कारोबार संवाददाता
बिहिवार, श्रावण १०, २०७५
1958

यस किसिमको परिवर्तित व्यवसाय फस्टाउनु भनेको समग्रमा हुम्लाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षमा रूपान्तरणको संकेत हो ।

रोजगारलाई विकास मापनको प्रमुख मेरुदण्ड तथा सूचकका रूपमा लिइन्छ । कुनै पनि राष्ट्रको कुल राष्ट्रिय आम्दानी तथा कुल गार्हस्थ्य उत्पादनमा त्यो राष्ट्रको रोजगारको अवस्थाले महत्वपूर्ण भूमिका निर्धारण गरेको हुन्छ । रोजगार केवल आर्थिक विकासको मात्र महत्वपूर्ण सूचक होइन, सामाजिक विकासको पनि मुख्य सूचक हो । समाजमा रोजगार व्यक्तिको रहनसहन, लवाइखवाइ, उठबसदेखि लिएर उसको शिक्षा, स्वास्थ्य, सरसंगतका साथै अन्य सामाजिक तथा सांस्कृतिक पाटोसँग जोडिएका अवयवहरू बेरोजगार व्यक्तिभन्दा निकै फरक र भिन्न भएको पर्याप्त उदाहरणहरू हाम्रो समाजमा देख्न सकिन्छ । आजको विश्वको प्रमुख समस्यामध्ये बेरोजगारी पनि एक हो । हाम्रो जस्तो विकासोन्मुख राष्ट्र नेपालका लागि त यो झन विकराल छ । हरेक समजमा रहेका आर्थिक रूपले सक्रिय जनसंख्या तीव्रतर गतिले दिनानुदिन बेरोजगारीको चपेटामा रुमल्लिरहेको छ । यसैका कारण समाजमा हिंसा, असहिष्णुता, सद्भावहीनता, वैमनस्यता, झैझगडा, चोरी डकैती, लुटपाट, कुलत व्यवहारजस्ता अनेकन् असामजिक, अमर्यादित तथा सामाजिक बेमेलजन्य क्रियाकलापहरूमा संलग्न भई समाजलाई पश्चगमनतर्फ धकल्ने कार्य भैरहेको ज्वलन्त प्रमाणहरू छन् ।
हुम्ला जिल्लाको विकासलाई उच्चतम उचाइमा पुराई समग्र जनताको जनजीविकाको सवाललाई सम्बोधन गर्ने रोजगारको स्थिति तथा परिस्थिति, रोजगारको प्रभाव, रोजगार वृद्धिका लागि गरिएका प्रयास तथा प्रतिफलका बारेमा समीक्षा गर्ने जमर्को यस आलेखमा गरिएको छ ।
मानव तथा समाज विकासको लामो कालखण्डसँगै आफ्नो जनजीविका तथा जीविकोपार्जनका लागि समाजमा विविध किसिमका पेसा, व्यवसायहरू सञ्चालन हुदै आएको तथ्य हाम्रो सामु छ । आफ्नो पुख्र्यौली पेसा–व्यवसायलाई निरन्तरता दिई जोगार गर्ने सवालमा होस् या दैनिक रोजीरोटी र गुजारा गर्नका खातिर होस्, समाजमा थुप्रै प्रकारका पेसा–व्यवसायको निरन्तरता र नयाँ–नयाँ अन्य रोजागारीका स्वरूप र प्रारूपहरू समय, परिस्थिति, स्थानसँगै परिवर्तित एवं परिष्कृत भइरहेका छन । विगत लामो समय कालखण्डदेखि हालसम्म अधिकांश समुदायको प्रमुख पेसा कृषि नै हो र छ पनि । कृषिमा आधारित रहेर यहाँका समुदायहरूले आफूसुहाउँदो रोजगारी तथा पेसा–व्यवसाय सिर्जना गरी आबद्द भएका थिए, जस्तै : साहू–महाजनले हाली, बाउसे, कोदाल्न्या, गोड्न्यौरी, ल्वार, लगी, घाल्याजस्ता पद र पेसामा विभक्त गरी कथित तल्लो जात भन्नेहरूलाई न्यूनतम ज्याला तर अधिक श्रम लिने गरी रोजगारीमा संलग्न गराउने प्रचलन अझै विलीन हुन सकेको छैन । यसै सन्दर्भमा आफ्नो जीविकोपार्जनका खातिर हुम्ली समाजमा विविध किसिमका रोजगारीका आयाम तथा स्वरूपहरू स्थापित र विस्थापित हुने क्रम बढिरहेको छ ।
