पदम भण्डारी
बुधवार, असार १७, २०७७
730

हाम्रो कृषिको आत्मनिर्भर बलियो इतिहास छ, उर्वर माटो छ, भौगोलिक विविधता छ, कृषिक्षेत्रबाट आर्थिक वृद्धि र उद्यमशीलताका लागि प्रशस्त सम्भावना छन् ।

पृष्ठभूमि


नेपाल रेमिट्यान्स (विप्रेषण) मा सबैभन्दा बढी निर्भर मुलुक हो । विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको देखिएको छ । नेपालमा गत आर्थिक वर्ष २०७५-७६ मा ८ खर्ब ७९ अर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको थियो । मुख्यगरी प्रमुख श्रमगन्तव्य मुलुक र युरोपेली देशबाट नेपालमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिन्छ । रेमिट्यान्सले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३० प्रतिशतभन्दा बढी योगदान रहेको छ ।
कोरोनाको संक्रमणका कारण विदेशबाट अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका, अवैध रूपमा बसिरहेका, जागिर गुमाएका र अरू विविध कारणले नेपालमा फर्किनेहरू करिब ५ लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । एकातिर विदेशबाट आइरहेको रेमिट्यान्स गुम्ने चिन्ता छ भने अर्कातिर विदेशबाट नेपाली श्रमिक फर्किंदा यहाँ बेरोजगारीसमेत बढ्नेछ । यो अवस्थामा युवा केन्द्रित कृषिमा उद्यमशीलताका अवसरहरूको विकासको माध्यमबाट मुलुकमा व्याप्त हुने बेरोजगारी समस्या हल गर्न सकिन्छ भने मुलुकमा फर्किसकेका युवाहरूलाई दोहो-याएर जान सक्ने प्रवासको चक्रलाई रोक्न अवसरका रूपमा पनि लिनुपर्छ ।
यस आलेखमा नेपालमा युवाहरूलाई कृषिक्षेत्रमा लाभदायक रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिएको छ । कृषिको कुन मूल्य श्रृंखलामा युवाहरू लाग्न सके भने बढी कमाइ गर्ने सम्भावना छ भन्नेबारेमा चर्चा गरिएको छ । नेपालमा उत्पादन हुने कृषि वस्तुहरूको लाभ–लागत अनुपात, जसले नाफा लिने गर्छ, तुलनात्मक लाभ प्रकट गर्छ र कुन बालीहरूको निर्यातको सम्भावना बढी छ त्यसको आधारमा युवाहरूको उद्यमशीलताका उपायहरूको खोजी गर्नु जरुरी छ ।
कृषिको माध्यमबाट समग्र आर्थिक वृद्धि हुने सम्भावना छ कि छैन, कृषि अर्थव्यवस्थामा धेरै मान्छेहरूलाई निर्भर बनाउनुपर्छ कि निर्भरता कम गर्नुपर्छ, परम्परागत हिसाबले निर्वाहमुखी खेतीमा धेरै मान्छेहरूलाई लगाउने हो कि कमभन्दा कम मान्छे आबद्ध भएर बढी उत्पादन गर्ने हो, साना प्लटहरूमा खेती गर्दा उत्पादकत्व बढी हुन्छ कि ठूला–ठूला प्लटहरूमा खेती गर्दा उत्पादकत्व बढी हुन्छ, कृषिको आधुनिकीकरणका लागि हाम्रो जस्तो भूस्थिति भएको ठाउँमा औद्योगीकरण र उच्च प्रविधि अपनाएर खति गर्नु सम्भव छ कि छैन, गरिबीको दीर्घकालीन समाधानका रूपमा कृषि उपयुक्त माध्यम हो कि होइन, कृषिको विकासका लागि मुख्य अवरोध केमा छ आदि प्रश्नहरूको उत्तर खोज्नु जरुरी छ । आर्थिक विकासका लागि गैर–औद्योगिक क्षेत्रहरू उपयुक्त हो कि कृषिमा आधारित व्यवसाय उपयुक्त हो भन्ने कुराको दीर्घकालीन सोच बनाउनु जरुरी छ । यी सबै प्रश्नको समीक्षाले के संकेत गर्छ भने नेपालको भूगोल, मौसम र भौगोलिक राजनीतिक स्थितिले कृषिमा धेरै अवसर छन् र कृषिलाई एक आदर्श पेसाका रूपमा स्थापित गर्न सकिन्छ ।
