कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४
1103

खाना पकाउने ग्यासको कारोबार गर्ने कम्पनीबाट उपभोक्तासम्म पुर्यौनी माध्यम विक्रेता (डिपो डिलर, डिस्टिब्युटर्स) ले गर्छ । सरसर्ती हेर्दा नेपालभर करिब २६ देखि ३२ हजार ग्यास डिलर छन् ।
कम्पनीदेखि उपभोक्ता तहसम्मको लेभलमा बिक्री–वितरण कार्य प्रणाली नीतिगत ठोस कदम नभएकाले यहाँका ग्यास विक्रेतामा उत्साह देखिँदैन । प्रत्येक ग्यास कम्पनीले आफ्नो ग्यासको डिपो राख्न एरियाअनुसार दूरी तोक्ने, ग्यास बिक्रीका लागि अनिवार्य प्रमाणीकरण गर्नुपर्ने, ग्यास उद्योगी (कम्पनी) सँग भएको सम्झौता उल्लेख गर्नुपर्ने, भूमिगत डिपो नदिने, ग्यास बेच्नुअघि कम्पनीको प्रमाणित गुणस्तरअनुरूप पूरा तौल तौलिएको ग्यास प्रमाणपत्र हुनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तै ग्यास डिपो दमकल पुग्ने स्थानमा मात्र खोल्नुपर्ने, सुरक्षाका उपायबारे विक्रेताले प्रस्ट उल्लेख गर्नुपर्छ । कम्पनीको दीर्घकालीन पोलिसीअनुसार सक्षम पकड भएको डिपो मात्र बनाउने, कम्पनी–सरकार विक्रेताको कार्यविधिका व्यवस्था प्रणालीअनुसार आधुनिक ग्यास डिपो जसमा सुयोग्य मापदण्ड, आवश्यक पूर्वाधार र कडाइ कानुनको पालन गर्न कार्य प्रेरित डिपो स्थापना हुन प्रत्येक ग्यास उद्योगी सक्षम हुनुपर्छ । लोडसेडिङको अन्त्य भएमा ग्यासको कारोबार मटीतेलजस्तै विसर्जन हुने अवस्थामा नआउला भन्न सकिन्न । त्यसैले ग्यास बिक्रीलाई व्यवस्थित गर्न निम्नानुसार गर्नु आवश्यक छ ।
(क) ग्यास बिक्रीबापत पाइने कमिसन र नाफा थोरै देखिएकाले त्यसमा पुनर्विचार गर्नुपर्छ । लगानी धेरै गर्नुपर्ने र प्रतिसिलिन्डर ग्यासबापत कम्तीमा ५ प्रतिशत हुन आउने रकम विक्रेतालाई कमिसनबापत दिन बारम्बार माग गर्दा पनि सुनवाइ नहुँदा देशभरका विक्रेताहरू अर्को विकल्प खोज्न बाध्य भइरहेका छन् ।
(ख) ग्यासको कारोबार गर्दा कर, बहाल कर, नपा कर, मनपा कर, वाणिज्य कर, आय कर, मूअ करजस्ता कार्य झन्झटिलो देखिन्छ । कर ऐनअनुसार मूअ कर, आय कर र मिस म्याचजस्ता समस्याबाट बच्न आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय, अर्थ मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सजग भई पारदर्शी, सरलीकृत, प्रणालीको विकास गर्नुपर्छ ।
(ग) ग्यास कम्पनीहरूको संघ र ग्यास विक्रेताहरूको संघले आआफ्नो तर्फबाट उपभोक्ता संरक्षण ऐन, ग्यास ऐन, कर ऐन, वाणिज्य ऐन, गुणस्तर ऐन, आचारसंहिताजस्ता कार्य प्रणालीलाई विक्रेता र उपभोक्तासँग सहकार्य गरेको देखिँदैन ।
