किरण आचार्य
शुक्रवार, असार २७, २०७६
973

चीन–अमेरिका व्यापार युद्ध र ह्वावेमाथिको अमेरिकी प्रतिवन्धको विषयले विस्तारै नयाँ मोड लिन थालेको छ । गत जुन अन्तिम साता जापानमा भएको जी २० बैठकको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सी जिनफीङको भेटघाटपछि दुई देशबीचको व्यापार सम्बन्धले नयाँ मोड लिने देखिएको हो ।
सो भेटपछि बदलिएको ट्रम्पको चीन र ह्वावेमाथि हेर्ने दृष्टिकोणसँगै ह्वावेलाई अमेरिकासँग पुनः व्यापारीक सम्बन्ध विस्तार गर्न ग्रीन सिग्नल मिलेको मान्न सकिन्छ । विश्वको प्रमुख शक्ति राष्ट्रका राष्ट्रपति भएकाले मात्र हैन, सिस्टममा चलेको मुलुकको कार्यकारी राष्ट्रपति भएकाले पनि ट्रम्पको एक ट्वीटको पनि ठूलो महत्व रहन्छ । त्यसमाथि पत्रकार सम्मेलनमै ट्रम्पले चीन–अमेरिकी कम्पनीहरुले एक आपसमा व्यापार गर्न सक्ने बताउनु ह्वावे र चीन नीतिमाथि ट्रम्प प्रशासनको लचकताका रुपमा हेर्न सकिन्छ । हुन त नेपालका प्रधानमन्त्रीदेखि मन्त्री, सचिवहरु छेपाराले रंग फेरे जस्तो आफ्नो बोली मात्र हैन, नीति नै हप्ता–हप्तामा फेर्न लागिपरेको देखेका नेपाली समाजका लागि एउटा ट्वीट सामान्य लाग्न सक्छ । तर, ट्रम्पको ट्वीट भने अमेरिकी प्रशासनको लागि मार्गदर्शन नै हो । किनकी कार्यकारी राष्ट्रपतिका हैसियतले ट्रम्प विशेषाधिकार राख्छन् । जुन विशेषाधिकार लिएर पछिल्लो समयमा ह्वावेमाथि सफ्टवेयरसम्मको कारोबार गर्न नपाउने गरी इन्ट्री लिस्टमा राखियो । सोही पावरको प्रयोग गर्दै ट्रम्पले चीन र ह्वावेप्रति थोरै लचकता अपनाउने नीति ल्याएका छन् ।

ट्रम्पको लचकता मिश्रित अभिव्यक्तिले ह्वावेलाई अमेरिकामा फाइभजी कारोबारकै लागि अनुमति दिने खालको सन्देशका रुपमा लिन त नसकिएला तर कम्तिमा ह्वावेका डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्न दिने निर्णय भने निकट भविष्यमै हुने सन्देशका रुपमा लिन सकिन्छ । यसो गर्दा मात्र पनि एकातिर ह्वावे र गुगलको सम्बन्ध पुरानै विन्दुबाट अगाडि बढ्ने छ भने दुबै कम्पनीको व्यापारिक लाभ पनि पूरा हुनेछ । साथै अमेरिकामा रहेका चिनियाँ लगानीका कम्पनीहरु, अनुसन्धान केन्द्रहरु, विभिन्न संघसंस्थासँग रहेका दोहोरो सम्बन्धहरु र चीनमा काम गरिरहेका अमेरिकी कम्पनीहरुलाई पनि व्यापार व्यवसाय गर्न अमेरिकाले बाटो सहज बनाउने देखिन्छ । सुरक्षाको विषयमा अमेरिकी प्रशासन अलिक कडा छ र माथिका प्रसंगमा सुरक्षा थ्रेट कम हुने भएकाले निश्चित मापदण्ड बनाएर सबैभन्दा पहिले यिनै विषयमा अमेरिकी नयाँ चीन नीति अगाडि आउने अपेक्षा गर्न सकिन्छ ।
ट्रम्पको निर्देशनमा अमेरिकी प्रशासनले ह्वावे लगाएत चीनियाँ कम्पनीप्रतिको आफ्नो नयाँ नीति ल्याउन लागेको खबरहरु पनि बाहिर आएका छन् । जस अनुसार अमेरिकाले चीनको ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्ने कम्पनीहरुलाई छुट्टै लाइसेन्स जारी गर्ने बताएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ कमर्सले चिनियाँ टेक कम्पनीसँग आफ्नो व्यापारलाई निरन्तरता दिने कम्पनीहरुलाई विशेष लाइसेन्स