हाम्रो कृषिको आत्मनिर्भर बलियो इतिहास छ, उर्वर माटो छ, भौगोलिक विविधता छ, कृषिक्षेत्रबाट आर्थिक वृद्धि र उद्यमशीलताका लागि प्रशस्त सम्भावना छन् । विश्वका सबैभन्दा बढी जनसंख्या भएका दुई देश चीन र भारतको बीचको विविध जलवायु र स्थान भएको नेपालले खेतीमा तुलनात्मक लाभ लिन सक्छ । वर्षायाममा समशीतोष्ण पहाडी क्षेत्रमा उत्पादित तरकारीले ऊष्ण हावापानी भएको तराई क्षेत्रमा राम्रो बजार लिन सक्छ ।
हामीकहाँ पानीका स्रोतहरू प्रशस्त छन्, तर सिंचाइका प्रणालीहरू धेरै कम छन् । यस स्रोतलाई धेरै किसानको पहुँच पु-याउन गाह्रो भइरहेको छ । सामान्यतया किसानहरूले अनिश्चित मौसममा भर पर्नुपरेको छ । नेपालमा कृषि आपूर्ति श्रृंखलामा बिचौलियाहरूको ठूलो बहुस्तरीय सञ्जाल छ, जसले किसानहरूलाई नाफाबाट टाढा राख्छ । काठमाडांैको कालीमाटी थोक बजारमा कृषि उत्पादनहरू किसानहरूबाट स्थानीय संकलनकर्ता, क्षेत्रीय स्तरको व्यापारी, थोक विक्रेता र खुद्रा विक्रेता हुँदै उपभोक्तामा पुग्नुअघि धेरै चरण पार गर्नुपर्छ । नेपालको कृषि उत्पादनको कुल निर्यातमध्ये ६३ प्रतिशतभन्दा बढी भारतमा निर्यात हुन्छ । नेपालको भौगोलिक प्रकृति र भारतसँग पूर्व, पश्चिम र दक्षिणमा खुला सिमानाको भारतीय कृषि र नीतिमा आएको परिवर्तनबाट उत्पन्न मूल्यमा हुने हेरफेरले नेपाली कृषिलाई प्रत्यक्ष असर पारिराखेको हुन्छ र त्यसले प्रायःजसो नेपाली कृषि अर्थतन्त्रलाई कमजोर बनाइराखेको हुन्छ ।
नेपाली कृषि उत्पादनहरूमा धेरै प्रश्न उठ्ने गरेको विषय यसको मात्रा र गुणस्तर हो । यही कारणले गर्दा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्दैन । जस्तै उच्च मूल्यका बालीहरू जस्तै अलैंचीले जो खाडी र युरोपमा लाभदायक बजारहरू फेला पार्न सक्छ, तर त्यहाँको गुणस्तरका मापदण्डहरूको कारणले गर्दा यी बजारहरूमा प्रवेश पाउनबाट रोकिन्छ । परम्परागत विधिहरूको प्रयोग गरेर सुकाइएको अलैंची प्रायः यी गुणस्तरका मापदण्डहरूको बेन्चमार्कहरू पूरा गर्न असफल हुन्छ । भारतीय व्यापारीहरूले जब नेपालमा बाली भित्र्याउने समय हुन्छ तब नेपाली उत्पादनका विभिन्न मापदण्डहरू देखाएर अस्वीकार गर्छन् । यो मनोमानी ढङ्गले मूल्य घटाउने चालबाजीमात्र हो । व्यापार विविधीकरणले आर्थिक अवसरहरू विस्तार गर्न र मूल्यको घटबढमा हुने जोखिम कम गर्न सक्छ ।
