कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५
5057

संगठनका लागि मानव संसाधनलाई एक महत्वपूर्ण साधन हो । मानव साधनबिनाको संगठनको परिकल्पना समेत गर्न सकिँदैन । त्यसै कारण मानव संसाधनको सही तवरबाट व्यवस्थापन गर्न सकेको खण्डमा मात्र संगठनले लिएको लक्ष्य प्राप्त गर्न सक्छ । हाल विकासोन्मुख अर्थतन्त्रहरूमा मानव संसाधन एक जल्दोबल्दो विषय बनेको छ । पछिल्लो समयसम्म आइपुग्दा नेपालमा पनि मानव संसाधनलाई केही महत्व दिन थालिएको छ । नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रमा मानव संसाधन सम्भावना र चुनौतीहरूले भरिएको छ ।
नेपालमा रहेको जनशक्तिमध्ये ठूलो संख्यामा अदक्ष जनशक्ति, केही हिस्सामा अर्धदक्ष जनशक्ति र न्यून मात्रामा दक्ष जनशक्ति रहेको छ, जसमध्ये पनि ठूलो जनसंख्यामा रहेको जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको छ । एक अध्ययनका अनुसार नेपालबाट प्रत्येक दिन करिब ३ हजार बिदेसिने गरेको तथ्य प्रकाशित भएको छ । हालै देश संघीय संरचनामा गएको र देशमा प्रशस्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना हुने कुराको आकलन गरिए पनि सोचेअनुरूपको अवस्था सिर्जना हुन सकेको छैन । यसरी मानव संसाधनलाई उपयुक्त कार्यस्थल निधारण गर्ने तथा एउटै संगठनमा कार्य गर्नका लागि संस्थाप्रति वफादार बनाउने वातावरण सिर्जना गर्नु आवश्यक छ ।

नेपालमा रहेको जनशक्तिमध्ये दक्ष जनशक्ति रहेको एक क्षेत्र हो— बैंकिङ । बैंकिङ क्षेत्रमा हाल करिब १ लाखको हाराहारीमा जनशक्ति कार्यरत छन्, जसले बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यस्तो जनशक्तिले बैंकिङ क्षेत्रको विकासमा मात्र नभएर थप रोजगारी सिर्जना गर्नमा प्रत्यक्ष तथा परोक्ष रूपमा ठूलो भूमिका निर्वाह गरिरहेको छ । यसका साथै बैंकिङ क्षेत्रको विकासले सम्रग आर्थिक विकासका सूचकहरूमा पनि सकारात्मक प्रभाव पार्छ । फलतः यसले मानिसको जीवनयापनमा पनि सकारात्मक असर गर्छ, जुन मानव संसाधनको सही व्यवस्थापनबाट सम्भव छ ।
साधारणतया बैंकिङ करियरलाई आकर्षक पेसाका रूपमा लिने गरिएको भए पनि यसका थुपै्र सम्भावना र चुनौतीहरू छन् । हाल हाम्रो देशमा देखिएको बैंकिङ क्षेत्रको तीव्र विकास र विस्तारले मानव संसाधनको सम्भावनालाई थप विस्तारित गरेको छ । ठूलो संख्यामा स्थापना भएका बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालहरूमा थुपै मानव संसाधनको आवश्यकता सिर्जना भएको छ, जसले गर्दा थप रोजगारी सिर्जना भएको छ भने यसले निश्चित रूपमा बेरोजगारीको संख्यामा कमी ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । हाल नेपाल राष्ट्र बैंकबाट सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई प्रत्येक स्थानीय तहमा आफ्ना शाखा सञ्जाल विस्तार गर्न निर्देशित गरिसकेको अवस्था छ । यसअनुरूप केही स्थानीय तहलाई छाडेर सबै ठाउँमा बैंकिङ सञ्जाल विस्तार भएका छन् भने अन्य स्थानमा पनि आगामी असोज मसान्तसम्ममा बैंकिङ सञ्जाल विस्तार हुने कुरा जनाएका छन् । यसले गर्दा बैंकिङ सेवामा थप विकास र विस्तार हुने कुरामा दुईमत नहोला ।
अर्कातर्फ यस्तो जनशक्तिका थुपै चुनौती पनि छन् । मानव संसाधनसम्बन्धी जोखिममा वृद्धि भएको छ । एक संस्थामा कार्यरत कर्मचारी अर्को संस्थामा स्थानान्तरण हुने प्रवृत्ति हाबी भइरहेको अहिलेको परिस्थितिले बैंकिङ क्षेत्रमा थप जोखिमको सम्भावना बढेको छ । हाल बजारमा एक संस्थामा काम गर्ने कर्मचारी अर्को संस्थामा करियर विकासका लागि स्थानान्तरण हुने क्रम तीव्र भएको अवस्थाले बैंकिङ क्षेत्रको गोपनीयतामा पनि प्रभाव परेको छ, जसले गर्दा ग्राहकका विवरण लिकेज हुने सम्भावना बढेर गएको छ । सानो बजार र कम ग्राहक संख्या भएको हाम्रो जस्तो परिवेशमा यसले निकै ठूलो प्रभाव पर्न सक्ने देखिन्छ । यसलाई व्यवस्थापन गर्नु अहिले चुनौती बनेको छ । यस्ता समस्या समाधान गर्न सम्बन्धित संस्थाहरूले बेलैमा मानव साधनको सही व्यवस्थापन गर्नु जरुरी छ ।
यसरी नेपालको बैंकिङ क्षेत्रमा मानव संसाधन सम्भावना र चुनौती रूपमा रहेको छ । यसलाई सही रूपमा व्यवस्थापन गर्न सकेको खण्डमा मात्र संस्थागत लक्ष्य हासिल गर्न सकिन्छ । त्यसैले मानव संसाधन एक सम्भावना र चुनौतीको परिवाहक हो भन्दा अत्युक्ति नहोला ।
कृष्णप्रसाद घिमिरे