दिने भएको हो । अन्तरराष्ट्रिय संचारमाध्यमले जनाए अनुसार गएको जुन महिनामा जी२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले ह्वावेलाई आफ्ना उत्पादनहरु बिक्री गर्न सक्ने सुविधा दिने बताएअनुरुप, अमेरिकाको राष्ट्रिय सुरक्षामा असर नपर्ने किसिमका लाइसेन्सहरु जारी गर्नेबारे कमर्श सेक्रेटरी विल्बर रोजले आफ्नो धारणा राखेका हुन् । उनका अनुसार तर अमेरिकाको राष्ट्रिय सुरक्षामा संवेदनशिल मानिएका उत्पादन तथा सामग्रीहरु विशेष अनुमतिबाहेक बिक्री गर्न भने पाइने छैन । यस्तो कम्पनीहरुमा पहिलो नाम गुगलको हुन सक्नेछ । यति मात्र हैन चिनियाँ लगानी रहेको अमेरिकन कम्पनीहरुलाई पनि यस्तो लाइसेन्स आवश्यक पर्नेछ ।
सिएनबीसीका अनुसार अमेरिकामा चीनियाँ लगानी करिब ४६ विलियन डलरको छ । यद्यपि ह्वावेमाथिको प्रतिबन्ध भने औपचारिक रुपमा अन्त्य भइनसकेको अवस्था छ । अमेरिकाले ह्वावेलाई प्रतिबन्धित सूचीमा समावेश गरेपछि सेमीकण्डटर उद्योगहरुले संवेदनशिल नभएका उत्पादन तथा सेवाहरु बिक्री गर्न अमेरिकी सरकारसँग माग गरेका थिए । प्रतिबन्धले झनै अमेरिकी कम्पनीहरुलाई असर पर्ने भन्दै कम्पनीहरुले चिन्ता व्यक्त गरेका थिए । लाइसेन्सको प्रकृति कस्तो हुने भन्ने स्पष्ट नभए पनि व्यापार सम्बन्ध पुनः स्थापनाको सन्दर्भ नयाँ उचाइमा लैजान दुइए देशका प्रमुख गम्भीर देखिएका छन् । यसबीच ह्वावेले दक्षिण अफ्रिकामा आफ्ना पी सीरिज, मेट सिरिज र वाइ सीरिजका पछिल्ला उत्पादनमा इएमयुवाई ९.१ अपडेड आउने निश्चित गरेको छ । एन्ड्रोइड पीमा आधारित अपेडेट जुलाइ महिनाभर आइसक्ने बताइएको छ । उता अमेरिकन कम्पनी एप्पल भने चीनमा व्यापार विस्तारको नयाँ योजनामा छ । चीन–अमेरिका व्यापारयुद्धका बाबजुद एप्पलले चीनियाँ उपभोक्तालाई लक्षित गरेर नयाँ आइफोन ल्याउने तयारीमा लागेको पाइएको छ । अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि चीनमा एप्पलको भविष्य असुरक्षित भएको हल्ला चलिरहँदा एप्पलले चीनमा व्यापार बढाउन नयाँ रणनीति लिएको रिपोर्ट बाहिर आएको हो । यी प्रसंगले पनि चीन अमेरिका व्यापार युद्ध विस्तारै सहमतितर्फ गएको संकेत गर्दछ ।
हालै चीनमा सार्वजनिक भएको मिडिया रिपोर्ट अनुसार चिनियाँ उपभोक्तालाई लक्षित गरेर एप्पलले ल्याउने नयाँ आइफोन अन्डर डिस्प्ले फिंगरप्रिन्टसमेतका नयाँ फिचर थपिने छ । हालसम्म आइफोनमा फेस आइडी फिचर मात्र छ भने नयाँ आइफोनमा फेस आइडीको सट्टा अन्डर डिस्प्ले फिंगरप्रिन्ट फिचर हुनेछ । अन्डर डिस्प्ले फिचर एन्ड्रोइड मोबाइलहरुले सफलतापूर्वक प्रयोगमा ल्याइसकेका छन् । भीभो, वनप्लस, सामसङ, ह्वावे लगाएतका दर्जनौं कम्पनीले हाल अन्डरडिस्प्ले फिचर भएका स्मार्टफोन बजारमा ल्याइसकेका छन् । एप्पलको नयाँ आइफोन भने चीनियाँ उपभोक्तालाई लक्षित गरेर मात्र ल्याइन लागेको हो । जस्ता खाले युद्धको पनि समाधान भनेको वार्ता नै हो । ठूला अर्थतन्त्रको हिसाबले चीन अमेरिका व्यापार सन्तुलनको विश्व अर्थतन्त्रमा ठूलो भूमिका रहन्छ । र, यी दुई अर्थतन्त्र मिलेर जानुमै विश्व समुदायको हित हुनेछ ।