धेरै युवाहरू स्वदेशमै रोजगारीका अवसरहरूमा संग्लग्न हुन चाहन्छन् । नेपाल सरकारको नेपाल व्यापार एकीकृत रणनीतिले निर्यातका लागि तुलनात्मक प्राथमिकताका क्षेत्रहरू र उच्च निर्यात सम्भावना भएका बालीहरूमा अलैंची, अदुवा, चिया, औषधीय र सुगन्धित वनस्पति, कपडा, छाला, जुत्ता र पस्मिना उत्पादनहरू उल्लेख गरेको छ भने कृषि विकास रणनीतिले मूल्य श्रृंखला विकासका लागि मकै, दूध र दुग्धजन्य पदार्थहरू, तरकारी, दाल र चियालाई प्राथमिकतामा राखेको छ । विदेशबाट फर्केर आउने युवाहरूलाई उद्यमशीलताको आँखाले हेर्ने हो भने यिनै कृषि वस्तुहरूलाई समग्र दृष्टिकोणले हेर्नु उपयुक्त हुन्छ । मुलुकमा फर्किएका आप्रवासीहरूलाई उनीहरू सफल हुने सम्भावनाको सम्भाव्य वस्तुहरूमा ध्यान केन्द्रित गर्नु जरुरी छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत रूपमा यिनै कृषि वस्तुहरूको व्यवसायीकरणका लागि रोडम्याप बनाउँदा उपयुक्त देखिन्छ ।

आयात प्रतिस्थापनका लागि महत्वपूर्ण बालीहरू
केही उत्पादनहरू, जसलाई भारतबाट ठूलो मात्रामा आयात गरि राखिएको छ, जसको भण्डार गर्ने क्षमता धेरै लामो समयसम्म रहँदैन, तर तिनीहरूको उच्च घरेलु मागका कारण आयात प्रतिस्थापन गर्न सकिन्छ । फूलगोभी, बन्दागोभी, लसुन, प्याज नेपाली खानामा मुख्य तरकारी र मसला बालीहरू हुन् । बढ्दो आन्तरिक र अन्तर्राष्ट्रिय माग, औसत लागत, लाभ लागत अनुपात, पूरा गर्न नेपालमा प्याज उत्पादन लाभदायक रूपमा विस्तार गर्न सकिन्छ । किसान, थोक विक्रेता र खुद्रा विक्रेताहरूको सामूहिक प्रयासबाट यसको उत्पादन र बजारलाई व्यवस्थित गर्न सकिन्छ । किसानहरूले सामना गरेका केही अवरोधहरूमा गुणस्तरीय बीउको कमी र उपलब्धता, उच्च लागत र सिँचाइको अभाव हुन् । यी अवरोधहरू निश्चित नीति हस्तक्षेपहरूमार्फत समाधान गर्न सकिन्छ । थोक तथा खुद्रा विक्रेताहरूले किसानहरूलाई बजारको मागअनुरूप बजार प्रणालीलाई व्यवस्थित तवरले चलाउने र किसानहरूले बजारको मागअनुरूप उत्पादन गर्ने परिपाटीको विकास गर्नुपर्छ । कृषकहरूलाई उचित सफाइ, ग्रेडिङ, भण्डारण र ढुवानीका लागि ज्ञान, सीप तथा सामग्री आवश्यक हुन्छ । कृषि सामग्री आपूर्तिकर्ताहरूमार्फत भरपर्दो सेवा पहुँच आवश्यक छ । घरेलु माग र बेमौसममा अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने कारणले ती बालीहरूको उत्पादन र व्यापार नेपालका लागि राम्रो हुन सक्ने महत्वपूर्ण कारणहरू हुन् ।
नेपालमा जुटको लामो इतिहास छ र मुख्यतया पूर्वी तराई, खास गरी झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरमा जुटको राम्रो उत्पादन हुन्छ । कच्चा जुट फाइबरको उत्पादन देशभित्रै प्रशोधन गरी विभिन्न सामग्रीहरू जस्तै झोला, बोरा, डोरीहरू उत्पादन ग-यो भने प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न सक्छ । यसले वातावरणमा सकारात्मक योगदान गर्नुका साथै माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्छ ।

निर्यातको सम्भावना उच्च भएका महत्वपूर्ण बालीहरू
