रवीन्द्र भट्टराई
मंगलबार, असार २३, २०७७
2853

सेयरको उचित व्यवस्थापनको कमीका कारण सेयर बजारमा हरेक वर्ष लगानीकर्ता वा सेयरधनीहरू हराउँदै गइरहेका हुन्छन् ।


सेयर तालिमको पहिलो दिन परिचयसँगै सबै सहभागीले सेयरबारे आफ्नो अनुभव बताउने कार्यक्रम थियो । यसै क्रममा विनोद नाम बताउने एक सहभागीले आफ्नो अनुभव सुनाउँदै भने, “मेरो बुवाको बाकसमा केही सेयर प्रमाणपत्र छन् । कहिलेकाहीं बैंकबाट ठूलो खाममा किताबजस्ता केही वार्षिक प्रतिवेदन भन्ने पनि आउँछन् । ती सेयर र प्रतिवेदनका बारेमा मलाई त्यति थाहा छैन । बुवा पनि अलिक पाको हुनुभयो । हिँडडुल गर्न पनि उहाँलाई गा¥हो हुँदैछ । यसैले यो के रहेछ भनेर बुझ्नका लागि सिक्न आ’को ।”

पहिलो दिनको कक्षा सकिनै लाग्दा सहभागीलाई केही गृहकार्य दिने गरिन्थ्यो, जसमा दोस्रो दिन सबैले आफूसँग भएको सेयर र कम्पनीका बारेमा बुझ्ने कोसिस गरेर आउनुपर्र्ने हुन्थ्यो । तालिमको दोस्रो दिन सबै सहभागी कक्षामा उपस्थित भए । सबैले आआफ्नो सेयर र कम्पनीको अवस्था सुनाउने क्रममा बुबाको बाकसमा भएको सेयरबारेमा बताउने तीनै सहभागी विनोदको पालो आयो । उनले बुवाको बाकसमा भएको सबै सेयरको अनुमानित मूल्य निकाल्दा कुल मूल्य करिब ९० लाख रुपैयाँबराबर आयो । यो मूल्य देखेर उनी निकै चकित बने, तर यो सूचीमा भर्न छुटेका हकप्रद सेयर र संकलन गर्न बाँकी बोनस सेयरका बारेमा उनी बेखबर नै थिए ।
विनोद, जसले वृद्ध बुवा जीवित हुँदै उनको नाममा रहेको सबै सेयरको व्यवस्थापन गरे । तर, सेयरमा लगानी गर्ने सबैंको अवस्था विनोदको जस्तो छैन । सेयर बजारमा विभिन्न उद्देश्यले छिरेकाहरूको लगानी व्यवस्थापनको वास्तविक अवस्था विनोदको जस्तो छैन ।
सेयरको उचित व्यवस्थापनको कमीका कारण सेयर बजारमा हरेक वर्ष लगानीकर्ता वा सेयरधनीहरू हराउँदै गइरहेका हुन्छन् । यो भनिरहँदा एकथरीले भनि पनि रहेका हुन्छन्, “सबै सेयरधनी कम्पनीको रेकर्डमा भइरहेकै हुन्छन् अनि कसरी हराउँछन् ?” कम्पनीको रेकर्डमा हुनुले मात्र सेयरधनी भइरहेको मान्न सकिँदैन । उसको सक्रियतालाई उपलब्धतासँग जोडेर हेर्नुपर्ने हुन्छ ।
जसले कम्पनीका गतिविधिमा कुनै न कुनै प्रकारले प्रतिक्रिया जनाइरहेको हुन्छ वा सेयरधनी र कम्पनीबीचको सम्बन्ध जीवित हुन्छ, ती सेयरधनीलाई सक्रिय सेयरधनीका रूपमा लिइन्छ । जस्तो डिम्याट खातामा व्यक्तिगत विवरण अद्यावधिक राखेको, हरेक वर्ष डिम्याट खाता नवीकरण गरेको, सेयर डिम्याट गरेको, कम्पनीले बाँड्ने लाभांश बैंक खातामा नियमित जम्मा भएको, हकप्रद सेयर भरेको, साधारणसभामा भाग लिएको आदिका आधारमा लगानीकर्ताको सक्रियताको मापन गर्न सकिन्छ, तर कम्पनीका सबै सेयरधनी सक्रिय छैनन् र हुँदैनन् । जो कम्पनीका गतिविधिमा सहभागी नभएर वा कम्पनीसँगको सम्पर्कमा नरहेर बिस्तारै हराउँदै जान्छन् । सेयरधनी