कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५
2752

हामी नेपाली दुई ठूला देशको बीचमा रहेका छौं । उत्तरतिर हिमालय पर्वत चीनतर्फको बन्द सिमाना र दक्षिणतिर तराई भूभाग भारततर्फको खुला सिमाना छ । सन् २०१५ सेप्टेम्बर २३ देखि भारतबाट दुई महिनासम्म नेपाल भित्रिने इन्धनलगायत अत्यावश्यक सामानहरू नआएपछि र नेपालबाट केही सामान भारततर्फ जान नपाएको अवस्थामा हामी पहिलेभन्दा झनै ठूलो स्वरमा भारत र भारतका शासक वर्गलाई अनि भारतीय जनतालाई सकेजति गाली गर्न थाल्यौं । भारतलाई गाली गरिरहँदा तराईमा आफ्नो राजनीतिक गतिविधि गरिरहेका विभिन्न पार्टीका बारेमा हामी बोलेनौं । मानौं, यो सबै भारतले गरिरहेको थियो । यसमा नेपालमा रहेका मधेसकेन्द्रित पार्टीहरूको कुनै हिस्सा थिएन । मधेसकेन्द्रित पार्टीहरू दुई देशको सिमानामा केन्द्रित रहेर आन्दोलन गरिरहेको अवस्था र हामी जानेबुझेकाजतिले भारतलाई गाली गरिरहेको अवस्थामा तराईकेन्द्रित राजनीतिक दललाई आन्दोलन गर्न निकै बल पुगेको थियो र भारततर्फ गएर नेपालतर्फ ढुङ्गा हान्दा पनि उहाँहरूले आफूलाई पौरखी ठान्नुभएको भान हुन्थ्यो, मानौं उहाँहरू उतैबाट परिचालित हुनुहुन्थ्यो । हामीले के बुझ्यौं भने भारतले तराईका पार्टीहरू सबै भारतबाट परिचालन गरिरहेको छ र नाकाबन्दी भारतले नै गराएको हो, नेपालमा घोषणा भएको संविधानप्रति असन्तुष्ट भारतले नेपाललाई शवक सिकाउन यो गरिरहेको थियो आदि–इत्यादि । आज पनि नेपालको राजनीतिमा ठूलै हिस्सेदार तराईकेन्द्रित राजनीतिक पार्टीहरूलाई भुइँचालोको पीडा पनि थाहा थिएन, न त नाकाबन्दीकै पीडा भनेर बुझ्दा हुन्छ । जति बेला भुइँचालोले ९ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो, २२ हजारभन्दा बढी घाईते भएका थिए र १० लाख परिवारमा प्रत्यक्ष रूपमा गम्भीर असर परेको आलो घाउमै तराईकेन्द्रित दलहरूले नेपाल भारत सीमामा गरेको आन्दोलन सही या गलत थियो, के उहाँहरूले नेपाली भएर विश्लेषण गर्नु पर्दैन र ?
दुई देशका राष्ट्रप्रमुखहरूको भेटघाट पनि धेरै पटक भएको छ । नाकाबन्दीको सबै दोष न भारतले लिन्छ, न त तराई केन्द्रित दलहरूले प्रस्ट जवाफ दिन्छन् । हामी बिचरा जनता चुपचाप रहनुपर्ने हो ? सीमाक्षेत्रको आन्दोलनका कारण असुरक्षा महसुस भएर सामान नपठाएको आदि–इत्यादि भन्ने भारतको जवाफले मात्र हाम्रो पीडा बिर्सिनुपर्ने हो र ? अनि खासमा के भएको हो, तराईकेन्द्रित दलले जनतालाई प्रस्ट पार्नु पर्दैन ? उहाँहरूले जे गरे पनि हामी विचरा चुपचाप नै रहनुपर्ने हो ?

भारतलाई मात्र गाली गरिरहने हामी नेपाली केही थान माईक्रो ओभन र केही मात्रा इन्धनलगायतका सामग्रीहरू नेपाल पठाएर सहयोग गरेको छिमेकी मुलुक चाइनाको धेरै गुणगान गर्छौं । तर, तातोपानी नाका जुन विगत लामो समयदेखि सञ्चालनमा थियो, २०७२ को भुइँचालोले क्षति पुग्यो र अब कहिल्यै बन्न नसक्ने जसरी यो नाका बन्द भयो । केही महिनाका लागि सुरक्षाको दृष्टिकोणले र मर्मत गर्ने मनसायले नाका बन्द गर्नु त ठीकै जस्तो लाग्छ, तथापि उक्त नाका खोल्नका लागि भन्दा नयाँ नाका तथा बाटो निर्माण गर्न सजिलो हुने थियो र ? उक्त नाका निकै कम खर्चमा खोल्न सकिन्छ भन्ने कुरा विज्ञहरूबाट सुन्न पाइन्छ । भुईंचालो गएको तीन महिनापश्चात निर्माण थालेर पुन सञ्चालन गर्नुपर्ने नाका आजका मितिसम्म पनि खुलेको छैन ।
नेपाल र चीनका उच्चपदस्थ व्यक्तिहरूको भेट हुँदा नाका खुलाउने रे ! ठूलै काममा सफलता पाए जसरी उद्घोष गर्ने भन्ने सुनिएको छ । पहिल्यै सञ्चालनमा रहेको नाकालाई तीन वर्षपश्चात खोल्न रिबन नै काट्नुपर्ने अवस्थाका बारेमा सिधासाधा नेपालीहरूलाई केही थाहा छैन, तर हामी चिया पसलमा बसेर चीनको गुणगान परिवारको भन्दा पनि नजिकको नाता भएजसरी खुसीसाथ एकै स्वरमा गाउने गरेका छौं । यो सानो भूपरिवेष्टित मुलुक नेपाललाई मौका छोपेजसरी सहज रूपमा सञ्चालनमा रहेको नाका बन्द गरेर कुन उचित काम गरेका हुन् चाइना सा’बहरूले ? के नेपाललाई माया गरेर केरुङ नाका खोलिदिएर नयाँ काम गरेका हुन् ? रेल चीनले सहयोगमा बनाइदिन्छ, त्यसको पनि हामी नेपालीले रेलमा सवार हुन नपाउँदै त्यही रेल चढेर चीन गएर आए जसरी फुकिरहेका छौं । हामी नेपालीहरू स्तो अवस्थामा पनि सहेर बस्नुपर्ने हो ? विचरा हामी नेपाली !
शिवप्रसाद पोखरेल