प्रा.डा. विकाशराज सत्याल
बुधवार, श्रावण ९, २०७५
3622

प्रारम्भिक तहको शिक्षालाई कसरी नैतिकतामा आधारित समाज उपयोगी बनाउने भन्नेमा बढी ध्यान दिनु र त्यसमा लगानी गर्नु आवश्यक देखिन्छ

नेपाल विश्वका गरिबमध्येका गरिबतम राष्ट्र हो, आर्थिक र भौतिक पूर्वाधारको स्थिति हेर्दा । हामी गरिब हुनुको पछाडि हामीसँग पुँजी नभएर मात्र होइन, नीतिनिर्माता एवम् नेतृत्व गर्ने वर्ग, कथित प्रबुद्ध वर्गलगायत हामी सबै आमजनताको सोच नै गरिब भएर हो ।
अर्थशास्त्रमा पुँजीलाई केवल कागजी नोट, स्वर्ण भण्डार आदि मात्र ठानिन्न, देशको श्रमशक्ति, प्राकृतिक संसाधन आदि पनि पुँजी हुन्, जुन यो देशमा पर्याप्त राम्रो स्थितिमा छन् । हाम्रा देशका युवाले जापान, कोरिया, बेलायत, अमेरिका, खाडी, मलेसियामा समृद्धि ल्याउन रगत पसिना बगाएका छन् । यहाँका उता गएर राम्रो अनुसन्धान गरेर सम्मान पाएका छन् । फेसन डिजाइनर, आईटी प्राविधिक, पाइलट, पत्रकार, कृषक, ब्यांकर भएर सफलताका उदाहरण बनेका पनि छन् । तर, नेपालमा हुँदा अधिकांशको ध्यान फट्याइँ गरेर रातारात करोडपति बन्ने, चाकरी गरेर सुविधाको पदमा पुग्ने, जे गरेर होस्, विदेश उड्नेमा नै केन्द्रित भएको देखिन्छ । त्यही मान्छे यहाँ र त्यहाँ किन यस्तो फरक प्रवृत्ति देखाउँछन्, यो समाजशास्त्रीहरूले विश्लेषण गर्ने विषय हो । अमेरिकामा गएपछि रेस्टुराँमा अरूको भाँडा माझ्ने छोरा यहाँ आफूले खाएको चियाको कप वास बेसिनमा पुराउँदैन । ५० डिग्रीको तातो मरुभूमिमा पसिना काढेर ५० हजारको काम गर्नेले यहाँ चौतारामा क्यारेम खेलेरै दिन बिताउँछ । हामीमा देखिने यो द्वेध चरित्र हुर्काइको दोष पनि हो ।

जिरा–धनियाँ पसलेदेखि करोडौंको व्यापार गर्ने उद्योगपतिसम्मले कसरी फट्याइँ गरेर चाँडो पैसा कमाउने भन्नेमा बढी ध्यान लगाउने गरेका छन् । मम पसल केही चल्न थालेपछि पसले त्यसमा बोसो, छाला, न्युट्रिना सक्दो मिसाउन थाल्छ । अग्र्यानिक नेपाली चिया युरोपमा बढी जान थालेपछि मल हालेको र तातो हावाको सस्तो भारतीय चिया त्यसमा मिसाएर पठाउन थालेको हुनाले लामै समय युरोपमा नेपाली ब्रान्डको चियाको निर्यात बन्द भयो । सुनका गहनामा जर्ती बढी मिसाएको भेटेर सरकारले पसल सिल गर्न सुरु गर्दा सम्पूर्ण सुन पसल विरोधमा बन्द गरियो । दूध र जारको पानीमा कोलिफर्म जीवाणु भेटिँदा र यसैबाट झाडापखालाका बिरामी ह्वात्तै बढेको अस्पतालहरूमा देखिँदा समेत कुनै उद्योगपतिले सार्वजनिक रूपमा क्षमा मागेनन्, बरु प्रतिवाद गरिरहे ।
फर्पिङमा स्थापित एसियाको दोस्रो जलविद्युत् योजना बाट १ सय वर्षपहिले बिजुली निकालेर काठमाडौँ उज्यालो हुँदा अधिकांश दक्षिण र पूर्वी एसिया खनिज तेलको टुकी बालेर बसेका थियो । हालको नेपाल वायुसेवा २०१९ सालमा स्थापित भएर उडान गर्न सुरु गरेको दुई वर्षपछि मात्र अहिलेको थाई वायुसेवा सुरु भएको थियो । थाईले सन् २०१६ मा आफ्ना करिब ८२ हवाईजहाजलाई उडाउँदै १४ लाख डलरको कुल–आम्दानी गरेको छ र करिब २२ हजार कर्मचारीलाई रोजगारी दिएको छ । नेपाल