हेमन्त बस्याल
बुधवार, मंसिर १३, २०७४
939

पुँजीबजारमा वित्तीय औजारको मूल्य त्यसले भविष्यमा दिने प्रतिफल र सो प्रतिफलको वर्तमान मूल्यको योग नेै उक्त धितोप्रत्रको वर्तमान मूल्य हो । धितोपत्रको मूल्यांकनमा सम्भावित प्रतिफल र सो प्रतिफलमा निहित जोखिम, प्रतिफलको सम्भावित वृद्धिदर र बजारको दीर्घकालीन ब्याजदरको पूर्वानुमानलगायतका तत्वो वहरूको मुख्य भूमिका हुन्छ । अर्थतन्त्रमा आउने विभिन्न परिवर्तनले धितोपत्रको सम्भावित प्रतिफल, प्रतिफलमा हुने वार्षिक बढोत्तरी र सो प्रतिफलमा निहित जोखिम तथा बजारको दीर्घकालीन ब्याजदर परिवर्तनमा विशेष भूमिका खेल्छ ।
नेपालको पुँजीबजारलाई हेर्दा हालसम्म पुँजीबजारको नवीनतम औजारहरूको प्रवेश भएको पाइँदैन । पुँजीबजारमा साधारण सेयरको बहुल्यता छ । ऋणपत्रहरूको खासेै काराबार नै हुँदैन भने ऋणपत्रको बजार अझै खोज हुन सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोलाई बजारको अवस्थाबमोजिम समायोजन गर्न समस्या पर्छ, जसले लगानिकर्ताको निहित जोखिमलाई वृद्धि गर्छ । यस परिप्रेक्ष्यमा लगानीकर्ताहरूले जोखिम व्यवस्थापनमा सेयरबजारभित्रैबाट आफ्नो पोर्टफोलियोलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । पुँजीबजारको चक्रलाई दृष्टिगत गर्दा पुँजीबजारले विभिन्न समयमा विभिन्न तरिकाले आफ्नो गति लिएको पाइन्छ । वार्षिक चक्र हेर्ने हो भने आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा पुँजीबजार केही सुस्त रहेको पाइन्छ । तेस्रो त्रैमासिकको अन्त्यदेखि चौथो त्रैमाससम्म बजार साधारणतया तेजीको अवस्थामा रहेको पाइन्छ । त्यस्तै लामो अवधिको समीक्षा गर्ने हो भने बजारले आफ्नो पूर्ण चक्र पूरा गर्न पाँचदेखि सात वर्षको अवधि लिएको इतिहास छ । बजारको यो चक्रलाई हेर्दा बजार सधैं समयको सीमामा चल्छ भन्नु गलत हुन सक्छ । पुँजीबजारलाई अर्थतन्त्रको लिडिङ इन्डिकेटरका रूपमा लिइन्छ । यसले समग्र अर्थतन्त्रले निकट भविष्यमा कुन दिशा तय गर्छ भनेर अनुमान लगाउन सकिन्छ । विगतको बजारको तेजीसमेत सो वर्षको अर्थतन्त्रको वृद्धिको पूर्वसंकेत थियो भन्दा अनुपयुक्त नहुन सक्छ । बजारको तेजीपश्चात् बजारमा आएको कर्जा संकट र त्यसले समग्र अर्थतन्त्रको विस्तारमा पारेको प्रभावका कारण विगत एक वर्षमा पुँजीबजारले तेजीको बाटो लिन नसकेको यथार्थलाई नकार्न सकिँदैन ।
नेपालको पुँजीबजारलाई नजिकबाट नियाल्दा बजारका विभिन्न इन्डिकेटरहरूलाई हेर्दा बजारमा तरलताको मात्रा र बजारको गति समान दिशामा गएको पाइन्छ । विभिन्न इन्डिकेटरहरूमध्ये तरलता मुख्य र प्रभावकारी इन्डिकेटरका रूपमा रहेको पाइन्छ । बजारमा तरलताको पूर्तिमा विभिन्न कारणले प्रभाव पार्छ । सरकारी खर्च, केन्द्रीय बैंकको मुद्रा प्रश्रयको नीति, वैदेशिक व्यापार सञ्चितिको अवस्था र कर्जा प्रवाहमा वित्तीय क्षेत्रको चुस्ती