कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
516

पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो; त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व–मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै–यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत विश्वमा ठूल्ठूला सङ्घर्ष भएका छन् । हामीलाई थाहा छ, नूतन राज्यसत्ता प्राप्त गर्ने क्रान्तिकारी प्रक्रियामा बलिदान अनिवार्य हुन्छ । तिनमा आ–आफ्ना समयका महान् स्पार्टाकसहरूले बलिदानको अपूर्व कीर्तिमान कायम गर्दै आएका छन् । स्पार्टाकसहरू तिनै श्यामकर्ण हुन्, जहाँ लाखौँले महान् बलिदानको कोटा चुक्ता गरेका थिए ।
यो दल र ऊ दलको के कुरा । यो नेता र ऊ नेताको पनि के कुरा । संसदीय फाँटका अधिकांशको एउटै मनसुवा देखिन्छ– आफ्ना कार्यकर्ताले बिजुलीको चम्काइ र आँखा झिम्क्याइमा काम फत्ते गरून् । सोच्नुपर्नेहरूले सोच्दैनन् कि कुनै दिन श्यामकर्णीहरूले हात उठाए के होला ? जनता र नेता जोड्ने कार्यकर्तारूपी श्यामकर्णी पुल भाँच्चिए के होला ? के राजनीति एकाध मान्छेलाई अमिर बनाउने अभियान हो र ? हुँदा खाने र हुनेखानेका बीचको यो विश्व–लडाइँको भोक, शोक र सोखका बीचको आयतन कति होला ? नेपाली समाजमा आज पनि एउटा द्वन्द्व छ— जनयुद्ध लडेको वा नलडेको भन्ने । जनयुद्ध लडेकाले आफूलाई अब्बल ठान्छ र नलडेकोलाई हेप्छ । जनयुद्ध नलडेकाले पनि आफूलाई अब्बल ठान्छ र लडेर आएकोलाई कम आँक्छ । आज पनि माओवादीवृत्तमा यो मनोयुद्ध चलिरहेको छ । अन्तर्घुलन, सम्मिलन र भावनात्मक एकतामा गम्भीर समस्याका कारण माओवादीमा गुट–उपगुट संस्थागत हुँदै पटक–पटक विभाजनबाट गुज्रनुप-यो । माओवादी आन्दोलन सच्चा कम्युनिस्ट र नयाँ मान्छे बनाउने प्रक्रिया पनि थियो । तर, आज कतिपय अवस्थामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको कुरा गर्न पनि अनुपयुक्तजस्तो हुन थालेपछि कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बन्नु ? कसरी नयाँ मान्छे र सच्चा कम्युनिस्ट बनाउनु ?

