प्रा.डा.गंगाप्रसाद खरेल
बिहिवार, असार १८, २०७७
664

हिजोआज शरीरको प्रतिरक्षात्मक क्षमता बढाउन मसलाका रूपमा बाहेक अतिरिक्त बेसारको निरन्तर प्रयोग गर्नेहरूको संख्या बढ्दो क्रममा छ ।

कोभिड–१९ महामारीले विश्व नै थलिएका बेला सदियौँदेखि भान्सा र औषधोपचारमा उपभोग हुँदै आएको बेसारबारे सर्वसाधारण जनताको ध्यान आकर्षित भएको छ । यसै अवसरमा बेसारबारे अतिरिक्त जानकारी प्रसारण गर्ने हेतुले यो आलेख तयार पारिएको छ । आशा छ, पाठक मित्रहरूले यसबाट फाइदा उठाउनुहुनेछ ।

बेसारको परिचय
बेसार एउटा अदुवा प्रजातिको बहुवर्षीय अत्यन्तै उपयोगी दक्षिण एसियाको रैथाने वनस्पति हो । यसको उपयोग ४ हजार वर्षअघिदेखि हुँदै आएको अनुमान गरिएको छ । आज संसारका धेरै मुलुकमा बेसारको खेती र प्रयोग गरिन्छ । आयुर्वेद, युनानी र प्राचीन चिनियाँ चिकित्सा प्रणालीमा यसलाई बहुआयामिक औषधिका रूपमा प्रयोग गरेको पाइन्छ । योबाहेक रंग र सौन्दर्यवद्र्धक वस्तुका रूपमा पनि यसको प्रयोग हुन्छ । बेसारसम्बन्धी प्रकाशित हजारौं वैज्ञानिक कृति र सयौं पेटेन्ट्ले यसको महत्व सहजै अनुमान गर्न सकिन्छ ।

बेसारमा के पाइन्छ
अन्य कृषि पैदावारमा पाइने पोषक वस्तुबाहेक बेसारमा पाइने मुख्य सक्रिय यौगिक कक्र्युमिन्वाइड हो । यो बेसारको जात, माटो, जलवायु, कलिलोपन आदिअनुसार १–६ प्रतिशत सम्म भिन्नता पाइन्छ । त्यसमा पनि कक्र्युमिनले दुई–तिहाइ हिस्सा ओगटेको हुन्छ । यसको पहेंलो रंग र हल्का तीतो स्वाद हुन्छ । बेसारमा ३–६ प्रतिशत वाष्पशील तेल हुन्छ । यिनै मुख्य दुई प्रकारका यौगिकहरूले नै बेसारको उपयोगिता भएको हो ।

मसलाका रूपमा बेसार
सर्वप्रथम बेसारलाई मसलाको रूपमा प्रयोग गरिन्थ्यो र यद्यपि गरिन्छ । यसले खानाको रंग, स्वाद र बास्ना आकर्षक बनाउँछ । यो छट्टै वा गरम मसलाका रूपमा खानामा प्रयोग गरिन्छ । तरकारी, मासु–माछा, भुटे–तारेका खाना, सुप आदि जेसुकैको परिकार पकाउँदा पनि बेसारको प्रयोग हुन्छ । यो भान्सामा मसला र खाद्य उद्योगमा योगशीलका रूपमा प्रयोग हुँदै आएको छ ।

औषधिका रूपमा बेसार
प्रचीन कालमा बेसार अत्यन्तै महत्वपूर्ण औषधिका रूपमा प्रयोग गरिन्थ्यो । यो प्राकृतिक र सर्वसुलभ भएकाले पनि एसियाका विभिन्न आदिवासी समुदायहरूबीच बेसार अत्यन्तै उपयोगी वनस्पति रहँदै आएको छ । आयुर्वेदमा बेसारको महिमा महत्वपूर्ण छ । रगत सफा गर्न, पाचन प्रणाली सुदृढ गर्न एवम् मुटु–कलेजो, फोक्सो, मृगौला र मस्तिष्क स्वस्थ राख्न यसको प्रयोग गरिन्छ । बेसारले असल कोलेस्ट्रोल बढाउन मद्दत गर्ने भएकाले मुटुमैत्री मानिन्छ । बेसारमा एन्टिअक्सिडेन्ट प्रशस्त पाइने भएकाले ट्युमर, क्यान्सर वा जलन, दम, एलर्जी, पेटमा ग्यास र पत्थरीको कवचका रूपमा काम गर्न सक्छ भन्ने विश्वास गरिएको छ ।
बेसारलाई ब्याक्टेरिया, ढुसी, भाइरस र कीराप्रतिरोधी मानिन्छ । शरीर जलन हुँदा, जोर्नीको वा कुनै भाग दुख्दा वा पीप जम्दा यसको लेप बनाएर लगाइन्छ । कीरा वा जुकाले टोकेको वा बिफर र ठेउलाको घाउ वा डन्डीफोरको घाउ निको पार्न बेसारको लेप लगाउने गरिन्छ । अनुहारको त्वचा मुलायम र चम्किलो बनाएर सुन्दरता झल्काउन बेसारको लेप लगाइन्छ । विभिन्न आदिवासी समुदायले काटेको, मर्केको, दुःखेको, पिलिएको ठाउँमा बेसारलाई औषधिका रूपमा प्रयोग गर्छन् ।
आधुनिक चिकित्सा प्रणालीको बोलबाला आधिपत्य भएको वर्तमान समाजमा बेसारलाई साधारण रुघाखोकी लाग्दा घरायसी औषधिका रूपमा नै धेरै प्रयोग गरिन्छ । तर, हिजोआज शरीरको प्रतिरक्षात्मक क्षमता बढाउन मसलाका रूपमा बाहेक अतिरिक्त बेसारको निरन्तर प्रयोग गर्नेहरूको संख्या बढ्दो क्रममा छ ।

