अधिवक्ता सरोजकृष्ण घिमिरे
मंगलबार, असार २३, २०७७
581

विकासका क्रममा वायुसेवाले आफ्नो महत्त्वपूर्ण यान्त्रिक क्षमतालाई बढाउँदै लगेको छ र परिष्कृत एवं परिमार्जित गराउँदै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ ।

राइट दाजुभाइले पहिलो पटक विमानको प्रदर्शन गरेर गाउँलेहरूलाई देखाउँदा यस यन्त्रले विश्व बजारको महत्त्वपूर्ण स्थान लिनेछ भन्ने कुरा कसैले सोचेका थिएनन् होला । तर, त्यही यन्त्र विकसित हुँदै जाँदा अहिले प्रत्येक वर्ष करोडौंभन्दा बढी व्यक्ति जहाजमा उड्ने गर्छन् ।
विज्ञानको विकासले क्रमशः फड्को मार्दै जाँदा विकासको अग्रगतिसँगसँगै विश्वले नयाँ–नयाँ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो । वायुयानको प्रारम्भ भएपछि नै विश्वमा हवाई यातायातको विकास हुन थालेको हो । वायुयानले गर्ने उडानसेवालाई वायुसेवा भनियो । विकासका क्रममा वायुसेवाले आफ्नो महत्त्वपूर्ण यान्त्रिक क्षमतालाई बढाउँदै लगेको छ र परिष्कृत एवं परिमार्जित गराउँदै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ । अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा अझै भित्रिइरहेका छन् । पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको वायुसेवाले विश्वलाई नै एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाईयात्रुहरूको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष ९ सय ५० लाखभन्दा बढी व्यक्तिले आन्तरिक हवाईयात्रा गरिरहेका छन् ।

सन् १९९० को दशकदेखि हवाईयात्रुको सङ्ख्या विश्वमा नै बढिरहेको छ । हवाईयात्रुको सङ्ख्या बढेपछि सडकयात्रुको सङ्ख्याचाहिँ घटिरहेको छ । सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएका कारण यस्तो भएको हुन सक्छ । हवाईयात्राको प्रतिशत लगातार बढिरहेझैँ सडकयात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाई यातायातका क्षेत्रमा यो शुभ सङ्केत हो । युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कुल १.५ अर्ब पर्यटकहरूले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्तक्षेत्रका हवाईसेवाहरूले आफ्नो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ८० प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८५ प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा वायुसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकाले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।
वायुसेवाले विश्वलाई साँगुरो पार्दै लगेको छ । वायुसेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । वायुसेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व–पर्यटन बजारको आम्दानीमा वृद्धि भई ८ सय अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि वायुसेवाबाट आय–आर्जन गर्ने त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावका कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम डलर मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
नेपालको परिप्रेक्ष्यमा राष्ट्रको एक मात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) ले धेरै उतारचढावहरू बेहोरिसकेको छ, तैपनि यसले अहिलेसम्म आफ्नो अस्तित्वलाई कायम राख्न सफल रहेको छ । निगमको हाल अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत रहेको भए तापनि यो दिनदिनै घट्तै जाने क्रममा रहेको छ । आन्तरिक सेवातर्फ भने यसको बजार सेयर घट्तै जानुमा नेपालमा अन्तर्राष्ट्रिय हवाईकम्पनीहरूको बढ्दो आगमन नै हो । तुलनात्मक रूपले पर्यटकहरूको आगमन पनि खासै बढ्न सकेको छैन । सरकारले ३९ वटा मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब ११ लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर, ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त महँगो हुन पुगेको छ ।
नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) ले आजभन्दा ६ दशक अघिदेखि आफ्नो सेवा सुरु गरेको हो । यसले विविध समस्या झेल्दाझेल्दै पनि नेपालका हिमाली र पहाडी भेगका निकै स्थानमा निरन्तर रूपमा आन्तरिक हवाईसेवा पु-याइरहेको छ । नेपाल वायुसेवा निगमको सेवा नै नेपालका हवाई सेवाहरू मध्येको पुरानो र महत्त्वपूर्ण सेवा हो । यो निगम देशका विभिन्न ठाउँका अतिरिक्त विदेशसम्म पनि आफ्नो उडान गराउन सफल रहेको छ । यो निगमले सुलभ र नियमित रूपमा हवाईयात्रुहरूलाई सेवा पु-याउँदै आएको छ । हिमाली क्षेत्रको प्रतिकूल मौसम, भू–धरातलीय अवस्थिति, पर्याप्त प्रविधिको अभाव, उड्डयनसम्बन्धी राष्ट्रिय नीतिको अपर्याप्तता, व्यवस्थापकीय पक्षमा राजनीतिक दबाब र आवश्यकताभन्दा कम साधन–स्रोत यो निगमले झेल्दै आएका केही समस्याहरू हुन् । यति हुँदाहुँदै पनि यो निगम आर्थिक रूपमा धेरै घाटा खपेर समेत हालसम्म सञ्चालन भइरहेको छ । यसबाट यात्रुहरूप्रति यो निगम पूर्ण रूपमा सचेत रहेको कुरा प्रस्ट भएको छ ।
नेपाल वायुसेवा निगमले सडक यातायात पु-याउन नसकिएका कतिपय ठाउँमा पनि हवाईसेवा पु-याइरहेको छ । त्यस्तै यसले हिमाली शृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पु-याई सेवा गरिरहेको पनि प्रस्टै छ । कतिपय ठाउँका मानिसहरूले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा पनि निगममै भर पर्नुपरेको तथ्य सर्वविदितै छ । त्यस्ता ठाउँहरू यातायातका अन्य साधनहरूबाट पूर्ण रूपमा वञ्चित रहेका छन् र मानिस आफैँले सामान ढुवानी गर्न पनि बिलकुलै असम्भव रहेको छ । राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानहरूमा निगमले सेवा पु-याउँदै आएको छ ।
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन भनेको यातायात नै हो । यातायातबिना समुचित विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थल साधनहरू विकट पहाडी क्षेत्रहरूमा पु-याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक छ । तर, हवाई साधनको व्यवस्था गर्न महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु-याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थान यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँमा यातायातको बिस्तार गर्नु अत्यावश्यक देखिन्छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव पनि होइन ।
विमानसेवाको विकास, विस्तार र व्यवस्थापनले राष्ट्रको विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेलेका हुन्छ । अझ हाम्रोजस्तो पहाडी मुलुकमा त हवाईसेवाको विस्तार नगरीकन अन्य क्षेत्रको विकास गर्न अत्यन्तै कठिन पर्ने मात्र होइन, असम्भव नै हुन्छ । हवाईसेवाको विस्तार गरी देशको विकास गर्न निगमले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । आर्थिक घाटा, विमानको कमी, उच्चस्तरीय दक्ष जनशक्तिको अभाव आदिजस्ता निगमले हाल झेल्दै आएका प्रमुख समस्याहरूको समाधान गरी आधुनिक उपकरण तथा अन्य आवश्यकीय वस्तुहरूको परिपूर्ति गर्दै जाने हो भने भविष्यमा निगमले प्रशस्त सेवा गर्न सक्ने कुरामा पटक्कै विवाद हुन सक्तैन ।
