कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
2090

नेपालमा पर्यटन क्षेत्रको सम्भावनाका बारेमा चिच्याइरहेको धेरै दशक बितिसक्यो तर यो सम्भावनाका लागि कसरी सार्थक बनाउने भन्नेबारेमा कार्यान्वयन पक्ष कहीं–कतै सुरु गरेको अवस्था छैन । कम्तीमा वर्षमा करोडौं पर्यटक भिœयाउने मुलुकका बारेमा अध्ययन गरेर पर्यटक बढाउनका लागि सुरुवात कहाँबाट गर्ने भन्ने जान्नु जरुरी छ । गत वर्ष जम्मा जम्मी ९ लाख पर्यटक भित्रिएको हाम्रो देशमा पर्यटन क्षेत्रको मुखले मात्र उग्राएर पर्यटक बढ्नेवाला छैनन् ।
विमानबाट यात्राका लागि नेपालमा उत्रिएपश्चात पहिलो पटक पर्यटकले भेट्ने विमानस्थलका कर्मचारीहरू हुन् । जब भिसाको लाइनमा उभिएर आफ्नो पालो आएपश्चात् अध्यागमन कर्मचारीसँग जम्काभेट हुन्छ तब न त ती पर्यटकले हँसिलो अनुहार पाउँछन् न सभ्य व्यवहार, न त उनीहरूको राम्रो हेराइ । त्यतिबेलादेखि नै उनीहरूमा नेपालसम्बन्धी सकारात्मकभन्दा नकारात्मक पक्षले दिमाग हल्लाउन थाल्छ । त्यसपश्चात लगेज लिनका लागि १ घण्टा लाइनमा कुर्नुपर्दाको अवस्था र लगेज यताबाट त्यता उचालेर पछार्दा लागेको दाग र कोहीको टुटफुट भएको सामान बुझ्ने अवस्था सिर्जना हुँदा पुनः एकपटक पर्यटकको मन अमिलो पार्न बाध्य गराउँछ । त्यसपश्चात् बाहिर निस्किएर भेटघाट हुने खैनी चपाइरहेका प्याट्ट भुँडी आएका, पिच्च–पिच्च थुक्ने जबर्जस्त आफ्नो ट्याक्सी चढाउन खोज्ने ट्याक्सीवालासँग भेट हुँदा पर्यटकको होस नै उड्ने अवस्था हुन्छ । जसोतसो होटलका लागि प्रस्थानका बेला काठमाडौँको धूलो, हिलो, खाल्डाहरू, अव्यवस्थित तरिकाले गुडिरहेका मोटरसाइकल रोडको दायाँबायाँ विद्युत्को पोलमा टाँगिएका तारहरू हेर्दा पुनः एकपटक नेपालको दृश्यले राम्रैसँग झस्काउँछ । जब पर्यटक होटलमा पुग्छन्, त्यसपश्चात सेवा–सुविधाको तुलनामा महँगा होटल, महँगो तर खानाको स्वाद भने बाहिर साधारण भोजनालयभन्दा पनि नमीठो खाना खानुपर्ने अवस्था, पर्यटकले मन पराउने मध्यपान (अल्कोहल) को मूल्य त अब विश्वमा सबैभन्दा महँगो पेय पदार्थको मूल्य तिर्नुपर्ने बाध्यताले नेपाल घुम्ने वास्तविक पर्यटकलाई कस्तो महसुस होला ?

अनि पर्यटक गाइडले पनि पर्यटकसँग कसरी पैसा झार्न सकिन्छ भन्ने मानसिकता लिएर पर्यटकलाई नेपालका पर्यटन गन्तव्यस्थल घुमाउनेहरू पनि प्रशस्तै छन् भन्ने कुरा विभिन्न पत्रपत्रिकाबाट प्रकाशित भइरहेका छन् । यसै त नेपालको हिमालय क्षेत्रमा घुम्नका लागि पर्यटकले ठूलो धनराशि खर्च गर्नुपर्छ । भ्रमण आफैमा कठिन यात्रा हो, त्यसमाथि उनीहरूलाई सुखद दिलाउने भन्दा दुःखी बनाउने व्यवहार हामीले गर्ने गरेका छौं । उनीहरू नेपालको राजधानीको बाटो हुँदै सफासुग्घर र व्यवस्थित तथा आफ्नो जन्मभूमि फर्कंदा कस्तो सोचका साथ जान्छन् होला, कल्पना गरौं त ।
ए, हालको सबै कुरामा बलियो, सबै कुरा जानेबुझेको र कसैसँग पनि नझुक्ने सरकार ! कम्तीमा देशको राजधानी यो काठमाडौँको बाटो छिटोभन्दा छिटो पिच गरौं हो । अनि तिम्रा एकाघरका मन्त्रालयसँग समन्वय गरेर कम्तीमा बाटो पिच गर्नुभन्दा अगाडि बिछ्याउनुपर्ने खानेपानी पाइप, ढललगायत जे–जे बाटोमुनि पुर्नुपर्छ, त्यसको व्यवस्थापन गरेर बाटोमा रहेका अव्यवस्थित रूपमा झुन्डिएका तारको मात्र भने पनि व्यवस्थापन गरिदिए काठमाडौँ माईले आशिष दिनेछिन् र काठमाडौँमा तिम्रा एकाघरको सरकारको योगदान देखिनेछ ।
विगतमा एक जना प्रधानमन्त्रीज्यू जसले बाटो चौडा गर्ने काम गरिदिनुभएको छ र त्यसको जस पनि सबै तिमीहरूलाई नै जानेछ । हाल ठूला–ठूला योजनाको गफ दिएर जनतालाई पंगू बनाउने काम नगरौं न । यो सरकारले काठमाडौंको बाटो कम्तीमा १०–१५ वर्ष नबिग्रने गरी पिच गर्ने र बाटाको दायाँबायाँ रहेका तारको मात्र व्यवस्थापन गरिदिए पनि हामी धूलो–हिलोले दैनिक सडकमा निस्कन अप्ठेरो हुने जनतालाई ठूलो राहत मिल्ने थियो र पहिलो पटक काठमाडौँ घुम्ने विदेशी पर्यटकले पनि नेपालको राजधानी काठमाडौँका बारेमा सकारात्मक सन्देश दिने थिए । रेल कुदाउन र पानीजहाज दौडाउन भन्दा देशको राजधानी व्यवस्थित गर्नतर्फ ध्यान दिनुहोस् न ।
शिवप्रसाद पोखरेल