आदि कारणले तरलता प्रवाहमा मुख्य भूमिका खेल्छ । औपचारिक अर्थतन्त्र र अनौपचारिक अर्थतन्त्रमा मुद्राको प्रवाहले समेत बजारमा तरलता पूर्तिको अवस्थालाई प्रभाव पारिरहेको हुन्छ । नेपालजस्तो आयातमुखी अर्थव्यवस्थामा तरलता वृद्धिले उपभोगमा हुने वृद्धिसँगै आयातमा समेत वृद्धि हुने अवस्था रहन्छ भने तरलता वृद्धिले कर्जा प्रवाहमा समेत वृद्धि गरी लगानीको वातावरण सिर्जना गर्छ । साथै, कर्जाको लागतसमेत कम गर्न सहयोग पुग्छ । विगतमा बजार तेजीको अवस्थामा पनि अधिक तरलता र अर्थतन्त्रको सम्भावित वृद्धिकै कारणले देखिएको हो ।

निर्वाचन, अर्थतन्त्र र तरलता
विगतलाई हेर्दा निर्वाचन भएको वर्ष उपभोगमा आएको वृद्धिसँगै अर्थतन्त्रमा समेत बढोत्तरी भएको छ । निर्वाचनका बखत सरकारले समेत निर्वाचन प्रक्रियामा थप खर्च गर्छ । अल्पकालीन थप रोजगारीको समेत सिर्जना गर्छ । वैदेशिक दातृ निकायहरूसमेत निर्वाचनका लागि सहयोग कार्यक्रम, मतदाता सचेतना कार्यक्रम तथा निर्वाचन पर्यवेक्षणको नाममा विदेशी मुद्रा खर्च गर्छन् । सुस्त अवस्थामा रहेका स्वदेशी तथा विदेशी लगानीकर्तासमेत राजनीतिक स्थिरता तथा परिवर्तन र स्थायित्वको सम्भावनाका कारण थप लगानी गर्न पे्ररित हुन्छन् ।
साथै, वित्तीय प्रणालीभन्दा बाहिर अनौपचारिक अर्थतन्त्रमा रहेको तरलतासमेत निर्वाचनको समयमा बजारमा विभिन्न बहानामा खर्चिन्छ, जुन बिस्तारै औपचारिक अर्थतन्त्रमा प्रवेश गर्छ । त्यस्तै, अर्थतन्त्रभित्रै वा बाहिरका विभिन्न निहित स्वार्थ रहेका समूह, अर्थतन्त्र, राजनीतिक शक्ति तथा देशले प्रत्यक्ष वा अप्रत्यक्ष तवरले विभिन्न स्वार्थ मिल्ने राजनीतिक दलहरूलाई आर्थिक सहायता प्रदान गर्न सक्छ । यसरी समग्र अर्थतन्त्रमा आर्थिक क्रियाकलापले गति लिन पुग्छ । तरलताको पूर्तिमा बढोत्तरी आउँछ । निर्वाचनको समयमा विभिन्न माध्यमबाट थन्केर रहेको कालो धनसमेत नगदै खर्चिने भएका कारण पनि सो धन वित्तीय प्रणालीमा प्रवाह हुन्छ, जसले गर्दा निर्वाचनलगत्तै बजारमा तरलता वृद्धिको अवस्था देख्न सकिन्छ । यो अवस्थामा निर्वाचन सकिएको एकदेखि दुई वर्षसम्म रहन्छ । निर्वाचनले समग्र अर्थतन्त्रलाई थप चलायमान गराउने, सरकारी खर्च बढ्ने, अनौपचारिक क्षेत्रमा परिचालित तरलता औपचारिक क्षेत्रमा आउने साथै ट्रान्सफर पेमेन्टमा आउने वृद्धिले ब्यालेन्स अफ पेमेन्टमा समेत सकारात्मक प्रभाव पार्छ । साथै, राजनीतिक वातावरणमा सकारात्मक प्रभाव पार्ने अवस्थाले समग्र अर्थतन्त्र वृद्धिको अवस्था आउँछ । अर्थतन्त्रको विस्तारसँगै लगानीको वातावरण, कर्जाको आपूर्तिमा वृद्धि आदि कारणले कम्पनीको समग्र व्यवसाय विस्तारमा समेत थप सहयोग पुग्छ । तरलता वृद्धिले पुँजी लगतमा समेत कमी आउँछ, अर्थतन्त्र थप चलायमान हुँदा पुँजीबजारको समग्र जोखिमसमेत कम हुन्छ, जसले धितोपत्रको वर्तमान सुधार हुन आधारभूत तत्वहरूबाटै सहयोग मिल्छ ।
