भेष नारायण श्रेष्ठ
शुक्रवार, मंसिर ८, २०७४
8875

२० औं शताब्दीमा तीनवटा दर्शन बहुत चर्चामा रह्यो, पुँजीवाद, समाजवाद र सम्यवाद । यो सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग–अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ ।

पुँजीवादी व्यवस्था
भोलि के खाने भन्ने सोचको विकाससँगै यो व्यवस्था आएको हो । कुनै पनि आर्थिक व्यवस्थाले उत्पादन गर्छ । यो सरकारको अधीनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने, त्यो उसलाई छुट हुन्छ । राजनीतिक, सामाजिक र आर्थिक प्रणाली उत्पादन र बजार प्रणालीको माध्यम निजी स्वामित्वमा आधारित हुन्छ । यो नाफाको दृष्टिले परिचालित हुन्छ । पुँजीवादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा छोडिएको हुन्छ । कुनै पनि व्यक्तिले वस्तु किन्न पनि सक्छ, तुरुन्त बेच्न पनि सक्छ । पुँजीवादलाई नाफामा घ्यान दिने व्यवस्था पनि भन्न सकिन्छ । संसारको इतिहासमा सबैभन्दा प्रयोग गर्दै आएका पुँजीवादी दर्शन हो । पुँजीवादी व्यवस्थाको काम यो हो कि फाइदा कसरी गर्न सकिन्छ । यो व्यवस्थामा मजदुर धैरै हुन्छन् । मालिक भने कम हुन्छन् । बिल गेट्स, मुकेश अम्बानी, नेपालका चौधरी ग्रुप यी सबै पुँजीवादी व्यवस्थाले जन्माएका मालिक हुन् । पुँजीवादी व्यवस्थामा सबैभन्दा चर्चित पुस्तक सन् १७७६ मा एडम स्मिथले लेखेको ‘द वेल्थ अफ नेसन्स’ हो । व्यक्तिले समाजमा बसेर आय आर्जन गर्छ । मानिसले पैसा कमाउँदैन भने ऊ जंगलमा गएर बसे हुन्छ भन्ने उनले तर्क दिए । यो दर्शनले लोकतन्त्र, प्रजातन्त्र मान्छ ।

समाजवादी व्यवस्था
यो सिद्धान्त १९ औं शताब्दीको १८३० बाट १८६० सम्म बहुत आदर्शका रूपमा रहँदै आयो । समाजवादी सिद्धान्त जन्मेपछि साम्यवादी सिद्धान्त आएको हो । दुनियाँमा जति पनि नयाँ देशहरू छन्, केही न केही थोरै–थोरै रूपमा तिनले समाजवाद प्रयोग गरेको देखिन्छ । पुँजीवादमा ५० जना मजदुरले एउटा कुनै फ्याक्ट्रीमा १० लाख कमाइ भएमा ८ लाख कम्पनी मलिकको हातमा पर्छ भने २ लाख मजदुर अथवा कामदारले ज्याला पाउँछन् । तर, समाजवादमा के हुन्छ भने ५० जनाकै हातमा त्यो १० लाख बराबर पर्छ । यसलाई जनकल्याण नीति पनि भनिन्छ । समाजवादमा सबैको बराबर अवसर हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

साम्यवादी व्यवस्था
कम्युनिस्ट सिद्धान्त दर्शन भनेको साम्यवादी व्यवस्था हो । गएको १ सय वर्षमा कैयांै देशमा विभिन्न तरिकाले यसको व्याख्या गर्दै आएको पाइन्छ । यो व्यवस्थामा राजा हुँदैन, एकदलीय शासन व्यवस्था हुन्छ । लोकतन्त्र, प्रजातन्त्र हँुदैन, कुनै विपक्षी पार्टी हुँदैन, नेता हुँदैन । घर, गाडी निजी केही हुँदैन । ३ करोड जनता भएमा सबै जनताका प्रतिनिधि, सबै जनता हुन्छन् । यो व्यवस्था कसरी आउन सक्छ त ? क्रान्ति, द्वन्द्व, वर्गसंघर्ष । मारकाट र रक्तपातको माध्यमबाट मात्र सम्भव हुन्छ भनिन्छ । जति रगतको खोलो बग्छ यो व्यवस्था अब परिबर्तन भयो भनेर खुसी हुन्छ र मात्र कम्युनिस्ट सिद्धान्त आउँछ भनिन्छ । यस व्यवस्थामा सिद्धान्ततः कोहीसँग पैसा पनि हुँदैन, मालिक पनि हुँदैन । सबै कुरा जनताको हो, सबै जनता हो । २० औं शताब्दीमा कार्लमाक्सको यो सिद्धान्त संसारभर चर्चित बन्यो । १८१८–१८८३ मा यिनले ठूला–ठूला राष्ट्र गतिविधि हेर्दै ५० वटाभन्दा बढी अफ्रिकी राष्ट्र घुमेर राजनीतिक र दार्शनिक विचारधारा लेखे । ४०–५० को दशकमा संसारभरि धैरै देशले कम्युनिष्ट सिद्धान्त प्रयोग गरेको पाइन्छ । संसारलाई सुरु–सुरुमा यो सिद्धान्त मन प¥यो । रूस, क्यूबा, नकराबा, चीन, लाओस, भियतनाम, उत्तर कोरिया, भेनेजुएला, कम्बोडिया आदि देशमा क्रान्ति सुरु भयो, तर आर्थिक रूपमा चीनबाहेक कुनै पनि देश सम्पन्न हुन सकेनन् । कार्ल माक्र्सको सिद्धान्त परिवर्तनमा आधारित छ । तर, यिनले लेखे मात्र, व्यवहारमा भने लागू गरेनन् । लेनिन, स्टालिन र माओले यो विचारधारा अँगाल्दै व्यवहारमा ल्याएको पाइन्छ । साम्यवादी व्यवस्थामा मालिक कोही हुँदैन, जनता नै सबै हुन्छ । कुनै किसिमको वर्ग हुँदैन, कुनै भेदभाव हुनु हुँदैन । कोही ठूलो–सानो हुँदैन । साम्यवादमा सरकार हुँदैन, कुनै शासन–व्यवस्थाको जरुरत पर्दैन । साम्यवादी व्यवस्था असफल हुँदै गयो । शक्तिशाली सोभियत संघमा कम्युनिष्ट विचारधारा असफल भयो । खेतमा काम गर्न जाऊ या फ्याक्ट्रीमा या कम्पनीमा, समान ज्याला हुने भयो । उदाहरणका लागि प्रतिव्यक्ति ४ हजार ज्याला भएमा जति नै दुःख गरे पनि उसको तलब ४ हजारबाट ५ हजार कहिल्यै नहुने । सबै बराबर हुने भएपछि मान्छेले मेहनत नै गर्न छेडे । मेहनत गरे पनि ४ हजार, नगरे पनि ४ हजार । ४ सय केजी आलु उत्पादन हुने ठाउँमा बढी मेहनत गरेर ५ सय केजी उत्पादन गरे पनि १ सय केजी बढी उत्पादन गरेछौ भनेर न कसैले जस दिन्छ, न गुनगान गाउँछ । यस्तै हिसाबले मान्छेलाई दिक्क लागेर जनताले मेहनत नै गर्न छाडे ।
अमेरिकी पुँजीवादी व्यवस्था संसारमा सबैभन्दा बढी प्रयोग गरेको पाइन्छ । पुँजी, उद्योगधन्दा, कलकारखाना बढाउन नसकिएको खण्डमा कसरी समाजको आर्थिक व्यवस्था चल्छ भन्ने सोचविचार अँगाल्दै आर्थिक र सैनिक क्षेत्रमा शक्तिशाली बन्दै गयो । यो देशमा सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । अमेरिका विश्वको सबैभन्दा सभ्य र विकसित देश बन्न गयो । साम्यवादी शासन भएको देशमा जनतामा नैराश्य छाउन थाल्यो । फलतः नयाँ चिजको विकास शून्य हुँदै गयो । मान्छेलाई सबैभन्दा ठूलो कुरा लोभ हुनु जरुरी छ । साम्यवाद असफल हुनुको अर्को कारण प्रतिस्पर्धा नहुनु हो । प्रतिस्पर्धा नहुँदा अल्छीपनको विकास हुँदै गयो । साम्यवाद समाजवादको अंश हो, समाजवादको एउटा सोच हो, हरेक समाजवादी साम्यवादी हुन सक्छन्, हरेक साम्यवादी समाजवाद हुन सक्दैनन् । दुनियाँमा जति पनि कम्युनिस्ट विचारधारा छन्, ती सबै माक्र्स र लेनिन विचारधाराअन्तर्गत रहँदै आएका छन् । माओवादपछि चीनमा अलि छुट्टै किसिमको विचारधारा आयो । यसलाई पुँजीवाद र समाजवादको केही अंशका रूपमा लिन सकिन्छ । माक्र्सवाद लेनिनवाद कम्पनी कारखानासँग बढी सम्बन्धित थियो भने माओवाद किसान, खेतसँग सम्बधित थियो । त्यति बेला चीनमा उद्योग, कलकारखाना त्यति थिएनन् । चीनको क्रान्ति नै किसानले मात्र गरेका थिए । माओले साम्यवादी व्यवस्था सुरु गरे । माओलाई चीनमा भगवान्सरि पुज्दै आए पनि उनको पालामा अर्थतन्त्र शून्य भयो । माओको एउटा सिद्धान्त थियो— शक्ति बन्दुकको नालबाट जन्मन्छ । माओले प्रजातान्त्रिक विचारधार प्रयोग गरे पनि कम्युनिस्ट विचारधारामा लोकतन्त्र उसको सबैभन्दा ठूलो शत्रु हुन्छ । १९६६ मा जब माओको देहावसान भयो, त्यसपछि देङ ज्याओले पुँजीवादी र समाजवादी विचारधारालाई अँगाल्दै कलकारखाना, उद्योगधन्दा खोल्ने वातावरण बनाए । त्यसैको प्रतिफल आज चीन संसारकै समृद्ध मुलुक बन्दै छ । कम्युनिस्ट सिद्धान्त भनेको विज्ञान हो । जति पनि राज्यको स्रोतसाधन छन् समान हुन्छन्, तर यो वैज्ञानिक विचार, व्यावहारिक संसारमा कमजोर हुँदै गयो ।
नेपालकको हकमा भने साम्यवादी विचार भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले पनि बहुत कठिन देखिन्छ । २००६ सालमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे, तर पछि आएर धैरैले आ–आफ्नो ढंगले विश्लेषण गर्दै आएको पाइन्छ । नेकपा एमालेका मदन भण्डारीले बहुदलीय जनवादी अवधारणा ल्याए । यो भनेको के हो भने बहुदल मान्छु, प्रजातन्त्र मान्छु, लोकतन्त्र मान्छु, इमानदार भएर बसे भने राजा पनि मान्छु भन्ने अवधारणा हो । यो अवधारणापछि नेपालमा कम्युनिस्टको संख्या पनि बढेको हो भन्ने विश्लेषण गरिन्छ, तर यो अवधारणालाई लत्याएर माओवादीले हतियार उठायो । साम्यवादको नारा दियो, तर अहिले यो नाराबाट ऊ पनि पछि हटेको छ । त्यसैले अहिले माओवादी फुटेर टुक्राटुक्रा भएको छ । नेपालका ९० प्रतिशत जनताले राजनीति बुझेको देखिँदैन । कोही क्षेत्रीको रिसले बाहुनलाई तह लगाउने एउटा राजनीतिक व्यवस्थामा लागेको देखिन्छ भने कोही क्षेत्रीलाई तह लगाउन अर्को पार्टीमा लागेको छ । कोही नाता पर्ने, कोही होहल्ला गर्ने तरिकाले लागेको देखिन्छ, कोही साथीभाइको नजरमा असल बन्न तथा कोही अवसर कता मिल्छ त्यतै हाम फाल्ने क्रम जारी छ । यही कारण नेपालमा राजनीतिक चिन्तनभन्दा पनि विशेष रुचिका कारण पार्टीको पछि लाग्नेको संख्या बढी छ । त्यही भएर अहिले राजनीति सिद्धान्तबाट मोडिएर अवसरवादतर्फ लम्किएको हो ।