अलैंची र चिया बालीहरू, जसको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ र उत्पादनहरू सजिलै ढुवानीयोग्य हुन्छन् ती बालीहरूको निर्यातका लागि कार्यक्रमहरू बनाउनुपर्छ । किबी फलको पनि घरेलु खपत र निर्यातको ठूलो सम्भावना छ । त्यस्तै हालका वर्षहरूमा अदुवाको विश्वव्यापी माग बढेको छ । त्यस्तै विश्व बजारमा प्राङ्गारिक कफीको पनि ठूलो माग छ । आगामी वर्षहरूमा नेपाली कफीको बजार बढ्ने सम्भावना छ ।
नेपालमा प्राङ्गारिक एवं जैविक मलको ठूलो बजार माग छ । कतिपय नेपाल फर्केका आप्रवासीहरूले यो व्यवसाय सुरु गर्न सक्छन् । कफी र चियाजस्ता विशेष उत्पादनहरूमा किसानहरूले जैविक र प्रङ्गारिक उत्पादन प्राकृतिक प्रमाणपत्रहरूका लागि महत्वपूर्ण मार्कअपहरू प्राप्त गर्न सक्छन् जसले धेरै नयाँ मलहरूको प्रयोगमा प्रतिबन्ध लगाउँछन्, तर धेरै प्रशस्त र परम्परागत अभ्यासहरूलाई पुरस्कृत गर्छन् । अर्कातर्फ, गैरविशेष वस्तुका उत्पादकहरू, जसले जैविक प्रमाणीकरण खोज्न सक्ने छैनन्, बढेको मलको प्रयोगबाट ठूलो फाइदा हुन्छ । जैविक उत्पादनहरूको प्रमाणीकरण दुवै समय र लागत–गहन हो, कृषकहरूले उनीहरूको भावी रोपण तालिकाको योजना बनाउनुपर्छ र उनीहरूले प्रमाणीकरणबाट प्राप्त हुने मार्कअपहरू लागतभन्दा बढी पाउनेछन् भन्ने निर्धारण गर्नुपर्छ । यो त्यस्तो क्षेत्र हो जहाँ थप अनुसन्धान लाभदायक हुन सक्छ, किनभने किसानहरूलाई यस संकल्पलाई सही रूपमा बनाउन आवश्यक स्रोतहरू असम्भव छ ।

उद्यमशीलताका लागि सरकारले गर्नुपर्ने कामहरू
कृषि उत्पादनको प्राथमिक आयात एवं निर्यात बजार भारत नै हो । नेपाली उत्पादनका लागि भारतीय बजार अवसर हो भने चुनौती पनि हो । यस निर्भरताका कारण भारत र नेपालको बीच सामानको प्रवाहलाई असर गर्ने समस्याले नेपाली उत्पादकहरूलाई अवसरभन्दा बढी चुनौतीका रूपमा रहेको छ । युवाहरूलाई आयात प्रतिस्थापनका लागि महत्वपूर्ण बालीहरू र निर्यातको सम्भावना उच्च भएका महत्वपूर्ण बालीहरूका लागि प्रशोधन र भण्डारण सुविधाहरूमा पर्याप्त लगानी, लेबलिङ, ब्रान्डिङ क्षमता र मूल्य अभिवृद्धिका गतिविधिहरूमा लगानी गर्नुपर्ने हुन्छ । सरकारले उचित प्रशोधन सुविधाहरू र उपकरणहरूमा पहुँचको वातावरण एवं व्यवस्था गरेमा युवाहरू कृषि पेसामा आकर्षित हुन्छन् ।
नेपालमा भइरहेको निर्वाहमुखी खेतीका कारणले कृषिको बजार विखण्डित छ । यातायात पूर्वाधारको विकास गर्नका लागि कठिन भूगोल र मौसमको भरमा खेती गर्नुपर्ने हालको अवस्था बजार विखण्डित हुनुको अर्को कारण हो । बजार सूचनामा किसानहरूको पहुँच र बजारको मागका आधारमा उत्पादन गर्ने प्रणाली र गुणस्तरीय वस्तुको उत्पादन गरी सामूहिक एवं व्यक्तिगत रूपमा उत्पादकहरूले आफ्नो उत्पादनको मोलतोल गर्ने, बजारमा बलियो उपस्थिति देखाउने र व्यावसायिक स्तरमा पुग्न उत्पादनको मात्रा बढाउने कार्य गर्नुपर्छ । उत्पादनलाई बजारसम्म पठाउन ग्रामीण बस्तीहरूसम्म यातायात पूर्वाधारको सुधार र साना किसानहरूको उत्पादनलाई एकीकृत गर्ने प्रणालीको विकास गरी बजारको मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले सहकारी पद्धतिको विकास गर्न भूमिका खेल्नुपर्छ ।