वायुसेवा, झन्डै १८ करोड रुपैयाँ अर्थात् करिब १८ लाख डलरको सञ्चित घाटामा भएको २०१४÷१५ को राजस्व प्रतिवेदनमा उल्लिखित छ र यसमा करिब १४ सय कर्मचारी कार्यरत छन् । यस्ता कैयौं उद्योगधन्दा छन्, हामीले छिमेकी देशमा भन्दा पहिले या झन्डै सँगसँगै सुरु गरेको तर अहिले दयनीय हालतमा रहेका या बन्द नै भइसकेको छ । वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, टेलिकम, ट्रली बसजस्ता नेताहरूले इतिहास पोलेर खाएका यस्ता थुप्रै इतिहास हामीसँग छ ।
दैनिक २० रुपैयाँभन्दा कम कमाउनेहरूको जनसंख्या २५ प्रतिशतभन्दा बढी भएको नेपाल, आर्थिक हिसाबले दक्षिणपूर्वका राष्ट्रहरूमा सबैभन्दा गरिब र विश्वका झन्डै २ सय देशमध्ये तेइसौं स्थानको गरिब राष्ट्र भनेर विश्व बैंकले भन्छ । हामीभन्दा तल परेका अधिकांश गरिब राष्ट्र लामो समय युद्धको चपेटामा परेका अफगानिस्थानजस्ता या अशिक्षा, कुशासन आदिका कुचक्रमा परेका अफ्रिकाका साना राष्ट्रहरू मात्र छन् । तर, विशाल प्राकृतिक स्रोत, जैविक विविधता, गौरवशाली इतिहास बोकेका हामी, राजनीतिक र सामाजिक खुलापन, आधुनिकता र परिवर्तनको युगमा प्रवेश गरेको भए पनि विश्वका अन्य विकसित राष्ट्रभन्दा पछौटे हुँदै गएका छांै । शिक्षा, स्वास्थ्य, प्रविधिमा विगतभन्दा केही प्रगति देखिए पनि तुलनात्मक रूपमा अन्य विकसित राष्ट्रभन्दा ज्यादै तल पर्दै गएका छौं ।
देशको यो दुर्गति गराउनेमा प्रमुख जिम्मेदार, इतिहासबाट पाठ नसिक्ने र राष्ट्रभन्दा व्यक्तिगत स्वार्थमा डुब्ने नेतृत्व वर्ग हुन्, जो न अध्ययनशील छन् न इमानदार । कर्मचारीलाई भ्रष्टाचार नगर्नु भन्ने नेता आफू नै भ्रष्ट छन् । राष्ट्रिय हितका योजनामा विदेशीले आर्थिक सहयोग गर्छु भनेर आउँदा समेत आफ्नो भाग सानो भए योजना नै तुहाएका थुपै उदाहरण छन् । यस्ता चरित्रका राजनैतिक दलका नेताले अनर्गल अराउँदा, हप्काउँदा, निश्चय नै टुप्पी कसेर लोकसेवा पास गरेका कर्मचारी विरक्तिन्छन्, बरु भ्रष्टाचारमा उनको साथ दिनुमा नै कल्याण ठान्छन् ।
शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रमा देशले निकै प्रगति गरेको तथ्यांकले देखाइरहँदा, पारिवारको बजेटमा यसबाट परिरहेको अत्यधिक चापबारे हामीले बिर्सनु हुन्न । अत्यधिक नाफा कमाउने उद्देश्यबाट सञ्चालित निजी संस्थाहरूले गुणात्मकभन्दा संख्यात्मक स्तर मात्र बढाएका छन् र त्यसका लागि पारिवारिक आयको ठूलो हिस्सा कुम्ल्याएका छन् । अचेल काठमाडौँका मध्यम खाले निजी स्कुलले मासिक शुल्क ८ देखि १५ हजार लिंदैछन् भने निजी कलेजले १५ देखि २० हजार लिंदैछन् । चारवर्षे स्नातक डाक्टरी पढ्न ६० देखि ७० लाख खर्च हुन्छ । बालबच्चालाई अहिले नेपालमा पढाउन जति महँगो छ त्यस्तै बिरामी परिहालेमा उपचार गर्न महँगो छ । त्यसैले शिक्षा स्वास्थ्यजस्ता अत्यावश्यक क्षेत्रको पूर्ण दायित्व सरकारले लिनुपर्ने देखिन्छ ।