परम्परामा आधारित रोजगारी
माथि उल्लेखित साहू–महाजन, तथाकथित उपल्लो जात, ठालु मुखियाहरूले आफ्नो जीविकोपार्जनका लागि न्यूनतम ज्याला (अन्नपात, खान मात्र खुवाउने गरी) र अधिक श्रम शोषण गर्ने गरी तथाकथित तल्लोे जातका साथै गरिब, निमुखा र समाजमा पछाडि पारिएका वर्गलाई उपयोग गर्न निम्न किसिमका परम्परागत कृषिमा आधारित रोजगारीहरू सिर्जना गरिएका थिए । जस्तै— न्यूनतम ज्याला (अन्नपात, खान मात्र खुवाउने गरी) र अधिक श्रम शोषण गर्ने गरी उपयोग गर्ने पद हली, बिहान–बेलुका खानपिन र दिउँसो अर्नी (नास्ता) दिएर श्रमको उपयोग गर्न लिएका खेताला, बाउस्या र कोदाल्न्या, गोड्न्यौरी, भग्री वा ग्वालो, ल्वार, घाल्या आदि । यसबाहेक पनि डाँग्री, लामा, पुरेत्याइँ र जजमानी, वैद्य र आम्चीजस्ता धर्ममा आधारित पेसाहरू हुम्ली समाजमा महत्वपूर्ण भए तापनि संख्याको दृष्टिकोणले नगण्य नै छ र बिस्तारै लोप हुँदै गइरहेको छ ।
यसका अतिरिक्त यहाँका जनताले भरिया, कुल्ली, बान्नु र गारो लगाउने, काठ र ढुंगाको मिस्त्रीका साथै सामान्य नोकरीमा आबद्ध भई आफ्नो जीविकोपार्जन गरिरहेका थिए, तर हाल समयको परिवर्तनसँगै यी पेसा, व्यवसाय वा रोजगारीहरू बिस्तारै लोप हुदै नयाँ–नयाँ व्यवसाय र रोजगारीका अवसरहरू सिर्जना भैरहेका छन् । आधुनिक शासन प्रणाली, सरकारी नीतिसँगै समाजमा विकसित भएको आधुनिक कृषि प्रणाली र उत्पादकत्वमा देखिएको सुधारात्मक प्रगति, विज्ञान तथा प्रविधिको नवीनतम सोचपूर्ण विकास तथा विस्तार, शिक्षा, स्वास्थ्य र सूचनामा उल्लेखनीय प्रगति एवं विस्तार आदि कारणले मानवको कल्पनीय र सोचनीय मानसिकतामा व्यापक परिवर्तनसँगै जीविकोपार्जनका अनेकौं वैकल्पिक उपायहरूको सिर्जनासँगै माथि उल्लिखित परम्परागत कृषि, वंशगत एवं समुदायगत पेसा तथा व्यवसायहरू क्रमशः समयसापेक्ष एवं परिस्थितिसँगै परिवर्तन तथा परिमार्जित भई नयाँ–नयाँ बढी नाफामूलक र आम्दानीमूलक रोजगारीजन्य पेसा व्यवसायहरू हुम्ली जनताले अँगाल्दै आएका छन् ।
