राजविक्रम थापा
आइतवार, मंसिर ३, २०७४
806

सेयर बजार गतिशील प्रकृतिको हुने भएकाले बजारमा सेयरको मूल्य उतारचढाव हुनुलाई स्वाभाविक नै मानिन्छ । सर्वसाधारणले सूचीकृत कम्पनीमा गरेको सेयर लगानीलाई जुनसुकै परिस्थिति र समयमा बजारी प्रक्रियाबाट तय भएको मूल्यमा खरिदबिक्री हुने कुराको प्रत्याभूति चलायमान सेयर बजारबाट मात्रै सम्भव हुन्छ । नेपालको सेयर बजारमा वास्तविक क्षेत्रका नाफामूलक कम्पनीहरू सूचीकृत हुन नसकी लगानीको क्षेत्रमा विविधीकरण हुन नसकेकै कारण लगानीकर्ताले प्रभावकारी पोर्टफोलियो व्यवस्थापनकोे विकल्प प्राप्त गर्न सकेको देखिदैन । कुनै एक क्षेत्रले अपेक्षित प्रगति गर्न नसक्दा वा समस्या बेहोर्दा समग्र सेयर बजार र यसका लगानीकर्ता पीडित हुने गरेको अवस्था देखिन्छ । प्रस्तुत सन्दर्भमा नेपाली सेयर बजारको कुल कारोबारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था एवम् वित्तीय क्षेत्रमा बदलिँदो परिदृश्यका कारण सेयर बजारमा परेको प्रभावबारे संक्षिप्त चर्चा गर्ने प्रयास यस लेखमा गरिएको छ ।

सेयर संरचनामा वित्तीय संस्थाको अवस्था
नेपालको सेयर बजारको संरचनामा बैंक तथा वित्तीय संस्थाको प्रभाव उल्लेख्य रहने गरेको छ । वि.सं २०७२ असारमा सूचीकृत २ सय ३२ कम्पनीमध्ये १ सय ७६ बटा बैंक तथा वित्तीय संस्था मात्रै थिए । कुल वार्षिक कारेबारमा बैंक तथा वित्तीय संस्थाको ६१ प्रतिशत रहेको थियो । तीन वर्षपछि मर्जर तथा एक्विजिसन नीतिका कारण वित्तीय संस्थाको संख्यामा कटौती भई वि.सं २०७४ असारमा कायम रहेका २ सय ८ वटा सूचीकृत कम्पनीमध्ये १ सय ४३ वटा यस्ता संस्था छन् भने तिनीहरूको वार्षिक कारोबारको हिस्सा ६३ प्रतिशत नै कायम भएको छ । यस अवधिमा बिमा क्षेत्रको कारोबारको अंश १३ प्रतिशतबाट २४ प्रतिशत पुगे पनि धेरै लघुवित्त वित्तीय संस्थाहरूको प्रवेश र सेयर मूल्यमा आएको वृद्धिसमेतले गर्दा समग्र सेयर बजारमा वित्तीय संस्थाको वर्चस्व कायम नै रहेको देखिन्छ । केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त वित्तीय संस्थालाई करिब चार गुणा चुक्ता पुँजी थप गर्न निर्देशन दिएका कारण पछिल्लो तीन वर्षको अवधिमा यस क्षेत्रको सूचीकृत सेयरमा सोही अनुपातमा वृद्धि भएको देखिन्छ ।