(घ) प्रत्येक ग्यास कम्पनीको बिक्री–वितरण प्रणाली फितलो भएकाले हिउँदमा माग बढी भएको समयमा सामान्य अवस्थाको कोटा प्रणालीअनुसार बिक्री–वितरणमा नीतिगत रूपमा कमजोरी छ । कार्य प्रणाली सही नभएकाले उपभोक्ता र विक्रेता दुवैले सास्ती खेप्नुपरेको छ ।
(ङ) सहरिया ठाउँमा ग्यास डिपो राख्न घरबेटीले आनाकानी गर्छन् । भण्डारण ग्यास सिलिन्डरले ठाउँ बढी ओगट्ने र असुरक्षाका दृष्टिले घरबेटीले डिपो राख्न मान्दैनन् ।
(च) केही ग्यास कम्पनी आफैं ठेक्का प्रवृत्ति, मिचौलिया र माफियामा चुलिएका छन् । त्यस्ता कम्पनीले ग्यास बेच्नभन्दा सिलिन्डर बेच्न प्राथमिकता दिएको देखिएको छ । डिपो दिने प्रक्रियामा नातावाद, कृपावाद देखाएर जहाँतहीँ जुनसुकै ठाउँमा डिपो दिएको देखिन्छ ।
(छ) नेपालमा जलविद्युत्को विकास हुँदै गइरहेको अवस्थामा विद्युत् आपूर्ति बढेकाले राइस कुकर र इन्डक्सन चुलोमा खाना पकाउन उपभोक्ता आकर्षित भएका छन् । उपभोक्ताहरू ग्यास सिलिन्डर चुलो प्रयोगभन्दा विद्युत् सामग्री प्रयोगमा अग्रसर भएको देखिन्छ ।
(ज) सिलिन्डर धरौटीबापत राखेको रकम फिर्ता ग्यास उद्योग बन्द भएपछि मात्र पाउने व्यवस्था छ, तर उपभोक्ताले चाहेका बखत जुनसुकै समयमा पनि कम्पनी र डिलरमार्फत धरौटी फिर्ता पाउने व्यवस्थाको प्रावधान सजिलो छैन । कुनै पनि ग्यास कम्पनीको खाली सिलिन्डरको मूल्य समान छैन । बजारमा खाली सिलिन्डरको मूल्य २ हजार रुपैयाँदेखि २ हजार ६ सय रुपैयाँसम्म तोकेर उपभोक्तालाई ठग्ने काम भएको छ । उस्तै प्रकृतिको खाली सिलिन्डरको मूल्य फरक नभई एउटै कायम हुनुपर्ने थियो । नयाँ कम्पनीले बजारमा चाँडै स्थापित हुन र धेरै ग्यास सिलिन्डर बिक्री गर्न कम मूल्य राख्ने गरेका छन् । उपभोक्ताले धरौटीबापत जति मूल्य तिरेका हुन्, उद्योग र विक्रेतालाई शतप्रतिशत रकम फिर्ता दिने व्यवस्था देखिएको छैन ।
(झ) प्रत्येक सिलिन्डरमा १४.२ किलोग्राम ग्यास हुनुपर्नेमा कम हुने गुनासो बढेको छ । उद्योगले उपभोक्ताबाट फर्केको सिलिन्डर सफा नगरी पटक–पटक ग्यास भर्दा तल्लो भागमा थिग्रेर बस्ने र तोकिएको भन्दा कम ग्यास भरेर सिलिन्डर बजार पठाउने प्रवृत्ति बढ्दै गएको छ । खाली सिलिन्डरमा पटकैपिच्छे ग्यास भर्दा सफा नगर्ने, अनिवार्य रूपमा हाइड्रोलिक टेस्ट नगर्ने, पूरा तौल, लिकेज र भल्व परीक्षण बरोबर नभएकाले उपभोक्ता कराउने र झगडा गर्ने गर्छन् । यस्ता कार्यमा प्रत्येक कम्पनीका प्राविधिक विशेषज्ञबाट सुझाव–सल्लाह, परामर्श र सही माग निर्देशनको कमी देखिएको छ ।
