कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७
848

सलह कीराको पहिचान, यसको जीवनचक्र, सलहको प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा रोकथामका लागि किसानहरू आफैं पनि चनाखो हुनुपर्छ ।

किसानहरूका लागि एउटा उमंगको महिना हो— असार । मानो रोपेर मुरी फलाउने महिनाका रूपमा असारलाई चिनिन्छ । हरेक महिनाको आ–आफ्नै विशेषता भएजस्तै असार महिनाको पनि छुट्टै महत्व र विशेषताहरू रहेका छन् । चारैतिर हरियाली वातावरण, देउराली र भन्ज्याङहरूबाट निस्किएका हुस्सु र कुहिरोको लुकामारी, सिमसिमे पानी, दलदले हिलो किसानहरूका लागि प्रकृतिले दिएको सुन्दर उपहार हो । खेतका आलीहरूमा टिलपिलाउँदो पानी, पुरुषहरूको हातमा कोदाली, महिलाहरूको हातमा धानको गाभो लिएर मुस्कुराएको दृश्य देख्दा लाग्छ, किसानहरू रोपाईं हैन, भविष्यका लागि केही खुसीहरू धर्तीलाई सुम्पिरहेका छन् ।
कोभिड–१९ को जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारले अवलम्बन गरेको बन्दाबन्दीको प्रत्यक्ष असर नेपालको कृषिक्षेत्रमा पनि परेको छ । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपजहरूले उचित मूल्य पाउन सकेन । सहज रूपमा बजार पाउन नसक्दा किसानको उत्पादन खेतबारीमा कुहिएर गयो । खेतीपाती लगाउने बेलामा बन्दाबन्दीले थुनिएका किसानहरू लकडाउन खुकुलो भएसँगै सामान्य जीवनमा फर्किरहेको अवस्थामा नेपाली आकाशमा सलह कीराको प्रवेशले किसानलाई फेरि चिन्तित बनायो । सलह कीराको प्रकोप, यसले गर्ने क्षति, सावधानी तथा पूर्वतयारी र रोकथामका लागि किसानहरू चनाखो र सचेत रहन जरुरी छ ।

सलह के हो ?
सलह एक प्रकारको शाकाहारी कीरा हो । यो फट्याङ्ग्रा प्रजातिअन्तर्गत पर्छ । अंग्रेजी भाषामा यसलाई डेजर्ट लोकस्ट भनिन्छ भने यसको वैज्ञानिक नाम सिस्टोसर्स ग्रेगारिया हो । परापूर्वकालदेखि नै सलहको उत्पत्ति भएको पाइन्छ । प्राचीन मिश्रका कब्रका चट्टानहरूमा कुँदिएका चित्रहरू महाभारत, कुरान, बाइबल, इलियड र अन्य ग्रन्थहरूमा समेत सलह कीराका बारेमा उल्लेख गरेको पाइन्छ । सलह कीरा अफ्रिकाबाट सन २००३ मा उत्पति भएको मानिन्छ । यो पुरानो प्रवासी शत्रुजीव हो । यो कीराको बाँच्ने अवधि ३ देखि ५ महिनाको हुने गर्छ । २० देखि ४० दिनसम्मको कीरालाई नियन्त्रण गर्न सजिलो हुन्छ । यो कीरा हरियोबाट पहेंलो रंगमा परिवर्तन हुँदा नियन्त्रण गर्न गाह्रो छ । यो कीरा खास एक्लो बस्ने गर्छ र केही परिस्थितिमा जस्तै मौसम परिवर्तनको समयमा यसको संख्या पर्याप्त हुनुका साथै यसको बानी–व्यवहारमा समेत परिवर्तन भई समूहमा बस्ने गर्छ । यसको नियन्त्रण विश्वभरको खाद्य सुरक्षाका निमित्त अति नै महत्वपूर्ण छ । तसर्थ यो जीवको रोकथाममा सरकारी साथै अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको समेत संलग्नता आवश्यक देखिन्छ । सलह कृषिक्षेत्रको एक खतरनाक कीरा रहेको पाइन्छ । सलह कीरा किसानहरूको ठूलो शत्रुजीव रहिआएको र कतिपय देशमा जनता र भोकमारीका लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ ।

सलहले के खान्छ ?
सलहले वनस्पति लाग्ने क्षेत्र नोक्सान गर्नुका साथै बालीलाई पनि हानि पु¥याउँछ । यसले आफ्नो तौलबराबरको हरियो वस्तु एकै दिनमा खान सक्छ । युवा अवस्थामा यो उड्न नसके पनि बिरुवामा अघि बढिरहन्छ । दिउँसो यो कीरा २५० किलो मिटर हिड्न सक्छ र रातमा बोटबिरुवाको झाडीमा आराम गर्छ ।