नेपाल यस्तो देश हो, जहाँ सङ्कटको घडीमा कालोबजारी उद्योगपतिहरूलाई सरकारद्वारा पाँचतारे सुविधा दिइन्छ, तर निर्दोष, उत्पीडित तथा श्रमजीवीहरूलाई झुट्टा मुद्दा लगाएर जेल–हिरासतमा कोचिन्छ । यहाँ विभिन्न नाममा लिट्रेचर फेस्टिभल चलाइन्छ, जहाँ प्रगतिशीलताको आवरणमा प्रगतिशीलताकै हुर्मत लिइन्छ । बालुवाटारमा बसेर देशको कार्यकारी प्रमुख भ्रष्टाचारविरुद्ध कविता लेख्छन् तर उनैले आफूवरिपरि छताछुल्ल भएको भ्रष्टाचारीको संरक्षण गर्छन् । यहाँ बाँकावीरदेखि भट्टेडाँडा आक्रमणको तस्बिर लिने वरिष्ठ फोटो पत्रकार अरुणदत्त पन्तहरू गुमनाम हुन्छन् । हामी फेसबुक हेर्न मरिहत्ते गरिरहेका हुन्छौँ, तर त्यही फेसबुकले विश्वभरिका क्रान्तिकारी र साम्राज्यवादविरोधीहरूको साझा आवाजको संवाहक माओइस्ट रोडलाई ब्लक गरेको छ, उसले नेपाललगायत विश्वका क्रान्तिकारीहरूका समसामयिक गतिविधिलाई महŒवका साथ स्थान दिँदै आएको थियो । फेरि, नेपालका शासकहरू कत्तिसम्म उत्ताउला भने राजनीतिक विश्लेषक आहुतिले भनेजस्तै भर्खर–भर्खर कराँते सिक्न लागेको सिकारुले मकैको पातमा किक हान्दै हिंडेजस्तो । आजका श्यामकर्णहरू संसदीय दलका तिनै नेताले मकैको पातमा किक हानेको हेरेर भरपुर मनोरञ्जन लिइरहेका छन् ।
भनिन्छ, मौनतामा ठूलो शक्ति हुन्छ, कतिपय प्रश्नको उत्तर पनि मौनतामा नै हुन्छ । जनता समकालीन व्यवस्थाको अस्वीकृतिको मौनभावमा छन् । दोस्रो विश्वयुद्धपछिको सर्वाधिक चुनौतीपूर्ण कोरोनापछि विश्वको आर्थिक केन्द्र फेरिँदै चीनको प्रभाव बढ्ने अनुमान गरिँदैछ । शासकहरू गुट–उपगुट बदलेर आफ्नो फासिवादी सत्ताको आयु लम्ब्याउन चाहन्छन्, जनता सिङ्गै व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छन् । ओली–प्रचण्डको नौटङ्की देखेर एक दिन चीन पनि हैरान हुनेछ । हुन त चीन र डबल नेकपा एकले अर्कोलाई उपयोग गर्ने नीतिमा देखिन्छन् । समकालीन विश्वमा भारतीय शासककोे राजनीति बेइमानीपूर्ण, कपटपूर्ण र नौटङ्कीपूर्ण देखिन्छ । राजनीतिक विश्लेषकहरूले भनेको सुनिन्छ– तत्कालीन एमालेको विभाजनबाट तत्कालीन माओवादीले लिएजस्तै विप्लवहरूले अहिलेको सत्तासीनहरूको अकर्मण्यताबाट राजनीतिक फाइदा लिन सक्नुपर्छ । हामीले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको नयाँ शिराको विकास गर्नैपर्छ । शासकहरूका विभिन्न प्रवृत्तिगत धारा भए पनि तिनका सत्ता उत्पीडित तथा श्रमजीवी जनताको धैर्यतामाथि नै टिकिरहेको छ । श्यामकर्णहरू जुर्मुराएको दिन शासकहरूको नवउदारवादी विश्वव्यवस्थाको क्रूर साम्राज्यवादी जुवा धुजाधुजा हुनेछ । बेइमानीहरूको जङ्गलमा केही समय मौन रहनु बेग्लै कुरा हो ।
यतिबेला पुँजीवादले हरेकलाई बजारीकरण गरिरहेछ । समाजमा धृष्टराष्ट्र र शकुनीहरू मात्र छैनन्, नयाँ–नयाँ जुडासहरू पनि थपिएका छ । यतिबेला पुँजीवादको सारथि कमजोर बन्दै गएको त छ, तर समाजवादीहरूको पनि गतिलो सारथि देखिन्न । कुशल सारथिबिना कसरी युद्ध जितिएला र ? नेपालमा कम्युनिस्टले कम्युनिस्टलाई सबैभन्दा बढी दुःख दिइरहेका हुन्छन् । यिनका बीचमा रिस, डाहा, ईष्र्या पनि बढी नै हुन्छ । यिनमा सकेसम्म एकले अर्कोलाई सिध्याउनेसम्मको खेल पनि हुन्छ । यहाँ आफ्नो गुटको रहेछ भने उसको हजार अपराध पनि माफी हुन्छ । भनिन्छ नि, आफ्नाले दिएको घाउ गहिरो हुन्छ । जस्तो कि फलामले फलाम पिट्दा ठूलो आवाज आउँछ । यद्यपि क्रान्तिकारीहरूका लागि क्रान्तिको घाउ पारितोषिक हुन्छ, जसले निर्णायक क्रान्ति गरेर विजयी बन्न प्रेरित गर्छ । भोका जनतालाई सुनको थाली बाँड्ने आश्वासनको के औचित्य ? के समुद्र मन्थन गर्दा अमृतमात्र निस्केको थियो र ? आज श्यामकर्णहरू आह्वान् गरिरहेछन्– संसदीय भासमा जकडिएको कथित कम्युनिस्ट पार्टीरूपी प्रालिको सेल्सम्यान बन्नबाट विद्रोह गर ।
वर्गसङ्घर्ष रूपान्तरणको अर्को नाम हो । वर्गसङ्घर्ष सच्चा कम्युनिस्टको जीवन हो । यही कारण सच्चा कम्युनिस्टहरूमा भाइब्रेसन भइरहेको हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धारका कम्युनिस्ट पार्टी र तिनका विभिन्न नेताका सकारात्मक–नकारात्मक विम्ब पनि छन् । राजनीतिक विश्लेषकहरू भन्छन्– नेपालमा ‘महेन्द्रीय टाट्ना’ को रजगज बढ्दो छ । नेपालमा दूध नबिक्दा किसान सडकमा दूध पोख्छ तर सङ्घर्ष गर्दैन । नेपालमा ओलीजस्ता असक्षम र निर्लज्ज शासकहरूले आफूमाथि शासन थोपरिरहँदा पनि जनता उठ्दैनन् । नेपालमा दिनभर ओलीको विरोध गर्छन्, साँझ–बिहान उनै ओलीको दर्शन गर्न लाइनमा बस्छन् । दिउँसो चर्को–चर्को स्वरमा सामन्तवादको विरोध गर्छन्, रातमा लुकीलुकी छिमेकीको साँध मिच्छन् । नेपालका ‘कम्युनिस्ट’ बोलीमा किसान–मजदुरको कुरा गर्छन्, व्यवहारमा आफैँ पुँजीवादी बन्नतिर मरिहत्ते गर्छन् ।

खेम थपलिया