दिलीपकुमार मुनकर्मी
आइतवार, श्रावण १३, २०७५
1861

बोर्डले निश्चित अवधिभित्र भौतिक सेयर शून्य बनाउने संकल्पसहित विद्यमान भौतिक सेयर बिक्री गर्न सहजीकरण र अन्य वैकल्पिक उपाय अपनाउनुपर्छ ।

नियामक र सरोकारवालाहरूको अथक प्रयासपछि सूचना प्रविधिको उपयोगमार्फत कारोबार, भण्डारण र अभिलेखनलाई सहज र व्यवस्थित गर्दै गएको नेपाली पुँजीबजार स्वचालित विद्युतीय कारोबार (अनलाइन) प्रणालीको व्यग्र प्रतीक्षामा रहेको छ । तीव्र गतिमा सूचना–प्रविधि अपनाउँदै गर्दा नयाँ प्रविधिमा पहुँच र व्यावहारिक रूपमा सहजै प्रयोग गर्न नसक्ने सेयरधनीहरूको एउटा तप्का बजारको बहिष्करणमा पर्न बाध्य भएका वा बनाइएका छन् । विशेष गरी लाभांशका लागि सेयरमा लगानी गरेका सेयरधनीहरूको एउटा समूह अझै पनि आफूसँग भएको सेयरको भौतिक प्रमाणपत्रसँग रमाउन छोडेका छैनन् । हुन त २०७१ देखि सेयरको अभौतिकीकरण सुरु गर्दा नै केही समयपछि भौतिक सेयरको मात्र कारोबार हुने सूचना प्रवाह हुँदाहुँदै र २०७२ देखि पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार भएको अवस्थामा समेत भौतिक सेयर शून्य हुन नसक्नुमा नेपालीको जग्गाधनी लालपुर्जा मोहजस्तै सेयर प्रमाणपत्र ढुकुटीमा सुरक्षित राख्न रुचाउने मानसिकता वा अन्य व्यावहारिक कारणहरू हुन सक्छन् । कारण जेजस्तो भए पनि नेपाली पुँजीबजारलाई पूर्णतः डिजिटाइज्ड गर्ने र भौतिक सेयर हटाउने कार्यमा केही व्यावहारिक समस्या विद्यमान छन् भन्ने तथ्यलाई उजागर गरेको छ ।

अनुमानित तथ्यांक
नेपाल धितोपत्र बोर्डको निर्देशनसँगै २०७२ देखि भौतिक सेयर कारोबार नभएको मात्र होइन; प्राथमिक, हकप्रद र बोनस सेयरहरूसमेत भौतिक रूपमा जारी भएका छैनन्, तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सेयर संख्या (कित्ता) र सीडीएससीमा अभौतिकृत सेयरकित्ता बीच ठूलै अन्तर देखिन्छ । नेप्सको असार मसान्तको तथ्यांकले म्युचुअल फन्डका एकाइबाहेक १ सय ९६ कम्पनीको करिब ३ अर्ब ५९ करोड ८७ लाख ४५ हजार कित्ता सेयर सूचीकृत देखिन्छ । सीडीएससीको वेबसाइटले २०७५ साउन ११ गते म्युचुअल फन्डसमेत ३ अर्ब ७६ करोड ९३ लाख ३४ हजार ५ सय ८२ कित्ता/एकाइ अभौतिक देखाउँछ, जुन दिनहुँ बढिरहेको छ । सीडीएसको तथ्यांकमा म्युचुअल फन्डका करिब १ अर्ब २९ करोड ५५ लाख २० हजार युनिटलाई समायोजना गर्दा हाल १ सय ९३ कम्पनीको २ अर्ब ४७ करोड ३८ लाख १४ हजार हाराहारी कित्ता सेयर मात्र अभौतिक भएबाट अझै पनि करिब १ अर्ब भन्दा बढी कित्ता सेयर भौतिक रूपमा कतै थन्किएर रहेको देखिन्छ । हुन त भौतिक रूपमा रहेको सेयरमध्ये ठूलो हिस्सा सामान्यतः कारोबारमा नआउने संस्थापक सेयरको रहेको अनुमान छ । तैपनि सूचीकृत सेयरको एकतिहाइ हाराहारी अर्थात् ३१.२६ प्रतिशतजस्तो भौतिक रूपमा सेयरधनीहरूको ढुकुटीमा वा कम्पनीको सेयर रजिस्टारहरूको फाइल रहनुले सेयरधनीको भौतिक प्रमाणपत्र मोहसँगै प्रविधिमा आधारित हुन केही व्यावहारिक समस्या रहेको तथ्य अाैल्याएकाे छ ।