विगत समयमा जिल्लाभित्रै पर्याप्त मात्रामा कृषि उत्पादनमा कमीका कारण अत्यन्त चरम भोकमरीको कुचक्रले जरा गाडेको थियो भने अर्कातिर विकासको गति अत्यन्त न्यून र धीमा भएकै कारण अल्पकालीन तथा दीर्घकालीन रूपमा जीवनयापन गर्नका लागि पर्याप्त मात्रामा स्वदेश तथा जिल्लामा रोजगारीका अवसरहरू प्रचुर रूपले सिर्जना भएका थिएनन् । यस्तो अवस्थामा अधिकांश जनता आफ्नो गाउँठाउँ, रहनसहन, चालचलन, बासबस्ती, थातथलोलाई बिर्संदै भारतका धार्चुला, अल्मोडा, कमाउ, गढवाल, देहरादून, सिमलाका साथै नेपालका दार्चुला, मार्तडी, साँफेबगर, राजापुर, चैनपुरजस्ता ठाउँरूमा कुल्ली, भरिया, भग्री, पाथी ग्वालो, चौकीदारजस्ता काममा संलग्न भई सस्तोमा श्रम बेचेर आफू र आफ्ना सन्ततिको जीविकोपार्जनका लागि जोहो गर्ने गर्थे ।

विभिन्न तथ्य–तथ्यांकहरूको चिरफार गर्दा यस जिल्लामा आर्थिक रूपले सक्रिय जनसंख्याको भार अधिक हु“दाहु“दै पनि ठूलो संख्यामा बेरोजगार जमात रहेको छ ।

जीविकोपार्जनका साथै आवश्यक पर्ने विभिन्न भाँडाकुँडा, लुगाफाटोदेखि रासनपानीको जोहो गरी गाउँ फर्कन्थे । त्यसैगरी परम्परागत रूपमा बानु चिन्ने र काठको काम गर्ने पेसाको सट्टा आधुनिक रूपमा गारो लगाउने सिकर्मी, डकर्मीजस्ता काममा संलग्न भई आयआर्जन गरिरहेका छन्, यसैगरी नेपाल तथा भारतका विभिन्न ठाउँमा गई कुल्ली, ज्याला–मजदुरी गर्ने जनता ती ठाउँमा गई जडीबुटीका साथै काठको कचौरा आदि मूल्यवान वस्तुहरूको व्यापार–व्यवसायमा संलग्न भएका छन् भने जिल्लाभित्रै विभिन्न पशुजन्य, कृषिजन्य, बालीनालीजन्य उद्योग, निर्माण, ठेकेदार, व्यापारी, विभिन्न विषयसँग सम्बन्धित परामर्शदाता, पर्यटन, होटल, पसल, यातयात सञ्चालन र ढुवानीजस्ता व्यवसाय अँगाली मनग्य आर्जन गरिरहेका छन् । यस किसिमको परिवर्तित व्यवसाय फस्टाउनु भनेको समग्रमा हुम्लाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षमा रूपान्तरणको संकेत हो ।
यसरी हेर्दा विभिन्न तथ्य–तथ्यांकहरूको चिरफार गर्दा यस जिल्लामा आर्थिक रूपले सक्रिय जनसंख्याको भार अधिक हुँदाहुदै पनि ठूलो संख्यामा बेरोजगार जमात रहेको छ भने रोजगार भए पनि अर्धरोजगार, पर्याप्त आम्दानी गर्ने पेसा–व्यवसायमा कम, जीविकोपार्जन तथा निर्वाहमुखी रोजगारीमा बढी र समय–परिस्थितिजन्य अनुरूपका रोजगारी तथा व्यवसायमा संलग्न संख्या कम र कृषिजन्य पेसा–व्यवसाय र रोजगारीमा आबद्ध संख्या बढी देखिएको छ भने उद्योग, यान्त्रिक तथा प्रविधिमूलक, शिक्षामूलक, राज्य सञ्चालन संयन्त्रमूलक नोकरी, आवासीय होटल एवं पर्यटनमूलक पेसा–व्यवसायमा आबद्ध हुने संख्याले सोचेअनुरूप अझै फट्को मार्न सकेको छैन ।
(लेखक सामुदायिक विकास कार्यक्रम हुुम्लाका जिल्ला संयोजक हुन् ।)