प्रा. डा. हरि शर्मा
सोमवार, असार ४, २०७५
1008

पर्यटन मन्त्रालयले नेपालको पर्यटनमा महत्वपूर्ण कोसेढुंगाहरू स्थापना गर्ने सपनासहित गत महिना मन्त्रीको अध्यक्षतामा पर्यटनका लागि थिङ्क ट्यांक (विज्ञ समूह) गठन गरेको थियो र गत २४ जेठका दिन देशका वरिष्ठ पर्यटनविद्, व्यवसायी र नेपाल पर्यटन बोर्डका हस्तीहरू सम्मिलित उक्त समूहको पहिलो बैठक काठमाडौँको मनोरम चन्द्रागिरीमा सम्पन्न भयो ।
मुलुकको पर्यटनमा कायापलट हुन सक्ने विज्ञहरूबीच विचार–मन्थन होला, सही मानेमा पर्यटनलाई मुलुकको आर्थिक मेरुदण्डका रूपमा स्थापित गर्नेतर्फ केही नयाँ सूत्र आउलान् भन्ने अपेक्षाविपरीत सो समूहले चन्द्रागिरिमा बसेर पर्यटन क्षेत्रको सुधार र संरचनागत विकासका लागि प्रतिवेदन तयार पार्न पुनः चार विज्ञ समूह गठन गरिएको समाचार सामाजिक सञ्जालमा बडो सानका साथ स्थान आए । सोबारे राष्ट्रिय दैनिकहरूमा भने कुनै समाचार पढ्न पाइएन । सामाजिक सञ्जालमा समूहका केही मित्रले पोस्ट गरेका आकर्षक फोटाहरू भने मनलाई लालायित पार्ने खालका थिए । सुरुआत राम्रै त भएको होला भन्ने आशा गरौँ । समूह गठन भएको केही दिनभित्रै केही त भयो ।

थिङ्क ट्याङ्क बैठकले चार जना प्रबुद्ध टोली नेता रहने गरी पर्यटन पूर्वाधार तथा जनशक्ति विकास एवं प्रादेशिक, सांस्कृतिक तथा घरबास सम्बन्धमा आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउने सहमति भएको बुझियो । समूहहरूलाई प्रतिवेदन तयार पार्न समय सीमा भने कतै तोकिएको थाहा पाइएको छैन । उल्लेखित चारैवटा समूहको नेतृत्व सक्षम र कर्मठ व्यक्तित्वबाट हुने भएकाले अवश्य पनि पहिलो बैठकको निर्णय मुलुकको पर्यटन विकासका लागि सार्थक सिद्ध हुने विषयमा शंका रहने स्थिति छैन ।
निःसन्देह, पर्यटन विज्ञ समूहले नेपालको पर्यटन विकासका लागि बडो गम्भीरतापूर्वक चिन्तन–मनन गरिरहेको छ । तर, अहिलेको परिवर्तित सन्दर्भमा विशेष गरी जुन राजनीतिक संरचनाभित्र हामीले नेपाली पर्यटनको परिचयलाई स्थापित गर्न लागिरहेका छौं, त्यसलाई राम्रोसँग आत्मसात् नगरी नीतिगत रूपमा मात्रै आफ्ना सुझाव प्रस्तुत गर्न खोजियो भने हामीले जुन मानेमा आफ्ना विचारहरूलाई मूर्तता दिन सक्नेछौं ? प्रश्न उठ्छ । ७७ जिल्ला र सातै प्रदेशले आ–आफ्ना सिमानाभित्र रहेका पर्यटकीय सम्भाव्यताहरूको खाका तयार पारिसकेका छन् र त्यसैअनुरुप प्रदेश तथा स्थानीय सरकारहरू काममा समेत जुटिसकेको अवस्थामा थिङ्क ट्यांकले आफ्नो प्रतिवेदनमा प्रदेश र केन्द्रबीचको दूरीलाई समन्वयका माध्यमबाट खुम्च्याउने विधिहरूको निर्माणतर्फ पनि ध्यान पुर्याउनुपर्ने आवश्यकता हुन्छ ।
यात्रा एक यात्रु अनेकको शाश्वत दर्शनलाई नै मार्ग दर्शनका रूपमा लिइनु जरुरी छ । पर्यटन विकासका लागि ओलाङचुङगोला र सिमिकोट अथवा मुसिकोटजस्तै मुलुकभरिका ७ सय ५३ वटै स्थानीय सरकारले के गर्नुपर्ने र कसरी गर्नुपर्ने र केन्द्रबाट उनीहरूको आर्थिक सम्पन्नताका लागि कस्ता प्याकेजहरू तयार पािरदिनुपर्ने हो, त्यता पनि सोच राख्नुपर्ने देखिन्छ । अन्यथा १० वर्षका दौरानमा १५ लाखदेखि २० लाख र ५० लाखसम्म पर्यटक भित्र्याउने हाम्रा सपनाहरू निराधार बनेर ओइलाउँदै जाने निश्चित छ ।