भौतिक सेयरका व्यावहारिक समस्या
धितोपत्र बजारमा अभौतिक सेयरको मात्र कारोबार भएको अवस्थामा भौतिक सेयरलाई सम्बन्धित सेयरधनीको डिम्याट खातामा अभौतिक रूपमा परिवर्तन नगर्दासम्म केवल कागजको खोस्टोसरह हो । यसले सेयरधनीलाई कम्पनीको मुनाफामा सरिक हुने र साधारणसभाहरूमा सहभागी हुने अधिकार त दिलाउँछ, तर उक्त सेयरले आफूमा निहित तरलताको मूल विशेषता नै गुमाउन पुग्छ । अत्यावश्यक अवस्थामा समेत सेयर बिक्री गरेर नगदमा परिणत गर्न सकिँदैन ।
भौतिक सेयरको विद्यमानताले सेयरधनी मात्र कम्पनीका सेयर रजिस्टारहरूसमेत समस्यामा पर्नेछन् । उनीहरूले कम्पनीको सेयर लगत कायम गर्न अभौतिक र भौतिक सेयरको छुट्टाछुट्टै दोहोरो लगत कायम गर्ने मात्र होइन, सेयरधनीले आर्जित बोनस, हकप्रद सेयरको समेत संरक्षण र अभिलेख राख्ने थप दायित्व लिन बाध्य भएका छन् । अझ भौतिक सेयर प्रमाणपत्र जारी नभएको अवस्थामा कतिपय सेयरधनीसँग केवल हकप्रदका लागि रकम बुझाएको रसिद हातमा रहेको छ भने बोनस सेयरको अंक गनेर बस्न वा जानकारी राख्न बाध्य छन् । सेयरधनीहरू कम्पनीमा आफ्नो कति कित्ता सेयर बराबरको स्वामित्व छ भन्ने आधिकारिक प्रमाणविहीनको अवस्थामा पुगेका छन् । सेयर रजिस्ट्रारहरू पनि न सेयरधनीलाई आधिकारिक रूपमा सेयर स्वामित्वको प्रमाण हस्तान्तरण गर्न नपाउँदा भौतिक सेयरधारकहरूको छुट्टै अभिलेख तयार गर्न र उनीहरूको सेयर कित्ताको संरक्षण गरिदिन बाध्य छन् ।
यसका अतिरिक्त १ कित्ता भौतिक सेयर हुँदा पनि त्यसले आर्जन गर्ने लाभांश र हकप्रद जारी भएको अवस्थामा सोसमेत थप हुँदै जाँदा भौतिक सेयर शून्य असम्भव हुनेछ ।

संवैधानिक हकको उपेक्षा
कानुनतः निश्चित समयका लागि नागरिकको सम्पत्ति हकभोग र बिक्री हस्तान्तरणमा रोक लगाउन सकिन्छ, तर निरन्तर यस्तो गरिएमा सम्पत्तिको हकमाथिको बन्देज ठहर्न सक्छ । संवैधानिक रूपमा समेत नागरिकले आफूले ग्रहण गरेको सम्पत्ति कानुनी परिधिमा रहेर उपभोग र बेचबिखन गर्न पाउने अधिकार नेपालको संविधान धारा २५(१) ले दिएको छ । उक्त धारामा ‘प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ’ भन्ने मौलिक हकका रूपमा उल्लेख गरेको छ ।
सेयरको सन्दर्भमा पनि बजार व्यवस्थित र रूपान्तरणको सन्दर्भमा भौतिक सेयरलाई अभौतिक गर्न उत्प्रेरित र प्रोत्साहनका लागि अभौतिक सेयर कारोबार गर्न दिनु सान्दर्भिक हुन सक्ला, तर प्रारम्भमा भौतिक रूपमा जारी भएको सेयर प्रमाणपत्रलाई अभौतिक नगरेसम्म कारोबार गर्नै पाइँदैन भन्ने धितोपत्र बोर्डको निर्णय संविधानप्रदत्त सम्पत्तिको हकविरुद्ध हुन सक्छ । अभौतिक गर्ने कार्य नितान्त प्राविधिक पक्ष भएको र यसको जानकार सबै नहुने हुँदा प्रविधिको नाममा प्रविधि नजानेका व्यक्तिको सम्पत्तिलाई बन्धक बनाएको छ । हुन त सेयरको भौतिक सेयर बेचबिखन र सम्पत्ति बन्धक सम्बन्धमा अदालतमा प्रश्न नउठाइएको अवस्थामा कानुनी व्याख्या बहसको विषय हुन सक्ला, तर प्रविधिको नाममा व्यक्तिगत सम्पत्तिको बेचबिखनमा अनुचित बन्देज लगाउनु न्यायसंगत हुन सक्दैन र यस्तो कार्य गैर–कानुनी हुने सम्भावना रहन्छ ।