हराउनु ऊ आफै, उसको परिवार, कम्पनी, सरकार तथा बजार कसैका लागि पनि फाइदाजनक छैन । एउटा कम्पनीले आफ्ना सेयरधनीको सक्रियताका बारेमा अद्यावधिक रहनु र राख्नु उसको दायित्वभित्र पर्छ । कम्पनी ऐनले पब्लिक कम्पनीले सेयरधनीको सूची र तिनका ठेगाना अद्यावधिक राख्नुपर्ने उल्लेख गरेको छ । यस्तै सोही ऐनमा ठेगाना परिवर्तन भए कम्पनीमा अद्यावधिक गराउनुपर्ने सेयरधनीको दायित्व उल्लेख छ । त्यतिमात्र नभई सेयरधनीले उसका व्यक्तिगत विवरण जस्तो फोन नम्बर, इमेल ठेगाना, स्थाई ठेगाना परिवर्तन भए वा थप भए कम्पनीमा अद्यावधिक गराउनु उसको दायित्वभित्र पर्न जान्छ । तर दुर्भाग्य, हामीकहाँ घर नम्बर, बाटोको नाम आदिको अस्पष्टताका कारण ठेगाना स्पष्ट हुन सक्ने अवस्था छैन, जसका कारण चिठीपत्रमार्फत कम्पनी सेयरधनीसम्म पुग्न सक्ने अवस्था कमजोर छ । यस्तै कमजोर हुलाक प्रणालीका कारण पनि चिठी मार्फत कम्पनी र सेयरधनीबीचको सम्पर्क कठिन छ । यसको अर्थ फोन र इमेल ठेगाना नै कम्पनीसँग सम्पर्कमा रहने महत्वपूर्ण माध्यम हुन्, जुन अद्यावधिक राख्नु र प्रयोग बढाउनु कम्पनी र सेयरधनी दुवैका लागि बाध्यात्मक देखिन्छ ।
सेयरधनी निष्क्रिय हुने वा हराउने सयांै कारण हुन सक्छन्, यद्यपि सेयरधनी हराउनुमा के–कस्ता कारण महत्वपूर्ण छन् भन्नेबारे कम्पनीहरूले अध्ययन गरेको देखिँदैन । न त यिनले काम दिएका सेयर रजिस्टार (मर्चेन्ट बैंक) ले नै त्यसको अध्ययन गरेको देखिन्छ । न सेयर बजारको नियामक धितोपत्र बोर्डले नै यससम्बन्धी अध्ययन गरेर सेयरधनीको खोजीसम्बन्धी स्पष्ट नीति–नियम बनाएको पाइन्छ । बोर्डमा धेरै अध्यक्ष फेरिए, तलब बुझे, फोटो टाँसे, गए । धितोपत्र बोर्डको कार्यालयको भित्तामा अध्यक्षका फोटाको लाम बढेसँगै हराएका सेयरधनीको संख्याको रेखा पनि हरेक वर्ष उकालो लाग्ने गरेको छ, जुन कुनै हालतमा राम्रो संकेत होइन । बोर्डमा अहिले नयाँ अध्यक्ष आएका छन् । नयाँ अध्यक्षले पनि तलब मात्र बुझेर समय बिताउने हुन्, फोटो टाँस्ने हुन् वा हराएका सेयरधनी खोज्नेबारेमा स्पष्ट नीतिसँगै साँच्चिकै सक्रियता देखाउने हुन्, त्यो हेर्न धेरै कुर्नुपर्ने छैन ।
सेयरधनी हराउनुको एउटा कारण सेयरधनीको मृत्यु हो । मृत्यु हुनेको लगानीका बारेमा परिवारका सदस्यलाई थाहा नहुनु, मृत्यु दर्ता र त्यसको विवरण कम्पनीमा अद्यावधिक नहुनुले पनि वर्षौंसम्म कम्पनीको रेकर्डमा मरिसकेका सेयरधनीको विवरण रहिरहेको हुन्छ । यस्तै इच्छापत्र लेख्ने प्रचलनको कमीका कारण पनि कतिपयले सेयरमा गरेको लगानीका बारेमा परिवारका सदस्यलाई थाहा नहुन सक्छ । मृत्यु हुनेको नाममा सेयर भएको थाहा भए पनि परिवारका सदस्यलाई मृत्यु नामसारीका प्रक्रियाका बारेमा थाहा नहुन सक्छ । सेयरको कारोबार, नामसारी र जानकारी मृतकका नाममा रहेको घर जग्गा र त्यसको नामसारीजस्तो सजिलो पनि छैन । मृतकको नाम रहेको घरजग्गा छिमेकीले पनि थाहा पाएको हुन सक्छ र भनिदिन सक्छ, तर सेयरमा लगानी भए–नभएको छिमेकी वा आफन्तले थाहा पाउन त्यति सजिलो छैन ।
