहरूमा बढी रहेको छ । यी कम्पनीहरूमा केही हदसम्म चिनियाँ परिदृश्यमा विश्वले चीन बुझुन् र चीनको छवि सकारात्मकरूपमा विकास गरून भन्ने जिम्मेवारी सुम्पिएको देखिन्छ । चीनको निजी क्षेत्रको प्रयास चीनको उदय र चीनको सपनासँग गाँसिएर विस्तार भइरहेको छ । परिणाम अहिले चीन एसिया प्रशान्त क्षेत्रमा मात्रै होइन, विश्वभरि आकर्षणको केन्द्र बनेको छ । त्यसलाई सघाएका छन् चीनको डिजिटल क्षेत्रका उद्यमीहरूले । उनीहरूले सामाजिक आम सञ्चार र सामाजिक वाणिज्यको क्षेत्रमा व्यापक बजार निर्माण गरेका छन् ।
यो कूटनीतिक पहलको अगुवाइ गर्ने टेक कम्पनीहरूमा बाइडु, अलिबाबा र टेन्सेन्ट जस्ता मुख्य छ । उनीहरूले टिकटक र टोउटियाओ जस्ता बाइटडान्स, आइकियी, मेइतुआन, दिदी चुक्सिङ र पिनडुओदु जस्ता टेक कम्पनीहरूको भूमिका रहेको छ । यी कम्पनीहरूले चीनको भूमिकालाई समुद्रपारीका देशहरूमा पु¥याइरहेका छन् । चीन बाहिर बस्ने चिनियाँहरूमा यी चिनियाँ सामाजिक सञ्जाल लोकप्रिय रहेका छन् । चिनियाँहरू विश्व पुँजी बजार र शेयर बजारमा ती सामाजिक सञ्जालको माध्यमबाट जोडिएका छन् त्यसैगरी उनीहरू राजनीतिक र सांस्कृतिकरूपमा जोडिएका छन् । राजनीतिक र सांस्कृतिकरूपमा उनीहरूको व्यवहार गन्धहीन हुन्छ । उनीहरूको सामाजिक आयाम भनेको चीनलाई सफ्ट पावरमा विकास गर्ने बाटो पहिचान गर्नु हुन्छ ।
इन्टरनेट र मोबाइल फोनको बजारका आधारमा सबै भन्दा ठूलो बजार चीन मात्रै होइन सोसल मिडिया र सोसल कमर्सकोको बजारको रूपमा पनि चीन सबै भन्दा ठूलो छ । चीनमा ८० करोड भन्दा बढी इन्टरनेट उपयोगकर्ता छन् भने ती मध्ये ९८ प्रतिशत सोसल मिडिया र सोसल कमर्स मार्केटसँग जोडिएका छन् । सोसल मिडियाको यो आधार चीनका लागि विविध, समृद्ध र ठोस छ । चीनको सोसल मिडियाको यो अवस्था अद्वितीय यस आधारमा पनि छ कि यहाँ फेसबुक, इन्स्टाग्राम, युटयुब र ट्विटर निषेध गरिएको छ ।
चीनको सामाजिक सञ्चारका दुई खम्बाहरू रहेका छन् । अधिकांशले सुनेकै छन् । ती हुन वीच्याट र वेइबो । समाजिक रूपमा सन्देश पठाउने प्लेटफर्मको रूपमा वी च्याट छ । यसको मासिक सक्रिय उपयोगकर्ता एक अर्ब भन्दा बढी छन् । वेइबो माइक्रोब्लगिङ प्लेटफर्म हो । यसका उपयोगकर्ता ६० करोड रहेका छन् । यसैगरी चिनियाँ इ–कमर्सका दुई ठूला कम्पनीको रूपमा अलिबाबा र जेडी डटकम रहेका छन् । यिनका अतिरिक्त यस क्षेत्रमा सयौं कम्पनीहरू रहेका छन् । जसले सन्देश पठाउन, इ व्यापार गर्न, समाचार उपलब्ध गराउन, मनोरञ्जन उपलब्ध गराउन, भिडियो र फोटो पठाउन र लाइभ प्रस्तुत गराउनका साथै खेल र जीवनशैलीसम्बन्धी विषयको प्रस्तुत गर्ने काम गरिरहेका छन् ।