केवल हवाई यातायातका दृष्टिले मात्र निगम महत्त्वपूर्ण भएको होइन, राष्ट्रको समग्र विकासमा पनि यसको अग्रसरता रहेको स्पष्टै छ । विकट पहाडी स्थानहरूको सम्पर्क राजधानी तथा सुगमका स्थानहरूमा गराई निगमले एक–अर्काबीच व्यापार–व्यवसाय र सांस्कृतिक आदानप्रदान गराई सामाजिक एकीकरण नै गराइदिएको छ । आवतजावत र सम्पर्क बारम्बार भइरहनाले भाषिक एकीकरण गर्ने र शैक्षिक चेतना जगाउने कार्यमा समेत निगमबाट महत्त्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।
देशमा महाभूकम्पका बेला विदेशबाट निःशुल्क सामानहरूको ल्याउनुका साथै राजधानीमा हवाई इन्धन आपूर्ति नहुँदा निगमका विमानहरूले विदेशबाट इन्धन आपूर्ति समेत गरेको थियो र आन्तरिक उडानका अन्य विमानहरूलाई पनि इन्धन वितरण गरेको थियो, साथै काबुलमा विस्फोटमा परेका निर्दोष नेपालीहरूको शव ल्याउने लगायत हाल फैलिरहेको कोरोना (कोभिड–१९) महामारीमा औषधिलगायत विदेशमा बस्ने नेपाली र नेपालमा बसेका विदेशलाई गन्तव्य स्थानमा पु-याउने कामसमेत गरेर देशमा सेवा गर्ने लगायत अन्य तवरले पनि सेवा पु-याइरहेको छ ।
विदेशका धेरै मुलुकमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छविलाई विश्वमा फैलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशील रहेको छ । स्वदेशका सगरमाथा, माछापुच्छ«े, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर, लाङ्टाङ तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यसले यात्रुहरूलाई दृश्यावलोकन गराइरहेको छ भने विदेशतर्फ विभिन्न स्थानहरू, जस्तै ः मलेसियाको क्लालालम्पुर, युएईको दुबई, कतारको दोहा, थाइल्यान्डको बैंकक, हङकङ, जापानको नारिता, भारतको नयाँ दिल्ली, बैंगलोर, मुम्बई आदिजस्ता थुप्रै स्थानमा सेवा पु-याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए तापनि आवश्यक व्यवस्था गरी कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।
अर्को कुरो, नेपालका अत्यन्तै विकट र दुर्गम स्थानहरूमा आधुनिक सञ्चारका साधनहरूको कमी छ र व्यवस्थित मैदानको पनि अभाव छ । यस्ता समस्याहरूलाई सहँदै निरन्तर हवाईसेवा सञ्चालन गरिरहेको हुनाले समाधानतर्फ लागिपर्न थाल्नेबित्तिकै निगमले सेवाका स्थानहरू बढाउन सक्ने कुरामा द्विविधा छैन ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र निगमको कर्तव्य होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि यसको कर्तव्य हो । हाम्रो जस्तो हिमालैहिमाल र पहाडैपहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भिœयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै नेपाल वायुसेवा निगम हो । पर्यटन–उद्योग नै देशविकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास निगमको क्रियाकलापमा नै निर्भर रहेको हुनाले निगमको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षे त्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ ।
निजी हवाई कम्पनीहरूसँग नेपाल वायुसेवा निगमको समन्वय, सरकारी स्वामित्वका संस्थानहरूको निजीकरण र विदेशी कम्पनीहरूसँग निगमको सम्बन्ध आदिका विषयमा उड्डयनसम्बन्धी सरकारी नीतिको अस्पष्टता र नीतिगत असन्तुलनले गर्दा पनि निगमको प्रगति हुन नसकेको भनाइ पनि सुनिँदैछ । वायुसेवामा एकाधिकारको जमाना हराउँदै गएको र साझेदार वायुसेवातर्फ ध्यान जान थालेको परिप्रेक्ष्यमा यी कुरालाई समायोजन गराउँदै ठूला परिवहनहरूसँगको गठबन्धनमा निगमले विशेष विचार पु-याउनु वाञ्छनीय देखिन थालेको छ । निगमको पुनर्संरचना गरी नागरिक उड्डयन नीतिलाई परिमार्जनसमेत गरेर त्यसैअनुरूप निगमको सञ्चालन हुने हो भने प्रतिस्पद्र्धात्मक विश्वबजारमा निगम पनि अरूभन्दा कम हुँदैन र नेपालको पर्यटन–प्रवद्र्धनमा यसले अझ महत्त्वपूर्ण भूमिका पूरा गर्न सक्छ ।

  हरिगोपाल प्रधान