सलहबाट हुने क्षति
हरियो वनस्पति सलह कीराको प्रमुख आहारा हो । वयस्क अवस्थामा लामो दूरीसम्म उड्न सक्ने र बसेको ठाउँमा भेटेजति सबै हरिया बोटबिरुवाहरूको पात र डाँठ खाएर ठूलो क्षति पु¥याउँछ । समूहमा उड्ने सलह कीराले छोटो समयावधिमा हरियो वनस्पतिलाई सखाप पार्न सक्छ । कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा पनि धेरै क्षति पु¥याउन सक्ने भएकाले सलह कीराले नेपाल प्रवेश गरेसँगै किसानहरूको मन चिसो पस्नु स्वाभाविक हो ।
प्रभावकारी रूपमा सलह कीराको नियन्त्रणमा किसानहरूले केही कुरालाई अवलम्बन गरी अघि बढ्नुपर्ने देखिन्छ । यसको विकास छिटो हुने हुँदा मानिसले खाने खाना बराबरको सेवन गर्न सक्छ भने बिरुवाको पात, फल, फुल, बोक्रा, टुप्पो नष्ट गरी क्षति पु¥याउँछ । झुण्डमा रहेका कारण तौलका कारण रूखहरू समेत ढल्न सक्छ । सलहको मलमूत्रका कारण बोट–बिरुवामा संश्लेषणको कमी हुनुका साथै अन्य समस्या निम्त्याउँछ । कहिलेकाहीं मानिसमा एलर्जि समेत देखिने गर्छ ।

पूर्वतयारी तथा सावधानी
कुनै पनि प्रकोपको संकेत देखिनासाथ त्यसको रोकथामको पूर्वतयारी र सावधानी अपनाउने हो भने पनि सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । अफ्रिकाबाट सुरुवात भएको सलह कीरा अरेबियन देशहरू हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र भारत राजस्थानसम्म सलह कीरा प्रकोप देखिएसँगै नेपालमा पनि सलह कीराको प्रकोप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी यसको प्रकोपसँग जुध्न, रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन भएको छ । सलह कीराले पु¥याउने क्षतिका बारेमा जुन रूपमा प्रचार भएको छ, त्यसले किसानहरूको मनलाई आतंकित पारेको छ । सलह कीराले नेपाल प्रवेश गरे तापनि यसबाट हुने क्षति न्यूनीकरणका लागि बेलैमा सोच्नुपर्ने अवस्था आएको छ । सलह कीराको पहिचान, यसको जीवनचक्र, सलहको प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा रोकथामका लागि किसानहरू आफैं पनि चनाखो हुनुपर्छ । सावधानीका उपयहरू अपनाई किसानहरू आफ्नो बालीको सुरक्षण आफैं गर्न बालीको सुरक्षणका लागि आवश्यक ज्ञान हासिल गरी पूर्वतयारीका साथ बस्न जरुरी देखिन्छ ।

क्षति न्यूनीकरणका उपायहरू
नेपालमा आजभन्दा ६ दशकपहिले पनि सलह कीराले आतंक मच्चाएको भनाइ रहेको छ । सलह कीरालाई नियन्त्रण गर्नका लागि मानिसहरूले यस्ता कीराहरू खाने गर्थे । त्यति बेला सलह कीरा नियन्त्रणका लागि सलहले फुल पार्ने स्थानहरू खनजोत गरी तिनीहरूको फूलको वृद्धि र विकासमा अवरोध गर्ने विभिन्न कीटहरू समात्ने यन्त्र जस्तै जाल हालेर समात्ने र खाडलमा पुर्ने, जलाउने जस्ता कार्यहरू गरेको पाइन्छ । कतिपय मानिसले सलह कीरा खाने गरेको समेत बूढापाकाहरूको भनाइ छ ।
सलहबाट बालीको सुरक्षण तथा सलहको रोकथामका लागि आगो बाल्ने, धूवाँ गराउने, सलहका अण्डालाई खाडल बनाएर पुर्ने, ड्रोन हेलिकप्टरको सहायताले बालीमा कीटनाशकको प्रयोग गर्ने । ठूलो आवाज निकाल्ने यन्त्र प्रयोग गरी भगाउने, जैविक विषादीको प्रयोग गर्ने । यसैगरी लामो घाँस जालको प्रयोग गर्ने । बिरुवाको पातमा पीठो छर्किने गर्नाले पनि सलहको प्रकोपलाई केही हदसम्म नियन्त्रण गर्न सक्छौं । सलहका बारेमा फैलिएको अवाफहभन्दा पनि यथार्थता र रोकथामका उपायहरूका बारेमा कृषि प्राविधिकहरूले किसानहरूलाई बुझाउन सकेमा पनि सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ ।

अनिशा चौलागाईं