झलनाथ खतिवडा
सोमवार, असार २९, २०७७
350

बंगालको खाडीबाट उत्पन्न भएको चक्रावत सुरु भएसँगै अहिले नेपालमा मनसुन प्रारम्भ भइसकेको छ ।

नेपाल एक भौगोलिक विविधताले भरिएको मुलुुक हो । नेपालमा समुद्री सतहबाट होचो भूभाग र संसारकै अग्लो सर्वोच्च शिखर सगरमाथा पनि रहेको सबैमा विदितै छ । यसर्थ यस देशलाई प्राकृतिक सम्पदाले भरिएको र सबै प्रकृतिको हावापानी पाइने देश भनेर पनि चिनिन्छ ।
नेपालमा बंगालको खाडीबाट चक्रवात सुरु भएपछि मनसुन सुरु हुन्छ । बंगालको खाडीबाट उत्पन्न भएको चक्रावत सुरु भएसँगै अहिले नेपालमा मनसुन प्रारम्भ भइसकेको छ । यस समयमा नेपालमा विगत वर्षहरूमा देखिएको नेपालको पहाडी भूभागमा बाढीपहिरो र नेपालको तराई क्षेत्रमा डुबान हुने गरेको घटनाबाट यस वर्ष हामीले बेलैमा सावधानी अपनाई यस्ता विपत्तिको सामना गर्न हामी सबै तयारी बन्नुपर्ने देखिएको छ ।

नेपाल रहेका अधिकांश नदीनाला हिमाली क्षेत्रबाट तराईका जिल्ला भएर दक्षिणी भारतका विभिन्न जिल्ला हुँदै समुद्रसम्म पुग्ने भएकाले ती नदी आसपासमा रहेका सहर, गाउँबस्तीहरू उच्च जोखिममा पर्ने गरेको देखिएको छ ।
नदीमा आउने भेलले नदी किनारामा तटबन्ध नहुँदा बस्तीमा नदीनाला पस्ने गरेको र करोडौंको धनजनको क्षति भएको उदाहरण हामीले विगतका वर्षहरूमा देखिसकेका छौं । त्यसैले त्यस्ता जोखिम क्षेत्रहरूको पहिचान गरी त्यस्ता क्षेत्रका नागरिकको जीउधनको सुरक्षा प्रदान गर्न सम्बन्धित निकायलाई हार्दिक आह्वान गर्छौँ ।
उदाहरणका लागि राजधानीबाट बग्ने वाग्मती, विष्णुमती, टुकुचा, धोबीखोला, मनोहरा र हनुमन्ते खोलाहरूमा आउने बाढीले ती खोला आसपास बस्ने नागरिकलाई पानी परेपछि अब के होला भनेर त्रासमा बस्न बाध्य गराएको छ । साँँघुरो तटबन्ध अनि तटबन्धसँगै जोडिएको बस्ती र नजिकै रहेको बस्ती पनि पुरेको माटोमाथि ठडिएका गगनचुम्बी महल ती नदीमा आउने भेलमा परी भत्किने गरेको अघिल्ला वर्षको केही घटना अहिले पनि मनमा ताजा नै छ । त्यसैगरी भक्तपुरमा बहने हनुमन्ते नदीको दोहनले त नयाँ ठिमी, राधेराधे आसपासका बस्तीमा सधैंधरि वर्षाको समयमा घरघरमा दुई–तीन फिट पानी घरभित्रै पस्ने र राजमार्गबाटै नदी बगेको दृश्य आज पनि ताजा नै रहेको छ ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । यो एउटा राजधानीमा देखिएको समस्या हो । यस्ता समस्या मोफसलका नदीनालाहरूमा झन् बढी रहेकाले यस्ता समस्या समाधान गर्नु आजको प्रमुख आवश्यकता रहेको देखिएको छ ।
नेपालका अधिकांश सहर वैज्ञानिक हिसाबले अव्यवस्थित रहेका छन् । सहर छेउछाउमा रहेका नदीनालाको दोहन गरी घर बनाउने र खोलाको भाग साँघुरो बनाई संरचना निर्माण गरेको र वर्षादको समयमा ती नदीनालामा बहनका लागि सतहमा पानी नअटेर बस्तीमा बाढी पसेको हामीले देखेका र भोगेका पनि छौं । त्यसैले बाढीपहिरोबाट हुने धनजनको क्षतिप्रति हामी नागरिक, स्थानीय सरकार, प्रदेश र संघीय सरकार जिम्मेवार हुन र नागरिकको सुरक्षामा चासो राखी अकालमा नागरिकको मृत्युु हुनबाट बनाउनुपर्छ ।