(ञ) हाल बजारमा विभिन्न उद्योगका एलपी ग्यास सिलिन्डरहरू फोहोर, रङ्ग मेटिएको, ज्यादा पुराना भएका, कुच्चिएका एवं सिलिन्डर निर्माण मिति र सिलिन्डर प्रयोग गर्ने मितिसमेत मेटिएका सिलिन्डरहरू विक्री–वितरण एवं दैनिक प्रयोगमा रहेको पाइएकाले त्यस्ता ग्यास सिलिन्डर प्रयोग गर्नु सुरक्षात्मक रूपमा जोखिमपूर्ण भई जीउधनको समेत क्षति हुन सक्ने भएकाले यस्ता बिक्री गर्न विक्रेता (वितरक) सक्दैनन् ।
(ट) ग्यास लोड–अनलोड गर्ने र घरघरमा पुर्यौनी कामदारको ज्याला महँगो भएको छ र पाउन पनि गाह्रो भएको छ ।
(ठ) ग्यास कम्पनीले सही रूपमा बिक्री–वितरण प्रणालीमा वितरक घटाउने रणनीतिमा जानुपर्छ । डिस्ट्रिब्युटरले जहाँतहीं डिलर दिएको हुन्छ । ख्याति कमाएको डिलरनजिक डिपो नियुक्त भए काम गर्ने कि नगर्ने अवस्था सिर्जना भई डिलर छोड्ने अवस्था हुन जान्छ ।
(ड) वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, नेपाल आयल निगम, ग्यास कम्पनी र उपभोक्ता हित संरक्षण संघ संस्थानको ग्यास बिक्रीसम्बन्धी मापदण्ड एकरूपता भएको देखिँदैन ।
(ढ) ग्यास विक्रेता महासंघ, ग्यास विक्रेता संघ नेपाल, ग्यास बिक्रेता संघ जिल्ला समिति, एलपी ग्यास विक्रेता संघ, ग्यास विक्रेता संघ–२०५३, ग्यास व्यावसायिक संघ, खुद्रा ग्यास विक्रेता संयोजन समिति, खुद्रा ग्यास विक्रेता संघ, ग्यास वितरक संघ नेपाल र ललितपुर ग्यास विक्रेता परिवार संघजस्ता विविध रूपमा खुलेका ग्यास विक्रेता संगठनले विक्रेताको हक–अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता देखाए पनि विक्रेताको व्यावसायिक ग्यारेन्टीका लागि काम गरेका छन् ।
(ण) ग्यास उद्योग स्थापना गर्नासाथ स्थानीय बजारमा ग्यास बेच्न नसकेर तराईका सबै उद्योगले काठमाडौंमा ग्यास सिलिन्डर ल्याएका थिए, तर अहिले स्थानीय स्तरमै ग्यास खपत बढेको छ । उद्योगीले स्थानीय स्तरमा नयाँ सिलिन्डर बेच्ने आसले काठमाडौंबाट पुराना सिलिन्डर फिर्ता लैजान आनाकानी गरेका छन्, जसले गर्दा कारोबार गर्ने विक्रेता मारमा परेका छन् । विक्रेतासँग रहेका हजारौ सिलिन्डर सल्टाउन सास्ती खेपिरहेका छन् ।
(त) प्रत्येक ग्यास उद्योगले उपभोक्ता सुरक्षाका लागि तेस्रो पक्ष बिमा गर्नुपर्ने छ, केही कम्पनीले यस्ता कुरामा वास्ता गरेको देखिँदैन । दुर्घटना न्यूनीकरण गर्न ग्यास कम्पनी र विक्रेतासँग सुरक्षात्मक बृहत् बहस भएको देखिँदैन । विक्रेताको पनि सुरक्षाको ग्यारेन्टी कम्पनी र विक्रेताको सहकार्य गरी डिपोको बिमा गरेको छैन ।

 

राजेश भारती