सुदीप बस्नेत
सोमवार, असार ४, २०७५
2286

समयअनुसार अगाडि बढ्न र परिवर्तन हुन नसक्दा धेरै मानिस निराशाको सिकार बन्ने गर्छन् । कहिलेकाहीं चाहेको जस्तो परिणाम नपाउँदा पनि मानिसहरू छिटो निराश हुन्छन् । धेरै मानिस अरूबाट धेरै आशा राख्छन्, जुन पूरा नहुन पनि सक्छ, त्यसले पनि मानिसलाई छिटो निराश बनाउँछ । हरेक मानिसले आफ्नो जीवनको मूल्य र मान्यता बनाएको हुन्छ, जब उसका वरिपरिका मानिसले त्यसलाई अपनाउँदैनन्, मानिस अझ बढी निराश हुन्छ । उसलाई के लाग्छ भने ऊ बिल्कुल ठीक छ र अरूले पनि त्यसरी नै जीवन चलाउनुपर्छ । यसरी निराशा मानिसको दैनिक जीवनमा धेरै ठाउँबाट आउन सक्छ । यसलाई सही व्यवस्थापन गर्न सकिएन भने यसको प्रभाव मानिसको प्रगति, व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध, तथा व्यक्तिको आर्थिक स्तरमा प्रत्यक्ष रूपमा पर्छ । निराशाले भरिएको मानिस आफ्नो सफल हुन सक्ने क्षमता गुमाउँछ र आफ्नो असफलताका लागि सदैव अरूलाई जिम्मेवार ठान्छ ।

शारीरिक व्यवस्थापन
मानिस निराश भएको कुरा हामी उसको शारीरिक हाउभाउबाट थाह पाउन सक्छौं । निराश मानिसले धेरैजसो समय भुइँमा हेरेर कुरा गरिरहेको हुन्छ । अरूसँग कुरा गर्दा त्यति आँखा जुधाएर कुरा गर्दैन । अनुहार पनि त्यत्ति हँसिलो हुँदैन । उसको शरीर खुकुलो हुन्छ । झट्ट हेर्दा शरीर भित्र दबिएको जस्तो महसुस हुन्छ । बोलीमा पनि त्यो निराशापन झल्किन्छ । काममा उसको स्फूर्ति हुँदैन । धेरैजसो समय एक्लै बस्न रुचाउँछ । अलि झोक्राएको जस्तो देखिन्छ । यी सबै शारीरिक हाउभाउले के भन्छ भने मानिस मानसिक रूपमा निराश छ र मानिसको साथमा केही नराम्रो भएको कुरा जोकोहीले पनि अनुमान गर्न सक्छ । यसरी मानिसको मन–मस्तिष्कमा धेरै नकारात्मक कुरा खेलिरहँदा उसलाई उसको शरीरले पनि साथ दिइरहेको हुन्छ । यदि हामी यो निराशाकोे अवस्थामा रहन चाहँदैनौं र बाहिर निस्कन चाहन्छौं भने पहिला आफ्नो शारीरिक अवस्था ठीक ठाउँमा ल्याउनुपर्छ । यसले मानिसको दिमागमा आउने थुप्रै खाले विचारलाई नियन्त्रण गर्न मद्दत गर्छ । जब तपाईंलाइ लाग्छ, कुनै विचार तथा घटनाले तपाईंलाई निराश बनाएको छ भने त्यो समयमा तपाईंले आफ्नो शरीरलाई त्यो विचरलाई मद्दत नगर्ने अवस्थामा लैजानुस् । शरीरलाई अलि सतर्क गराउनुहोस् । कुमलाई अलि सीधा बनाउनुहोस् । छातीलाई अलि बाहिर ल्याउनुहोस् । भुइँतिर नहेर्नुहोस्, त्योभन्दा राम्रो आफ्नो सीधा अगाडि वा माथि हेर्नुहोस् । यो सबै शारीरिक हाउभाउले मानिसको दिमागमा आएको नकारात्मक तथा निराशालाई मद्दत गर्दैन । यो शारीरिक अवस्था त ठीक निराश हुँदाको विपरीत जब मानिस खुसी, उत्साहित र सकारात्मक हुन्छ, त्यतिबेला हुने अवस्था हो । केवल दुई मिनेट आफ्नो शारीरिक अवस्थालाई नियन्त्रणमा राख्दा मानिसभित्र आएको निराशाको प्रभावलाई ८० प्रतिशत सम्म कम गर्न सकिन्छ । यो तरिका त्यतिनै वैज्ञानिक पनि छ । यो तरिकाको निरन्तर प्रयोगले मानिसले आफ्नो शरीर तथा मस्तिष्कमा नियन्त्रण प्राप्त गर्न सक्छ ।

