कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७
651

नेपालमा जब आर्थिक वर्ष सकिन लाग्छ तब पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु हुदै जाने गर्छ । हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको पाइन्छ । सरकारले बजेट पारित अघिल्लो वर्षको असारमै गरे तापनि बजेट सक्ने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा लापरवाही हुने गरेको छ । यसले गर्दा हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह भएको छ । त्यस्तै छोटो समयमा काम गर्दा आर्थिक अनियमिता यत्रतत्र देख्न तथा विभिन्न सञ्चारमाध्यमहरूमा सुन्न पाइन्छ । यो समयमा बिकट गाउँबस्तीदेखि लिएर देशको नाम चलेका सहर तथा राजधानीका गल्ली–गल्लीमा विकासको नाउँमा विनाश हुने गरेको देखिन्छ ।
मध्यबर्खाको समयमा हुने विकास–निर्माणका कार्यहरू केवल बजेट सक्ने काम मात्र हुने गरेको पाइन्छ । यसरी हुने विकासले हरेक जन–समुुदायमा पाइलैपिच्छे विभिन्न समस्या सिर्जना भएको देखिन्छ । यो समयमा गरिने विकास–निर्माणका कार्यहरूले भू–क्षय, बाढी–पहिरो र जनतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न खालका समस्याहरू उत्पन्न भइरहेको हुन्छ । त्यस्तै असारे झरीमा विकास–निर्माणका काम गर्दा दुर्घटना धेरै हुने गरेको छ । यति हुँदाहुँदै पनि आखिर किन असार मसान्तमै विकास–निर्माणका कार्यहरू तीव्र गतिमा सम्पन्न गरिन्छ ? वर्षभरिलाई छुट्ट्याइएको विकास–निर्माण खर्चको लगभग ४० प्रतिशत मात्र काम भएको सरकारी प्रतिवेदनहरूमा पढ्न र सुन्न पाइन्छ । त्यसमा पनि करिब ७० देखि ८० प्रतिशत काम केवल आर्थिक वर्षको अन्त्यतिर समाप्त गरिने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ ।

वर्षौंदेखि बन्दै आइरहेका (जस्तै— बाटो, पुल, अस्पताल, सामुुदायिक भवन तथा सरकारी टेन्डरबाट) हुने विकास–निर्माणका अधिकांश कामहरू अपुरो साथै भएका काम पनि आर्थिक वर्षको अन्त्यमा जनताको आँखामा छारो हालेर बजेट सक्ने अनि आर्थिक वर्ष सकिएपछि काम नै नगर्ने प्रवृत्ति रहिआएको छ । उदाहरणका लागि, हाम्रै गाउँघर, आफ्नै टोलभित्र हजुुरबाको पालामा सुरु भएको कुुनै आयोजना नातिको पालामा पनि त्यही आयोजना चलिरहेको हुन्छ । अब यस्तो विकासलाई हामी के भन्छौं, विकास भन्ने कि विनाश ? तपाईं आफंै सोच्नुुहोस् । यसरी बजेट सक्ने प्रवृत्तिले गरिने विकास–निर्माणका कार्यहरूले जनताको जीवनस्तरमा कहिले समृद्धि आउँछ होला ।
बजेट सक्ने बहानामा जनताले दुःख गरेर तिरेको करबाट उठेको पैसाको चरम दुरुपयोग भएको देखिन्छ । अर्को कुरा, अब असारे विकास सधैंका लागि अन्त्य गर्नका लागि आर्थिक वर्षलाई परिवर्तन गर्नु अति आवश्यक भइसकेको देखिन्छ । यदि आर्थिक वर्ष पुस वा माघमा सुुरु भयो भने सायद विकास–निर्माणले तीव्रता प्राप्त गर्ने थियो कि ? आखिर जति पनि विकास–निर्माणका कार्यहरू बजेटको सदुपयोग वा दुरुपयोग जे भने पनि तीव्र गतिमा आर्थिक वर्षको अन्त्यमा हुने गरेकाले मध्य झरीमा सम्पन्न गर्नुुभन्दा अरू समयमा नै गर्दा गुणस्तरमा सुधार तथा कम खर्चमा धेरै काम गर्न सकिन्छ । यसरी आर्थिक वर्ष नै परिवर्तन गर्न सकेमा थोरै भए पनि विकास–निर्माणको कार्यमा सुुधार हुने थियो ।
त्यस्तै अबका दिनहरूमा पूर्वाधार विकास तथा निर्माण क्षेत्रमा हुने भ्रष्टाचार, अनियमिता तथा राजनीतिक हस्तक्षेप आदि विभिन्न कारणहरूले रोकिएका वा गुणस्तरहीन काम भएमा सरकार तथा सम्बन्धित निकायहरूले छिटोभन्दा छिटो अनुगमन तथा निरीक्षण गर्नु अति आवश्यक छ । त्यस्तै असल नागरिकको हैसियतले जनस्तरबाट खबरदारी गर्नु अति आवश्यक भएको छ । साथै, राम्रो कामको खुलेर तारिफ गरी हौसला पनि बढाउनुपर्छ । सायद आर्थिक वर्ष परिवर्तनले हरेक नेपालीको जीवनस्तर सुधार तथा देशमा पनि समृद्धि आउँथ्यो होला कि ?
ज्योति खतिवडा
सूर्योदय न.पा., इलाम