गोविन्द चापागाईं
बिहिवार, असार २५, २०७७
5357

आज विश्व कोराना भाइरसको चपेटामा रहेका बेला कहिले बाढीपहिरो त कहिले सलह कीराको आतंकले हाम्रो मुलुक पनि अछुतो रहन सकेन । महामारी रोग कोभिड–१९ को अन्त्य नहुँदै आज हाम्रो देशमा तराईको क्षेत्र हुँदै पहाडका विभिन्न भागमा सलह कीराको पनि अत्यधिक आतंक फैलिएको छ । साथै, देशको धेरै पहाडी तथा तराई भागमा समेत बाढीपहिरोले वितण्डा मच्चाइरहेको छ । त्यसमाथि पनि मौसमको प्रतिकूल असरले गर्दा पनि मुलुकका धेरै ठाउँमा प्राकृतिक महामारीले वितण्डा मच्चाइरहेको अवस्था छ । प्रमुख प्रकृतिक वितण्डामध्ये धेरै चर्चाको विषय रहेको कोराना भाइरस कोभिड–१९, सलह कीरा आतंक तथा बाढीपहिरोले नै अहिले मुलुकमा धेरै वितण्डा मच्चाइरहेका छन् । भूकम्पले पनि कहिलेकाहीं अतीतका यादहरूलाई झस्काउने गर्छ ।
कोरोना भाइरसले हालसम्म हाम्रो देशमा १६ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने भने ३५ जना मानिसले ज्यान गुमाईसकेका छन् । करिब ६ हजार ५ सय जना मानिस कोरोनाबाट पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किसकेका छन् । तर, राजधानी काठमाडांैमा भने दिन–प्रतिदिन कोभिड–१९ बाट संक्रमितको संख्या ह्वातै बढिरहेको अवस्था छ । यो लेख तयार पार्दासम्म राजधानीमा मात्रै करिब ३ सय जना मानिस संक्रमित भइसकेका छन् । यो क्रम अझै बढ्ने देखिन्छ । योसँगसँगै अहिले फेरि सलह कीराको आतंक मुलुकको तराई तथा मध्यभागमा पनि धेरै फैलिसकेको अवस्था रहेको छ । यसले हजारांै हेक्टरमा लगाएको बालीनालीमा आई लाखौंको संख्यामा बालीहरूमा पसेर यसले फल तथा पातहरू खाएर सखाप बनाउँछ । केही दिनअघि मात्रै राजधानीको नयाँ बानेश्वर क्षेत्र, गोठाटार आसपासलगायतका ठाउँहरूमा पनि सलहको आतंक फैलिएको थियो । यसले गर्दा कृषकहरूले लगाएको बाली उब्जनीहरू सो किराले नष्ट गर्दा खाद्य संकट आईपर्ने हो कि भन्ने विशेषज्ञहरूको भनाइ रहुको छ । यो कीरा धेरै बेर बस्दैन । जता हावाको वेग बढी गएको छ त्यतैतिर सलह कीराको झुण्ड लाग्ने गर्छ । यसले पनि एउटा प्राकृतिक रूपमा वितण्डा मच्चाएको हुनाले यो सलह कीराप्रति सजग हुनु उत्तिकै जरुरी पनि छ ।

त्यस्तै गरी अर्को प्रकृतिक विपत्ति भनेको बाढीपहिरो र भू–क्षय रहेको छ । यो हाम्रो देशको तुलनामा मौसमअनुकूलको कारणले बर्सेनि धेरै मानिसको जन–धनको क्षति हुने गरेको छ । विशेष गरी असार, साउन अनि भदौमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले मुलुकको पहाडी तथा तराई क्षेत्रमा ठूलो नोक्सानी गर्ने गर्छ । धेरै मानिसको जन–धनको क्षति गराउने गर्छ भने लाखौं हेक्टरमा लगाएको बालीसमेत पहिरोले पुरिने तथा धेरै अन्न उब्जनीहरू बगाउने गर्छ । समयमै सचेत रहे केही मात्रामा भए पनि यस्ता डरलाग्दा परिस्थितिबाट बच्न सकिन्छ भन्ने मानिसहरूको धारणा रहेको छ । तर, यस्ता प्रकोपहरूबाट बच्न सुरक्षित स्थानमा जानुबाहेक कुनै विकल्प पनि छैन ।
२०७२ साल वैशाख १२ र २९ गते आएको महाविनाशकारी भूकम्पको चोट सेलाउन नपाई आजसम्म पनि मुलुकको विभिन्न भाग भएर भूकम्पको पराकम्प जाने क्रम रोकिएको छैन । लाग्छ, कहिले फेरि ठूलो भूकम्प त आउँदैन ? जे होस्, हाम्रो मुलुकमा केही वर्षदेखि नै हालसम्म आउँदा विभिन्न प्राकृतिक प्रकोपहरूले दुःख दिइरहेको अवस्था छ । यस्ता प्राकृतिक प्रकोपहरूबाट जोगिएर बस्ने, सरकारले भनेको सूचना पालना गर्दै जान सके धेरै प्राकृतिक प्रकोपबाट पनि बच्न सकिन्छ । यस्ता प्रकोपहरूबाट हतास हुने होइन, आफू बाँच्ने अनि अरूलाई पनि बचाउन प्रेरित गराउनुपर्छ ।