प्रा. डा. हरि शर्मा
बिहिवार, श्रावण ३, २०७५
1735

झन्डै १ सय ६० मुलुकसँग हाम्रो कूटनीतिक सम्बन्ध रहे पनि जम्मा २९ वटा मुलुकमा नेपाली राजदूतावास छन् ।

 

पर्यटनका लागि यो महिना निकै महत्वपूर्ण रहेको आम पर्यवेक्षकको साझा धारणा छ । नेसनल जोग्राफिकले विश्वका १ सयवटा अत्यधिक सुन्दर पर्यटकीय गन्तव्यहरूको सूची प्रकाशित गरेको छ र त्यसमा नेपालको अन्नपूर्ण क्षेत्रलाई सन् २०१८ मा भ्रमण गरिनुपर्ने स्थानहरूमध्ये अठारौँ स्थानमा राखेको छ । लोन्ली प्लानेटले सन् २०१८ का लागि गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई एसिया महादेशको सातौँ सर्वाेत्तम गन्तव्यका रूपमा सूचीकृत गरेको छ । असारको पहिलो हप्तासम्म भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने कुल पर्यटकको संख्या झन्डै ९ लाख पुगेको स्रोतले जनाएको छ । नेपाल वायुसेवा निगमको हिरक जयन्ती महोत्सवको महत्वलाई थप ऐतिहासिक बनाउँदै निगमको पहिलो एअरबस ए ३३०–२०० को स्वागत पनि विविध कार्यक्रमहरूसहित अत्यन्तै भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ । यो एयरबस, जापान, दक्षिण कोरिया र साउदी अरेबियाको उडानको तयारीमा छ भने यसै महिनाभित्र आउने निगमको दोस्रो वाइडबडी कुन–कुन अन्तर्राष्ट्रिय गन्तव्यमा उडाउनेबारे गृहकार्य भइरहेको अवस्था छ । यसबाहेक निगमले आगामी आवभित्र दुईवटा न्यारोबडीसहित पहाडी क्षेत्रको सेवाका लागि थप १० वटा नयाँ विमान खरिदको योजना अगाडि बढाइरहेको छ । आगामी दुई वर्षभित्र निगमका पुराना सम्पूर्ण जहाजहरू बेचेर निगम नेपाली उड्डयन क्षेत्रको नयाँ युगमा प्रवेश गर्ने तयारीमा रहेको बुझिन्छ । बंगालको खाडीका राष्ट्रहरू (नेपाल, बंगालादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड) को बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि गठित साझा संस्था बिमस्टेकको चौधौँ शिखर सम्मेलन आगामी भदौमा राजधानीमा हुने तय भै त्यहीअनुसार सरकार तयारीमा जुटेको छ । बिमस्टेकको शिखर सम्मेलनका दौरान केही समय निकालेर नेपाल भ्रमण वर्ष (दुई) र नेपालको पर्यटनबारे पाहुनाहरूलाई जानकारी गराइनुपर्ने यस पंक्तिकारको विचार छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को तयारीबारे सरकारले यदाकदा आलोचना पनि भइरहेकै बेला नेपाल पर्यटन बोर्डले सोट्टो–नेपालसँग सहकार्य गर्दै भारतका विभिन्न व्यावसायिक सहरहरू जस्तै ः अहमदाबाद, सुरत, पुणे तथा कलकत्तामा नेपाल प्रवद्र्धनका सुन्दर कार्यक्रमहरूलाई सफलताका साथ सम्पन्न गरेको समाचार उत्साहप्रद सावित भएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगहरू पनि आगामी नेपाल भ्रमण वर्षको पूर्ण सफलताका निम्ति सक्रिय रहेको सकारात्मक खबरले सर्वत्र नेपाली पर्यटन व्यवसायी र पेसाकर्मीहरूमा एउटा नयाँ जाँगर प्रस्फुटन गराएको देखिएको छ । नेपालमा ट्रायथलन र म्याराथनजस्ता साहसिक खेलकुदले कैयौँ विदेशी पर्यटकहरूलाई