धितोपत्र बोर्डको भूमिका
भौतिक सेयरमात्र कारोबार भइरहेको नेपालको पुँजीबजारमा भौतिक र अभौतिक हुँदै पूर्ण अभौतिक सेयरको मात्र कारोबार गराउन धितोपत्र बोर्डले सहजीकरण, कानुनी आधार र नीतिगत निर्देशनमा बोर्डको भूमिका सकारात्मक रहँदै आएको छ । सुरुमा भौतिक र अभौतिक हुँदै विक्रेताले भौतिक रूपमा बेचेको सेयर क्रेताले अभौतिक रूपमा प्राप्त गर्ने व्यवस्थाबाट अगाडि बढेर हाल अभौतिक सेयरको मात्र किनबेच हुने व्यवस्था गरिएको छ । यसका बाबुजद सेयरधनीहरूसँग उल्लेख्य कित्तामा भौतिक सेयर रहेको अवस्थालाई मनन गरेर बोर्डले आव ०७४/७५ को नीति तथा कार्यक्रममा ‘साना लगानीकर्ताहरूसँग रहेको निश्चित संख्यासम्मको अभौतिकृत हुन बाँकी धितोपत्रलाई बिक्रीको अवसर दिई त्यस्ता धितोपत्रको तरलता अभिवृद्धि गर्न भौतिक धितोपत्र कारोबार गर्ने छुट्टै प्लेटफर्मको विकास गर्ने कार्य अगाडि बढाउने सम्बन्धमा अध्ययन कार्य भैरहेको’ जनाएको छ, तर समस्या यतिले मात्र समाधान नहुन सक्छ, अब बोर्डले निश्चित अवधिभित्र भौतिक प्रमाणपत्र शून्य बनाउने संकल्पसहित विद्यमान भौतिक सेयर बिक्री गर्न सहजीकरण र अन्य वैकल्पिक उपाय अपनाउनुपर्ने हुन सक्छ ।

एकतिहाइबाट शून्यतातर्फ
शतप्रतिशत भौतिकबाट करिब तीन वर्षमा एकतिहाइमा झरेको भौतिक सेयरलाई शून्यमा झार्न निकै मेहनत गर्नुपर्नेछ । हुन त अभौतिक सेयरको मात्र कारोबार र कम्पनीहरूले भौतिक सेयर जारी गर्न बन्द भएसँगै धितोपत्र बजारबाट भौतिक सेयर हराएको छ, तर वर्षौंको प्रयासका बाबजुद सयौं कम्पनीका करोडौं कित्ता सेयर भौतिक रूपमा सेयरधनीहरू वा सेयर रजिस्टारसँग रहँदा भौतिक सेयर प्रमाणपत्र शून्य बनाउन व्यावहारिक चुनौति देखिएको छ । अहिलेकै नीतिगत व्यवस्थाबाट धितोपत्रबजार भौतिक सेयर शून्य हुने सम्भावना निकै कमजोर देखिन्छ । यस अवस्थामा धितोपत्र बोर्डले निम्न कार्य तत्काल गर्नुपर्छ :
१. बोर्डको नीति तथा कार्यक्रममा उल्लिखित अध्ययनलाई उच्च प्राथमिकता दिई यथाशीघ्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । यसमा कुन कम्पनीको कति कित्ता ? संस्थापक र सर्वसाधारणतर्फको कति कित्ता ? के–कस्ता कारण भौतिक रूपमा रहेका ? र कसरी र कति समयमा भौतिक सेयरलाई शून्य बनाउन सकिन्छ समेतको अध्ययन र निचोड निकालिनु बुद्धिमानी हुनेछ ।
२. भौतिक सेयरको व्यावहारिक समस्या समाधान गर्न अभौतिकीकरणको सुरुवाती चरणमा जस्तै विक्रेताले भौतिक रूपमा बिक्री गर्न पाउने व्यवस्था गर्ने ।
३. सेयर रजिस्टारहरूले संरक्षित गरिराखेको सेयरको प्रमाण भौतिक रूपमै सम्बन्धित सेयरधनी वा हकवालालाई सहज रूपमा हस्तान्तरणको व्यवस्था गर्ने र सोको भौतिक रूपमा बिक्री हुने व्यवस्था गर्ने ।
४. भौतिक रूपमा बिक्री भएको सेयर खरिदकर्ताले अभौतिक रूपमा मात्र प्राप्त गर्ने व्यवस्था गर्ने ।
(लेखक सेयरबजार जानकार हुन् ।)

सातामा धेरै पढिएको