निर्वाचन हुँदै गर्दा र निर्वाचनपहिलेको अवस्थामा राजनीतिक दलका नेता–कार्यकताहरूले निर्वाचन प्रयोजनका निमित्त खर्च जुगाड गर्ने हेतुले आफ्नो सम्पत्ति बिक्री गरी वा बैंक मौज्दातबाट सो रकम नगदै संकलित गर्ने भएका कारण बजारमा थप धितोपत्रको आपूर्ति बढ्ने साथै वित्तीय क्षेत्रबाट नगद झिक्ने प्रवृत्ति बढ्ने कारण बजारमा तरलताको सञ्चारमा कमी देखा पर्नु स्वाभाविक हो, नगदमै सञ्चित धन निर्वाचनका बखत खर्च बिस्तारै हुन्छ । निवार्चनको एक–दुई दिनअगाडि धेरै मात्रामा खर्च हुने र सो खर्च भएको रकम बैंकिङ च्यानलसम्म आइपुग्दा केही समय लाग्ने कारण पुँजीबजारको गति सो अवधिसम्म सुस्त रहनुलाई सामान्य प्रक्रिया नै मान्नुपर्छ । केही लगानीकर्ता निर्वाचनको परिमाण र त्यसले पार्न सक्ने प्रभावका कारण पर्ख र हेरको अवस्थामा समेत रहेको पाइन्छ । यदि निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भयो भने पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्तासमेत बजारमा प्रवेश गर्नेछन्, जसले बजारमा माग वृद्धि गर्न थप सहयोग गर्छ । यस अर्थमा निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा बजारले स्पष्ट गति नलिए तापनि निर्वाचन सम्पन्न भएपश्चात् बजारले आफ्नो गति लिनेछ ।

निर्वाचन परिणम र पुँजीबजारमा प्रभाव
साधारणतया लगानीकर्ताहरूको सेन्टिमेन्ट लोकतान्त्रिक पार्टी सरकारमा आयो भने पुँजीबजारमा वृद्धि आउँछ भन्ने देखिन्छ । लोकतान्त्रिक पार्टीहरू अर्थतन्त्रप्रति अलि खुला तथा उदार धारणा राख्छन् । कम्युनिस्टहरू खुला अर्थतन्त्रको विपक्षमा वकालत गर्छन् । तर, नेपालको परिप्रेक्ष्यमा कम्युनिस्ट पार्टीहरूसमेत पुँजीवादी अर्थतन्त्रको पक्षमा वकालत गर्ने दलका रूपमा अगाडि छन् । साथै, योजनाबद्ध विकास नीतिको सूत्रपात तथा हिमायतीका रूपमा कम्युनिस्टहरू रहने हुँदा यदि निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण तवरले सम्पन्न भएको अवस्थामा जुनसुकै दल सरकारमा आए पनि आर्थिक विकास ती दलहरूको पहिलो एजेन्डाका रूपमा रहनेछ । उनीहरूको पहिलो सुधारको मार्ग पुँजीबजार नै हुनेछ । तसर्थ कुनै दलले स्पष्ट बहुमत ल्याएको अवस्थामा त्यो जुनसुकै दल किन नहोस पुँजीबजार अर्काे छलाङ मार्ने दाउ पर्खेर बसेको छ भन्दा अनुपयुक्त हुँदैन । विगतलाई हेर्ने हो भने पुँजीबजार परिसूचक कम्युनिस्ट सरकारमै भएका बेला सबैभन्दा माथि पुगेको देख्न सकिन्छ । निर्वाचन परिणाम आएको केही दिनसम्म बजारमा यस्ता हल्लाले केही प्रभाव पार्ने प्रयत्न हुन सक्छ, जुन क्षणिक छ र तथ्यले त्यसलाई समर्थन गर्दैन । साथसाथै पुँजीबजार सुधारका लागि अनलाइन कारोबार प्रणाली, मार्जिन ट्रेडिङको व्यवस्थालगायतका अन्य पूर्वाधार विकास र नीतिगत निर्णयका कारण पनि आगामी वर्ष पुँजीबजारको स्वर्ण काल हुने कुरालाई नकार्न सकिँदैन ।