सहभागीका रूपमा नेपालतर्फ आकर्षित गर्दै गरेको पनि हामीले देखिरहेका छौँ, अहिले संसारभरि प्रसिद्धि पाइसकेको सगरमाथा म्याराथन र लुम्बिनी म्याराथन जस्तै : जुम्ला–रारा म्याराथनको आयोजना गरिनु कर्णाली पर्यटन विकासले पर्यटन प्रवद्र्धनका लागि उठाएका कदमहरूमा अत्यन्तै स्वागतयोग्य कदम हुनुका साथै अन्य प्रदेशहरूका निम्ति पनि यो एउटा अनुकरणीय उदाहरण मान्न सकिन्छ । साथै, काठमाडौँमा हालै सम्पन्न हिमवत् खण्ड कला साहित्य सम्मेलन– २०७५ ले पनि साहित्य, कला, संस्कृति, धर्मलगायत पौराणिक र ऐतिहासिक महत्वका स्थानहरूको पर्यटकीय मूल्य उजागर गरेको छ ।
पर्यटन गतिशील विषय भएकाले यथास्थितिमै सन्तोष लिनुपर्ने अवस्था आउन दिनु हुँदैन । कर्णाली तथा कैलाली मोहनामा डल्फिनहरूको क्रीडास्थल विषयक समाचारले नेपाली पर्यटनमा शुभ संकेतका किरणहरू फैलाइरहेको छ । पर्यटनमन्त्रीकै सक्रियतामा मुलुकका सातवटै प्रदेशमा रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको सूची तयार पार्न लागिएको पनि अर्काे सुखद विषय हो । रसुवाको गोसाइँकुण्डमा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटनलाई नै आर्थिक आधार मान्दै ०७५/७६ भित्र ३० हजार पर्यटक भित्र्याउने उद्देश्यसहितको बजेट पारित भएको छ । पाल्पामा हालै सम्पन्न पर्यटन विकासका सम्भावनाहरूबारे भएको बृहत् गोष्ठीमा पाल्पालाई पर्यटनको हब बनाउँदै रिडिलाई हरिद्वार बनाइने ५ नं. प्रदेशका पर्यटन मन्त्रीको भनाइलाई त्यस प्रदेशमा धार्मिक र सांस्कृतिक पर्यटन विकासप्रति सरकार गम्भीर रहेको पुष्टि गर्छ ।
नेपाल आउने भारतीय र चिनियाँ पर्यटकबाहेक पश्चिमेली मुलुकका पर्यटकहरू पनि विगतको तुलनामा बढ्दै गइरहेको परिदृश्यले देशको आर्थिक उन्नतिमा अन्ततोगत्वा पर्यटन नै दिगो माध्यम रहन जाने सुनिश्चित पार्दै गैरहेको हामी देख्छौँ । सन् २०१६ मा बेलायतबाट ४० हजार पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१८ असार सम्म नेपाल भ्रमण गर्न आउने बेलायती नागरिकको संख्या ६० हजार नाघ्दो छ । सन् २०१८ को पहिलो १ सय ५० दिनभित्र नेपाल आउने पर्यटकको कुल संख्या ४ लाख ५४ हजार ८ सय ५५ जना पुगिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणले चिनियाँ र भारतीय पर्यटकको संख्यामा वृद्धि ल्याएको छ ।
मित्रराष्ट्र चीन (तिब्बत) तथा भारतसँग पटक–पटक भएका विभिन्न पर्यटन सम्झौताहरूको कार्यान्वयन सम्बन्धित पक्षबाट हुँदै जाने हो भने नेपालमा दसवर्षे पर्यटन रणनीति २०१६–२०२५ मा उल्लेख भएअनुसार नेपाल आउने पर्यटकको संख्याले ३० लाख नाघ्ने विषयमा कसैको पनि विमति नरहला । तर, यो त संख्यात्मक वृद्धिका कुरा भए । हाम्रो यस सेवा क्षेत्रले आफ्नो सेवामा कुन हदसम्मको गुणात्मक वृद्धि ल्याउन सक्षम हुने हो त्यसतर्फ पनि हामी सबै सचेत हुनुपर्छ र हाम्रा सेवा क्षेत्रको गुणस्तरलाई पनि स्तरीयतातर्फ तीव्र गतिमा उन्मुख गराउन नितान्त जरुरी रहेको कुरा