यद्यपि २४ जेठको चन्द्रागिरि बैठकले अँध्यारा बादल वरिपरि चाँदीका रेखा कोर्न सफल भएको मान्नैपर्छ र कार्यदलको प्रतिवेदन समयमै तयार भएर मन्त्रालय पुग्नैपर्छ, नभए केही काम हुन नसक्नुको जिम्मेवारी थिङ्क ट्यांकले नै बेहोर्नुपर्ने स्थिति आउन सक्छ । पछिल्ला दिनहरूमा मुलुकको पर्यटन गतिविधिले तीव्रता पाइरहेका समाचारले सर्वसाधारण उत्साहित छन् । सोचमा सकारात्मकता वृद्धि हुँदै गइरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा खुला रहने, वायुसेवा निगमको दुईवटा नयाँ वाइड बडीमध्येको पहिलो एयरबस ए३३० आगामी असार १४ गते काठमाडौँ विमानस्थलमा अवतरण हुने र १ महिनापछि दोस्रो नयाँ एयरबस आइपुग्ने, ७६.२ किमि लामो तराई–मधेस द्रुत मार्ग निर्माणमा विश्व बैंकको सहयोग रहने, हिमालयन अन्तर्राष्ट्रिय मार्टले आगामी वर्ष आफ्नो तेस्रो संस्करण पुनः काठमाडौँमा प्रस्तुत गर्ने, नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको संयुक्त सहकार्यमा पूर्वी नेपालको पर्यटन सम्पदाबारे व्यापक जन–जागरण ल्याउन आयोजना गरिएको इस्ट टुरिज्म फेयर, हालै सम्पन्न भएको, पर्यटन मन्त्रीको पहलमा राजविराज र रेसुङ्गामा विमान अवतरणका लागि चेस्टा थालिएको, विभिन्न प्रदेशमा विमान सेवालाई प्राथमिकतामा राख्दै त्यहाँ रहेका विमानस्थलहरूको स्तरोन्नतिका लागि केन्द्रसँग समन्वय हुँदै गरेका सुखद गतिविधिले पर्यटन उद्योग तथा उद्यमीहरूलाई प्रोत्साहित तुल्याएको छ । पर्यटनमा संख्यात्मकभन्दा पनि गुणात्मकतालाई महत्व दिइनुपर्ने चर्चा–परिचर्चाहरू पनि चलिरहेका छन् । विदेशी मुद्रा आर्जन गर्ने एउटा महत्वपूर्ण उद्योगका रूपमा रहेको हाम्रो पर्यटनले गत वर्ष मात्रै करिब ६६ करोड अमेरिकी डलर आर्जन गरेको सन्दर्भमा आगामी वर्षहरूमा पर्यटकको संख्यामा वृद्धि हुनुका साथै राज्यकोे आर्जन पनि उत्तरोत्तर बढ्दै जाने आकलन गर्न सकिन्छ ।

पर्यटन आर्थिक समुन्नतिका लागि गरिने गतिविधि मात्र होइन । पर्यटन विकाससँगसँगै जनहितकारी र लोक–कल्याणकारी कामहरूलाई पनि अघि बढाइनु आवश्यक छ । आजको युगमा हामीकहाँ अझ पनि तुइनबाट खोला तर्ने बाध्यता छ । कतिपय भेगमा बसोबास गर्ने ग्रामीण जनता खोला तर्न झेलुंगे पुलको पनि अनुभव गर्न सकेका छैनन् । ज्यान जोखिममा राखेर आफ्नो दैनिकीका लागि तुइन तर्ने, आफ्ना बालबच्चाहरूलाई तुइन तराएर विद्यालय पठाउने अवस्थाको अन्त्यका लागि संघीय सरकारले समयसीमा तोकेर सम्बन्धित प्रदेश सरकारहरूलाई कडा निर्देशन जारी गर्नुपर्छ । पर्यटकलाई प्राचीन सांस्कृतिक र ऐतिहासिक सम्पदा देखाएर, हिमाली क्षेत्रको पदयात्रा गराएर अथवा यस्तै अन्य साहसिक क्रियाकलापमा संलग्न गराएर आर्जन गरेको विदेशी मुद्रालाई उपर्युक्तअनुसारका लोककल्याणकारी कामहरूमा समेत खर्चिनु जरुरी छ । किनभने पर्यटनको विकासका लागि सबैभन्दा आधारभूत आवश्यकता जनचेतना र आमजनजीवन