कारोबार संवाददाता
बुधवार, असार २४, २०७७
518

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्यलगायत आर्थिक, सामाजिक जीवन निकै प्रभावित छ । प्रभावलाई न्यून पार्न सरकारले सुरक्षा र सेवा प्रवाहका विभिन्न उपायहरू अवलम्बन गरेको छ । तीमध्ये परिस्थितिको उपजका रूपमा आएको सिफ्ट प्रणालीले सेवाग्राहीमा, कर्मचारीमा, सरकारी सेवा प्रवाहमा र समग्र अर्थव्यवस्थामा के असर पारेको छ ? यस आलेखमा संक्षिष्त चर्चा गरिएको छ ।
हाल लागू गरिएको सिफ्ट प्रणालीका कारण आमनागरिकले सरकारी सेवा बिहान ८ बजेदेखि सान्झ ६ बजेसम्म आफूलाई उपयुक्त समयमा लिन सक्ने अवस्था सिर्जना भएको छ । यो प्रावधानले सेवाग्राहीको समय बचत हुनुका साथै सरकारी निकायबाट लिनुपर्ने सेवा लिएर आफ्नो अन्य निजी काम सक्ने अवस्था छ । यो व्यवस्थाले विगतको जस्तो १० बजे कार्यालय खुल्ने कर्मचारी ११ बजे अफिस पुग्ने २ बजेबाट कतिपय कार्यालयहरूको सेवा बन्द हुने अवस्थाले सोही दिनमा सकिने कार्य गर्ने पनि अर्को दिन लाग्ने पिगतको परिस्थिति अन्त्य हुने देखिन्छ ।

हालको सिफ्ट प्रणालीले बिहान ८ बजेदेखि १ बजेसम्म बिहानी पखको ड्युटीमा खटिने कर्मचारीले सेवा दिन्छन् । दिउँसो १ बजेदेखि ६ बजेसम्म साँझपखको ड्युटी पाएका कर्मचारीबाट सेवा निरन्तर प्रवाह हुने हँुदा एकातर्फ सेवा प्राप्त सोही दिनमा हुने जाने र अर्कातर्फ कर्मचारी पनि उत्प्रेरित भएर सेवा प्रवाह गर्न सक्ने अवस्था सिर्जना हुन्छ । कर्मचारीको सेवा प्रवाह गर्ने कार्य अवधि ५ घण्टा मात्र हुँदा लामो समय कार्य गर्दा भएको अत्यधिक कार्यबोझका कारण उत्पन्न तनाव, दिक्दारीपन, आलस्यता, झर्किनेलगायत हाल कर्मचारीमा देखिने आधारभूत विशेषताजस्तै भएका अवगुणहरू पनि न्यून हुने अनुमान गरिन्छ, जसबाट मुस्कानसहितको सरकारी सेवा आमनागरिकले पाप्त गर्नेछन् ।
यसर्थ कार्यालयहरूबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म आफूलाई पायक पर्ने कुनै पनि समयमा गुणस्तरीय सेवा लिन, विगतको तुलनामा सरकारले प्रवाह गर्ने सेवा अवधि पनि दैनिक ४ घण्टा लम्बिने भएको हुँदा हाल केही अवधिका लागि लागू गरिएको यो प्रणालीलाई सधैंका लागि सरकारी र निजी दुवै क्षेत्रमा लागू गरिएको अवस्थामा डुइङ बिजनेश कस्ट घटने देखिन्छ । यसले नेपालको हाल ९४ औं स्थानमा रहेको डुइङ बिजनेस रिपोर्टमा पनि निकै सुधार हुने अपेक्षा गर्न सकिन्छ । मौजुदा जनशक्तिकै माध्यमबाट यो सेवा प्रवाह गर्न सकिने भएकाले यसका लागि थप सरकारी स्रोत, लगानी आवश्यक पर्दैन ।
भर्खरै प्रकाशित बीबीसीको एक रिपोर्टअनुसार एसियाली मुलुक जापानमा कार्यबोझ र कार्य प्रेसरका कारण बर्सेनि धेरै कर्मचारीको अकालमा मृत्य भइरहेको तथ्य सार्वजनिक भएको छ । त्यस्तै मेक्सिको, कोस्टारिका, दक्षिण कोरियामा पनि लामो पट्यारलाग्दो कार्य बोझका कारण धेरै कर्मचारी हृदयाघात, मस्तिस्कघातको सिकार भएको अवस्था छ । हालै प्रकाशित विश्व श्रम संगठनको रिपोर्टमा एसिया महादेशमा अन्य महादेशको तुलनामा लामो कार्य अवधि भएको तथ्य सार्वजनिक भएको छ । विश्वको सबैभन्दा कम कार्यावधि भएको फिलिपिन्समा सेवाको उत्पादकत्व र गुणस्तरीयता बढेको पाइएको छ ।
छिटो, छरितो तवरबाट नागरिकलाई सेवा प्रवाह गर्ने सरकारको लक्ष्य पूरा गर्न, नागरिक सन्तुष्टि वृद्धि गरी सरकारको बैधता स्थापित गर्न, आमनागरिकको उप्पादनशील समय बचत गर्न, सरकारको जनताप्रतिको दायित्व पूरा गर्न, सेवाग्राहीप्रति समर्पित सार्वजनिक प्रशासन बनाउन यो प्रणालीले निकै महŒवपुर्ण भूमिका खेल्ने भएकाले यस सन्दर्भमा नीति निर्माता, व्यवस्थापिका संसद्, कर्मचारी सम्बद्ध संघ, संगठन सबैको ध्यान जानु जरुरी छ ।
सार्वजनिक सेवा प्रवाह प्रणाली पुनः संचरना गर्नुपर्ने बर्तमान अवस्थामा यस प्रकारको चक्रीय सेवा प्रवाह प्रणालीले संस्थागत स्मरण बढ्न जाने (बिहानको सिफ्टमा काम गर्ने कर्मचारीले आफूले गरेको र गर्न बाँकी काम दिउँसोको सिफ्टमा काम गर्ने कर्मचारीलाई हस्तान्तरण गर्ने हुँदा) कर्मचारीहरूबीच प्रभावकारी समन्वय हुने, एउटै कर्मचारीमा निर्भर हुनुपर्ने अवस्थाको अन्य हुने, सेवा प्रवाहको समय वृद्धि हुने, सेवाको गुणस्तरीयता बढ्ने, कर्मचारीहरूको सिर्जनशीलता र दक्षता समेत वृद्धि हुने भएकाले यस प्रकारको सेवा प्रवाह प्रणाली संघीय तहका तीनै सरकार र संगठित निजी क्षेत्रमा समेत लागू गर्न ढिलो गर्नु हँुदैन ।
—कोकिला देवकोटा
जनप्रशासन विषयका विद्यार्थी