कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
452

जब शिक्षकले राम्ररी तालिम गर्न सक्छ तब मात्र वैज्ञानिक शिक्षण सिकाइ हुन्छ र आजको शिक्षा पद्धति दिगो र भविष्यमा उपलब्धिमूलक बन्दै जान्छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण गएको चैत ११ गतेबाट देश बन्दाबन्दीको अवस्थामा रहेको छ । यस अवस्थाले अहिले पनि निरन्तरता पाइरहेको छ, जसको प्रत्यक्ष रूपमा विद्यार्थीको शैक्षिक र शिक्षण सिकाइ गतिविधिमा नकारात्मक असर पारेको छ ।
आजका विद्यार्थी नै भोलिको राष्ट्रका लागि बलियो खम्बा हुन् । आजका दिनमा विद्यार्थीको प्रत्यक्ष कक्षा हुन नसक्दा विभिन्न प्रविधिहरूको प्रयोग गरेर भए पनि विद्यार्थीहरूले शिक्षा आर्जन गर्नुपर्ने अवस्था रहेको छ । तर, यस्ता प्रविधिको प्रयोग नेपाल र नेपालजस्ता विकासोन्मुख देशमा प्रविधिमैत्री शिक्षाको पहुँचबाहिरको कुरा हो । यस देशमा बसोबस गर्ने मानिसहरू सबै प्रविधिमा आधारित शिक्षा आर्जन गर्न सक्ने स्तरका छैनन् । आज सरकारले प्रविधिमा आधारित शिक्षा प्रणाली सञ्चालन गर्न अर्बौं रकम खर्च गरेको भए तापनि वास्तविक रूपमा भौगोलिक विविधतायुक्त देश नेपालमा प्रविधिमा आधारित शिक्षा आर्जन गर्ने प्रशस्त अवसरहरू नरहेको सबैमा विदितै छ ।

सरकारले प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन दिने भनिरहँदा विद्यार्थी र तिनका अभिभावकले प्रविधियुक्त शिक्षा आर्जन गर्न चाहिने टिभी, रेडियो, कम्प्युटर, मोबाइल र इन्टरनेटको पहुँच सबै ठाउँमा पुग्न नसकेको अवस्था छ । यी अत्यावश्यक सेवाहरू पुगेको ठाउँमा पनि इन्टरनेट शुल्क महँगो भएको छ, जुन विद्यार्थी र तिनका अभिभावकले चाहेर पनि अवलम्बन गर्न सक्दैनन् । यस्तो अवस्थामा प्रविधिमैत्री शिक्षाका नाममा चरम भ्रष्टाचार गर्दैछन् भन्ने चिन्ता ती अबोध विद्यार्थी र तिनका अभिभावकहरूमा पर्न गएको छ ।
लकडाउनका कारण हाल शिक्षाक्षेत्रमा आबद्ध शिक्षकहरूको पनि शिक्षणा सिकाइ, तालिम, सेमिनार र गोष्ठीहरू प्रायः ठप्प रहेको छ । यसले आम शिक्षकहरूबाट विद्यार्थीले पाउनुपर्ने ज्ञान आर्जनमा दिन–प्रतिदिन वञ्चित हुँदै गएका छन् । जब शिक्षकले राम्ररी तालिम गर्न सक्छ तब मात्र वैज्ञानिक शिक्षण सिकाइ हुन्छ र आजको शिक्षा पद्धति दिगो र भविष्यमा उपलब्धिमूलक बन्दै जान्छ ।
राज्य र शिक्षासँग सरोकार राख्ने शिक्षा मन्त्रालयमातहतका सम्बन्धित निकायहरूलाई आह्वान गर्न चाहन्छौं कि शिक्षाक्षेत्रमा राजनीतिक, दलीय स्वार्थ र कमाउ गर्ने बाटोका रूपमा प्रयोग नगर्न र आमविद्यार्थीको भविष्यमा खेलबाड नगर्न र नगराउन सम्बन्धित निकायहरूलाई खबरदारी गर्न चाहन्छौं । आजको यस विषम परिस्थितिमा परेका विद्यार्थीहरूको समस्यालाई एक अवसरका रूपमा स्विकार्दै यसलाई चाँडोभन्दा चाँडो शिक्षा आर्जन गर्न पाउने अवसरको सिर्जना गर्दै आजका विद्यार्थी भोलिको राष्ट्रका कर्णधार हुन् भन्ने मूल्य–मान्यतालाई अक्षरशः पालना गर्नसमेत सम्बन्धित निकायहरूमा आह्वान गछौं ।
—जमुनादेवी पौडेल