यस्तै धेरै लगानीकर्ताले प्राथमिक निष्कासनमा आवेदन दिएर र कतिपयले दोस्रो बजारमार्फत सेयर किनेर बिदेसिएका हुन्छन् । वर्षौंसम्म विदेश रहेका कारण कतिपयले आफ्नो लगानी बिर्सने गर्छन् भने कति लगानीकर्ता अनेक कारण कम्पनीको सम्पर्कमा आउनै सक्दैनन् । यसरी बिदेसिएका लगानीकर्ताले डिम्याट खाताको माध्यमबाट सेयर आवेदन दिएका हुन सक्छन् वा डिम्याटको सुरुवात हुनुअघि आवेदन दिएका पनि हुन सक्छन् । सेयरधनी हराउनुको अर्को महत्वपूर्ण कारण यो पनि हो । तर दुर्भाग्य, डिम्याट खाता खोल्ने निक्षेप सदस्य (ब्रोकर, बैंक, मर्चेन्ट बैंक) को नालायकी त कति छ कति ! यिनले खाता खोल्नेको सम्पर्कका माध्यमसम्बन्धी सम्पूर्ण विवरण नराख्नु र राखेकाहरूको पनि डिम्याट खाता नवीकरण हुने समय आएपछि वा महत्वपूर्ण कानुनी तथा नीतिगत परिवर्तनसँगै उनीहरूको सम्पर्क माध्यमजस्तो भएको इमेल, फोन आदिबाट जानकारी नदिनुका कारण पनि सेयरधनी निष्क्रिय भएको पाइन्छ । यसमा पनि नियामक (धितोपत्र बोर्ड) निकै कठोर बन्नुपर्ने हो, तर त्यस्तो देखिँदैन ।
सेयरधनी आफ्नै कारणले मात्र हराएका छैनन्, अरूका कारण बनेका सेयरधनी पनि हराएका छन् । वास्तविक सेयरधनी जो हो ऊ आफैंलाई सेयरधनी भएको थाहा नपाई हराएको छ, जसलाई अरूले नै सेयरधनी बनाइदिए । उसलाई आफूसँग कुनै कम्पनीको सेयर छ भन्ने कुरा थाहा नै छैन । र, यी एउटा परिवारका सदस्यभित्रका नभई बाहिरका छन् । सम्भवतः सेयर बजारमा सबैभन्दा ठूलो संख्या यही कारणले हराएका हुन सक्छन्, जसलाई नक्कली सेयरधनी पनि भनिन्छ । धितोपत्र बोर्डको गैरजिम्मेवार र विवेकहीन नीतिको फाइदा उठाउँदै कैयांै मानिसले अन्य (परिवारका सदस्यभन्दा बाहिरका) व्यक्तिको नाममा प्राथमिक निष्कासनमा सेयर आवेदन दिए र परेको सेयरको व्यवस्थापन गर्न सकेनन् । अहिले तिनै अरूले बनाइदिएका सेयरधनी बेवारिसे भए । यसरी अरूका नाममा सेयर आवेदन दिएर बनेका कैयांै नक्कली सेयरधनी अहिले कम्पनीको रेकर्डमा हराएका वा निष्क्रिय सेयरधनी बनेका छन् । यिनै सेयरधनीको संख्या नै सेयर डिम्याट नगर्ने र लाभांश नबुझ्ने सेयरधनीको सूचीमा पनि अग्रपंक्तिमा हुन सक्छन् ।
सेयर बजारमा हरेक वर्ष नयाँ कम्पनीहरू थपिइरहेका हुन्छन् र योसँगै नयाँ सेयरधनी वा लगानीकर्ता पनि थपिएका हुन्छन् । अर्कातर्फ कति कम्पनी एक–आपसमा गाभिइरहेका र कति एक कम्पनीले अर्कोलाई आफूमा विलय गराइरहेका पनि हुन्छन् । यसै क्रममा धेरै कम्पनीको अस्तित्व समाप्त भइरहेको हुन्छ । यस्तै कतिपय कम्पनीले नाम परिवर्तन पनि गरिरहेका हुन्छन् । कम्पनी गाभिने, विलय हुने र नाम परिवर्तन गरेका कारण धेरै सेयरधनीले