बेसारप्रति वैज्ञानिक धारणा
बेसारको औषधीय गुण दिने मुख्य कारण कक्र्युमिन हो । यसमा एन्टिअक्सिडेन्ट र एन्टिइम्फ्यामेटरी (जलन घटाउने) गुण हुन्छ भन्ने प्रमाणित भएको छ । फ्रि–रेडिकल शरीरमा जम्मा हुँदै गएपछि शरीरमा विभिन्न रोगको अनुकूल वातावरण तयार हुन्छ । धूम्रपान वा मद्यपान, मोटोपन, पाकोपन, अल्छीपन, अस्वस्थ खाना, दूषित वातावरण आदिले शरीरमा फ्रि–रेडिकल जम्मा हुँदै जान्छ र एक दिन यसको खराब नतिजा देखिन्छ । यो नै कालान्तरमा क्यान्सर हुने एउटा मुख्य कारण हो भन्ने पत्ता लागेको छ । नियमित बेसारको उपभोग गर्नाले फ्री–रेडिकललाई निस्तेज गर्न प्रमाणहरू पत्ता लागेका छन्, तर यो यौगिक पानीमा हत्तपत्त घुल्दैन र सानो आन्द्राबाट शोषण भएर रगत जान सक्दैन भन्ने कुरा पत्ता लगेकाले आन्द्रामा कक्र्युमिनको शोषण बढाउने कुनै अर्को उपाय अपनाउनुपर्छ । शोषण नभएको कक्र्युमिन्ले ठूलो आन्द्राका जीवाणुलाई कस्तो प्रभाव पार्ला र यसले शरीरको प्रतिरक्षात्मक क्षमतामा के फरक पर्ला भन्नेबारे अनुसन्धान जारी नै छ । शरीरको सामान्य प्रतिरक्षा बढाउन बेसार कामयावी देखिए पनि कोभिड–१९ लगायतका रोगको उपचार गर्न सकिने प्रमाण आजसम्म कुनै जुटेको छैन ।

कसले थप बेसार खानु हुँदैन
एक स्वस्थ व्यक्तिका लागि करिब ८ ग्राम वा दुई सानो चम्चासम्म बेसारको मात्रालाई पूर्ण सुरक्षित मानिएको छ । तर शारीरिक अवस्था ठीक नभएका वा कुनै पनि औषधि सेवन गरिरहेका व्यक्तिले दैनिक भान्सामा उपभोग गरिरहेका बेसार बाहेक बढता बेसार खानु परेमा चिकित्सकको परामर्श लिनुपर्छ । गर्भवती वा स्तनपान गराइरहेका महिलालाई पनि अतिरिक्त बेसारको सेवन नगर्दा नै राम्रो हुन्छ । खासगरी न्यून रक्तचाप, मधुमेह, पत्थरी, कलेजोको समस्या हुने वा रगत पत्लाउने औषधि सेवन गरिरहेका व्यक्तिले थप बेसार खानुअघि स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । कसै–कसैलाई थप बेसारले एलर्जी हुने, पेट हुँडल्ने वा पखाला लाग्ने पनि हुन सक्छ । स्मरण रहोस्, बेसारको औषधीय गुण भए पनि औषधिका रूपमा धेरै बेसार खाएर आफै रोग निको पार्छु भन्ने दुष्प्रयास कदापि गर्नु हुँदैन । एक स्वस्थ व्यक्तिले थप एक चम्चासम्म शुद्ध बेसार नियमित रूपमा खाएमा फाइदा हुन सक्ने तथ्य विभिन्न अनुसन्धानले देखाएको छ ।