आर्थिक गरिबीको यस्तो दुरवस्था एकातिर देखिँदा अर्कातिर यो देश प्राकृतिक सम्पदाले भरिपूर्ण धनी राष्ट्र देखिन्छ । देशको उत्तरी सिमानाका हिमालयदेखि दक्षिणका सम्म फाँटहरूमा प्राकृतिक र एतिहासिक सम्पदा भरिपूर्ण छन् । केवल २ सय किमिको उत्तर दक्षिणको छोटो दूरीमा ८ हजार किमि उचाइको हिमाली चिसो अल्पाइन आवहबादेखि तराईको ५ सय मिटरको ऊष्ण, सभाना, आवहबा गरी पाँच–छ प्रकारका मौसम भेटिने देश संसारमा विरलै छन् । यस वातावरणीय विविधताले नेपाललाई हजारांै मौलिक र विलक्षण वनस्पति, कीट–पतंग र कृषि उपजको देश बनाएको छ । ऐतिहासिक लेख पढ्दा नेपालमा फलाम, तामा, खनिज–पत्थरको खानी प्रयोगमा रहेको उल्लेख पाइन्छ भने पछिका दिनमा सुन, पेट्रोलियम र युरेनियमजस्ता खनिज पनि देशमा भेटिएको हो, तर पछि त्यसको खोजी एक्कासि छोडियो । जलविद्युत्मा ब्राजिलपछिको दोस्रो भनिएको हाम्रो देशका नदीहरूमा ८३ हजार मेवाको क्षमता भएको ठानिन्छ । संसारका दुई विशाल जनसंख्या, भूगोल र प्रविधिका राष्ट्रहरूको बीचमा सेतु बनेको यो देशको भविष्य— व्यापार र पारवहनका ठूला सम्भावनाहरू बोकेको— उज्ज्वल देखिन्छ ।
देशको अहिलेको एक ठूलो समस्या स्थानीय उपज उत्पादनमा आधारित उद्योग नहुनु हो । नेपाली पोसाक भनेर म कोट सिउन गएको थिएँ, उसको उद्योगको ९० प्रतिशत काम र दाम विदेशी पोस्ने मात्र रहेछ भन्ने भेटियो । कपडा, कैंची, कल, धागो, मजदुर सबै भारतको । यही हाल प्रायः सबै स्वदेशी उद्योगको छ । सिमेन्ट, फलाम, साबुन, बिस्कुट, कुखुरा सबै नेपालमा उत्पादित भनिने उद्योगमा ९५ प्रतिशतसम्म बिदेसिने पुँजी नै देखिन्छ, किनकि ती ठूलालाई टेवा पुराउने साना उत्पादन सबै विदेशी छन् । देशको राजस्वको प्रमुख हिस्सा आयातित सामानको भन्सारबाटै उठ्छ । बाँकी सरकार चलाउने ठूलो आर्थिक स्रोत विदेशीले पैसा देला र रजाइँ गरुँला भन्नेमा आश्रित छ । हाम्रो दिगो विकास र समृद्धि हाम्रै आन्तरिक स्रोत र क्षमता वृद्धिबाट मात्र सम्भव छ भन्ने सरकारका नीति, योजना, सपनामा देखिन्न । बच्चा पढाउँदा, हुर्काउँदा देखिने अभिभावकको ध्यान कि त उसलाई विदेश पठाउनेमा हुन्छ, कि त प्रशस्त पैसा कमाउनेमा । बच्चालाई सामथ्र्यवान् बनाउने जोड सायदै अभिभावहरूको हुन्छ । मैले अनुभव गरेको छु, उच्च शिक्षामा पढ्न भर्ना भएकाहरू अधिकांशको पढ्न/सिक्नमा ध्यान नै हुँदैन, जसरी भए पनि पास गर्नेमा मात्र हुन्छ, अनि ऊ टोफेल या कोरिया भाषाको परीक्षाको तैयारीमा लागेको हुन्छ । यही परिवेशमा हुर्केका नेता, शिक्षाविद्, प्रशासक, न्यायाधीश, डाक्टर— कसरी फरक सोचका बन्न सक्लान ? फरक राम्रो हुने आस यस्ताबाट गर्नु हुँदैन होला, जबसम्म पारिवारिक सोचाइमै परिवर्तन ल्याउन सकिन्न ।
मूलतः शिक्षा, र त्यो पनि प्रारम्भिक तहदेखि नै, मा आमूल परिवर्तन गर्नु जरुरी छ । सोचाइ परिवर्तनको जरो त्यही हो, माथि छैन । त्यसैले हामीले प्रारम्भिक तहको शिक्षालाई कसरी नैतिकतामा आधारित समाज उपयोगी बनाउने भन्नेमा बढी ध्यान दिनु र त्यसमा लगानी गर्नु आवश्यक देखिन्छ । भौतिक पूर्वाधारमा मात्र लगानी बढाएर हुने होइन, हाम्रो प्रारम्भिक शिक्षाको गुणस्तर नै बढाउनु अत्यन्त जरुरी छ ।