कृषिका लागि पानीको नियमित स्रोत हुनु जरुरी छ । सिँचाइको सुविधाका लागि सरकारले सम्भावनाका आधारमा सतह सिँचाई, सौर्य सञ्चालित पानी पम्प, विद्युतीकरण, थोपा सिंचाइ आदिको पहुँच बढाउन सहयोग गर्नुपर्छ ।
व्यक्तिगत व्यावसायिक पहुँच, प्राविधिक सहयोग, बाली रोप्ने, काट्ने, पहिलो चरणको प्रशोधन गर्ने कार्यमा समन्वय गर्ने काममा सहकारी उपयुक्त माध्यम हुन सक्छ । यसका अतिरिक्त समुदायस्तरमा उत्पादनको संकलन, तथ्याङ्कको मानकीकरण गरी यसलाई अधिक विश्वसनीय बनाउन सकिन्छ । सामूहिकताले किसान र व्यापारीलाई जोखिमविरुद्ध सुरक्षा प्रदान गर्छ । सहकारीको माध्यमबाट समन्वय गर्न, ज्ञान सुधार गर्न, गुणस्तर सुधार गर्न र मुनाफा वितरण गर्न सहज वातावरण बन्न सक्छ ।
उद्यमशीलताका लागि व्यक्तिगत स्तरमा पनि थुप्रै बाधा–अवरोधहरू छन् । कृषि व्यवसायमा थुप्रै जोखिम छन् । बालीको उत्पादनमा कमी भयो भने किसान एवं व्यवसायी दुवै पक्षलाई असर गर्छ । जोखिमको सामना गर्नुपर्दा यी व्यवसायहरूलाई निरन्तरता दिन सहयोग पु-याउने खालका नीति तथा कार्यक्रमहरू विकास गर्नु महत्वपूर्ण हुन्छ ।
कृषि कार्यमा अर्को सूक्ष्म स्तरको अवरोध भनेको सूचनाको पहुँच र सम्भावित नाफाबारे पर्याप्त जानकारी नहुनु हो । खेतीपातीको काम दुःखी काम र सम्मानित पेसा होइन भन्ने धारणाले पनि कृषिलाई उपेक्षित बनाएको छ । त्यसैले कृषि कार्यका लागि श्रम अभावको सामना गर्नुपर्ने हुन्छ । कृषि पेसामा हालको अवस्थामा दक्ष जनशक्ति संग्लग्न भई उत्पादकका रूपमा मात्र हैन, मूल्य अभिवृद्धिको कार्यमा समेत संग्लग्न हुने र स्वदेश तथा विदेशको बजारमा सम्बन्ध बढाउने वातावरण बनाउनुपर्छ ।
धेरै नेपालीको थोरै मात्र जग्गा–जमिन छ र कतिपय नेपाली भूमिहीन छन् । इतिहासकालदेखि नै नेपालमा भूमिको असमान वितरण छ । आफ्नै स्वामित्वमा जमिन नहुनेले कसरी भूमिमा पहुँच पर्याउन सक्छ भन्ने कानुन बन्न सकेको छैन । वैदेशिक रोजगारीबाट फर्केको जनशक्तिलाई कृषि सामग्रीमा पहुँच र जग्गाको स्वामित्व एवं जमिन भाडामा लिएर काम गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।
वैदेशिक रोजगारीबाट फर्केको जनशक्तिलाई असल कृषि अभ्यासहरू र उद्यमशीलताका बारेमा ज्ञान र सीपको जरुरत पर्छ । कतिपय फर्केका आप्रवासीहरूले त्यस किसिमको ज्ञान र सीप लिएर फर्केका हुन सक्छन् । विदेशमा विकास गरेको ज्ञान, सीप र पुँजीलाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्नुपर्छ । कृषि विश्वविद्यालय एवं कलेजहरूमा छोटो अवधिका पाठ्यक्रमहरूको माध्यमबाट, हालका व्यवसायीहरूसँग मार्गदर्शन वा विशिष्ट सीपहरू विकास गर्ने उद्देश्यले कार्यशाला र सेमिनारहरूको माध्यमबाट ज्ञान र सीपलाई स्थानान्तरण गर्न सकिन्छ । विज्ञहरूले कृषिको विकासका लागि परामर्श सेवा दिने किसिमको वातावरण समेत बनाउनुपर्छ ।