चीनको सोसल मिडियाको प्लेटफर्मले एप्प, च्याट, पोस्ट, पसल,नगद स्थानान्तरण, ट्रेन, विमानको टिकट काटन र होटलको कोठा बुक गर्नुका अतिरिक्त दान दिनसम्मका काम गर्न सक्छ । चीनको डिजिटल क्षेत्रमा जोडिएकाहरूको करिब ९० प्रतिशत वित्तीय कारोबार चीनका दुई ठूला डिजिटल पेमेन्ट प्लेटफर्महरूले गर्छन् । यसले गर्दा त्यहाँको समाजलाई नगदहीन समाज (क्यासलेस सोसाइटी) बनाइदिएको छ । उनीहरूको नगद भुक्तानी दिने काम अलि पे र वीच्याट पेले गरिदिएपछि नगदको लेन देन देखिने गरी हुँदैन । यो कारोबार औंलाको टुप्पोमा समेटिन पुगेको छ ।
डिभाइस ओपन गरी औंलाको टुप्पोले टच गरेपछि भुक्तानी भइहाल्ने र रोजेको खोजेको सेवा निर्धारित समय भित्र तपाईकै दैलामा उपलब्ध भइहाल्ने गर्छ । यो सेवा डिजिटल प्रविधिमा जोडिएका चिनियाँहरूबीचमा भइरहेको छ । यो चीनको बलियो आर्थिक आधार हो । तर चुनौती भनेको हाइटेकले खान थालेको रोजगारको व्यवस्थापनको छ । हाइटेकले अर्थतन्त्रमा गर्ने उत्पादनको वितरणलाई समुचित तबरले गर्नुपर्ने चुनौती थपिएको छ । यो चुनौती आयो अब हाइटेकको विकास गर्दिन भनेर हुँदैन । यसको सामना गरी चीन अगाडि बढ्नु पर्छ र बढ्ने प्रतिबद्धता त्यहाँका नेताहरू अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त हुँदै आएको छ । हात्तीको खुट्टो हात्तीलाई कमिलोको खुट्टो कमिलोलाई नै भारी हुन्छ भने जस्तै नेपालको आर्थिक समृद्धि र त्यसका चुनौती नेपाललाई चीन जस्तै भारी हुन सक्छ । तर खुट्टो चाल्नुपर्ने बाध्यता दुबैलाई समान हुने भएकाले नेपालले यस्ता विषयमा ठीक सोच बनाउनुपर्ने आवश्कता छ ।
चीनका लागि आवश्यक पर्ने ‘सफ्ट पावर’ चीनका लागि हुने हो नेपालका लागि ‘सफ्ट पावर’ नेपालका लागि हुने छ । त्यसका लागि सोच्नुपर्ने बेला घर्किदै छ । किनभने विश्व आर्थिक, राजनीतिक र सामरिकरूपमा बहुध्रुबीय हुन गइरहेको छ । नेपाल र नेपालीको हितमा गर्नुपर्ने काममा ढिलाइ गरिए फेरि लामो समय पर्खिनुपर्ने हुन्छ । जे गर्नुपर्ने हुन्छ त्यसमा डिजिटल टेकको नीति अपरिहार्य हुन्छ । किनकी साझा नीति नहुँदा जस्ले जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित हुन सक्छ । यसो हुँदा विश्व समाज विघटनको बाटोतिर जान सक्छ । यसो हुन नदिन विश्वभर ग्याजेट, वेभसाइट, सामाजिक संजाल र एपहरूको निस्पक्ष रुपमा प्रयोग गर्न अन्तराष्ट्रिय मूल्य मान्यता स्थापित गर्नु पनि आजको अपरिहार्य आवश्यकता हो । यसका लागि संयुक्त राष्ट्र संघ र शक्ति राष्ट्रहरूले आफ्नो राष्ट्रको स्वार्थ भन्दा माथि उठेर, समग्र मानव सभ्याताको लागि साझा नियम, कानून र अवधारणाहरू बनाउन भने ढिलो गर्न नहुने अवस्था छ । साथै नेपाले पनि प्रविधिका विषयमा आफ्ना मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई नीतिगत रुपमै खुलस्त पार्नु पर्ने हुन्छ ।