कम्पनी कता गयो भन्ने पत्तोसम्म पनि पाएका हुँदैनन् । विशेष गरी बैंक तथा वित्तीय संस्थाहरूमा गाभिने र एकले अर्कोलाई खरिद गर्ने गरेका कारण धेरै सेयरधनी अन्योलमा रहेको पाइन्छ । मेरो फेसबुकको मेसेन्जर बक्समा लगानीकर्ताका कैयांै यस्ता जिज्ञासाहरू आउने गर्छन्, जसमा उनीहरूको प्रमुख जिज्ञासा भनेको, “मसँग यो कम्पनीको सेयर थियो, पत्रिकामा सेयर कारोबारको सूचीमा पनि देख्दिनँ, कम्पनी कता गयो होला ?” कम्पनी योसँग गाभियो भन्ने थाहा नभएका कारण पनि सेयरधनी कम्पनीको सूचीमा मात्र सीमित भएका छन्, तर सक्रिय बनेका छैनन् । उनीहरूले गाभिएपछिको सेयर प्रमाणपत्र बुझेका छैनन्, लाभांश लिएका छैनन् । यसैका कारण उनीहरू कम्पनीबाट प्राप्त हुने नाफा र सेयरबाट सिर्जित सम्पतिबाट टाढा भइरहेका छन् ।
सेयरधनी हराउने कुरा हरेक वर्ष बढेर जाने गर्छ । यद्यपि यो कति प्रतिशतले भन्ने अध्ययनको विषय हुन सक्छ । मलाई लाग्छ, धितोपत्र बोर्ड र यसको पंगू अनुसन्धान विभागले अवश्य पनि यसको अध्ययन गरेको छैन । तर कम्पनी तथा नियामकले यसलाई बेवास्ता गरेर सेयरधनी आफैं जिम्मेवार बन्नुपर्छ भनेर मात्र समस्याको समाधान हुन सक्दैन । हरेक वर्ष समस्या बढेर जान्छ । सेयरधनी, निक्षेप सदस्य र कम्पनीलाई जिम्मेवार बनाउन नियामक (धितोपत्र बोर्ड) को दायित्व पनि उत्तिकै छ । हराएका सेयरधनीको खोजी र न्यूनीकरणका लागि उपायहरू खोज्नु आवश्यक छ र यो काममा कत्ति पनि ढिला गरिनु हँुदैन । यसमा धितोपत्र बोर्ड र यसको नेतृत्व जिम्मेवार बन्नुपर्छ । हरेक वर्ष कति प्रतिशतले निष्क्रिय सेयरधनीको संख्यामा कमी ल्याउने भन्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि नियामकले काम गर्ने इच्छाशक्ति देखाएमा केही उपाय लगाएर काम सुरु गर्न सक्छ ।
डिम्याट खोलिसकेका सेयरधनीलाई डिम्याट खाता नवीकरण गर्ने समय आउनुअघि सेयरधनीलाई उनीहरूले उपलब्ध गराएका सम्पर्कका माध्यममार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्ने । जस्तो इमेल, फोन म्यासेज वा फोन । अहिले धेरैले डिम्याट खाता खोलेका छन् तर डिम्याटको अनलाइन युजर नेम र पासवर्ड लिएर प्रयोग गरेका छैनन्, जसका कारण उनीहरूलाई नवीकरण गर्ने समय आएको थाहै हुँदैन अनि निक्षेप सदस्यले सम्पर्क गरेर भनिदिँदैन । यसरी हितग्राहीसँग सम्पर्र्क बढाए वा निक्षेप सदस्यको जिम्मेवारी बढाएबापत नवीकरण शुल्कबाट निक्षेप सदस्यले पाउने हिस्सा बढाएर सीडीएसको हिस्सामा भारी कटौती गर्नुपर्ने हुन्छ ।