प्र्रकाशित वित्तीय विवरणको प्रभाव
सुरुमा लगानीकर्ताहरूले वित्तीय संस्थाहरूको विगतको लाभांश वितरण दरसमेतलाई विश्लेषण गरी हकप्रद सेयरमा लगानी गर्ने गर्दै आएकोमा पुँजीवृद्धिको अनुपातमा बैंक तथा वित्तीय संस्थाहरूको प्रतिफल बढ्न सकेको देखिँदैन । बजारमा यस्ता कम्पनीको माग घट्न गई झन्डै एक वर्षदेखि बैंकिङ इन्डेक्स स्थिरजस्तै रहेको छ भने साविकका लगानीकर्ताले हकप्रद सेयरमा समेत लगानी गर्न उत्साह नदेखाएका कारण नबिकेका सेयर लिलामीमा बेच्नसमेत कम्पनीलाई हम्मे पर्ने गरेको अवस्था बजारमा विद्यमान छ । यसै सन्दर्भमा गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी अनुपातमा पुँजीवृद्धि गरेको वित्तीय संस्थाहरूको आर्थिक वर्ष ०७४÷७५ को पहिलो त्रैमासको प्रकाशित वित्तीय विवरणले लगानीकर्ता थप हतोत्साही हुन पुगेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २८ मध्ये २७ वटा वाणिज्य बैंकको वार्षिक प्रतिफल दरमा व्यापक गिरावट आएको देखिन्छ । अझै यसअघि राम्रै लाभांश वितरण गर्दै आएका हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौं लगायत १० वटा बैंकको तुलनात्मक रूपमा मुनाफा रकममा नै गिरावट आएको देखिन्छ । मुनाफामा गिरावट आउनुको प्रमुख सैद्धान्तिक कारण पुँजीवृद्धिको तुलनामा छोटो समयमा व्यापार विस्तार हुन नसक्नुलाई नै मानिएको छ भने बैंकहरूले दीर्घकालीन कोष व्यवस्थापनका लागि सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रादेशिक सभाको चुनावको परिणामलाई पर्खेका कारण पनि हुन सक्छ ।

वित्तीय परिसूचकको तुलनात्मक अवस्था
बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी २०७४ असार मसान्तमा करिब रु. १ सय ४१ अर्ब रहेकोमा पछिल्लो दुई वर्षको अवधिमा ५९.५७ प्रतिशतले वृद्धि भई रु. २ सय २५ अर्ब पुगेको छ भने केन्द्रीय बैंकको निर्देशनअनुरूप चुक्ता पुँजी कायम गर्ने सन्दर्भमा २०७४ असार मसान्तसम्म १ सय १२ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर ४३ संस्था कायम भएका छन् । तोकिएको पुँजी कायम गर्न अझै एकतिहाइ रकम चुक्तापुँजीमा थप हुने अनुमान गरिएको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३४.५९ प्रतिशतले बढेर पछिल्लो दुई वर्षको अवधिमा रु. २ हजार ३ सय ८५ अर्ब पुगेको छ भने कुल कर्जा रकममा ४२.६४ प्रतिशतले वृद्धि भई रु. १ हजार ९ सय ७७ अर्ब पुगेको देखिन्छ । यस अवधिमा बैंकको कर्जाबाहेकको कुल लगानीमा १२.६२ प्रतिशत वृद्धि भई रु. २ सय ३३ अर्ब पुगेको देखिन्छ । २०७३ असारमा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७९.८० प्रतिशत रहेकोमा २०७४ असारमा सो बढेर ८३.६४ प्रतिशत पुगेको देखिन्छ । समग्र वित्तीय क्षेत्रको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षमा २.८९ प्रतिशत रहेकोमा २०७४ मा २.६३ रहको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको तरल सम्पत्ति र निक्षेपको अनुपात ३० प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

ब्याजदर र कर्जा उपलब्धताको अवस्था
बैंकिङ क्षेत्रमा तरलता चक्र निकै कम समयावधिमा परिवर्तन हुने गरेको छ । पछिल्लो समयमा निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर निकै बढी छ । विगत तीन वर्षको उपलब्ध तथ्यांकलाई दृष्टिगत गर्दा पनि निक्षेप ३४.५९ प्रतिशतले बढ्दा कर्जा रकममा ४२.६४ प्रतिशतले बृद्धि भएको देखिन्छ । चालू आवको प्रथम दुई महिनाको तथ्यांक हेर्दा निक्षेप र कर्जाको वृद्धिदर उस्तै रहेको देखिन्छ । विप्रेषण आप्रवाहमा देखिएको सुस्ती र आयातमा भएको उल्लेख्य वृद्धिका कारण अपेक्षित रूपमा निक्षेप बढ्ने अवस्था देखिँदैन । बढ्दो कर्जा निक्षेप अनुपातका कारण बैंकहरूले थप कर्जा प्रवाह गर्न सहज रहेको अवस्था देखिँदैन । २०७४ भदौमा वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने भारित औसत ब्याजदर ६.१५ प्रतिशत र कर्जामा लिने भारित औसत ब्याजदर ११.३३ प्रतिशत रहेको देखिन्छ । २०७३ भदौको औसत आधार ब्याजदर ६.२३ प्रतिशत रहेकोमा २०७४ भदौमा १०.१३ प्रतिशत पुगेको देखिन्छ । यसका अतिरिक्त २०७४ असारमा सेयर धितो कर्जामा ४० अर्ब, ओभरडाफ्ट कर्जा रु. ३ सय ५९ अर्ब र चालू पुँजी कर्जा रु. ४ सय ४ अर्ब लगानी भएको देखिन्छ । यस्तो अवस्थामा व्यवसाय विस्तारका लागि बैंकहरूले कर्जा विस्तार गर्ने प्रयत्न जारी राखे पनि सहज देखिँदैन भने बढ्दो ब्याजदरका कारण अल्पकालीन कर्जा प्रवाहको अवस्था पनि देखिँदैन ।