बेसार खाने तरिका
बेसारको कक्र्युमिन् आद्रामा शोषण हुन मरीचको पिपरिनको सहायता लिनुपर्छ भन्ने कुरा अनुसन्धानहरूले स्पष्ट पारेको छ । त्यसैले बेसार खाँदा थोरै मरीच मिसाएर खायो भने मरीचमा भएको पिपरिनले बेसारको कक्र्युमिनको २० गुणासम्म शोषण दर बढाउँछ भन्ने तथ्य शोधकर्ताहरूले सिद्ध गरेका छन् । तेल वा घ्यूमा कक्र्युमिन घुलनशील भएकाले बेसारमा थोरै तेल वा घ्यू मिसाउँदा थप फाइदा लिन सकिन्छ । बेसार चिसो पानीमा भन्दा तातो पानीमा हालेर पिउँदा बढी फाइदा हुन्छ । तर, बेसारलाई तातो तेल वा घ्यूमा खार्नु कदापि हुँदैन, किनकि उच्च तापले कक्र्युमिन नष्ट गरिदिन्छ । तरकारी आधा पाकेपछि बेसार हाल्ने तरिका राम्रो हो । बेसारको स्वाद हल्का टर्रो हुने भएकाले बेसार पानी सेलाएपछि स्वादअनुसार थोरै मह वा चिनी राखेर पनि पिउन सकिन्छ । बेसार, नुन, अदुवा, मरीच, लसुन, ज्वानो र थोरै तेल वा घ्यू हालेर बेसारको सुप बनाएर पिउन सकिन्छ । तातो दूधमा बेसार र एक चिम्टी मरीचको धूलो मिसाएर पिउनु वैज्ञानिक तरिका हो । यसलाई चियाका रूपमा पनि पिउने गरिएको छ ।
बेसारको महत्व बढ्दै गएपछि बेसारको क्याप्सुल पनि अन्तर्राष्ट्रिय बजारमा पाउन थालिएको छ । यस्ता क्याप्सुल प्रयोग गर्न सजिला भए पनि यसले बेसारको फाइदा पूर्ण प्रतिस्थापन गर्न सक्दैन । क्याप्सुलमा बेसारको कक्र्युमिन निकालेर हालेको हुन्छ, किन्तु यसो गर्दा बेसारका भिटामिन लगागतका अरू लाभदायी तत्वहरू छुट्न जान्छन् । त्यसैले भरसक ताजा बेसार, नत्र बजारमा पाइने शुद्ध अर्गानिक बेसारको धूलो प्रयोग गर्नुपर्छ । बजारको बेसारमा हानिकारक लिड क्रोमेट मिसाएर बेचेको पाइएकाले बेसार खरिद गर्दा विश्वासिलो स्रोतबाट मात्रै खरिद गर्नुपर्छ ।

सारांश
अचम्मका गुणहरूले भरिपूर्ण सर्वसुलभ बेसार घरघरका भान्सादेखि वैद्यको क्लिनिकसम्म मात्र पैmलिएको छैन, यो रंग र श्रृंगारका रूपमा पनि प्राचीन कालदेखि प्रयोग हुँदै आएको छ । गत दुई दशकमा मात्र बेसारको औषधीय गुणबारे भएका शोधकार्यको नतिजा हजारौं जर्नलहरूमा प्रकाशित भएका छन् । नेपाल, भारतलगायत एसियाली मुलुकहरूमा बेसारको धेरै प्रयोग भएर नै होला, ती देशहरूमा अल्जाइमर र पेटको क्यान्सर तुलनात्मक रूपमा कम हुने गरेको वैज्ञानिकहरूको अनुमान छ । अनादिकालदेखि उपभोग हुँदै आएको बेसारका दीर्घकालीन प्रयोगले हुने प्रतिरक्षात्मक फाइदाहरू प्रमाणित भए पनि आधुनिक चिकित्सा विज्ञानले यसलाई औषधिका रूपमा प्रयोग गर्न सिफरिस गरेको छैन । यद्यपि आज बेसारको लोकप्रियता विश्वभर दिनानुदिन पैmलँदै छ । त्यसैले हामीले पनि यो बहुआयामिक औषधीय गुणयुक्त सुनौलो मसलाको महत्व बुझी तोकिएका परिधि र तरिका अपनाई सधैं उपभोग गरौं र स्वस्थ रहौं ।
(लेखक जैविक प्रविधि केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुरका प्राध्यापक हुन् ।)