नेपाल फर्केका आप्रवासीहरूले नयाँ सीप र विचारहरू पनि लिएर आएका हुन्छन्, जसले तिनीहरूलाई आधुनिक उपकरणहरूमा लगानी गर्ने सम्भावनासमेत छ । यसले नयाँ प्रविधिको विकासमा टेवा पु-याउँछ । अहिले सहर–बजारमा कौसी तरकारी खेती प्रविधिको प्रयोग बिस्तारै बढेको छ । नेपाल फर्केका आप्रवासीहरूले यो प्रविधिका लागि सामग्री र प्राविधिक सेवा दिने व्यवसाय सञ्चालन गर्न सक्छन् ।

निष्कर्ष र सिफारिसहरू
बजारको मागअनुरूप उत्पादन गर्ने हो भने कृषिमा उल्लेख्य नाफाका अवसरहरू छन् । खास गरी प्याज, फूलगोभी, बन्दागोभी, लसुन, अदुवा, किबी फल, जुट, कफी, चिया, अलैंची आदि मूल्य श्रृंखलामा प्रशस्त सम्भावना छन् ।
युवा उद्यमीहरूले यी बालीहरूबाट फाइदा लिनका लागि उत्प्रेरित युवाहरूको सञ्जाल निर्माण गरी मूल्य श्रृंखलामा काम गर्नुपर्छ । यसका लागि कोही व्यावसायिक उत्पादनमा, कोही प्राविधिक सेवा दिने काममा, कोही किसानको उत्पादन संकलन गर्ने काममा र बजार पहुँच उपलव्ध गराउने काममा लाग्नुपर्छ । यसबाहेक कतिपय युवा बजार सूचना प्रणालीको विकासमा काम गर्न सक्छन् । कतिपय युवा कृषि सामग्री जस्तै बीउ, मल, र उपकरणहरूको बिक्री–वितरण गर्ने पेसामा संग्लग्न हुन सक्छन् । कतिपय युवाहरू निर्यातकर्ताका रूपमा काम सुरु गर्न सक्छन् ।
युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न कुनै एकल समाधान छैन । आज नेपालले सामना गरिरहेका ठूला चुनौतीहरूलाई सम्बोधन गर्न केही समय लाग्न सक्छ ।
युवाहरूलाई कृषिसम्बन्धी ज्ञान, सीप र सामग्रीको उपलब्धता, व्यापार अवरोधहरू, प्रतिस्पर्धा र माग र आपूर्तिलाई ध्यानमा राख्दै बढी मुनाफा हुने सम्भावित कृषि बालीहरूको उत्पादन, प्रशोधन र बजारीकरण गर्न युवाहरूलाई परिचालित गर्न सकियो भने यसले आयात प्रतिस्थापन र निर्यात क्षमता बढाउन मद्दत पुर्याउँछ भने बिचौलियाको बिगबिगी, भारतीय व्यापार निर्भरतामा समेत कमी आउँछ ।
युवा कृषि उद्यमीहरूलाई बढीभन्दा बढी प्रभाव पार्न सक्ने दुईवटा प्राथमिक कार्यहरू भनेको कृषिको मूल्य श्रृंखलामा सुधार र विकासका लागि सरकारले तेस्रो मुलुकहरूसँग गहिरो र दूरगामी सम्बन्ध एवं नेटवर्क विकास गरेको हुनुपर्छ । सरकारले यातायात र सिंचाइजस्ता आधारभूत पूर्वाधारहरूको सुधार ग-यो भने कृषिमा युवाहरूको आकर्षण बढ्छ र कृषि कर्ममा लाग्छन् । त्यसो भयो भने बाहिरी मुलुकसँग परनिर्भर भइरहनु पर्दैन र मुलुकमा उत्पादन भएका गुणस्तरयुक्त उत्पादनहरू निर्यात गर्न सकिने हुने हुन्छ । नेपाली कृषिमा उल्लेख्य नाफाको सम्भावना रहेको अवस्थामा व्यापारका मुद्दाहरू र मूल्य श्रृंखलामा भएका अवरोधहरूलाई सम्बोधन गर्नु आवश्यक छ, जसले गर्दा स्वदेश फर्केका आप्रवासीहरूलाई कृषि उद्यमशीलतामा जीविकोपार्जन गर्ने राम्रो अवसर हुन्छ ।
(लेखक स्वीस कन्ट्याक नेपालमा वरिष्ठ सल्लाहकार पदमा कार्यरत छन्, यहाँ उल्लिखित विचार लेखकका निजी विचारहरू हुन् ।)