बिर्सन हुँदैन । अन्यथा, हाम्रो पर्यटनमा ६० को दशक नफर्कला भन्न सकिँदैन । कैयौँ फिरन्ते हिप्पीहरू त आए, तर त्यस्तो जमातबाट मुलुकको अर्थतन्त्रमा कुनै टेवा पुगेन, बरु हाम्रा युवाहरूको मन–मस्तिष्कमा हिप्पिबादबाट प्रभावित अनेकन विकृति र विसंगतिहरूले जरो गाड्दै हाम्रा सामाजिक र सांस्कृतिक मूल्य एवम् मान्यताहरूमा कठोर प्रहार गर्न सफल भए । मुलुकको गुणस्तरीय पर्यटनलाई अघि बढाउन सबैभन्दा बलियो उपकरण आर्थिक कूटनीति हो । विश्वका प्रायः सबैजसो विकसित र विकासोन्मुख मुलुकहरूले पर्यटनका माध्यमबाट आ–आफ्नो मुलुकको आर्थिक गतिविधिलाई गतिशील राख्न विदेशस्थित आफ्ना राजदूतावास र नियोगहरूलाई पहिलो मार्ग निर्देश गर्ने गर्छन् । हाम्रो सरकारले पनि यो बुझेर विगत केही वर्षदेखि नव–नियुक्त राजदूतहरूलाई यससम्बन्धी अभिमुखीकरण कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ र त्यसले निश्चित रूपमा हाम्रो वैदेशिक व्यापार र पर्यटनलाई बढाउन ठूलो मद्दत पुगेको मान्नैपर्छ । तर, दक्षिण एसियाको सन्दर्भमा हेर्ने हो भने झन्डै १ सय ६० मुलुकसँग हाम्रो कूटनीतिक सम्बन्ध रहे पनि जम्मा २९ वटा मुलुकमा नेपाली राजदूतावास छन् । जबकि विदेशस्थित भारतीय राजदूतवासहरूको संख्या १ सय २४, पाकिस्तानी राजदूतावास ६७, बंगलादेशी राजदूतावास ४४ र श्रीलंकाका ३७ वटा मुलुकमा राजदुतावासहरू छन् । तुलनात्मक हिसाबले नेपालका राजदूतावासहरूको संख्या अति न्यून रहेको हामी पाउँछौं । तसर्थ महावाणिज्य दूतावासको कार्यालय तथा अन्य नियोगहरूबाट पनि आर्थिक कूटनीतिको जिम्मेवारी निर्वाह गराइने व्यवस्था हुन आवश्यक देखिन्छ ।
मुलुकमा आएको राजनीतिक परिवर्तनले ३ करोड नेपाली जनतालाई सुखद र सुन्दर भविष्यको अनगिन्ती सपना देखाएको छ । सपनाहरूलाई सार्थक तुल्याउन सरकारको राजनीतिक वृत्तमा रहेकाहरूले नैतिकता र विवेकशीलतालाई शिरोधार्य गरी देश र जनताप्रतिको आफ्नो उत्तरदायित्व संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै जनआंकाक्षाअनुरूप सरकार चलाउने र ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई सार्थक तुल्याउन हामीले पनि सरकारलाई सहयोग पु¥याउने काम गर्नुपर्छ । देश विकासका लागि सरकारलाई सहयोग गर्दा धर्म, संस्कृति, कला, संगीत, साहित्य, पर्यावरणमा रहेका हाम्रा मौलिक विशेषताहरूको जगेर्ना गर्दै आ–आफ्ना क्षेत्रमा आर्थिक गतिविधिलाई कसरी चलायमान राख्न सकिन्छ, त्यतातिर ध्यान केन्द्रित रहन आवश्यक छ । अनेकन पीडाको भार सहेर बाँचिरहेका नेपाली जनताले सकी–नसकी तिरेको करको दुरुपयोग उक्लँदै गरेको पिँढीलाई असहज हुने निश्चित छ, सत्तासीनहरूले हेक्का राख्नुपर्ने विषय हो यो । नेपाली जनताका देशभक्त सन्तानहरूको रगतले ल्याएको ऐतिहासिक जनक्रान्तिका फलस्वरूप प्राप्त मुलुकको संघीय प्रजातान्त्रिक लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्नु हामी सबै नेपालीको पहिलो कर्तव्य हो ।