यदि लगानीकर्ताले उपलब्ध गराएका सम्पर्क माध्यमबाट पनि सम्पर्क हुन नसके उपलब्ध गराएको हकवालामार्फत सम्भव भए जानकारी गराउने । डिम्याट खातामा हकवाला राख्ने व्यवस्था छ, तर यसलाई राख्नैपर्ने बाध्यात्मक व्यवस्था गरिनुपर्छ । यससँगै हकवालाको सम्पर्क माध्यम जस्तो— फोन, इमेल र बसोबासको ठेगाना पनि राख्नुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ । मानौं, दुई वर्षसम्म पनि खातावाला सम्पर्कमा नआए वा सम्पर्क हुन नसके उपलब्ध हकवालाको सम्पर्क ठेगानामार्फत सम्भव भए सम्पर्क गरी वास्तविकता थाहा पाउने प्रयास गर्ने । हकवालामार्फत सम्पर्क हुनेबारेमा डिम्याट खाता खोल्दा खातावालालाई अनिवार्य जानकारी दिई उनीहरूबाट मन्जुरीनामा लिने व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।
सेयरधनी हराउने अनेक कारणहरूमध्येका यी केही उदाहरण मात्र भए । डिम्याट खाता खोलेर मात्र नभई खाता नखोलेर पनि सेयरधनी हराएका छन् । जुनसुकै कारणबाट सेयरधनी हराए पनि एउटा निश्चित समयसम्म कम्पनीको सम्पर्कमा नआउने सेयरधनीको खोजीका लागि धितोपत्र बोर्डको पहलमा सरकारले एउटा अलग्गै कम्पनीको स्थापना गर्नुपर्छ, जुन कम्पनीले हराएका सेयरधनीको खोजी गर्नेछ । सेयरधनीले कम्पनीलाई दिएको ठेगाना (नगरिकता) का आधारमा देशभरका स्थानीय निकायको सहकार्यमा सेयरधनी पत्ता लगाउन सम्पर्कको प्रयास गर्नेछ । यस्तै यही कम्पनीले बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर हराएका निक्षेपकर्ताको निक्षेप र कम्पनीबाट नबुझेको लाभांशको पनि व्यवस्थापन गर्न सक्छ ।
यो कम्पनीले हराएका सेयरधनी पत्ता लगाई उनीहरूको सम्पत्ति जिम्मा लगाउनेछ । मृत्यु भएकाको मृत्यु नामसारी गर्न सहयोग गर्नेछ, जसबापत कम्पनीले शुल्क लिन सक्नेछ । कम्पनीले हराएको सम्पत्तिको मात्र व्यवस्थापन गर्ने नभई सोही कम्पनीमार्फत सयांै व्यक्तिले रोजगारी पनि प्राप्त गर्ने छन् । यसबाट लाखौं मानिसको सम्पत्ति पत्ता लागेसँगै हराएको सम्पत्तिसँग उनीहरूको पुनर्मिलन हुनेछ र जीवनस्तर उकास्नका लागि महत्वपूर्ण योगदान पुग्नेछ । यस्तै कतिपय व्यक्ति जसको नागरिकता प्रयोग गरेर अरूले सेयर भरे र त्यसलाई बेवारिसे अवस्थामा छाडिदिए, ती नागरिकता प्रयोग भएका व्यक्तिका लागि भने यस्तो सेयर र त्यसबाट पाउने लाभांश चिट्ठाबाट प्राप्त आम्दानीझैं हुनेछ ।
यही सेयरधनी खोजीसम्बन्धी कम्पनीले लाभांश नबुझेका सेयरधनीको लाभांश पनि सम्बन्धित व्यक्तिको हातमा पु¥याउने काम गर्नेछ । अहिले असंकलित (सेयरधनीले पाँच वर्षसम्म पनि नबुझेको) लाभांश कम्पनी रजिस्टार कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने गर्छ । हराएका सेयरधनी खोजी गर्ने कम्पनीको स्थापनासँगै यो कोष पनि यही कम्पनीअन्तर्गत ल्याइनुपर्छ । यही कोषमा जम्मा असंकलित लाभांशको लगानीबाट प्राप्त आम्दानीले कम्पनीको खर्च व्यवस्थापन गर्नु उचित हुनेछ । यस्तै कम्पनीको व्यवस्थानका लागि हराएका सेयरधनी संख्याका आधारमा सम्बन्धित कम्पनीबाट व्यवस्थापन शुल्कका रूपमा हरेक वर्ष रकम जम्मा गर्ने व्यवस्था गर्न पनि सकिन्छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)