कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
348

सेयर कारोबार गर्ने उपभोक्तालाई लक्षित गरी खल्ती मोबाइल वालेटले नयाँ फिचर थपेको छ । थपिएको फिचरअनुसार हितग्राही खाता (डिम्याट) र मेरो सेयरको शुल्क भुक्तानी खल्ती एप र वेबसाइटबाट गर्न सक्नेछन् ।
नयाँ फिचरका लागि खल्तीले एप तथा वेबसाईटमा ‘सेयर’ नामको नयाँ आईकन थपेको छ, जसमा क्लीक गरेर बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ । “नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोसेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नुपर्ने बाध्यता छ, खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो,” डिम्याट र मेरो सेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, “हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोसेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ ।”
हाल सेवाग्राहीले डिम्याट तथा मेरोसेयरको नविकरण सुल्क तिर्न तोकिएको समयमा क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । तत्कालका लागि छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्ने मोदिले बताए ।