नै हो । यो उत्तरदायित्व स्थानीय सरकारहरूले नै लिनुपर्छ र प्राथमिकताका आधारमा ती कामहरू सम्पन्न गरिँदै लैजानुपर्ने हुन्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को भावनालाई सार्थक तुल्याउन मुलुकमा गरिनुपर्ने असंख्य काम छन् र पर्यटन मात्र एउटा यस्तो विधा हो, जुन हाम्रो जीवनका हरेक पक्षसँग अविछिन्न रूपले जडित छ । रहन–सहन, जीवन–शैली र खानपानदेखि लिएर हाम्रो कला, संस्कृति, साहित्य, संगीत र वनस्पति सबै पर्यटनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेका हुन्छन् । त्यसर्थ, पर्यटनको प्रवद्र्धन र संवद्र्धनका लागि रेलमार्ग, जलमार्ग, केबुलकार र थलमार्ग आवश्यक छन् नै, बढी आवश्यक छन्, आममानिसका दैनिक कठिनाइहरूको निवारणका लागि गरिनुपर्ने न्यूनतम पूर्वाधारका सुविधाहरू एवं रुढीवादी समाजमा आमूल परिर्वतन । छाउपडी, कमैया, दासप्रथा, बोक्सी आदि जस्ता आम्रो समाजमा अझै पनि विद्यमान कुरीतिहरूलाई नमेटाई हामी पर्यटनको विश्व–मानचित्रमा अद्वितीय गन्तव्य बन्न सक्दैनौँ । हाम्रा केही सहरी क्षेत्रहरू आधुनिक प्रविधिको विकासका कारण यस्ता कुसंस्कारबाट चोखिन सफल भएका छन् तर धेरै दुर्गम तथा अत्यन्तै विकट स्थानहरूमा जनताको जीवन स्तर उकास्न संघीय सरकारले आफ्ना वाचा नबिर्सेर केही ठोस कार्यक्रमहरूलाई अगाडि सार्नुपर्छ र प्रदेश सरकारलाई तत्सम्बन्धमा मार्गनिर्देश पनि गर्नुपर्छ । पर्यटनलाई सधैँ अन्तर्राष्ट्रिय सन्दर्भमा हेरिनु हुँदैन, आन्तरिक पर्यटन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । दक्षिणपूर्वी एसियाका मुलुकहरू भारत, चीन तथा फ्रान्स, इटाली, जर्मनीजस्ता मुलुकमा आन्तरिक पर्यटन अत्यन्तै फस्टाउँदो छ र त्यहाँका सरकारले आफ्नो आन्तरिक पर्यटनलाई विशेष महत्वका साथ प्रवद्र्धनमा सघाइरहेको पाइन्छ ।
नेपाल त पर्यटकीय सम्पदाहरूको खानी हो । सांस्कृतिक तथा धार्मिक पर्यटन, पर्यावरणीय पर्यटन, साहसिक पर्यटन, कृषि पर्यटन, सभा–गोष्ठी पर्यटन, दृश्यावलोकन पर्यटन, चिया पर्यटन, खेलकुद पर्यटन आदि सबै महत्वपूर्ण छन् । यिनलाई स्थानीय जनताले र सरकारले विशेष रुचिका साथ संवद्र्धन गर्न जरुरी छ । पर्यटनबारे जनचेतना जागेपाछि हामीमा स्वतःस्फूर्त रूपले सरसफाइ, स्वास्थ्य र प्राकृतिक सुन्दरताप्रति सबैको चासो बढ्दै जान्छ । पर्यटकहरू पुग्ने गरेका प्रत्येक ठाउँका मानिसहरूमा यो प्रवृत्ति दिगो रूपमा फस्टाएको छ । नेपाल भ्रमण वर्ष, १९९८ मा हाम्रो प्रयास पनि यही नै थियो । पर्यटकीय आकर्षणका स्थानहरूमा पुगेर हामीले स्थानीय जनतासँग यिनै विषयहरूमाथि चर्चा–परिचर्चा गरेका थियौँ र त्यो बहुतै फलदायी थियो । पर्यावरणको संरक्षण, प्राकृतिक सौन्दर्यीकरण, स्वस्थकर कुसंस्काररहित जीवनशैलीले पर्यटनलाई दिगो बनाइराख्न टेवा पुर्याउने विषयमा दुईमत हुन सक्दैन । पर्यटन क्षेत्रमा गरिनुपर्ने सुधार र विषयमा ‘थिङ्क ट्यांक’ समूहका मित्रहरूले तयार पार्नुहुने प्रतिवेदनमा यी विषयहरूलाई पनि केलाइनेछ भन्ने आशा एवम् विश्वास राखिएको छ ।