सेयर बजारमा प्रभाव
उल्लिखित तथ्यांकहरूका आधारमा विश्लेषण गर्दा वित्तीय क्षेत्रमा भएको नीतिगत परिवर्तन र परिसूचकहरूका कारण बैंक तथा वित्तीय संस्थाका सेयर कारोबारमा सकारात्मक र नकारात्मक दुवै खाले प्रभाव देखिन्छ । सुरुमा बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धिका कारण सेयरको माग बढन गई सेयरको मूल्यमा उल्लेख्य वृद्धि भएको देखिन्छ, तर पुँजी योजना कार्यान्वयनपछिको अवस्थामा सेयरको आपूर्ति बढ्नुका साथै उक्त क्षेत्रबाट प्राप्त हुने प्रतिफलदरमा ह्रास आउन थालेका कारण वित्तीय संस्थाहरूको सेयरको बजार मूल्यमा गिरावट आएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले राम्रै लाभांशको घोषणा गर्दासमेत सेयरको मूल्यमा सुधार आउन सकेको देखिँदैन । यस्तो अवस्थामा सेयर बजारमा लगानी गरी अल्पकालीन मुनाफा आर्जन गर्न चाहने लगानीकर्ताहरूका लागि विकल्पहरू बन्द भएको देखिन्छ । तर, दीर्घकालीन योजना बनाएर बजार प्रवेश गर्नेहरू भने हालको अवस्थाप्रति उत्साहित भएको तथ्य बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयरमार्फत नबिकेका सेयर लिलामीमा सकार गर्दाको बजार मूल्यभन्दा बढीमा मूल्यमा ठूलै परिमाणमा सेयर सकार गर्ने प्रवृत्तिले पुष्टि गरेको छ । अघिल्लो वर्षको तुलनामा सेयर धितो कर्जा, ओभरडाफ्ट कर्जा, चालू पुँजी कर्जामा देखिएको वृद्धिसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धिका लागि कुनै न कुनै रूपमा बैंक कर्जाको उपयोग भएको तथ्यलाई नकार्न सकिँदैन । यस्तो अवस्थामा आधार ब्याजदरभन्दा माथि कर्जाको ब्याज तोकिने नीतिगत व्यवस्था रहेको सन्दर्भमा सेयर लगानीबाट प्राप्त प्रतिफलबाट कर्जाको ब्याज भुक्तानी गर्न सक्ने अवस्था रहँदैन । जसले गर्दा सेयर बिक्रीको चाप बढ्ने र कतिपय लगानीकर्ता टाट उल्टन गई बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको अंश बढ्ने सम्भावना पनि उत्तिकै रहेको छ । यसले पुनः वित्तीय क्षेत्रको सेयर कारोबारमा प्रतिकूल असर पर्ने सम्भावना देखिन्छ । अर्कातर्फ, छिटै सम्पन्न हुन गइरहेको निर्वाचनमा सबै राजनीतिक दलले आर्थिक रूपान्तरणलाई प्रमुख महत्व दिएको अवस्थामा चुनावपछि स्थिर सरकार बन्ने, बैंक तथा वित्तीय संस्थाको कारोबारको दायरा बढ्ने, लगानीको वातावरण बनेर वैदेशिक लगानी भित्रिन सक्ने, कृषि, जलविद्युत्, पर्यटनमा लगानीवृद्धि भई रोजगारीको अवसर सिर्जना हुने, धितोपत्रको अनलाइन कारोबार हुने, ब्रोकरमार्फत मार्जिन ल्यान्डिङ सहज हुने आदि सम्भावनाका आधारमा सेयर बजार थप सुदृढ र दिगो हुने अवस्थालाई पनि नजरअन्दाज गर्न सकिँदैन ।