निराशाका कारण पत्ता लगाउनुस् : 
कहिलेकाहीं निराश हुनुको मुख्य कारण थाहा नहुँदा पनि मानिस निराशाको अवस्थामा धेरै समयसम्म रहिरहेको हुन्छ । झट्ट हेर्दा लाग्छ, कुनै असफलता वा घटनाको कारणले गर्दा मानिस निराश छ, तर त्यसको कारण अरू नै पनि हुन सक्छ । कुनै पनि बाहिरी परिस्थिति हाम्रो वशमा हुँदैन, तर कुनै घटनापश्चात् त्यसमा कसरी प्रतिक्रिया दिने, त्यो हाम्रो छनोट हो । त्यसरी नै कुनै पनि घटनापश्चात् हामी त्यस घटनालाई कसरी अर्थ लगाउँछौं, त्यसले पनि हाम्रो मानसिक सन्तुलनलाई प्रभाव पार्ने गर्छ । कुनै पनि घटना तपार्इंको जीवनमा हुन्छ भने त्यसको अन्तिम बिन्दुमा पुग्नुपूर्व आफूले आफैंलाई सोध्नुहोस्— त्यसो किन भयो ? म काम कुन तरिकाले गर्दैछु र मैले कुन तरिकाले काम गरिरहेको छैन ? अझ के–के कुरामा सुधार गर्न सकिन्छ ? जब मानिसले आफैंसँग यस्तो प्रश्नहरू गर्छ, ऊ परिणाममा केन्द्रित नभई सुधार गर्नमा केन्द्रित हुन्छ । यसले मानिसको प्रगतिको बाटो खोल्छ । परिणाममा मात्रै केन्द्रित हुँदा मान्छे बढी निराश हुने गर्छ । सुधार गर्ने कुरामा केन्द्रित हुँदा अर्को पटक मानिसले त्यही पुरानो गल्ती दोहो¥याउने सम्भावना कम हुन्छ ।

सत्यलाई स्वीकार गर्नुस् तर आफैंलाई हीन भावनाले नहेर्नुहोस्
मानिस कहिल्यै असफल हुँदैन । मानिसले गर्ने काम मात्र असफल हुने हो र त्यो पनि स्थायी छैन । स्थिति कुनै पनि बेला परिवर्तन हुन सक्छ । त्यसैले सत्यलाई अंगिकार गर्ने र त्यसबाट सिक्नेदेखि विकल्प हाम्रो साथमा छैन । मानिसहरू विगतमा पाएको असफलताले यति धेरै निराश भइसकेका हुन्छन् कि मानिस प्रयास गर्न नै छाडिदिन्छन् । घेरैको साथमा फेरि अर्को एउटा असफलता झेल्न सक्ने क्षमता नै हुँदैन । त्यसैले पनि नीरसपूर्ण जिन्दगी बिताइरहेका हुन्छन् धेरै मानिस । असफल तपाईं त्यो दिन मात्र हुने हो, जुन दिन आफूले आफूलाई असफल स्विकार गर्नुहुन्छ । त्यसैले आफूले आफूलाई हीनताग्रस्त परिस्थितिमा धेरै समय नराख्नुहोस् । निराशाले मानिसमा अनिश्चितता र डरको भावना बढी पैदा गरिदिएको हुन्छ । निर्णय लिन सक्ने क्षमता र अघि बढ्ने हिम्मत नै त्यो चिज हो, जसले मानिसलाई नीरस जिन्दगीबाट बाहिर निस्कन मद्दत गर्छ ।

केही नयाँ काम गर्नुहोस्
सामान्यतया आफ्नो दैनिकीभन्दा केही फरक गर्नाले केही फरक अनुभव हुन्छ । निराशापन पनि एक किसिमको भावना भएकले फरक किसिमको अनुभव गर्दा फरक भावनाले बिस्तारै ठाउँ पाउँदै जान्छ । त्यसैले पनि जीवनलाई जागृत अनुभव गर्न फरक भावना प्राप्त हुने कार्यहरू गर्नु जरुरी छ । यो फरक अनुभवले तपाईंको आत्मसम्मानलाई जोगाइरहन पनि मद्दत गर्छ । दैनिक प्रयोग गर्ने कपडाहरूभन्दा केही फरक कपडा खरिद गर्नुहोस् र त्यसलाई प्रयोग गर्नुहोस् । नयाँ ठाउँमा साथी तथा परिवारको साथमा भ्रमणका लागि जानुहोस् । गर्दै आइरहेको कामलाई केही फरक ढंगले गर्नुहोस् । ध्यान, शारीरिक व्यायाम तथा खेलमा भाग लिनुहोस् । यीलगायतका थुप्रै कार्य तपार्इंले आफ्नो आत्मसम्मानलाई बलियो बनाउन गर्न सक्नुहुन्छ, जसले बिस्तारै तपाईंमा आएको नैराश्यताको भावना कम गर्दै लैजान्छ ।
मानिसमा आउने नैराश्यताको भावनालाई समयमै विचार नगर्ने हो भने पछि यो मनोरोगका रूपमा पनि विकसित हुन सक्छ । नैराश्यतामा मानिसहरू आत्महत्याका समेत प्रयासहरू गर्ने गर्छन् । यदि अवस्था त्यस्तो छ भने उचित मनोविज्ञान परामर्शदाताहरूको परामर्शमा नियमित रूपमा रहनुपर्छ । सामान्यतया यो स्थितिसम्म पुग्न नदिन विभिन्न तरिकालाई हामी प्रयोगमा ल्याउन सक्छौं । माथि लेखिएका तरिकाहरूलाई हामीले दैनिक रूपमा प्रयोग गर्ने हो भने हामी जो–कोही पनि मानसिक तथा शारीरिक रूपमा स्वस्थ जीवन बिताउन सक्छौं । यी तिनै साधारण काम हुन्, जुन जोकोहीले पनि गर्न सक्छन् ।
(लेखक मोटिभेसनल स्पिकर तथा व्यावसायिक कर्पोरेट ट्रेनर हुन् ।)